जितिया पर्वको निराहार व्रत आज « Khabarhub

जितिया पर्वको निराहार व्रत आज


२९ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– सन्तानको सौर्यवृद्धि र कल्याणको कामना गर्दै मधेसको प्राचीन मिथिला क्षेत्रका आमाहरूले आज जितिया पर्वको व्रत सुरु गरेका छन् ।

शनिबार बिहान पवित्र जलाशयमा नुहाएर व्रत सङ्कल्प गर्दै मध्यरातपूर्व ‘ओगटन’ (दर) खाएसँगै सन्तानवती मिथिलानी (मिथिलाका नारी)ले निराहार व्रत सुरु गरेका हुन् । पितृपक्ष पनि भनिने असोज कृष्णपक्षको अष्टमी तिथिमा यो व्रतको परम्परा छ ।

शनिबार मध्यरातपछि तत्काल अष्टमी तिथि नलागे पनि व्रतको दिन सुरु भएको हुँदा मिथिलानीले ‘ओगटन’ पछि उपवास सुरु गर्नुपरेको हो । अष्टमी तिथि आज बिहान ८ः४४ बजेदेखि सुरु हुने भए पनि व्रत भने शनिबार मध्यरातपछि सुरु भएको बर्दिबास–२ ॐ शान्तिचोककी व्रतालु नगिनादेवी महतोको भनाइ छ ।

यो निराहार व्रत भोलि (सोमबार) बिहान ७ः०० बजेपछि समापन गर्न सकिने मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गमा उल्लेख छ । मिथिला क्षेत्रमा चाडपर्व, शुभकार्य र पितृकार्यसहितका सबै धार्मिक अनुष्ठान यिनै दुई पात्रोका आधारमा गरिने परम्परा छ । जितियाको व्रत समापन एक अहोरात्र कटेपछि नवमी तिथि एक घडी बिताएर गरिन पर्ने व्रत विधान रहेको बर्दिबास–२ का मैथिल कर्मकाण्डका ज्ञाता पण्डित दिनेशकुमार झाले बताए ।

पितृपक्ष (सोह्रश्राद्ध) मा पर्ने यस पर्वमा व्रतालुले सप्तमी तिथिका दिन पवित्र स्नान गरी पितृको स्मरण गर्दै व्रत सङ्कल्प गरेर चोखोनीतो खाने चलन छ । सोही दिन व्रतालुले पवित्र जलाशयमा नुहाएर सूर्यदेवलाई तोरीको तेल, पिना र आँपको अचार अघ्र्यस्वरुप चढाउँछन् ।

योसँगै व्रतालुले दिवङ्गत सासू, बूढीसासू, ज्यामै सासू र जेठानीदेवरानी र मातृकूललाई स्मरण गर्दै व्रत पूरा गर्न आशीष र आफ्ना सन्तानको कल्याणका लागि पुकार गर्छन् । सोह्रश्राद्धमा छोराहरूले आफ्ना पितृलाई तर्पण र पिण्ड दिएर सम्झना गरेजस्तै जितियाका व्रतालुले तीन पुस्ताभित्रका दिवङ्गगत आफन्त महिलालाई तर्पण दिन्छन् । सोही दिन राति ‘ओगटन’ खाएपछि व्रत सुरु गरिन्छ ।

पर्वको मुख्य दिन आज सबै व्रतालु राजा जिमुतवाहनको कथा सुन्दै छन् । अघि द्वापर युगमा भारत वर्षको नर्वदा नदी तटीय प्रदेशका राजा शालीवाहनका पुत्र देवदूत जिमुतवाहनले असोज कृष्ण अष्टमीकै दिन एक बिधवा ब्राह्मणीका सात भाइ मरेका छोरालाई ब्युँताएको कथाका आधारमा सन्तानको कल्याणका लागि यो व्रत परम्परा थालिएको मैथिल जनविश्वास छ ।

प्रकाशित मिति : २९ भदौ २०८२, आइतबार  ७ : ३३ बजे

सन्तानेश्वर मन्दिर संरक्षण र पूर्वाधार विकासको पर्खाइमा

नेपालगन्ज– बाँकेको नरैनापुर गाउँपालिका–५ स्थित सन्तानेश्वर महादेव मन्दिर धार्मिक तथा

दसौँ राष्ट्रिय खेलकुदको खेलस्थल तालिका सार्वजनिक

कर्णाली– यही मङ्सिर  १६ देखि २७ गतेसम्म सञ्चालन हुने दसौँ

‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’ को उपाधि सोल्मालाई

खोटाङ–  शिखर स्पोर्टस क्लब खार्मी खोटाङले आयोजना गरेको ‘प्रथम एक्सट्रिम शिखर

बाह्रै महिना पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गोसाइँकुण्ड

रसुवा– रसुवाको उच्च हिमाली क्षेत्रमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्ड

पर्सा–बाराका चार पालिकामा नगर बस सञ्चालनको तयारी

वीरगन्ज–  वीरगन्ज महानगरपालिकासहित पर्सा र बाराका चार पालिकालाई जोडेर नगर