मुस्ताङ- मानिसको जीवनले कुनबेला कुन रुपमा काँचुली फेर्छ भन्ने पत्तो नहुने रहेछ । भारतको कश्मिरमा जन्मिएका सफल चिकित्सक शिवनाथ डोगरे नेपालको विकट हिमाली भेगमा आएर खप्तड बाबाको नामबाट प्रख्यात होलान् भन्ने कसलाई थाहा थियो र ?
डोटी जिल्लाको ठूलो हिमाली क्षेत्र उनकै नामबाट नामाकरण गरिएको छ । मानव धर्म र धर्म विज्ञान विषयमा खप्तड बाबाले लेखेका पुस्तक देश–विदेशमा लोकप्रिय छन् ।
यसैगरी बिहार राज्यको सासाराममा जन्मिएका पेशाले लडाकू जहाजका पाइलट कपिल सिंह पाइलट बाबाका नामले आध्यात्मिक गुरु बनौंला भनेर स्वयम् उनैले कल्पना गरेका थिएनन् ।
नेपालको प्रख्यात तपोभूमि मानिने मुक्तिनाथमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले योगीका रुपमा वर्षौं बिताएको अनुभव उनैले बाँडेका छन् । आफूलाई भारतीय सञ्चारमाध्यमको पूर्वपत्रकार बताउने एकजना योगी मुक्तिनाथमा भेटिए ।
सांसारिक जीवनको मोह त्यागेर योगी भएका सोमानन्द नेपाली भूमिको आध्यात्मिक महत्वका विषयमा धाराप्रवाह बखान गरेर थाक्दैनन् । उनले देखेको मुक्तिनाथको महिमा कस्तो छ ? कलम चलाउने उनी कसरी योगसाधनामा लीन भए ?

पढौँ उनकै शब्दमा
म पूर्व पत्रकार हुँ । हिन्दुस्तान टाइम्समा १८ वर्ष काम गरेको अनुभव छ । जुन नयाँ दिल्लीबाट प्रकाशित हुन्थ्यो । सन् २००६ मा पत्रकारिता छाडेँ । त्यसपछि म यो बाटोमा हिँडेको हुँ । त्यसपछि म फर्किएर गएको छैन । मेरो गुरुले मलाई सोमानन्द नाम दिनुभएको छ ।
म यहाँ बस्न लागेको आठ वर्ष पूरा हुनै लागेको छ । माथि (मुक्तिनाथ मन्दिरभन्दा माथिल्लो भेग) विष्णु चुला मन्दिर छ । विष्णु चुला मन्दिरबाट मुक्तिनाथ मन्दिर आउने जाने गर्दै आएको छु । म बनारस (भारत)मा जन्मिएको हुँ ।
म यहाँ आउँदा त्यो स्थानमा कोही जाँदैन थिए । हिम चितुवा मेरा साथी हुन्थे । पछि सरकारले १० लाख रुपैयाँ बजेट विनियोजन गर्यो । त्यो रकम कुनै राम्रो सन्यासीको हातमा थियो । उनले सबै रकम खर्च गरे ।
दोस्रो पटक फेरि १० लाख आयो । स्थानीय बौद्ध धर्मावलम्बीहरू लाई चित्त बुझेन । काम सम्पन्न गर्न अवरोध भयो । त्यो रकम यिनीहरूले सत्यानाश गरिदिए । काम गरेका मजदुरहरूले पैसा पाएनन् ।
उनीहरूले कहिले बाख्रा काटेर टाउको फालेर जाने गरे । म विष्णु चुलाबाट तल झर्दा उनीहरू त्यहाँ रगत पोखेर जान्थे । एक महिना अघिको कुरा हो, लद्दाख (भारत)बाट लामाहरूको १० जनाको समूह आएको थियो ।
उनीहरूले त्यहाँ पुत्ला बनाएर जमिनमुनि गाडे । जसरी शमशानको क्रिया हुन्छ, त्यही क्रियाकर्म गरे । त्यहाँ बसेर मदिरा सेवन गरे । टोलीको नेतृत्व गरेर आएको लद्दाखको लामा चार घण्टापछि बेहोस भयो ।
माथि एउटा प्राचीन शिला छ । जसलाई विष्णु चुला भनिन्छ । विष्णु चुलाको अक्ष कति गहिरो छ भन्ने कुनै जानकारी छैन, यो अक्षमा उभिएको छ । यो प्राकृतिक डिजाइन हो । त्यसमा चक्र देख्न सकिन्छ । त्यसमा भगवान विष्णुको मत्स्य अवतार देखिन्छ । त्रिशुल देखिन्छ । शेष नाग देखिन्छन् ।
चुलाको मतलव यो हो कि भगवान विष्णु २५ लाख वर्ष पहिले मुक्ति क्षेत्रमा आउनुभएको थियो । उहाँ आउनुका दुई वटा कारण थिए । पहिलो कारण एउटा रूद्र थिए, उनको नाम जालान्धर थियो । उनकी पत्नीको नाम वृन्दा थियो । जालन्धर पनि भगवान शिवकै एक भाग थिए ।
जब भगवान इन्द्रले जालन्धरका साथ छल गरेपछि उनी क्रोधित भए । त्यसपछि सबै देवी–देवता पहाडमा जान लागे । गुफामा लुक्न लागे । देवी–देवताहरू भगवान विष्णु समक्ष गए । विष्णु चाहँदैन थिए कि यसलाई मोक्ष मिलोस् । जालान्धर मारिने छैनन् किनकि उनकी पत्नी सती हुन्, त्यसकै प्रभावबाट यी बाँचिरहेका छन् ।
विष्णुले छल गरे, उनी जालन्धरको भेष धारण गरेर गए । उनले सतीको सतित्व भंग गरे । सतीले श्राप दिइन् । तिम्रो मनमा दया नहोस्, तिमी पत्थर हुनू । दोस्रो कारण, गण्डकी माता ।
यहीँबाट गण्डकीको प्रादुर्भाव भएको छ । दामोदर कुण्डबाट कालीको उत्पति भएको छ । दुवैको संगम पछि काली गण्डकी बनेको छ । सवै देवीहरू तपस्वी, योगिनी, अप्सरा हुन् । तप गर्दा विष्णुसँग वरदान लिएका थिए कि तपाईं हामीलाई पुत्ररूपमा प्राप्त हुनू । यिनै दुई कारणले भगवान विष्णुलाई यो स्थानमा आउन परेको थियो ।
जालन्धर मारिसकेका थिए । विष्णुलाई श्राप त लागिसकेको थियो सतीदेवीको । यहाँ आएर उनले जालन्धर र उनकी पत्नी वृन्दाको मुक्तिका लागि तप गरेका थिए । मुक्तिनाथ मन्दिरबाट देखिँदैन त्यो तप गरिएको विष्णु कुण्ड ।


प्रतिक्रिया