बाजुरा- नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीभित्र विधि स्थापित हुनुपर्ने बताएका छन् ।
व्यक्ति हावी हुने, विधि र विचारको बहसलाई किनारा राख्ने विषयले गम्भीर संकट ल्याउने गरेको उनले बताए ।
एमाले बाजुराले आयोजना गरेको प्रथम जिल्ला प्रतिनिधि परिषद् बैठकमा थापाले टीका लगाउने प्रणालीले पार्टीलाई दुर्घटनामा लैजाने धारणा राखे
पूर्वमन्त्री समेत रहेका थापाले काठमाडौंपछि ७७ जिल्ला मध्ये बाजुराले प्रतिनिधि परिषद् बैठक राखेकामा धन्यवाद दिँदै पार्टी संगठन निर्माणमा सबैको योगदान हुनु पर्ने बताए ।
‘संसारमा कहीँ नभएको जात्रा हाम्रो पार्टीमा सुरु भयो, त्यो पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभयो’, थापाले भने, ‘मन लागेको मान्छेलाई नाम तोक्ने कुरा गलत छ, यसलाई सुधार गर्न लगातार नेतृत्वसँग संवाद र छलफल जारी छ ।’
पूर्वमन्त्री समेत रहेका थापाले अध्यक्ष ओलीको विरोध र पूर्व राष्ट्रपति विद्या भण्डारीको समर्थन नगरेको बताए । उनले दुवैजनासँग बराबरी संवाद र सहकार्यमा रहेको उल्लेख गरे । ‘चिन्ता मात्रै विधि स्थापित गर्ने, कम्युनिष्ट आन्दोलन एकठाउँमा ल्याउने विषय प्रधान हो’, उनले भने ।
थापालाई पछिल्लो समय ओलीको विकल्प खोज्ने र भण्डारी ल्याउने खेमाको अगुवाइ गरिरहेको बताइने गरिएको छ ।
त्यसबारे पनि थापाले भने, ‘ओलीको विकल्प खोजिएको होइन, विधि बसालौँ, अरु सबै कम्युनिष्ट पार्टी एकठाउँमा ल्याउन गम्भीर भएर सोचौँ, मिसन ०८४ को आधार निर्माण गरौँ भन्ने हो, त्यसलाई गलत रुपमा बुझिएको छ ।’
‘एउटै व्यक्ति कति पटक के-के हुने, त्यो पनि विधानमा उल्लेख गरौं, म चार पटक बाजुराबाट चुनाव लडेको छु’, उनले भने, ‘ ’अब त्यो भन्दा बढी हुन्न भन्ने हो, तर त्यो विधि पार्टी नेतृत्व र कार्यकर्ता सबैलाई एकैनासले लागू हुनुपर्छ ।’
उनले पार्टी बहसबिना नै चलिरहेकोमा चिन्ता व्यक्त गरे । ‘बहसबिनाको पार्टी र प्राणबिनाको मान्छे एउटै हो । एमालेमा त्यस्तो हुनु हुन्न’, उनले भने, ‘केन्द्रीय कार्यालयबाटै गुट चलाएर कार्यकर्तालाई अन्योल र भ्रममा पार्ने कुरा गलत हुन्, यसमा सुधार हुनुपर्छ ।’

सुदूरपश्चिममा पहिलो नम्बरमा पार्टी सचिव लेखराट भट्ट र दोस्रो वरीयतामा आफू रहेको उनले बताए । ‘मेरो प्रदेश र जिल्लामा कसैसँग दुरासय छैन’, उनले भने, ‘ओली योद्धा र हाम्रो मूल नेता हुनुहुन्छ, हामी ओलीको सहयोद्वा हो, उहाँले थाहा पाउनु पर्यो योद्धा उठाउन सहयोद्धा नै चाहिन्छ ।’
कुनै पनि दुर्घटनामा हल्ला र हतियार दुवैले काम नदिने उनले बताए । ‘बाघ आउनुअघि सचेत हुनु पर्छ, एमालेको हकमा पनि त्यही हो । घेरबन्दी ओली र एमालेमाथि छ’, उनले भने, ‘ त्यो मनमोहन र मदन भण्डारीमाथि पनि थियो, अहिले पनि छ । तर सुविचारित रुपमा समय र परिस्थितिलाई जिताउने काम नेतृत्वको हो, ओली यसमा सचेत र जिम्मेवार हुनु पर्छ ।’
