एमालेमा जस्तो लोकतन्त्र अरूमा छैन, एक जनाले भन्दा चुनाव हुन्छ : देवी ज्ञवाली « Khabarhub

अन्तर्वार्ता

एमालेमा जस्तो लोकतन्त्र अरूमा छैन, एक जनाले भन्दा चुनाव हुन्छ : देवी ज्ञवाली



काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली चौथो महाधिवेशनदेखि निरन्तर पार्टीमा छन् ।

वि. सं. २०२९ सालदेखि एमालेका समर्थक रहेका उनी ०३३ देखि विभिन्न कमिटिमा पनि सक्रिय रहे । १४ वर्षको किशोरवयदेखि पार्टीमा लागेका उनी हाल ६२ वर्षका भए । हालसम्म उनले आठवटा महाधिवेशनलाई प्रत्यक्षदर्शी र प्रतिनिधिका रुपमा नियालिसकेका छन् ।

चौथोदेखि हाल एघारौं महाधिवेशनसम्म आइपुग्दाका परिवर्तन र पार्टीभित्रको आन्तरिक लोकतन्त्रको अवस्था कस्तो छ ? पहिले र अहिलेको अधिवेशन प्रणालीको सुधारको अवस्था कस्तो छ ? जेन–जी आन्दोलनपश्चात् दलहरूका चुनौती के–कस्ता छन् ? यीसहितका विषयमा केन्द्रित रहेर हामीले कुराकानी गरेका छौँ ।

एमालेको चौथो महाधिवेशन कसरी कहाँ भएको थियो ?

त्यो अधिवेशन सिरहा जिल्लामा भएको थियो । २०४६ भदौ ९ देखि १४ सम्म भूमिगत पञ्चायतको निरकुङ्शताभित्र हामीले प्रतिनिधिहरूसँग लामो छलफल गरेका थियौँ । छलफलमा हामीले मुख्य तीन कुरामा विशेष ध्यान दिएका थियौँ । पार्टी स्वतन्त्रताको पक्षलाई मूल नारा बनाउने सीपी मैनाली कमरेडको भनाइ थियो ।

मोदनाथ प्रश्रितजीले संविधानसभाको मागलाई बोकेर जानुपर्छ भन्नुभएको थियो । मदन भण्डारी लगायतको टीमले राजनीतिक पार्टी स्वतन्त्रता लगायत १५ वटा बुँदा अघि सारेको थियो । परिस्थितिगत ढंगले कुनैमा पनि जान सकिने भन्ने थियो । पार्टी स्वतन्त्रताको परिभाषा संकुचित भए पनि राजनीतिक स्वतन्त्रताले सबै स्वतन्त्रतालाई समेट्छ भन्ने दृष्टिकोण पारित भएको थियो ।

नेतृत्वकै सवालमा वामदेव गौतमजीले त्यतिखेर पार्टीमा बस्न सक्दिनँ, परिवार बिरामी भएको छ भन्ने बहाना बनाएर बिदा माग्नुभयो । हामी सबैजना ज्यान हत्केलामा राखेर घर परिवार छाडेर लागेका थियौँ । मूलधारमा आएर पनि मेरो परिवारमा समस्या भयो भन्दै भाग्न पाउनुहुन्छ ? भनेर प्रश्न गरेपछि केपी शर्मा ओलीले डेढ घण्टा बाहिर राखेर सम्झाउनुभयो । त्यसपछि उहाँलाई केन्द्रीय कमिटिमा समावेश गरियो । त्यतिबेला मदन भण्डारीको नेतृत्वमा पार्टी बन्यो ।

मदन भण्डारी र मनमोहनअधिकारीको व्यवस्थापन कसरी भएको थियो ?

