अष्टलक्ष्मी बिदा भएपछि पोखरेल टीमबाट विन्दा अघि सर्दै, ओली समूहबाट पद्मा तम्तयार « Khabarhub

अष्टलक्ष्मी बिदा भएपछि पोखरेल टीमबाट विन्दा अघि सर्दै, ओली समूहबाट पद्मा तम्तयार



काठमाडौं- नेकपा एमालेकी एक मात्रै महिला उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले औपचारिक रूपमा एमाले केन्द्रीय कमिटीबाट बिदा हुने निर्णय लिएकी छन् ।

आइतबार भृकुटीमण्डमा बसेको दशौँ महाधिवेशनको अन्तिम केन्द्रीय कमिटी बैठकमा उनले यो निर्णय सुनाएकी हुन् । उनीसँगै अर्का उपाध्यक्ष युवराज ज्ञवालीले पनि केन्द्रीय कमिटीबाट बिदा मागेका छन् । अर्थात्, यी दुवैजना नेताले एघारौँ महाधिवेशनमा प्रतिस्पर्धा गर्ने छैनन् ।

बैठकमा उनले अध्यक्ष केपी शर्मा ओली पनि नेतृत्वबाट बिदा हुनुपर्ने अडान पनि राखिन् । तर ओलीले उनको कुरा मानेनन्। बरु विधान नै संशोधन गरेर झन् पेल्नतिर लागे । बन्दसत्रको बैठकसमेत एक्लै चलाइरहेका छन् । अर्थात्, अध्यक्षमण्डलसमेत बनाइएन ।

२०७९ को निर्वाचनमै संसदीय राजनीतिबाट बिदा भएकी शाक्यले पार्टीमा पनि कुनै पदमा नउठ्ने बताइन्। तर एमालेलाई आवश्यक पर्दा जुनसुकै बेला पनि सहयोग गर्न तयार रहेको उनले बताइन् ।

उनीसँगै उपाध्यक्ष युवराज ज्ञवालीले पनि नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने बताइसकेका छन्। ज्ञवाली र शाक्यमध्ये एकलाई अनुशासन आयोग प्रमुख बनाउनुपर्ने आवाज उठेको छ । तर यसबारे एमालेले के निर्णय गर्छ, बाँकी नै छ ।

शाक्यले राजनीतिबाट बिदा हुने निर्णय गरेसँगै पोखरेल पक्षले नेतृ डा. विन्दा पाण्डेलाई उपाध्यक्षमा उठाउने तयारी गरेको छ । यता ओली समूहले सचिव पद्मा अर्याललाई उपाध्यक्षमा उठाउने तयारीमा छ ।

सम्मानपूर्वक बिदाइ माग

पार्टी निर्माणमा विभिन्न जिल्लामा छरेर लामो समय काम गरेकी नेतृ शाक्यलाई सम्मानपूर्वक बिदाइ गर्नुपर्ने आवाज उठ्न थालेको छ। शाक्यले पार्टी निर्माण र संगठनमा गरेको योगदानको सम्मान गर्दै उनलाई राम्रोसँग बिदाइ गर्नुपर्ने सुझाव स्थायी कमिटी सदस्य कर्ण थापा दिन्छन्।

२०४८ सालदेखि एमालेको सक्रिय राजनीतिमा लागेकी शाक्य पार्टीमा दुई पटकसम्म महिला उपाध्यक्षको जिम्मेवारी सम्हालेकी छिन्। एमालेको पाँचौँ महाधिवेशनपछि केन्द्रीय सदस्यमा निर्वाचित उनी २०७१ सालको नवौँ महाधिवेशन र दसौँ महाधिवेशनमा केन्द्रीय उपाध्यक्ष भइन् ।

७२ वर्षकी शाक्य बागमती प्रदेशको पहिलो मुख्यमन्त्रीसमेत भएकी थिइन्। नेकपा विघटनपछि भएको राजनीति परिवर्तनले उनको मुख्यमन्त्री पद चाँडै खोसियो । शाक्यले पार्टीबाट बिदा भएर अभिभावकीय भूमिकामा रहने बताउँदै आएकी छिन्।

‘मैले त बिदा हुने योजना अस्ति नै बनाएको थिएँ। नयाँलाई अवसर दिऊँ भन्ने पक्षमा छु’, शाक्यले खबरहबलाई भनिन, ‘नयाँ पुस्ताले देश हाँक्नुपर्छ विचार सिद्धान्त र निर्णयमा अडिक भएको नयाँ जेनेरेसनको खोजीमा छु।’

पाण्डे र अर्यालबीच प्रतिस्पर्धा

एमालेमा महिला उपाध्यक्षका लागि विन्दा पाण्डे र पद्मा अर्यालबीच प्रतिस्पर्धा हुने भएको छ। कुनै राजनीतिक परिवर्तन नभएको खण्डमा दुई नेतृ उपाध्यक्षका लागि प्रतिस्पर्धा गर्दै छन् । अर्याल यसअगाडि सचिव थिइन् ।

अर्याल भन्दा पाण्डे पार्टीमा लामो समय महिला सहभागिताको विषयमा काम गरेकी व्यक्ति हुन् । विगतमा वामदेव गौतम समूहमा रहेकी अर्याल भूमि व्यवस्था तथा सहकारी मन्त्री हुँदा चुच्चे नक्सा जारी गरेर चर्चामा आइन् । तर गिरिबन्धु टी स्टेटको पक्षमा कानुन बनाएको भन्दै उनी अहिले पनि आलोचनामा परिरहन्छिन् ।

को हुन् पाण्डे ?

