काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सामुदायिक विद्यालयको शैक्षिक सिकाइ गुणस्तर र नतिजा सुधारका लागि पुस्तकरहित शुक्रबारका कार्यक्रम महत्वपूर्ण औजार बनेको बताएकी छन् । आज रानीबारी माध्यमिक विद्यालयमा पुस्तकरहित शुक्रबारका क्रियाकलापको निरीक्षण गर्दै उनले यस्तो धारणा राखेकी हुन् ।
‘हरेक बालबालिकाका अनुहारमा सिकाइप्रतिको उत्सुकता देखियो । शिक्षकले प्रदान गरेको लक्ष्यमा एकत्रित भेटिए । सबै कार्यक्रममा सहभागी भएका कारण कसैको अनुहारमा पनि खिन्नता देखिएन । वास्तवमा हामीले शिक्षण पद्धतिमा चाहेको पक्ष पनि यही हो’ डंगोलले भनिन्, ‘कक्षामा सिकेको सिपबाट सिर्जित विद्यार्थीको गुण, उनीहरुको दैनिक आचरण, घर, परिवार र समाजमा महसुस भएपछि अभिभावकहरुमा पनि सन्तुष्टि बढेको छ ।’

डंगोलले, विद्यार्थीहरुको मूल्याङ्कन शैक्षिक प्रमाण पत्रमा मात्र गरेर नपुग्ने बताउँदै बाल आचरणसँग सम्बन्धित सामाजिक पक्ष, मानसिक अवस्था, व्यवहारिक विभिन्न क्षेत्रको ज्ञान र सिप तथा क्षमतामा मूल्याङ्कन गर्न सकिन्छ भन्ने विषय स्थापित हुँदै गएको धारणा राखिन् ।
अवलोकनका क्रममा वडा नम्बर ३ का अध्यक्ष एवं महानगरपालिकाको विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापाले, दैनिक जीवनमा आइ पर्ने समस्या समाधानका लागि कक्षामा सिकेको सिप प्रयोग हुन थालेको बताए ।
महानगरपालिकाले सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि २०८० सालमा बुक फ्री फ्राइडे अर्थात् पुस्तकरहित शुक्रबार कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । यस दिनका कार्यक्रममा विद्यार्थीहरुले आफ्नो रुचिका क्षेत्र र व्यवहारिक अभ्यास भेट्न थाले । यसले उनीहरु विद्यालय आउन प्रोत्साहित हुन थाले । निमित्त शिक्षा अधिकारी केशवप्रसाद ज्ञवालीले प्रभावकारितामा प्राप्त नतिजा सुनाए ।

किताव तोकेर, हरफ घोकेर, पङ्ति पङ्तिमा अण्डरलाइन गरेर पढ्ने परम्परागत विधिबाट विद्यार्थीहरु बाहिर आए । विद्यालयका प्रधानाध्यापक नारायण गौत्तमले, सिकाइ उपलब्धिलाई ग्रेडमा भन्दा सिपमा मापन गर्ने प्रणाली विकास हुँदै गएको धारणा राखे ।
पुस्तकरहित शुक्रबारका कार्यक्रमअन्तर्गत कक्षा १ देखि कक्षा ३ सम्म ‘एकीकृत सिकाइ’, कक्षा ४ देखि ८ सम्मका बालबालिकाका लागि २५ वटा विधामा ‘सिर्जनात्मक सिकाइ’ तथा कक्षा ९ र १० का बालबालिकाका लागि १० विधामा ‘शिक्षामा सिप’ कार्यक्रम सञ्चालन हुने गरेका छन् ।
पुस्तकरहित शुक्रवारका कार्यक्रमसँगै महानगरपालिकाले शिक्षकहरुको क्षमता विकास र वृत्ति विकासका लागि टिचर्स कलेज कार्यक्रम, डाउन सिन्ड्रोम र अटिजमजस्ता विशेष क्षमता भएका बालबालिकाहरुका लागि कक्षा सञ्चालन गर्न विशेष क्षमता सहयोगी सहजकर्ताको परिचालन गर्ने जस्ता कार्यक्रमबाट विद्यालयमा सबैको पहुँच बढाउने कार्यक्रम थालेको छ ।
महानगरपालिकाले प्रारम्भिक बाल विकास तथा शिक्षाको पाठ्यक्रम २०७७ मा भएका व्यवस्था, विषयबस्तु छनोट र योजना, दैनिक कार्यतालिका, प्रारम्भिक बालविकास केन्द्रको न्युनतम मापदण्ड, प्रारम्भिक सिकाइ तथा विकास मापदण्डअनुसार प्रारम्भिक बाल विकास केन्द्र ९इसीडी० कक्षा सञ्चालन गरिरहेको छ ।

४ बर्षभन्दा कम उमेर भएका बालबालिकालाई प्रारम्भिक बाल स्याहार तथा विकास (अर्ली चाइल्ड केयर एण्ड डिभलपमेन्ट, इसीसीडी), ५ वर्षका बालबालिकालाई प्रारम्भिक बाल शिक्षा तथा विकास (अर्ली चाइल्ड एजुकेसन एण्ड डिभलपमेन्ट, इसीइडी) र कक्षा १ देखि ३ सम्मका बालबालिकालाई समेत इसीइडीको अवधारणा अनुरुप नै बालमैत्री शिक्षा कार्यान्वयन गर्ने नीति अनुरुप शिक्षण सिकाइ पद्धति अवलम्बन गरिएको छ ।
शैक्षिक नतिजालाई सैद्धान्तिक पद्धतिमा भन्दा व्यवहारिक र प्रयोगात्मक बनाउन गौरव योजनाअन्तर्गत ‘गरी खाने शिक्षा, महानगरपालिकाको इच्छा’ कार्यक्रम, विद्यालयको वातावरणीय सुधार स्वच्छता र सरसफाइका लागि ‘हरित विद्यालय’ स्वर्णिम योजना, विद्यालय स्तरबाटै खेलप्रति रुचि जगाउन ‘रचनात्मक विद्यालय’ कार्यक्रम सञ्चालित छन् ।
महानगरपालिकाभित्र ८७ वटा सामुदायिक विद्यालय छन् । यीमध्ये ३ वटा कारागारभित्र छन् । ४ वटा विशेष विद्यालय हुन् । एउटा रात्री विद्यालय र एउटा संस्कृत विद्यालय छ । यस्तै १० वटा धार्मिक र वैकल्पिक विद्यालय छन् । ५२४ वटा संस्थागत विद्यालय र २८ वटा सामुदायिक सिकाइ केन्द्र छन् ।













प्रतिक्रिया