मनमोहनजी मार्क्सवादी समूहमा हुनुहुन्थ्यो । हाम्रो माले मार्क्सवादीबीचको एकीकरण २०४७ मा भएको हो । दुवैले बराबर तहको एकता गर्ने कुरा आयो । सहाना प्रधानहरू मार्क्सवादी र हामी तत्कालीन माले थियौँ । मालेसँग सहमति गरेर बराबर भएन भने एकता हुँदैन भन्नुभयो । यता केपी, वामदेव, प्रदीप नेपाल लगायत पनि के हैसियत छ र ? बराबर हुने भन्ने खालको मत थियो ।

तर, मदन भण्डारीले भने बाहिर एकताको सन्देश दिनुपर्छ । नत्र हामीलाई केटाकेटी अल्लारे भन्छन् । मनमोहनजस्तो पाको फिगर बनाएर भूमिकामा काम गर्ने हामीले नै हो भन्नुभयो । बराबर गर्न हिचकिचाउनु पर्दैन भनेपछि एकता भएको हो । पहिले महासचिव नै कार्यकारी थियो ।

हामीले पछि विधान संशोधन गरेर अध्यक्षलाई कार्यकारी बनाउने प्रणालीमा गयौँ । ३५ वर्ष भएछ । अहिले हेर्दा त्यो समूहबाट आएका कति साथी पाका हुनुहन्थ्यो । कोही बित्नुभयो । कतिपय बाहिरिनुभयो । टिक्ने एक जना छैन । हिजो बराबर अंश लिएर मात्रै पनि नहुने रहेछ नि । कर्म गर्नुपर्ने रहेछ !

पाँचौ महाधिवेशनको नेतृत्व चयन कसरी भयो ?

हामीले उम्मेदवारी दिएका थियौँ । भोटिङ भयो । नीतिबारे जनताको बहुदलीय जनवाद र नौलो जनवाद, परिमार्जित जनवादका विचारहरू अभिव्यक्त भएका थिए । नौलो जनवादको नेतृत्व सीपी मैनालीले लिनुभएको थियो । बहुदलीय जनवादको प्रणेता मदन भण्डारी हुनुहन्थ्यो । भोटिङ हुँदा मदनले हलको ७१ प्रतिशत मत प्राप्त गर्नुभयो ।

त्यसपछि उम्मेदवारी दिने कुरामा सीपीलगायत नेताहरू बाहिरिने कुरा भइरहेको थियो । उम्मेदवारी दिइएको थियो, तर पछि मिलाएर सर्वसम्मत नेतृत्व घोषणा गर्ने प्रत्यत्नको निम्ति हलका तर्फबाट मुकुन्द न्यौपानेले सबै उम्मेदवारी फिर्ता भनेपछि हलले त्यो कुराको अनुमोदन भयो ।

सर्वसम्मत नेतृत्व गराउने क्रममा प्रदीप नेपाल, अष्टलक्ष्मी शाक्य, केदार न्यौपाने लगायत कमिटीमा पर्नुभएन । प्रदीप नेपालले सार्वजनिक रुपमै वक्तव्य दिनुभएको थियो । तर पछि मदनजीले मनोनित गरेर उहाँहरूलाई ल्याउनुभयो । इतिहासदेखि यस पार्टीको दर्शकको रुपमा यस्ता कुराहरु देखिरहेको छु ।

पाँचौँ महाधिवेशनमा उठेका राजनीतिक मुद्दा र अहिले एघारौँ महाधिवेशनको मुद्दाबीच कति परिवर्तन भएछ ?

धेरै परिवर्तन भएको छ । पाँचौ अधिवेशनताका हामी संवैधानिक राजतन्त्रत्मक प्रणालीमा थियौँ । अहिले हामी सङ्घीय गणतान्त्रिक प्रणालीमा छौँ । मदन भण्डारीले ०४६ सालमा संविधान निमार्णको क्रममा २७ बुदाँमा फरक विचार राख्नुभएको थियो ।

आलोचनात्मक समर्थन गरेका थियौँ । तर, पछि सुवास नेम्वाङ पुर्नस्थापित संसद्को सभामुख हुनुभयो । त्यो बेला हामीले राखेका बुदाँ पूरा गर्नेगरी यो पुर्नसंरचना गणतन्त्रको स्थिति सिर्जना हुँदा हामीले धेरै कुरा परिवर्तन गर्‍यौँ ।

कुन–कुन कमिटीमा बस्नुभयो ?

