खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो « Khabarhub

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन (बागलुङ)- खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पादनमा कमी आएको हो । पहिले खेती गर्ने बारीमा हिजोआज किसानले किबी, सुन्तला, कागतीलगायत फलफूलखेती गरेका छन् भने कतिपय जमिन बाँझै छन् ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार अघिल्लो वर्ष जिल्लामा १० हजार ८०० मेट्रिकटन कोदो उत्पादन भएको थियो । यसवर्ष उत्पादन घटेर १० हजार ७३१ मेट्रिकटन भएको केन्द्रका निमित्त प्रमुख कुमार पुनमगरले जानकारी दिए । उनका अनुसार गत वर्ष आठ हजार ४६० हेक्टरमा कोदोखेती भएको थियो भने यस वर्ष आठ हजार ४५० हेक्टरमा खेती लगाइएको थियो ।

बर्सेनि जिल्लामा कोदो उत्पादनमा कमी आइरहेको केन्द्रका निमित्त प्रमुख पुनमगरले बताए । कोदोखेती गर्ने क्षेत्र घट्दा उत्पादन पनि घटेको उनको भनाइ छ । पछिल्लो समय किसान कोदोखेती छोडेर नगदेबालीतर्फ आकर्षित भएका उनको भनाइ छ । कृषि ज्ञान केन्द्रले किसानलाई रैथाने बाली तथा स्थानीयखेतीतर्फ आकर्षित गर्नका लागि प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको पुनमगरले जानकारी दिए ।

अहिले कोदोको माग अत्यधिक बढेपछि बाहिरबाट आयात गर्नुपरेको उनको भनाइ छ । “पछिल्लो केही वर्षको तथ्याङ्क हेर्दा हरेक वर्ष कोदोको उत्पादन घटेको देखिन्छ, किसानले परम्परागत खेती गर्न विस्तारै छोड्दै छन् । खेती गर्ने क्षेत्र घट्दा उत्पादनमा गिरावट आएको देखिन्छ”, पुनमगरले भने, “अहिले धेरै किसानले कोदो फल्ने बारीमा कागती, सुन्तलालगायत नगदेबाली लगाउन थालेका छन् ।”

ग्रामीण क्षेत्रका पाखोबारीमा काम गर्ने जनशक्ति पाइन छोडेपछि कोदोखेती कम हुन थालेको स्थानीय बताउँछन् । कुनैबेला कम खपत हुने बालीका रूपमा रहेको कोदो अहिले सहरबजारका ठूलाठूला होटल तथा रेष्टुरेन्टमा माग हुने गर्दछ । ग्राहकको माग बढ्न थालेपछि होटल सञ्चालकले ग्रामीण क्षेत्रबाट कोदो मगाउन थालेका छन् । मागअनुसार कोदो पाउन मुस्किल पर्ने गरेको होटल व्यवसायी तुलबहादुर थापामगरले बताए ।

जाडोका बेला ढिँडोका र अन्यबेला कोदोकै सेलरोटीको माग बढी आउने गरेको उनको भनाइ छ । थापाले भने, “सहरबजारबाट आउने पाहुनाले कोदोको ढिँडो भनेर हैरानै पार्छन्, गाउँमा कोदो पाउन छोड्यो, पहिले कोदोको ढिँडो पनि के खानु र भन्थे । अहिले त्यही ढिँडो महत्वपूर्ण बनेको छ । गाउँका बारी जति सबै बाँझो हुँदै गएका छन्, सहरबजारमा बस्नेले ढिँडो खोज्छन् ।”

गाउँमा काम गर्ने जनशक्ति नपाउँदा कोदो फलाउने बारी बाँझोमा परिणत हुँदै गएको जैमिनी नगरपालिका–८ श्यामबहादुर थापाले बताए । एक दशक अगाडिसम्म गाउँमा बजारबाट चामल ल्याउन समस्या हुने गरेको भन्दै उनले कोदोको ढिँडो र रोटी खाएर जीविकोपार्जन गर्ने गरिएको स्मरण गरे । उनका अनुसार पहिले कोदोखेती हुने पाखोबारी अहिले सबै बनमाराले ढाकिएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  २ : ५० बजे

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

तेहरान- इरानले अमेरिकाको प्रस्तावित ४८ घण्टे युद्धविराम अस्वीकार गरेको सरकारी

मदिरा पिएरसवारी साधन हुइँक्याइरहेका नौ चालक कारबाहीमा

काठमाडौं– मदिरा पिएर सडकमा सवारी साधन हुइँक्याइरहेका नौ जना चालक

ओखलढुङ्गामा आगलागी ५७ लाख बढीको क्षति

ओखलढुङ्गा– जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा घरमा

कांग्रेसको १५औँ महाधिवेशन : केन्द्रीय प्रतिनिधिलाई अभिमुखीकरण

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै निर्वाचन क्षेत्रमा

अफगानिस्तानमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, १ सय १६ जना घाइते

काठमाडौं- अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको सङ्ख्या ६१