एमालेमा जस्तो लोकतन्त्र अरूमा छैन, एक जनाले भन्दा चुनाव हुन्छ : देवी ज्ञवाली « Khabarhub

अन्तर्वार्ता

एमालेमा जस्तो लोकतन्त्र अरूमा छैन, एक जनाले भन्दा चुनाव हुन्छ : देवी ज्ञवाली



काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली चौथो महाधिवेशनदेखि निरन्तर पार्टीमा छन् ।

वि. सं. २०२९ सालदेखि एमालेका समर्थक रहेका उनी ०३३ देखि विभिन्न कमिटिमा पनि सक्रिय रहे । १४ वर्षको किशोरवयदेखि पार्टीमा लागेका उनी हाल ६२ वर्षका भए । हालसम्म उनले आठवटा महाधिवेशनलाई प्रत्यक्षदर्शी र प्रतिनिधिका रुपमा नियालिसकेका छन् ।

चौथोदेखि हाल एघारौं महाधिवेशनसम्म आइपुग्दाका परिवर्तन र पार्टीभित्रको आन्तरिक लोकतन्त्रको अवस्था कस्तो छ ? पहिले र अहिलेको अधिवेशन प्रणालीको सुधारको अवस्था कस्तो छ ? जेन–जी आन्दोलनपश्चात् दलहरूका चुनौती के–कस्ता छन् ? यीसहितका विषयमा केन्द्रित रहेर हामीले कुराकानी गरेका छौँ ।

एमालेको चौथो महाधिवेशन कसरी कहाँ भएको थियो ?

त्यो अधिवेशन सिरहा जिल्लामा भएको थियो । २०४६ भदौ ९ देखि १४ सम्म भूमिगत पञ्चायतको निरकुङ्शताभित्र हामीले प्रतिनिधिहरूसँग लामो छलफल गरेका थियौँ । छलफलमा हामीले मुख्य तीन कुरामा विशेष ध्यान दिएका थियौँ । पार्टी स्वतन्त्रताको पक्षलाई मूल नारा बनाउने सीपी मैनाली कमरेडको भनाइ थियो ।

मोदनाथ प्रश्रितजीले संविधानसभाको मागलाई बोकेर जानुपर्छ भन्नुभएको थियो । मदन भण्डारी लगायतको टीमले राजनीतिक पार्टी स्वतन्त्रता लगायत १५ वटा बुँदा अघि सारेको थियो । परिस्थितिगत ढंगले कुनैमा पनि जान सकिने भन्ने थियो । पार्टी स्वतन्त्रताको परिभाषा संकुचित भए पनि राजनीतिक स्वतन्त्रताले सबै स्वतन्त्रतालाई समेट्छ भन्ने दृष्टिकोण पारित भएको थियो ।

नेतृत्वकै सवालमा वामदेव गौतमजीले त्यतिखेर पार्टीमा बस्न सक्दिनँ, परिवार बिरामी भएको छ भन्ने बहाना बनाएर बिदा माग्नुभयो । हामी सबैजना ज्यान हत्केलामा राखेर घर परिवार छाडेर लागेका थियौँ । मूलधारमा आएर पनि मेरो परिवारमा समस्या भयो भन्दै भाग्न पाउनुहुन्छ ? भनेर प्रश्न गरेपछि केपी शर्मा ओलीले डेढ घण्टा बाहिर राखेर सम्झाउनुभयो । त्यसपछि उहाँलाई केन्द्रीय कमिटिमा समावेश गरियो । त्यतिबेला मदन भण्डारीको नेतृत्वमा पार्टी बन्यो ।

मदन भण्डारी र मनमोहनअधिकारीको व्यवस्थापन कसरी भएको थियो ?