पाण्डे एमालेको बौद्धिक नेतृमा पर्छिन्। पर्याप्त ज्ञान र क्षमता हुँदाहुँदै पनि पार्टीमा अवसर नपाएकी नेतृ हुन् उनी । स्थायी कमिटी सदस्य उनी महिला सहभागिता र समानताबारे पार्टी र बाहिर लामो समयदेखि काम गर्दै आएकी छन्।

विद्यार्थी आन्दोलनबाट उदाएकी पाण्डे २०३७ सालमा स्कुल पढ्दादेखि राजनीतिमा लागेकी थिइन्। २०६२ सालमा एमाले महिला विभागले लैङ्गिक मुद्दा सम्बन्धी आठ वटा बुँदा बनाएर पारित गर्दा त्यसको साक्षी उनले पुस्तकसमेत प्रकाशन गरेकी छन्।

सन् २०१७ मा पीएचडी सकेकी उनी मीनबहादुर गुरुङले एमालेलाई जग्गा दान दिएको विषयमा आलोचना गर्दा पार्टीबाट ६ महिना निष्कासन भइन् । अध्यक्ष केपी शर्मा ओलीको एकात्मकता प्रवृत्तिप्रति कडा आलोचक मानिएकी उनलाई ओली समूहले मन पराउँदैनन् ।

पोखरेल समूहबाट एमालेको उपाध्यक्ष हुँदै हुनुहुन्छ रे नि भन्ने प्रश्नमा पाण्डे भन्छिन्, ‘अग्रजहरूले मलाई उठ्नुपर्छ र जिम्मेवारी दिएको खण्डमा म जुनसुकै भूमिका पनि पार्टीमा निभाउन तयार छु। लामो समय पार्टीमा इमानदार भएर काम गरे पनि मैले जिम्मेवारी तहमा रहेर आफ्ना गतिविधि गर्न पाएको छैन। यो पटक म एमालेको नयाँ नेतृत्व आउनुपर्छ भन्ने अडानमा छु नयाँ नेतृत्वसँग बसेर यहाँले भनेकै पदमा पनि काम गर्न सकिन्छ।’

को हुन् अर्याल ?

अर्याल २०३६ सालदेखि कम्युनिस्ट राजनीतिमा समावेश भइन्। उनी एमाले स्याङ्जाको पहिलो महिला अध्यक्ष पनि हुन् । एमाले सरकारमा रहेको बेला पटक–पटक मन्त्री बन्दै आएकी छन्।

२०५४ मा एमाले फुटेर मालेभन्दा एमालेतिर लागेकी उनी बामदेव गौतमकी विश्वासिलो पात्र मानिन्छिन्। तर वामदेवले एमाले छोडेपछि उनले एमाले अध्यक्ष ओलीलाई साथ दिँदै आएकी छन्।

२०७४ को निर्वाचनमा स्याङ्जामा नेपाली कांग्रेसका गोपालमान श्रेष्ठलाई पराजित गर्दै उनी प्रतिनिधिसभामा निर्वाचित भएकी थिइन्। तर २०७९ को निर्वाचनमा भने कांग्रेस उपसभापति धनराज गुरुङसँग उनी पराजित भइन्। उनी एमालेको दशौँ महाधिवेशनमा १८०० मतसहित सचिवमा निर्वाचित भएकी थिइन्।

प्रतिनिधिसभामा पराजित भएपछि उनी पार्टी राजनीतिमा सक्रिय छिन् । यो पटक उनी उपाध्यक्षको दाबेदार हुन् । ‘मैले यो या त्यो भन्ने भन्दा स्वाभाविक रूपले पार्टीले जे जिम्मेवारी दिन्छ, त्यो लिन तयार छु’, उनी भन्छिन्, ‘मेरो कुरा के हो भने अहिले केपी शर्मा ओलीको विकल्प छैन । उहाँको टिममा बसेर जुनसुकै भूमिका पनि निभाउन तयार छु।’

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ५ : २७ बजे

ईश्वर पोखरेल समूहबाट सुरेन्द्र पाण्डेले महासचिवमा प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत जारी बन्द सत्रमा

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक यही मङ्सिर

मुम्बईमा मेस्सी र सचिनको भेट, वानखेडेमा गुन्जियो ‘बार्सिलोना’को नारा

काठमाडौं – अन्तर्राष्ट्रिय फुटबल सुपरस्टार लियोनल मेस्सी र भारतीय क्रिकेट

एमाले महाधिवेशनः पृथ्वीसुब्बाको संयोजकत्वमा माइन्युट कमिटी गठन

काठमाडौं – नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक

बालेनको आवाज रहेको ‘आम नेपाली बुवा’ र्‍याप सार्वजनिक (भिडियोसहित)

काठमाडौं – चलचित्र ‘झरीपछिको इन्द्रेणी’को गीत ‘आम नेपाली बुबा’ सार्वजनिक