अधोगति लागेको बोइङलाई कतारको राहत | Khabarhub Khabarhub

अधोगति लागेको बोइङलाई कतारको राहत



काठमाडौं– पछिल्लो समय अमेरिकी राष्ट्रपति र हवाइजहाजसँग जोडिएका समाचार निरन्तर आइरहेका छन् । एकातिर कतारले उपहार दिने भनिएको विलासी जहाजसँग जोडेर राष्ट्रपति डोनाल्ड ट्रम्प समाचारको हेडलाइन बनिरहेका छन् । अर्कोतिर मध्यपूर्वी मुलुकसँग जहाज बिक्री सम्झौता गरेर चर्चा कमाइरहेका छन् ।

हाल राष्ट्रपति ट्रम्प मध्यपूर्वको भ्रमणमा छन् । उनको उपस्थितिमा त्यहाँ रहँदा हवाइ जहाज बिक्रीसम्बन्धी ऐतिहासिक सम्झौतामा हस्ताक्षर भएका छन् । ट्रम्पको भ्रमणका क्रममा मध्यपूर्वको धनाढ्य मुलुक कतारले अमेरिकी हवाइ कम्पनी बोइङबाट १ सय ६० वटा जहाज खरिद गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । यस सम्झौतालाई ट्रम्पको मध्यपूर्व भ्रमणको सबैभन्दा ठूलो उपलब्धि मानिएको छ ।

समाचारअनुसार कतार एअरवेजले बोइङसँग ९६ अर्ब अमेरिकी डलर (१ निल ३१ खर्ब ७ अर्ब २१ करोड ६० लाख नेपाली रुपैयाँ) बराबरको सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौताअनुसार कतारले १ सय ३० वटा बोइङ ७८७ र ३० वटा ७७७ एक्स जहाज खरिद गर्नेछ । सम्झौतामा भविष्यमा थप ५० वटा नयाँ जहाज खरिद गर्ने विकल्प पनि खुला राखिएको छ ।

कतार एअरवेजले बोइङसँगको सम्झौताबारे जानकारी दिँदै यसलाई ऐतिहासिक भनेको छ । कतार एअरवेजले जारी गरेको विज्ञप्तिअनुसार रणनीतिक रुपमा हवाइ सेवा विस्तार गर्ने योजनाअन्तर्गत यस सम्झौता गरिएको हो ।

त्यसबाहेक कतार एअरवेजले अमेरिकाको जनरल इलेक्ट्रिक कम्पनीसँग ४ सयभन्दा धेरै इन्जिनका लागि पनि सम्झौता गरेको छ । यसमा ६० वटा जीई९एक्स र २ सय ६० वटा जीईएनएक्स इन्जिन पनि समावेश छन् । यी इन्जिन बोइङका ७७७–९ र ७८७ जहाजमा जडान गरिने कतार एअरवेजको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसलाई बोइङको इतिहासकै सबैभन्दा ठूलो सम्झौता, सबैभन्दा ठूलो वाइडबडी खरिद सम्झौता र सबैभन्दा ठूलो वाइडबडी इन्जिन खरिद सम्झौता भनिएको छ । त्यसअघि ट्रम्पको साउदी अरब भ्रमणका क्रममा पनि त्यहाँको एभिलिज कम्पनीसँग बोइङले २० वटा ७३७ म्याक्स जहाज बिक्रीसम्बन्धी सम्झौता गरेको थियो । उक्त सम्झौतामा एभिलिजले भविष्यमा बोइङसँग थप १० वटा जहाज खरिद गर्ने विकल्प पनि खुला राखिएको थियो ।

हाल निरन्तर अधोगति लागिरहेको अवस्थामा बोइङले कतारमा ऐतिहासिक सम्झौता गरेको हो । पछिल्ला केही वर्षयता उसले बनाएका जहाज लगातार दुर्घटना भइरहेका छन् भने यस कम्पनीमा लगानीकर्ताको आकर्षण पनि घट्दै गएको देखिन्छ । त्यसमाथि यो कम्पनी विभिन्न कानुनी र प्रशासनिक झमेलामा पनि फस्दै आएको छ ।

