पटना- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले बिहार राज्यको महत्त्वपूर्ण चुनावमा प्रचण्ड बहुमत ल्याएको छ।
यो चुनावलाई प्रधानमन्त्री मोदीको लोकप्रियता तथा देशका गरिब तर राजनीतिक रूपमा अत्यन्त प्रभावशाली राज्यहरूमध्ये एकमा उनको गठबन्धनको प्रभावको सूचकका रूपमा हेरिएको थियो । त्यहीअनुसार एनडीएले २०३ सीटमा बाजी मारेको छ। जबकि बहुमतका लागि १२२ सिट भए पुग्छ ।
बिहार विधानसभा चुनावमा इतिहासकै उच्च मतदान भएको थियो । बिहार विधानसभामा कुल २४३ सिट छन् । सरकार गठनका लागि कुनै पनि दल वा गठबन्धनसँग कम्तीमा ११२ सिट चाहिन्थ्यो । बिहारको चुनावमा भाजपा ९३ सिटसहित ठूलो दल बनेको छ । त्यसपछि नीतिशकुमार नेतृत्वको जनता दल युनाइटेडले ८३ सिट जितेको छ ।
यहाँ एनडीएबाट भाजपा १०१, जदयू १०१, चिराग पासवानको पार्टी एलजीपी (रामविलास) २९, उपेन्द्र कुशवाहाको आरएलएम ६, र जीतन राम माँझीको हम ६ सिटमा लडेका थिए ।
त्यस्तै कांग्रेस र तेजस्वी यादव सम्मिलित महागठबन्धनतर्फ राष्ट्रिय जनता दल १४३, कांग्रेस ६१, वाम दल ३० र भीआईपी ९ सिटमा लडेका थिए ।
यसबाहेक, केही सिटमा महागठबन्धनका ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’मा उत्रिएका थिए । चैनपुर, करगहर, नरकटियागंज, सिकंदरा, कहलगांव र सुल्तानगंज सिटहरूमा मैत्री प्रतिस्पर्धा थियो ।
चर्चित उम्मेदवार :
- महुआबाट तेज प्रताप यादव
- अलीनगरबाट मैथिली ठाकुर
- मोकामाबाट अनंत सिंह
- छपराबाट खेसारी लाल यादव
- राघोपुरबाट तेजस्वी यादव
- तारापुरबाट सम्राट चौधरी
- लखीसरायबाट विजय सिन्हा
त्यस्तै प्रशान्त किशोरको जनसुराज पार्टीको प्रदर्शनतर्फ पनि देशभर ध्यान थियो । भारतको निर्वाचन आयोगले सार्वजनिक गरेको आंशिक नतिजा अनुसार पूर्वी राज्य बिहारको २४३ सदस्यीय व्यवस्थापिकामा एनडीएले करिब २०० सिट कटाउने अनुमान थियो । त्यही अनुमानलाई परिणामले पुष्टि गरेको छ । प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टी (भाजपा) ले ९० सिट जित्ने प्रक्षेपण गरिएको थियो ।
करिब १३ करोड जनसङ्ख्या भएको बिहार देशको तेस्रो सबैभन्दा धेरै जनसङ्ख्या रहेको राज्य हो । यस राज्यले भारतको संसद्को तल्लो सदन (लोकसभा) मा चौथो सबैभन्दा बढी सांसदहरू पठाउँछ ।
यो राज्यलाई भारतको हिन्दी भाषी हृदयभूमिमा राजनीतिक प्रवृत्ति निर्धारण गर्ने प्रमुख सूचकका रूपमा प्रतिष्ठित गरिएकाले यस्तो अवस्थामा बिहारमा विजय प्राप्त गर्नु सत्तारूढ पक्षका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ ।
यस वर्ष सम्पन्न दुई चरणको निर्वाचन बेरोजगारी, कानून–व्यवस्था तथा मतदाता सूची संशोधनमा देखिएका अनियमितता सम्बन्धी सार्वजनिक चिन्ताका बीचमा सम्पन्न भएको थियो ।
यसअघि नै प्रधानमन्त्री र विपक्षी नेताहरू दुवै पक्षबाट विशाल जनसभा, आक्रामक कल्याणकारी प्रतिबद्धता तथा मतदातासँग प्रत्यक्ष सम्पर्कजस्ता तीव्र चुनावी गतिविधिले राज्यभर तीव्र प्रतिस्पर्धा देखिएको थियो ।
प्रारम्भिक मतगणनामा एनडिएले उल्लेखनीय अग्रता लिँदा राज्य राजधानी पटनामा समर्थकहरूले पार्टीका झण्डा फहराउँदै, ड्रम बजाउँदै, नाचगान तथा पटाखा फोडेर उत्सव मनाएका छन् ।













प्रतिक्रिया