काठमाडौँ- विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले १० राजनीतिक दलको बैठक बोलाएका छन् ।
प्रतिनिधिसभा पुनर्स्थापनाबारे छलफल गर्न सभामुख घिमिरेले बुधबार बिहान ९ बजे बस्ने गरी १० दलको बैठक बोलाएका हुन् ।
सभामुख घिमिरेले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई बैठकमा बोलाएका छन् ।
प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार गठनको विरुद्धमा आज सर्वोच्च अदालतमा १० वटा रिट परिसकेको छ ।
संसद् पुनर्स्थापनाको पक्षमा रिट परेपछि सभामुख घिमिरेले थप सक्रियता बढाएका हुन् । अब अगाडि बढ्ने योजना बनाउन उनले बैठक बोलाएको बताइएको छ ।
बैठकमा सभामुख घिमिरेले संसद् पुनर्स्थापनाबारे दलहरूसँग राय माग्ने बताइएको छ । बुधबार दलहरूसँग छलफल गर्न लागेका सभामुखले बिहीबार कानुन व्यवसायीहरूसँग परामर्श गर्ने भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसद् सदस्य नरहेकी सुशीला कार्कीलाई भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।
प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै कार्कीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन् । प्रधानमन्त्री कार्कीको नियुक्ति र संसद् विघटन दुवै असंवैधानिक रहेको भन्दै कानून व्यवसायीहरूले मंगलबार सर्वोच्चमा १० वटा दायर गरेका छन् ।
नेपाली कांग्नेस र नेकपा (एमाले) पनि संसद् विघटनको विरुद्धमा उभिएका छन् । तर ती दुवै दल संसद् विघटनविरुद्ध रिट लिए सर्वोच्च गएका छैनन् । मंगलबार मात्रै कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् विघटनलाई असंवैधानिक भनिसकेका छन् ।
प्रतिक्रिया