पार्टीको ग्रासरुटबाट वार्डको सेल कमिटी हुँदै मैले काम सुरु गरेँ । इलाका कमिटीमा पनि बसेँ । जिल्ला कमिटीमा बसेँ । तत्कालीन अञ्चल कमिटी, आठौं केन्द्रीय कमिटी, जो बुटवलमा भएको थियो । त्यसमा केन्द्रीय कमिटीमा आएँ ।

तर नवौं महाधिवेशनमा दुई मत कम भयो । त्यसपछि सल्लाहकार भएर काम गरेँ । चितवनमा आयोजित दशौंमा केन्द्रीय कमिटीमा आएपछि पोलिटब्युरोमा ल्याए । अहिले पोलिटब्युरो र चितवन इन्चार्जकै हिसाबले काम गरिरहेको छु ।

एक पदमा दोहोर्‍याएर बस्दिनँ भन्ने अनि केपी ओलीलाई किन अध्यक्षमा तीन पटक बोक्नुभएको ?

राम्रो प्रश्न गर्नुभयो । चीनमा दुई कार्यकालको व्यवस्था छ । तर, सी चिनफिङलाई पार्टी, कार्यकर्ता र राष्ट्रले समेत उहाँको नेतृत्व अपरिहार्य ठान्यो । त्यसकारण उहाँ तेस्रो कार्यकालको लागि आउनुभयो । नेपालको सन्दर्भमा केपी ओली राष्ट्रको अडान, राष्ट्रिय समृद्धिको योजनाहरु निर्माण गर्ने सवालमा चट्टानसरह अडिग रहनुभयो ।

भोलि उहाँभन्दा राम्रो नेतृत्व आउला, तर वर्तमानमा त्यो गुण, क्षमता र ल्याकत अरुमा देखिँदैन । त्यो उचाइको नेतृत्व अरुमा देखिएको छैन । गाउँदेखि टोलसम्म अर्थात् तल्लो कार्यकर्तासमेत नेतृत्व परिवर्तन गर्ने समय भएको छैन भन्नेमा पक्षमा हुनुहुन्छ ।
केपी ओलीलाई अध्यक्ष नबनाउने हो भने जिल्ला, प्रदेशकालाई भोट हाल्न नजाउन् भनेका छन् । अबको पाँच वर्ष अर्थात् बाह्रौँ महाधिवेशनमा ओलीजत्तिकै उचाइको नेता निर्माण गर्दै लैजानुपर्छ ।

ईश्वर पोखरेलले बालहठ गरेर चुनाव भएको हो भन्ने भाष्य निर्माण गर्न खोजिएको हो ?

त्यो उहाँले आत्मबोध गर्नुहोला । तर उहाँले माग्नुभयो भने चुनाव गराउनुपर्छ । चाहनुभयो भने चुनाव हुन्छ । तर, नेताहरूले कार्यकर्ताले के गर्दैछन् भन्ने पनि बुझ्नुपर्छ । उनीहरुले के चाहेका छन् भनेर बुझनुपर्छ । म नेताहरु सबैलाई मिलाएर सर्वसम्मतमै लैजाउन भन्ने पक्षमा छु ।

आन्तरिक लोकतान्त्रिक प्रगतिमा एमालेमा जिकज्याक देखिन्छ ? नवौं महाधिवेशनमा प्रतिस्पर्धा गरेको एमाले दशौंमा उम्मेदवारी दर्ता नगर्ने भन्नेमा जानुभयो । दर्ता गरिसकेपछि पनि फरक वातावरण बन्यो । दर्ता गर्नेहरू पार्टीबाटै निष्कासित पनि भए । त्यसले पार्टीको इमेज बिगारेकै हो नि हैन ?