मनमोहनजी मार्क्सवादी समूहमा हुनुहुन्थ्यो । हाम्रो माले मार्क्सवादीबीचको एकीकरण २०४७ मा भएको हो । दुवैले बराबर तहको एकता गर्ने कुरा आयो । सहाना प्रधानहरू मार्क्सवादी र हामी तत्कालीन माले थियौँ । मालेसँग सहमति गरेर बराबर भएन भने एकता हुँदैन भन्नुभयो । यता केपी, वामदेव, प्रदीप नेपाल लगायत पनि के हैसियत छ र ? बराबर हुने भन्ने खालको मत थियो ।

तर, मदन भण्डारीले भने बाहिर एकताको सन्देश दिनुपर्छ । नत्र हामीलाई केटाकेटी अल्लारे भन्छन् । मनमोहनजस्तो पाको फिगर बनाएर भूमिकामा काम गर्ने हामीले नै हो भन्नुभयो । बराबर गर्न हिचकिचाउनु पर्दैन भनेपछि एकता भएको हो । पहिले महासचिव नै कार्यकारी थियो ।

हामीले पछि विधान संशोधन गरेर अध्यक्षलाई कार्यकारी बनाउने प्रणालीमा गयौँ । ३५ वर्ष भएछ । अहिले हेर्दा त्यो समूहबाट आएका कति साथी पाका हुनुहन्थ्यो । कोही बित्नुभयो । कतिपय बाहिरिनुभयो । टिक्ने एक जना छैन । हिजो बराबर अंश लिएर मात्रै पनि नहुने रहेछ नि । कर्म गर्नुपर्ने रहेछ !

पाँचौ महाधिवेशनको नेतृत्व चयन कसरी भयो ?

हामीले उम्मेदवारी दिएका थियौँ । भोटिङ भयो । नीतिबारे जनताको बहुदलीय जनवाद र नौलो जनवाद, परिमार्जित जनवादका विचारहरू अभिव्यक्त भएका थिए । नौलो जनवादको नेतृत्व सीपी मैनालीले लिनुभएको थियो । बहुदलीय जनवादको प्रणेता मदन भण्डारी हुनुहन्थ्यो । भोटिङ हुँदा मदनले हलको ७१ प्रतिशत मत प्राप्त गर्नुभयो ।

त्यसपछि उम्मेदवारी दिने कुरामा सीपीलगायत नेताहरू बाहिरिने कुरा भइरहेको थियो । उम्मेदवारी दिइएको थियो, तर पछि मिलाएर सर्वसम्मत नेतृत्व घोषणा गर्ने प्रत्यत्नको निम्ति हलका तर्फबाट मुकुन्द न्यौपानेले सबै उम्मेदवारी फिर्ता भनेपछि हलले त्यो कुराको अनुमोदन भयो ।

सर्वसम्मत नेतृत्व गराउने क्रममा प्रदीप नेपाल, अष्टलक्ष्मी शाक्य, केदार न्यौपाने लगायत कमिटीमा पर्नुभएन । प्रदीप नेपालले सार्वजनिक रुपमै वक्तव्य दिनुभएको थियो । तर पछि मदनजीले मनोनित गरेर उहाँहरूलाई ल्याउनुभयो । इतिहासदेखि यस पार्टीको दर्शकको रुपमा यस्ता कुराहरु देखिरहेको छु ।

पाँचौँ महाधिवेशनमा उठेका राजनीतिक मुद्दा र अहिले एघारौँ महाधिवेशनको मुद्दाबीच कति परिवर्तन भएछ ?

धेरै परिवर्तन भएको छ । पाँचौ अधिवेशनताका हामी संवैधानिक राजतन्त्रत्मक प्रणालीमा थियौँ । अहिले हामी सङ्घीय गणतान्त्रिक प्रणालीमा छौँ । मदन भण्डारीले ०४६ सालमा संविधान निमार्णको क्रममा २७ बुदाँमा फरक विचार राख्नुभएको थियो ।

आलोचनात्मक समर्थन गरेका थियौँ । तर, पछि सुवास नेम्वाङ पुर्नस्थापित संसद्को सभामुख हुनुभयो । त्यो बेला हामीले राखेका बुदाँ पूरा गर्नेगरी यो पुर्नसंरचना गणतन्त्रको स्थिति सिर्जना हुँदा हामीले धेरै कुरा परिवर्तन गर्‍यौँ ।

कुन–कुन कमिटीमा बस्नुभयो ?

