‘सेबोनको पनि कमजोरी छ, ब्रोकरलाई पुँजी पुर्‍याउन समय दिनुपर्छ’ | Khabarhub Khabarhub

‘सेबोनको पनि कमजोरी छ, ब्रोकरलाई पुँजी पुर्‍याउन समय दिनुपर्छ’


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 7 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र दलाल व्यवसायी (ब्रोकर कम्पनी) लाई एक–आपसमा गाभिने (मर्ज गर्ने) बाटो खोलिदिएको छ । धितोपत्र व्यवसायी गाभ्ने-गाभिने वा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका २०८१’ आएको छ ।

सेबोनले २०७९ सालमै नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिँदा न्यूनतम पुँजी २० करोड हुनुपर्ने मापदण्ड राखेको थियो । पुराना कम्पनीका हकमा ३ वर्षभित्र २० करोड रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनु पर्ने निर्देशन दिएको थियो ।

आगामी आर्थिक वर्ष २०८२/०८३ बाट लागू हुने गरी ब्रोकर कम्पनीले नयाँ मापदण्डअनुसार चुक्ता पुँजी न्यूनतम २० करोड रुपैयाँ पुर्‍याउनु पर्छ । यो मापदण्डको समय–सीमा सकिन अब तीन महिनामात्र बाँकी छ ।

३८ ब्रोकर कम्पनीको २० करोड पुँजी पुगेको छैन । एकातिर पुँजी पुर्‍याउनु पर्ने दबाब र अर्कातिर मर्जरको नीतिले ब्रोकर कम्पनी कसरी अगाडि बढ्लान् ? भन्ने चिन्ता । मर्जरमा जाँदा र नजाँदा फाइदा–बेफाइदा के–कस्ता छन् भन्ने विषयमा केन्द्रित रहेर स्टक ब्रोकर्स एसोसियसन अफ नेपालका अध्यक्ष सागर ढकालसँग गरिएको कुराकानी

तपाईंहरूले ब्रोकरको पुँजी बढाउनका लागि समय माग गरिरहनु भएको थियो । तर, धितोपत्र बोर्डले त मर्जरको उपाय दियो नि ?

हामीले मर्जर र समय दुवैको माग गरेका थियौँ । पहिले २ करोड चुक्ता पुँजी भएका ब्रोकर थिए । त्यसको १० गुणा एकै पटक बढेर न्यूनतम २० करोड पुर्‍याइएको छ । यसअघि ५ करोडमा ‘मर्जिङ ल्यान्डिङ’ को लाइसेन्स दिइएको थियो । अहिले ६० करोड रुपैयाँ पुगेको छ । त्यसको विषयमा कुरै भएको छैन । पहिले ५ करोड हुँदा लिएको लाइसेन्स नवीकरण गर्ने कि नगर्ने ? त्यसले ६० करोड पुँजी कसरी पुर्‍याउने ? बैङ्क मर्ज गराउँदा होस् वा बिमा कम्पनी, व्यवहारिक कठिनाइलाई हेरेर मर्ज गराएको देखिन्छ । पुँजीको मापदण्ड पुर्‍याउनु पर्ने समय तोकिएको ३ महिना अगाडिमात्र मर्जरको पोलिसी आएको छ ।

३ महिना समयावधिमा ३५ दिने सूचना त निकाल्नु पर्‍यो नि । मर्जरकै कामका लागि यति धेरै फास्टट्र्याकमा काम गर्नुपर्ने छ । ‘क्यापिटल’ बढाउनु पर्ने कम्पनीका लागि पनि काम गर्नुपर्ने छ । यो दुवैको विषयलाई बुझेर बोर्डले समय पनि थप गराओस् । हामीले २ वर्षका लागि समय थप गरिदिनुस् भनेको हो । ता कि अहिले बजारमा भएको सङ्कुचनले व्यवसायीलाई राहत पनि मिल्छ ।

अहिले गरेको नाफाले पुँजी थप गर्न पनि सहज हुन्छ । मर्जरमा जान चहाने साथीहरूले पनि सहज रूपमा जान सक्नुहुन्छ ।पहिले व्यवसायी अगाडि बढ्नै नसक्ने अवस्था थियो । अहिले सेबोनले मर्जरको बाटो खोलिदिएको छ । छिटोभन्दा छिटो सेबोनले नियमावली संशोधन गरेर २ वर्षका लागि समय थप गरिदिओस् भन्ने नै हो । त्यसोगर्दा सहज रूपमा व्यवसाय गर्न सकिन्छ ।

पुँजी वृद्धिका लागि दिइएको समय–सीमा अब ३ महिनामात्र बाँकी छ । तपाईंहरू कसरी अगाडि बढ्नु हुन्छ ?