नेपालमा लोकतान्त्रिक प्रणाली अभ्यास गर्ने एमाले नै हो । एमालेले अरु पार्टीलाई गाइड गरेको छ, सिकाएको छ । पार्टीभित्र आफ्नो कुरा आएन भन्नेहरूले पनि आवश्यक छलफल भएन भनेर भन्न सक्छन् । त्यहाँ हाउसको डेलिगेसन सर्वसम्मत हुने भए त्यो नै हाम्रालागि अधिकतम र सर्वोत्तम लोकतन्त्र हो । नत्र भने निर्वाचन र लोकतन्त्रमा जान्छ ।

एमालेले त्यसबेला दशौँमा एक नम्बरको लोकतन्त्रमा रहन खोजेको थियो । एकजना साथीले बालहठ गर्नुभयो । मलाई चुनावमै जान दिनुपर्छ भन्नुभयो । भीमदाइ (भीम रावल) नै हो- नाम लुकाउनुपर्ने कुरा छैन । उहाँलाई मैले अहिलेको क्याडरको सेम्पेथी तपाईंसँग छैन । कार्यकर्ताले तपाईंलाई उपाध्यक्षमा चाहेका छन् भनेको हो । तर उहाँले आफ्नो अधिकार प्रयोग गर्न नपाउने ? भन्नुभयो ।

एकजना व्यक्तिको कारणले निर्वाचन भयो । एक जनाको माग पनि एमालेले सम्बोधन गर्ने रहेछ । एकजना व्यक्तिले माग्दा एमालेले निर्वाचन गराउँछ । तर पार्टीको कार्यकर्ता भएपछि निश्चित विधि, प्रक्रिया र तरिकाले बोल्नुपर्छ । ठाउँमा बोल्नुपर्छ । जहाँ पायो त्यही बोलेर हुन्न ।

माधव नेपालले ओलीजीलाई साधारण सदस्यबाट निकाल्नुभएको हो । तर पनि नेपाल र सुरेन्द्र लगायतका साथीहरूलाई उपाध्यक्ष बनाएर दायाँबायाँ राखेर हिँड्नुभएको हो । त्यो साहस अरु पार्टीमा छ ?

अन्तिममा, जेन–जी आन्दोलनपश्चात् राजनीतिक दलहरूमाथि आएको चुनौतीलाई कसरी हेर्नुभएको छ ?

यी एक उमेर समूहको विद्यार्थी भाइबहिनी हुन् । उनीहरु सुशासन नियन्त्रण र सामाजिक सञ्जालको प्रतिबन्ध फुकुवा गर्नुपर्‍यो भन्ने माग लिएर सडकमा आएका थिए । तर, उनीहरूको आन्दोलन अरु कसैले हाइज्याक गर्यो । उनीहरूको सिंहदरबार, संसद् भवन र अदालत जलाउने नियत थिएन । नेताहरुको घर तथा व्यक्तिगत सम्पत्ति जलाउने पनि थिएन । अराष्ट्रिय, वैदेशिक शक्तिको योजना प्रतिगमनकारी सोच भएका व्यक्तिहरुको संयोजनमा विध्वंश भएको थियो ।

त्यसकारण यो जेन–जी क्रान्ति नभएर प्रतिक्रान्ती हो । अब हाम्रो सम्बोधन नयाँ पुस्तालाई नेतृत्वमा अगाडि बढाउनुपर्छ भनेर अहिलेकै महाधिवेशनमा ४० वर्ष मुनिकालाई एक निर्वाचन क्षेत्रमा एक युवा अनिवार्य गरिएको छ । यसले झण्डै पाँच सय आउँछन् । अब नेतृत्वमा तीन तरेली- पाको, वयस्क र युवाको प्रतिनिधित्व हुन्छ ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ८ : १७ बजे

ईश्वर पोखरेल समूहबाट सुरेन्द्र पाण्डेले महासचिवमा प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत जारी बन्द सत्रमा

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक यही मङ्सिर

मुम्बईमा मेस्सी र सचिनको भेट, वानखेडेमा गुन्जियो ‘बार्सिलोना’को नारा

काठमाडौं – अन्तर्राष्ट्रिय फुटबल सुपरस्टार लियोनल मेस्सी र भारतीय क्रिकेट

एमाले महाधिवेशनः पृथ्वीसुब्बाको संयोजकत्वमा माइन्युट कमिटी गठन

काठमाडौं – नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक

बालेनको आवाज रहेको ‘आम नेपाली बुवा’ र्‍याप सार्वजनिक (भिडियोसहित)

काठमाडौं – चलचित्र ‘झरीपछिको इन्द्रेणी’को गीत ‘आम नेपाली बुबा’ सार्वजनिक