आन्दोलनबाट स्थापित नेतृत्वले समृद्धि पूरा गर्न सक्छ कि सक्दैन, यसमा पनि सोच्नु पर्ने उनले बताए । ‘पार्टीभित्र कसैको कसैको चल्दैन, छलछाम नगरौँ, सबैको भलो यसैमा छ’, थापाले थपे ।
उनले पार्टीभित्र जिल्लादेखि केन्द्रसम्म फुरफुर गर्ने, नेतृत्वनजिक गएर सबै मैले नै गर्दा भयो भन्ने जस्ता गतिविधि हावी भएकाले त्यो रोकिनु पर्ने बताए ।
सुदूरपश्चिमलाई बजेटदेखि नियुक्ति र अवसरमा किनारा राख्ने गरिएको विषयमा एमाले नेतृत्व र वर्तमान प्रधानमन्त्रीले सचेत हुनु पर्ने उनले बताए । ‘त्यसो नगरिए अब पनि हामीले मानिरहनु पर्ने अवस्था रहने छैन’, उनले भने ।
पदीय आकांक्षा नराखी पार्टी हितमा काम गर्ने बताएका थापाले विषयलाई नै नबुझेर बहस, विवाद र आलोचना भइरहेकोमा चिन्ता व्यक्त गरे ।
उनले अनेरास्ववियुको महाधिवेशनलाई संकेत गर्दै व्यक्ति रोक्न विधि कुल्चिनु पर्ने र अनावश्यक विधिको रटान लगाउनु पर्ने कुरा पार्टी विधानविपरीत हुने बताए ।
प्रेस चौतारीको महाधिवेशनमा प्रतिस्पर्धा नै रोक्नु पार्टीभित्रको लोकतन्त्रलाई मार्नु जस्तै भएकोले नेतृत्व व्यक्तिपूजा गर्ने प्रवृत्तिबाट मुक्त हुनु पर्ने धारणा उनले राखे । ‘पार्टीभित्रका समस्या समाधान गर्न विधि बनाउन पर्छ । व्यक्ति हेरेर विधि बनाउन हुन्न भन्ने मान्यता मैले बोक्दै आएको छु’, उनले भने ।
उनले देशकै दोस्रो जिल्लाको रुपमा बाजुराले प्रतिनिधि परिषद् बैठकको आयोजना गरेकोमा धन्यवाद दिए । राजनीतिक प्रतिवेदन र सिर्जनशिल कामका लागि निशंकोच प्रंशसा गरेको बताए ।
अर्का पार्टी केन्द्रीय सदस्य लालबहादुर थापाले ओलीको विकल्पबारे बहस आवश्यक नै नभएको बताए । ओली नेतृत्वको एमालेको उचाइलाई नै निरन्तरता जरुरी रहेको धारणा उनले राखे । थापाले एमाले र ओलीमाथि देशी-विदेशी घेरबन्दी र आक्रमणका बेला नेतृत्वविरुद्ध जाने कुरा पार्टीविपरीत हुने बताए ।
केन्द्रीय सदस्य प्रकाशबहादुर शाहले पार्टीमा सबैलाई अटाउनु पर्ने र भीम रावललाई कारबाही नै गरेर सदस्यमेत नराख्नु पर्ने कारण नभएको बताए ।
उनले एमालेलाई सबै अट्ने सागर बनाउनु पर्नेमा जोड दिए । केन्द्रीय सदस्य सहदेव बोगटीले नेतृत्व निर्माण गर्ने कुरा सजिलो नभएकोले त्यसको रक्षा र पार्टी संगठन निर्माणमा कार्यकर्ताको जिम्मेवारी महत्वूर्ण हुने बताए ।
जिल्ला अध्यक्ष लालबहादुर ओलीले परिषद् बैठकमा १५ बुँदे समयसामयिक प्रस्ताव पेश गरेका छन् । बाजुराको विकास र संगठन निर्माणलाई विशेष सम्बोधन गर्ने गरि प्रस्ताव पेश गरिएको उनलेबताए । उक्त प्रस्ताव हलबाट पारित भएको अध्यक्ष ओलीले जानकारी दिए । बाजुरामा एमालेको आठौँ जिल्ला अधिवेशनको एक वर्षपछि प्रतिनिधि परिषद् बैठक भएको हो ।
प्रतिक्रिया