मर्जरमा हामी छिटो तरिकाले कसरी लाग्न सकिन्छ भन्ने हेर्छौं । मर्जरमा जान स्वीकृति लिएका कम्पनीलाई सेबोनले केही समय दिने कुरा र सकेसम्म २ वर्ष समय थप माग्ने प्रयास नै हुन्छ । यो विषयमा फेरि हामी धितोपत्र बोर्डसँग सिरियसली कुरा पनि गर्छौं । उहाँहरूलाई यसको गम्भीरताको विषयमा बुझाउँछौँ पनि ।

नियामक हिसाबले पनि कमजोरी भयो नि त । हामी जुन दिन आउनुपर्ने थियो, त्यो दिन मर्जरको पोलिसी आइदिएको भए उहाँहरू पनि प्रिमियम भएर मर्जरमा जान सक्नुहुन्थ्यो । कमी–कमजोरी नियामक निकायबाट पनि भएको छ । बल्ल आएर नीति पास भएको छ । ब्रोकरलाई लाग्ने लिगल समय पनि त चाहियो नि । कम्पनीले यति दिनको सूचना निकाल्नु भनेको छ भने त्यति दिनकै समय पनि चाहियो होला नि ।

विशेषका लागि १५ दिन भनिएको छ भने १५ दिनकै सूचना निकाल्नु पर्‍यो । दुईवटा कम्पनीको डाटा मर्ज गरेर जानु पर्‍यो । यस्ता प्राविधिक विषय पनि आफ्नो ठाउँमा छन् । यदि मर्जरमै गइसकेपछि एमओयू गरिसकेका कम्पनीहरूका लागि केही समय दिएर एउटा बीचको बाटो खुलाउनु पर्छ ।

दुईभन्दा बढी ब्रोकरहरू मर्ज गर्दा के फाइदा हुने देख्नुहुन्छ ?

मर्ज गर्दा कर्मचारी घट्छन् । त्यसले गर्दा कर्मचारीलाई दिनुपर्ने पारिश्रमिक पनि कम हुन्छ । टिएमएसको प्रिमियम शुल्क, अफिस सञ्चालन खर्च, धितोपत्र बोर्ड, नेप्सेमा तिर्नुपर्ने रकममा खर्च कम हुन्छ । बत्ती, इन्टरनेट, भइपरिआउने खर्च पनि घट्छ ।
दुईवटा ब्रोकरका ग्राहक एक ठाउँमा हुने भएपछि भोल्यूम बढ्छ र त्यसले ब्रोकरको आमदानी बढ्छ । मर्जरमा जाँदा एक खालको परिवर्तन आउँछ ।

हिजोका दिनमा जुन खालका ब्रोकर थिए, त्यसलाई एक साइजको क्यापिटल बनाउँदा त्यसले बजारको विकास गर्छ भनेर निजी क्षेत्रको तर्फबाट ११ अर्ब ६० करोड रुपैयाँ लगानी गरेर नयाँ डिलरसहित ब्रोकरहरू आए । त्यसलाई तपाईँले हेर्नुभयो भने त्यसको अफिस, काम गर्ने जनशक्ति र संरचनामा परिवर्तन देख्नुहुन्छ । त्यो फिल पनि पाउनुहुन्छ । हिजो नयाँ ब्रोकरहरू आउनुभन्दा अगाडि कतिपय अफिसको कुना–कुना जानु पर्ने, लगानीकर्तालाई अविश्वासको महसुस हुने अवस्था थियो । त्यसकारण अहिले कहीँ न कहीँ परिवर्तन आएको छ । फेरि हामी क्वान्टिटीमा जाँदा त्यही लेबलको व्यवसाय गर्नेका लागि सहयोगी बन्न सकिरहेका छैनौं ।