पछिल्ला ७ वर्षमा बोइङ कम्पनीले उत्पादन गरेका विमान दुर्घटनाग्रस्त भएको मिति र हताहती–

१. सन् २०१८ को मे १९ का दिन क्युबाको कुबाना डे एभएसोन कम्पनीका लागि मेक्सिकोको ग्लोबल एअरले सञ्चालन गर्ने बोइङ ७३७–२०१ जहाज हवानामा दुर्घटनाग्रस्त हुँदा जहाजमा सवार १ सय १३ जनामध्ये १ सय १२ जनाको ज्यान गएको थियो ।

२. सोही वर्षको सेप्टेम्बर २८ का दिन एअर न्युगिनीको बोइङ ७३७–८बीके जहाज माइक्रोनेशियामा दुर्घटनाग्रस्त हुँदा जहाजमा सवार ४७ मध्ये एक जनाको ज्यान गएको थियो ।

३. सन् २०१८ को अक्टोबर २९ का दिन लायन एअरको बोइङ ७३७–८०० म्याक्स जहाज इण्डोनेशियाको राजधानी जकर्तानजिकै दुर्घटना हुँदा जहाजमा सवार सबै १ सय ८९ जनाको ज्यान गएको थियो ।

४. सन् २०१९ को जनवरी १४ का दिन शाह एअरको बोइङ ७०७–३जे९सी जहाज इरानको फतहमा दुर्घटना हुँदा जहाजमा सवार १६ मध्ये १५ जनाको ज्यान गएको थियो ।

५. सोही वर्षको फेब्रुअरी २३ का दिन एट्लास एअरको बोइङ ७६७–३७५एफ जहाज अमेरिकाको टेक्सस राज्यमा दुर्घटनाग्रस्त हुँदा जहाजमा सवार सबै तीन जनाको ज्यान गएको थियो ।

६. सोही वर्षको १० मार्चका दिन इथियोपियन एअरलाइन्सको बोइङ ७३७–८०० म्याक्स जहाज इथियोपियाको बिसोफ्थु क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा जहाजमा सवार सबै १ सय ५७ जनाले ज्यान गुमाएका थिए ।

७. सन् २०२० को जनवरी ८ का दिन युक्रेन इन्टरनेशनल एअरलाइन्सको बोइङ ७३७–८केभी जहाज इरानको राजधानी तेहरानमा दुर्घटनाग्रस्त हुँदा जहाजमा सवार सबै १ सय ७६ जनाको मृत्यु भएको थियो ।

८. सोही वर्षको फेब्रुअरी ५ का दिन पेगासस एअरलाइन्सको बोइङ ७३७–८६जे जहाज टर्कीको इस्तानबुलमा दुर्घटना हुँदा जहाजमा सवार १ सय ८३ जनामध्ये ३ जनाले ज्यान गुमाएका थिए ।

९. सोही वर्षको ७ अगस्टका दिन एअर इण्डिया एक्सप्रेसको बोइङ ७३७–८एचजी जहाज भारतको कोजिकोडेमा दुर्घटनाग्रस्त हुँदा जहाजमा सवार १ सय ९० मध्ये १७ जनाको मृत्यु भएको थियो ।

१०. सन् २०२१ को जनवरी ९ का दिन श्रीविजया एअरलाइन्सको बोइङ ७३७–५२४ जहाज जकर्तानजिकै दुर्घटना हुँदा जहाजमा सवार सबै ६२ जनाको ज्यान गएको थियो ।

११. सन् २०२२ को मार्च २१ का दिन चाइना इस्टर्न एअरलाइन्सको बोइङ ७३७–८९पी जहाज चीनको टेङ्सियानमा दुर्घटना हुँदा जहाजमा सवार सबै १ सय ३२ जनाको ज्यान गएको थियो ।

१२. गत डिसेम्बर २९ का दिन जेजु एअरको बोइङ ७३७–८एएस जहाज दक्षिण कोरियाको मुआनमा दुर्घटनाग्रस्त हुँदा जहाजमा सवार १ सय ८१ मध्ये १ सय ७९ जनाले ज्यान गुमाएका थिए ।