पार्टीको ग्रासरुटबाट वार्डको सेल कमिटी हुँदै मैले काम सुरु गरेँ । इलाका कमिटीमा पनि बसेँ । जिल्ला कमिटीमा बसेँ । तत्कालीन अञ्चल कमिटी, आठौं केन्द्रीय कमिटी, जो बुटवलमा भएको थियो । त्यसमा केन्द्रीय कमिटीमा आएँ ।

तर नवौं महाधिवेशनमा दुई मत कम भयो । त्यसपछि सल्लाहकार भएर काम गरेँ । चितवनमा आयोजित दशौंमा केन्द्रीय कमिटीमा आएपछि पोलिटब्युरोमा ल्याए । अहिले पोलिटब्युरो र चितवन इन्चार्जकै हिसाबले काम गरिरहेको छु ।

एक पदमा दोहोर्‍याएर बस्दिनँ भन्ने अनि केपी ओलीलाई किन अध्यक्षमा तीन पटक बोक्नुभएको ?

राम्रो प्रश्न गर्नुभयो । चीनमा दुई कार्यकालको व्यवस्था छ । तर, सी चिनफिङलाई पार्टी, कार्यकर्ता र राष्ट्रले समेत उहाँको नेतृत्व अपरिहार्य ठान्यो । त्यसकारण उहाँ तेस्रो कार्यकालको लागि आउनुभयो । नेपालको सन्दर्भमा केपी ओली राष्ट्रको अडान, राष्ट्रिय समृद्धिको योजनाहरु निर्माण गर्ने सवालमा चट्टानसरह अडिग रहनुभयो ।

भोलि उहाँभन्दा राम्रो नेतृत्व आउला, तर वर्तमानमा त्यो गुण, क्षमता र ल्याकत अरुमा देखिँदैन । त्यो उचाइको नेतृत्व अरुमा देखिएको छैन । गाउँदेखि टोलसम्म अर्थात् तल्लो कार्यकर्तासमेत नेतृत्व परिवर्तन गर्ने समय भएको छैन भन्नेमा पक्षमा हुनुहुन्छ ।
केपी ओलीलाई अध्यक्ष नबनाउने हो भने जिल्ला, प्रदेशकालाई भोट हाल्न नजाउन् भनेका छन् । अबको पाँच वर्ष अर्थात् बाह्रौँ महाधिवेशनमा ओलीजत्तिकै उचाइको नेता निर्माण गर्दै लैजानुपर्छ ।

ईश्वर पोखरेलले बालहठ गरेर चुनाव भएको हो भन्ने भाष्य निर्माण गर्न खोजिएको हो ?

त्यो उहाँले आत्मबोध गर्नुहोला । तर उहाँले माग्नुभयो भने चुनाव गराउनुपर्छ । चाहनुभयो भने चुनाव हुन्छ । तर, नेताहरूले कार्यकर्ताले के गर्दैछन् भन्ने पनि बुझ्नुपर्छ । उनीहरुले के चाहेका छन् भनेर बुझनुपर्छ । म नेताहरु सबैलाई मिलाएर सर्वसम्मतमै लैजाउन भन्ने पक्षमा छु ।

आन्तरिक लोकतान्त्रिक प्रगतिमा एमालेमा जिकज्याक देखिन्छ ? नवौं महाधिवेशनमा प्रतिस्पर्धा गरेको एमाले दशौंमा उम्मेदवारी दर्ता नगर्ने भन्नेमा जानुभयो । दर्ता गरिसकेपछि पनि फरक वातावरण बन्यो । दर्ता गर्नेहरू पार्टीबाटै निष्कासित पनि भए । त्यसले पार्टीको इमेज बिगारेकै हो नि हैन ?