त्यो क्यापिटलले कहीँ न कहीँ त रिटर्न त खोज्छ । संस्थामा त्यो खालको रिटर्न भएको छैन । त्यसरी हेर्दा नयाँलाई व्यवसाय पुगिरहेको छैन । हामी नयाँ प्रोडक्ट ब्रोकरलाई दिन नसक्ने क्यापिटल बढाएपछि प्रोडक्ट त थप्न सकिन्छ । हामीले ५ करोडको मर्चेण्ट बैङ्कहरूलाई पोटफोलियोको एडभाइजरीको काम दिन्छौँ भने २० करोडको ब्रोकरलाई हामी त्यो दिन सक्दैनौं ? त्यसरी दिनसक्दा उहाँहरूको व्यवसाय बढ्थ्यो । हामीले त्यसो पनि गर्न सकिरहेका छैनौं । प्रोडक्ट कुनै पनि थप नगर्दा उहाँहरूले व्यवसायको विस्तार गर्नसक्नु भएको छैन ।

पुरानो कतिपय साथीहरूको क्यापिटल पुगिरहेको छैन । उहाँहरूसँग ग्राहकहरू भने धेरै हुनुहुन्छ । पुँजी बढ्छ र ग्राहक बढ्ने कुराहरु त छँदैछ । मर्जर भएपछि टेक्नोलोजीमा पनि फरक पर्छ । म्यानेज नै गर्न नसक्ने खालका ग्राहक पनि छैनन् । मर्जरको बाटोतिर जानुपर्छ भन्नेजस्तो लाग्छ । भोलिका दिनमा ‘शु–साइन’का हिसाबले पनि ठूलो कम्पनी बन्दा विश्वसनीय हुन्छ ।

हामीले विगत देखिकै उठाइरहेको कुरा हो अर्ब माथिको कम्पनी बनाएर राम्रो सुशासनमा चलाएर सर्वसाधारणलाई पनि सहभागिता गराएर बजारमा लानुपर्छ । आइपीओ जारी गरेर सर्वसाधारणलाई पनि शेयर दिँदा यसको भ्याल्यू राम्रो हुन्छ । सबै सहभागी गराएर यसलाई पारदर्शी व्यवसायका रुपमा लग्दा राम्रो हुन्छ र पुँजी बजारको विकास हुन्छ । यसरी पनि हामी अगाडि बढिरहेका छौँ ।

दुई वा दुईभन्दा बढी ब्रोकर कम्पनी मर्ज गर्दा त्यसका चुनौतीहरू पनि छन्, त्यसलाई कसरी सम्बोधन गर्ने ?

हिजोका दिनमा बैङ्क मर्ज गर्दा होस् वा बिमा कम्पनी । त्यहाँ देखिएको समस्याबाट हामीले धेरै कुरा सिक्न सक्छौँ । कर्मचारीको गुटबन्दी हुन सक्ने कुरा औँल्याइएको छ । त्यो समस्या कहीँ न कहीँ देखिन आएको छ । अहिलेको मर्जर नीतिमा पनि त्यस्ता कुरा पहिले समाधान गरेर ल्याउनुपर्ने भनिएको छ । अहिले मर्जरको नीति हेर्‍यो भने पनि दुवै कम्पनीका सिनियर लेबलका कर्मचारीसहित शाखाको रुपमा सञ्चालन गर्न पाउने व्यवस्था छ ।

तुरुन्त यो किसिमको काम नहोस् भन्ने पनि छ । पछि कर्मचारी धेरै हुने भएकाले शाखा सञ्चालन गर्दा वा उनीहरूलाई बिदा गर्दा कुनै स्किम दिएर बिदा गर्न सकिन्छ ? यो विषयलाई मर्जरको तत्कालीन च्यालेञ्जका रुपमा हेर्न सकिन्छ । अहिले व्यवस्थापन गरेर त्यसलाई शाखाको रुपमा विकास गर्न सकिन्छ । नजिक शाखा छ भने त्यसलाई स्थानान्तरण गर्न पनि सकिन्छ । ब्रोकरमा त्यति धेरै ठूलो सङ्ख्यामा कर्मचारी नभएकाले गर्दा त्यस्तो समस्या नआउला ।

मर्जर हुँदा त्यसको लागि एउटै टिएमएसबाट कारोबार गराउनु पर्छ । ग्राहकलाई झन्झटिलो पनि बन्छ नि त होइन ?