यसबाहेक बोइङले आफ्ना उत्पादनमा सुरक्षा र गुणस्तरलाई ध्यान नदिएको भन्दै चर्को आलोचना खेप्दै आएको छ । खासगरी, सन् २०१८ को अक्टोबरमा लायन एअर र सन् २०१९ को मार्चमा इथियोपियन एअरलाइन्सका ७३७–८०० म्याक्स जहाज दुर्घटना भएपछि दुई वर्षसम्म उक्त जहाजलाई विश्वभर उडान भर्न प्रतिबन्ध लगाइएको थियो ।

त्यसबेला बोइङको यो जहाज भर्खर मात्रै बजारमा आएको थियो । त्यतिबेला सबै नयाँ जहाजमा सुरक्षा उपाय चुस्त बनाउन अमेरिकाको संघीय हवाइ प्रशासन एफएएले बोइङलाई निर्देशन दिएको थियो ।

पछिल्ला केही वर्षयता बोइङमै काम गर्ने कतिपय कर्मचारीले कम्पनीका उत्पादनका कमजोरीबारे सार्वजनिक रुपमै अभिव्यक्ति पनि दिने गरेका छन् । हालसम्म झण्डै तीन दर्जन कर्मचारीले बोइङको कमजोरीबारे मुख खोलेका छन् । यीमध्ये केहीको रहस्यमय रुपमा मृत्यु समेत भइसकेको छ ।

पछिल्लो समय लगानीकर्ताले पनि बोइङलाई खासै विश्वास गरेको पनि देखिँदैन । विगत केही शेयर पनि निरन्तर ओरालो लागिरहेको छ । सन् २०१९ मा इथियोपियन एअरलाइन्सको जहाज दुर्घटना हुनेबेला बोइङको शेयर मूल्यले प्रतिकित्ता ४ सय डलर नाघेको थियो । हाल बोइङको शेयर मूल्य प्रतिकित्ता २ सय ४ डलर छ ।

ठूलो हवाइ कम्पनीका रुपमा बोइङको नाफा पनि खासै गतिलो छैन । पछिल्लो एक वर्षको तथ्यांकअनुसार बोइङले घाटाको व्यापार गरिरहेको छ । तथ्यांकअनुसार सन् २०२४ मा बोइङले झण्डै २ अर्ब डलर खुद घाटा व्यहोरेको छ ।

यस्तो अवस्थामा केही समयअघि अमेरिकासँग व्यापार युद्ध उत्कर्षमा रहेका बेला चीनले पनि आफ्ना हवाइ सेवा प्रदायक कम्पनीलाई बोइङ जहाजको डेलिभरी नलिन निर्देशन दिएको थियो । भलै हाल चीन उक्त कदमबाट पछि हटेको छ । तैपनि हवाइ सेवाका ठूलो बजार मानिने चीनले जहाजको डेलिभरी नलिन आफ्ना कम्पनीलाई निर्देशन दिएपछि खैलाबैला मच्चिएको थियो ।

यस्ता दयनीय र अधोगति लागेको अवस्थामा उक्त कम्पनीले मध्यपूर्वका धनाढ्य मुलुकसँग गरेको सम्झौतालाई चासोका साथ हेरिएको छ । यसले कम्पनीलाई कम्तीमा पनि अल्पकालका लागि राहत दिएको जानकारहरू बताउँछन् । तर, दीर्घकालका लागि आफ्नै खुट्टामा उभिन बोइङले थप प्रयास गर्नुपर्ने विश्लेषण गरिएको छ । यी सम्झौताले बोइङका दिन फिर्लान् ? यस प्रश्नको जवाफ भने समयले बताउनेछ ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ८ : ३० बजे

वातावरणीय महत्वबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा संवाद आयोजना : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका हिमाल र पहाडका

‘के घर के डेराः घर नं २’को गीत सार्वजनिक (भिडियो)

काठमाडौं – चलचित्र ‘के घर के डेराः घर नं २’को

काठमाडौंबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

काठमाडौं – पार्किङमा राखेको अवस्थामा काठमाडौँबाट माइक्रोबस चोरी भएको छ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

‘विपद् व्यवस्थापनमा तीनै तहको उत्तिकै दायित्व’

काठमाडौं – नेपालमा मनसुन भित्रिने सङ्घारमा रहेका बेला राष्ट्रिय विपद्