नेपालमा लोकतान्त्रिक प्रणाली अभ्यास गर्ने एमाले नै हो । एमालेले अरु पार्टीलाई गाइड गरेको छ, सिकाएको छ । पार्टीभित्र आफ्नो कुरा आएन भन्नेहरूले पनि आवश्यक छलफल भएन भनेर भन्न सक्छन् । त्यहाँ हाउसको डेलिगेसन सर्वसम्मत हुने भए त्यो नै हाम्रालागि अधिकतम र सर्वोत्तम लोकतन्त्र हो । नत्र भने निर्वाचन र लोकतन्त्रमा जान्छ ।

एमालेले त्यसबेला दशौँमा एक नम्बरको लोकतन्त्रमा रहन खोजेको थियो । एकजना साथीले बालहठ गर्नुभयो । मलाई चुनावमै जान दिनुपर्छ भन्नुभयो । भीमदाइ (भीम रावल) नै हो- नाम लुकाउनुपर्ने कुरा छैन । उहाँलाई मैले अहिलेको क्याडरको सेम्पेथी तपाईंसँग छैन । कार्यकर्ताले तपाईंलाई उपाध्यक्षमा चाहेका छन् भनेको हो । तर उहाँले आफ्नो अधिकार प्रयोग गर्न नपाउने ? भन्नुभयो ।

एकजना व्यक्तिको कारणले निर्वाचन भयो । एक जनाको माग पनि एमालेले सम्बोधन गर्ने रहेछ । एकजना व्यक्तिले माग्दा एमालेले निर्वाचन गराउँछ । तर पार्टीको कार्यकर्ता भएपछि निश्चित विधि, प्रक्रिया र तरिकाले बोल्नुपर्छ । ठाउँमा बोल्नुपर्छ । जहाँ पायो त्यही बोलेर हुन्न ।

माधव नेपालले ओलीजीलाई साधारण सदस्यबाट निकाल्नुभएको हो । तर पनि नेपाल र सुरेन्द्र लगायतका साथीहरूलाई उपाध्यक्ष बनाएर दायाँबायाँ राखेर हिँड्नुभएको हो । त्यो साहस अरु पार्टीमा छ ?

अन्तिममा, जेन–जी आन्दोलनपश्चात् राजनीतिक दलहरूमाथि आएको चुनौतीलाई कसरी हेर्नुभएको छ ?

यी एक उमेर समूहको विद्यार्थी भाइबहिनी हुन् । उनीहरु सुशासन नियन्त्रण र सामाजिक सञ्जालको प्रतिबन्ध फुकुवा गर्नुपर्‍यो भन्ने माग लिएर सडकमा आएका थिए । तर, उनीहरूको आन्दोलन अरु कसैले हाइज्याक गर्यो । उनीहरूको सिंहदरबार, संसद् भवन र अदालत जलाउने नियत थिएन । नेताहरुको घर तथा व्यक्तिगत सम्पत्ति जलाउने पनि थिएन । अराष्ट्रिय, वैदेशिक शक्तिको योजना प्रतिगमनकारी सोच भएका व्यक्तिहरुको संयोजनमा विध्वंश भएको थियो ।

त्यसकारण यो जेन–जी क्रान्ति नभएर प्रतिक्रान्ती हो । अब हाम्रो सम्बोधन नयाँ पुस्तालाई नेतृत्वमा अगाडि बढाउनुपर्छ भनेर अहिलेकै महाधिवेशनमा ४० वर्ष मुनिकालाई एक निर्वाचन क्षेत्रमा एक युवा अनिवार्य गरिएको छ । यसले झण्डै पाँच सय आउँछन् । अब नेतृत्वमा तीन तरेली- पाको, वयस्क र युवाको प्रतिनिधित्व हुन्छ ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ८ : १७ बजे

सामुदायिक भवनमा आगलागी हुँदा तीन करोड बढीको क्षति

खोटाङ– यहाँको साकेला गाउँपालिकाको सामुदायिक भवनमा आगलागी हुँदा तीन करोड

नयाँ उम्मेदवारको खोजीमा काठमाडौं, कांग्रेस रक्षात्मक, कम्युनिस्टको छैन लहर

काठमाडौं– देशको सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको जिल्ला काठमाडौंमा विगतका

एनसेल-फुडमाण्डु साझेदारी : ल्याए खानाका परिकारमा १५० को छुट अफर

काठमाडौं- एनसेलले फुडमाण्डुसँग साझेदारी गर्दै नयाँ अफर सुरु गरेको छ ।

एमाले सधैँ देश निर्माण गर्ने शक्ति हो : नेता पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा  काठमाडौं क्षेत्र नम्बर