हाम्रो ब्याक–इनमा सबै सिस्टम रेडी हुन्छ । ग्राहकलाई रोकेरै गर्नुपर्छ भन्ने छैन । त्यसका लागि एक दिन पनि लाग्दैन । तपाईंले उठाउनु भएको विषय कार्यविधि छलफलको क्रममा उठेको विषय हो ।

टिएमएस दुईवटा होला त्यसलाई कसरी म्यानेजमेन्ट गर्ने भन्ने विषय उठेपछि हामीले टेक्निकल टिमहरूसँग बसेर कुरा गर्‍यौँ । ब्याकइनमा सबै डाटाहरू मर्ज गर्न सकिने निष्कर्षमा पुग्यौँ । शुक्रबार र शनिबार बिदा हुन्छ भने कारोबारको दिनलाई हेरेर त्यसरी लञ्च गर्ने भनिएको छ । लगानीकर्तालाई असर गर्ने हिसाबले आउँदैन ।

ब्रोकरहरूसँग प्रायः चिनजानका हिसाबले ग्राहक बन्ने गरेको पाइन्छ । तर, मर्ज भएर ठूलो बन्दै गर्दा ग्राहक अन्यत्र जान सक्ने खतरा कतिको देख्नु हुन्छ ?

अब हामीले यो बिजनेसलाई प्रोफेसनल बिजनेसका रूपमा अगाडि बढाउनुपर्छ । यसलाई हामीले चिनेजानेको हिसाबले अथवा त्यसलाई हामी नजिक छौँ भन्ने हिसाबले भन्दा पनि सेवा दिने हिसाबले अगाडि बढाउनुपर्छ । संस्थामा जोसुकै जोडिँदा उस्तै खालको सेवा दिन सक्ने हुनुपर्छ ।

ग्राहकको मन जित्ने भनेको सर्भिसले हो । हामी मर्जरमा जाँदै गर्दा दिने सेवामा कुनै पनि कमी हुनुहुँदैन । अन्यथा ग्राहकसँग धेरै अप्सन छन् । आज यहाँ भएको ग्राहक भोलि अन्यत्र राम्रो सेवा दिने ठाउँमा पनि जान सक्नुहुन्छ । हाम्रो पेशा सेवामुखी हुनुपर्छ । निश्चित एकजना व्यक्तिले कतिलाई ‘टेक–केयर’ गर्न सक्छ ? अफिसमा आफू नहुँदा पनि त्यही स्तरको सेवा दिन सकियो भने संस्था सफल हुन्छ । यस कारणले गर्दा मेरो विचारमा संस्था प्रोफेस्नल हुनुपर्छ ।

जुन–जुन डिपार्टमेन्ट हो त्यो डिपार्टमेन्टको हेडहरूले राम्रो सर्भिस दिनु भयो भने चिनजान नहुँदाखेरि पनि ग्राहकले त्यो सेवामा केही फरक महसुस गर्नुहुन्न । एकजना दुईजनालाई त्यसरी सेवा दिन पनि सकिएला तर, धेरैलाई सकिँदैन । त्यसैले अबको क्यापिटल मार्केटको विकास प्रोफेस्नलिजमको अभ्यासमा अगाडि बढाउनु पर्छ । ताकि, आम मानिसले सेवा लिन आउँदा त्यसको गुणस्तर हेरेर गरून् । राम्रो सेवा दिन नसकेर ग्राहक अर्कोमा जाने कुरा ब्रोकर व्यवसायी साथीहरूले बुझ्नुपर्छ ।

नयाँ ब्रोकरहरू बढी मर्जरमा जानुहुन्छ वा पुराना ? तपाईं आफूले के देख्नु हुन्छ ??

यसमा दुईवटै अप्सन छन् । म अहिले एसोसियसनको अध्यक्ष छु । नयाँ–पुरानाभन्दा पनि हामीसँग सिङ्गो व्यवसायी साथीहरू हुनुहुन्छ । उहाँको हकहितकै लागि म बोल्छु । अब यसमा दुईवटा अप्सन छन् । एउटा अप्सन त पुरानो–पुरानो मर्ज हुने र अर्को नयाँ–पुरानो मर्ज हुने । किनभने दुईवटा मर्ज हुँदा पुग्छ । नयाँसँग ग्राहक थोरै छन् । नयाँ र पुरानाको रेसियो मिलाउँदा क्यापिटलको हिसाबले पनि पुग्छ । ग्राहकको हिसाबले पनि पुग्छ । उहाँहरूको अनुभवसहित रन गर्नलाई नयाँ टिमसँग मर्ज गर्न सकिन्छ । यो विषय सहमति कसरी हुन्छ भन्नेमा निर्धारित हुन्छ ।

मर्ज गर्ने भनेपछि मर्ज गर्ने पार्टनर त्यही लेबलको कसरी खोज्नु हुन्छ ? धेरै साथी मर्जर नीति आएपछि उत्साहित पनि हुनुहुन्छ । राम्रो पार्टनरको खोजीमा हुनुहुन्छ । कति जनाले आठ–दस कम्पनी नै मर्ज भएर डिलरमा जाने हिसाबले छलफल गरिरहनु भएको छ । डेढ अर्बको पुँजी बनाएर डिलरको रूपमा जानेबारे पनि छलफल चलिरहेको छ । त्यो हिसाबले विभिन्न लेबलमा छलफल चलिरहेको छ ।

तपाईं हिमालयन (ब्रोकर नम्बर ६३) मा हुनुहुन्छ । तपाईंले मर्जरमा जाने बारेमा के विचार गर्नु भएको छ ?

अहिले हामीले मर्जरमा जाने सोचेका छैनौँ । हामी अब व्यवसायलाई कसरी हुन्छ बढाउन सकिन्छ भन्ने हिसाबले लागिपरेका छौँ । डिलरको हिसाबले अथवा पछि अहिलेको भन्दा माथि जाने हिसाबले हाम्रो छलफल चल्यो भने ती अप्सन त हाम्रा अगाडि छन् नै । मल्टिपल अप्सनहरू प्रत्येक दिन खुल्ला हुन्छन् भने त्यो लेबलको छलफल चलाउन सकिन्छ । तर, तत्काल मर्जरमा जाने विषयमा हामीले सोचेका छैनौँ ।

अन्त्यमा के भन्न चाहानुहुन्छ ?

अहिले मर्जरकै कुरा चलिरहेको छ । कहीँ न कहीँ ढिला भए पनि नीति आएको छ । हामीलाई समय दिने विषयमा धितोपत्र बोर्डले चाँडो काम गरोस् । बोर्डले नपठाएसम्म अर्थ मन्त्रालयले मन्त्रिपरिषद्मा लाने कुरा हुँदैन । केही समय थप गर्दा सबै व्यवसायी एक लेबलको कम्फर्ट हुन्छन् । पुँजी नपुर्‍याउने भनेर कोही पनि साथीहरूले भन्नु भएको छैन । त्यसलाई हेरेर समय थप गर्दा राम्रो हुन्छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ३ : ३८ बजे

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– बैंकिङ कसूर मुद्दाका फरार दुई जना प्रतिवादीहरूलाई आइतबार प्रहरीले पक्राउ

कञ्चनपुरको लालझाडीमा स्वास्थ्य विशेष कार्यक्रम सञ्चालन

कञ्चनपुर– लालझाडी गाउँपालिकामा ‘नागरिकसँग गाउँपालिका अध्यक्ष स्वास्थ्य विशेष कार्यक्रम’ सञ्चालन

निजामती सेवा ऐन शीघ्र जारी गर्न माग

भद्रपुर– झापास्थित विभिन्न कार्यालयमा कार्यरत निजामती कर्मचारीले प्रस्तावित सङ्घीय निजामती

बेलायतमा गुञ्जिए डायोस्पोरिक कवि खेरेस, कवितामा मातृभूमि प्रेम र आदिवासी सौन्दर्य

सुनसरी : माटोमा जन्मेरमाटोको टीका लगाएपछिमाटो पनि मुटु हुँदोरहेछमाटो पनि

गैरआवासीय नेपालीलाई राज्यका निकायले चिन्ने नागरिकता दिन माग

काठमाडौं– गैरआवासीय नेपालीहरूले राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग