‘ताप टापु’ बन्दो काठमाडौँ शीतल पार्न अनुसन्धान निचोड - वन, पार्क र पोखरी बढाऊँ | Khabarhub Khabarhub

जलवायु

‘ताप टापु’ बन्दो काठमाडौँ शीतल पार्न अनुसन्धान निचोड – वन, पार्क र पोखरी बढाऊँ

शहरअनुसार फरक रणनीति आवश्यक


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 6 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आद्रता नभएको हावा तातो र सुख्खा (हट एन्ड ड्राइ) हुने हुनाले चैत आधाउधीदेखि नै मध्यपहाड, उपत्यका र तराईमा बसोबास गर्ने नेपालीले जेठ अन्तिमसम्म उखर्माउलो गर्मी महसुस गर्छन्‌ ।

फागुनमा सुरु भएर जेठसम्म कायम रहने ग्रीष्मकालीन हावापानी प्रभावका बेला नेपालमा तापक्रम वर्षभरकै उच्च विन्दुमा पुग्छ । अनि, गर्मीले मानिसको दैनन्दिन र स्वास्थ्यमै असर गर्न थाल्छ ।

नेपालमा स्थानीय जलवायु पात्रोका ६ ऋतुमध्ये ग्रीष्म (समर) छेकोमा सुख्खा गर्मीको पारो बर्सेनि बढ्दो छ । अव्यवस्थित र तीव्र शहरीकरण भइरहेको काठमाडौँ उपत्यकाका शहर तातिने मात्रा पनि बढिरहेको छ ।

सन् १९७६ यता काठमाडौं उपत्यकाको अधिकतम तापक्रम हरेक वर्ष ०.०३८ डिग्री सेल्सियसले बढेको छ । उपत्यकाका काँठ लगायत वरपरका क्षेत्रभन्दा कोर शहरी क्षेत्रको तापक्रम २ देखि ३ डिग्री सेल्सियस बढी पाइएको छ ।

नजिकैका अरू क्षेत्रको तुलनामा तातो बढी भएको क्षेत्रलाई मौसमविद्‌हरू ताप टापु भन्छन्‌ । हो ! काठमाडौँका शहर पनि तापक्रम विषमताको यही अवस्था अर्थात् ताप टापुमा बदलिँदैछन्‌ ।

गर्मीयामका बेला केही दिन पानी नपर्नासाथ तराईमा जस्तो गर्मी महसुस हुने काठमाडौँ शहरलाई थप ताप टापु बन्नबाट रोक्न सकिँदैन त ?

हालै काठमाडौँ उपत्यकामा बढ्दो तापक्रम र निदानका उपायबारे अनुसन्धान गरेका अनुसन्धाताहरू लेख्छन्‌ – अवश्य सकिन्छ ! तर, त्यसनिम्ति यहाँ वन, पार्क र पोखरीको सङ्ख्या बढाउनुपर्छ ।

अन्तर्राष्ट्रिय सात संस्थाका अनुसन्धानकर्ताले संयुक्त रूपमा गरेको उक्त नवीन अध्ययनपत्र हालै अर्बान क्लाइमेट नामक अन्तर्राष्ट्रिय पत्रिकामा प्रकाशित भएको छ । अनुसन्धाताहरूले स्याटेलाइट डेटा र मेसिन लर्निङ एल्गोरिदमको प्रयोग गरी ३०१ पार्क, १३० वन टुक्रा र २६ पोखरीको समेत तापक्रम विश्लेषण गरेका छन्‌ ।

अध्ययनको निष्कर्ष छ – काठमाडौं उपत्यकामा शहरी वन, पार्क र पोखरीहरूलाई रणनीतिक रूपमा प्रयोग गर्दा तापक्रम १.६ डिग्री सेल्सियससम्म घटाउन सकिन्छ ।

उपत्यकाका विभिन्न ‘ब्लू-ग्रीन’ क्षेत्रहरूले कसरी शहरलाई चिसो बनाउन मद्दत गर्छन् भनी पहिलोपटक विस्तृत रूपमा यही अनुसन्धान क्रममा विश्लेषण भएको हो ।

अध्ययनका प्रमुख लेखक तथा अमेरिकास्थित ज्याक्सन स्टेन युनिभर्सिटीका विद्यावारिधि विद्यार्थी र ओराइज फेलो सौरभ भट्टराईले भने, ‘हरेक शहरी क्षेत्रमा एउटै किसिमको समाधानले काम गर्दैन । हरियाली थप्दा मात्र पुग्दैन, ती ठाउँहरू सावधानीपूर्वक डिजाइन गरिनुपर्छ र शहरको बनोटसँग सुगठित रूपमा जोडिनुपर्छ ।’

बढ्दो तापक्रमको चुनौती

सन् १९७६ यता काठमाडौं उपत्यकाको अधिकतम तापक्रम हरेक वर्ष ०.०३८ डिग्री सेल्सियस ले बढेको छ । वरपरभन्दा केन्द्रीय शहरी क्षेत्र २ देखि ३ डिग्री सेल्सियस बढी तातो पाइएको छ।

पछिल्लो दशकमा सतही माटोको आद्रता (ओसिलोपन) औसत २.१ प्रतिशत गिरावट र केही स्थानमा ३५ प्रतिशत सम्मको गिरावट देखिएको अनुसन्धान क्रममा थाहा भएको छ ।

उक्त अनुसन्धानका प्रमुख सल्लाहकार प्रा. डा. रकि ताल्चाभडेलले चेतावनी नै दिएका छन्‌, ‘उपत्यकाको कुल क्षेत्रफलको २८ प्रतिशत मा ६३ प्रतिशत जनसङ्ख्या बस्छ। यी उच्च घनत्व क्षेत्र तत्काल उपाय नअपनाए ताप टापु झन् तीव्र हुन्छन् ।’

वन, पार्क र पोखरीले कसरी घटाउँछ तापक्रम ?

शोधमा उल्लेख भएअनुसार, पानी भएको ब्लू (नीलो) र वनजङ्गल तथा पार्क रहको ग्रीन (हरियो) क्षेत्रनजिक तापमान कम हुन्छ । यी क्षेत्रबाट दूरी बढ्दै जाँदा तापक्रम पनि बढ्दै जान्छ।

उदाहरणका लागि – स्वयम्भू वन क्षेत्रमा तापमान ३१.९ डिग्री सेल्सियस हुँदा केही मिटरको दूरीमा रहेको शहरी क्षेत्रमा ३६ डिग्री सेल्सियस थियो । ४.१ डिग्री सेल्सियसको यो अन्तरले ब्लू-ग्रीन क्षेत्र र कङ्क्रिटका संरचनामात्रै भएको नजिकैको घना बस्तीबीच एकै समयमा तापमान भिन्नता देखाउँछ ।

ललितपुरस्थित युएन पार्क नजिकको भवन क्षेत्रमा ३८.२ डिग्री सेल्सियस तापक्रम पुगेका बेला पार्कभित्रको तापक्रम भने ३४.३ डिग्री सेल्सियसमात्र थियो । त्यस्तै; भक्तपुरको परम्परागत पोखरी नः पुखुमा ३९.६ डिग्री सेल्सियस मापन भयो, जबकि नजिकैको शहरी क्षेत्रको तापक्रम ४२.५ डिग्री सेल्सियस थियो ।

तापक्रममा यी तथ्य सन्‌ २०१८ देखि २०२३ का पाँच गर्मी महिनाहरूमा रेकर्ड गरिएको थियो । उल्लेखित तापमान अन्तरले सबैभन्दा गर्मी समयमा शहरलाई शीतल बनाउन जल तथा हरित क्षेत्रहरूको योगदान पुष्टि गर्छ ।

काठमाडौँको केन्द्र रानीपोखरी क्षेत्रमा मापन गरिएको तापक्रम रेकर्डले पनि यस्तै देखाउँछ । रानीपोखरीको बीच भागको तापमान ३७.१ डिग्री सेल्सियस रहँदा वरपरको सडक क्षेत्रको तापक्रम ३९.८ डिग्री सेल्सियस मापन भएको थियो ।

पानीको छेउबाट लगभग २५० मिटर भित्रसम्म शीतलता महसुस गर्न सकिने अध्ययनले देखिएको छ । विशेषगरी पहिलो १५० मिटर क्षेत्रमा तापक्रम शीतल पार्न रानीपोखरीको जल क्षेत्रको योगदान उल्लेख्य देखिन्छ ।

यसैगरी भक्तपुरको ऐतिहासिक सिद्धपोखरी आसपासको तापक्रम शहरका घना बस्ती क्षेत्रको तुलनामा उल्लेखनीय रूपमा कम देखिएको छ । ‍सिद्धपोखरी नजिकको तापक्रम ३६ डिग्री सेल्सियस मापन गरिएको छ, जबकि नजिकैको घनाबस्तीमा तापक्रम ३८.५ डिग्री सेल्सियस पुगेको थियो ।

अनुसन्धानकर्ताहरूका अनुसार; पोखरीको आसपास रहेका हरियाली क्षेत्र र खुला स्थानहरूले गर्मी कम गर्न सहयोग पुर्‍याइरहेका छन् । विशेषगरी पोखरीदेखि करिब १५० मिटर टाढा पुग्दासम्म हरियाली क्षेत्र अझ बाक्लो देखिन थालेपछि तापक्रम अझ घट्दै गएको पाइएको छ ।

यसले पनि शहरी क्षेत्रका तापक्रम घटाउन खुला हरित क्षेत्रहरूको भूमिका कत्तिको महत्वपूर्ण छ भन्ने पुष्टि गर्छ।

ललितपुरस्थित ऐतिहासिक पिम्बहाल पोखरीले पनि वरपरको क्षेत्रलाई चिसो बनाउन उल्लेखनीय भूमिका खेलेको पाइएको छ ।

पोखरीको आसपासको तापक्रम ३८.३ डिग्री सेल्सियस मापन गरिएको थियो भने वरिपरिको बाक्लो बसोबास क्षेत्रको तापक्रम ४०.४ डिग्री सेल्सियस पुगेको थियो ।

पोखरीको शीतल प्रभाव करिब ३०० मिटर टाढासम्म पनि महसुस गर्न सकिन्छ।

समग्रमा हेर्दा साना र ठुला शहरी वनहरूले पनि सबैभन्दा धेरै तापक्रम घटाउने देखिएको छ । यी हरित क्षेत्रले शहरी तापमानलाई औसतमा १.२ डिग्री सेल्सियससम्म घटाउन योगदान गरेको पाइएको छ ।

शहरमा रहेका पार्कहरूले अधिकतम ०.९ डिग्री सेल्सियस र पोखरीहरूले करिब ०.८५ डिग्री सेल्सियसले तापक्रम घटाउने देखिएको छ ।

तर यी खुला स्थानहरूले दिने चिसो प्रभाव वरपरको भू-आवरणमा भर पर्ने अनुसन्धाताहरूले उल्लेख गरेका छन्‌ । हरियाली बढी भएको क्षेत्रमा यस्ता नीलो-हरियो क्षेत्रहरूले तापक्रम अधिकतम १.६ डिग्री सेल्सियसले घटाउन सक्छन् ।

तर, बाक्लो निर्माण क्षेत्रहरूमा भने औसतमा यो प्रभाव घटेर ०.३ देखि ०.६ डिग्री सेल्सियसमा सीमित हुन्छ ।

फरक क्षमता, फरक प्रभाव

शहरी वनहरूको आकार बढेमा तिनीहरूले दिने चिस्याउने प्रभाव पनि उल्लेखनीय रूपमा बढ्ने देखिएको छ । अध्ययन अनुसार, यदि वन क्षेत्र दोब्बर गरियो भने चिस्याउने प्रभाव करिब ३० प्रतिशतले बढ्ने सम्भावना देखिन्छ ।

पार्कहरूको हकमा भने आकार र चिस्याउने प्रभावबीच मध्यम सम्बन्ध देखिएको छ । यद्यपि पार्कले कति प्रभावकारी रूपमा तापक्रम घटाउँछन् भन्ने कुरा तिनको कुल आकारभन्दा पनि भित्री डिजाइनमा बढी निर्भर गर्छ ।

अनुसन्धानले देखाउँछ कि वृक्षवृत्तको आवरण प्रतिशत चिसो प्रभावमा निर्णायक छ । साना पार्कहरूमा यदि उच्च क्यानोपी क्षेत्र एक प्रतिशतले बढाइयो भने चिस्याउने प्रभाव औसतमा ०.९९ डिग्री सेल्सियसले बढ्ने देखिएको छ ।

ठूला पार्कहरूमा यो प्रभाव अझ उल्लेखनीय देखिएको छ । एक प्रतिशत वृक्ष क्यानोपी वृद्धि हुँदा चिस्याउने प्रभाव १.७६ डिग्री सेल्सियसले बढ्न सक्छ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. विष्णुप्रसाद पाण्डेले शहरी क्षेत्रमा खुला स्थानको सीमितता भए पनि सही स्थान र संरचनामा निलो-हरियो क्षेत्रहरू विकास गरिएमा प्रभावकारी चिसो वातावरण कायम गर्न सकिने बताए ।

‘यो केवल धेरै रूख रोप्ने कुरा होइन’, उनले भने, ‘पार्कको भित्री संरचना—रूखको क्यानोपी, घाँस र पक्की सतहको अनुपात—ले यसको चिस्याउने क्षमता निर्धारण गर्छ, मात्र साइजले होइन ।’

शहरअनुसार फरक रणनीति आवश्यक

अनुसन्धान टोलीले फरक शहरी क्षेत्रका लागि फरक रणनीति अपनाउन सिफारिस गरेको छ । अत्यधिक घना शहरी क्षेत्रमा जलस्रोतजस्ता तत्वहरूलाई प्राथमिकता दिनुपर्ने अनुसन्धाताहरू उल्लेख गर्छन्‌ ।

छानामा आधारित समाधानहरू – जस्तै वर्षा पानी सङ्कलन ट्याङ्की, परावर्तक पोखरी, हरियाली छाना र छाना खेती प्रवर्द्धन गर्न उनीहरूको सुझाव छ। त्यस्ता क्षेत्रका परिपक्व रूखहरूलाई जोगाउन अतिआवश्यक रहेको पनि अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

बीचको संक्रमण क्षेत्रहरूमा साना वन क्षेत्र विस्तार गर्ने, साथै ठूलो वृक्ष क्यानोपी भएको पार्कहरूको डिजाइनमार्फत छायाँ वृद्धि गर्ने रणनीति उपयुक्त हुने बताइएको छ । हरियाली वर्चस्व भएका क्षेत्रहरूमा भने विद्यमान वन क्षेत्र तथा हरित बफर क्षेत्रहरूको संरक्षण गर्नु भविष्यमा ‘शहरी तातो टापु’ बन्नबाट जोगिन महत्वपूर्ण हुने प्रतिवेदनमा लेखिएको छ ।

नेदरल्याण्डको ग्रोनिङ्गेन विश्वविद्यालयका डा. प्रज्वल प्रधानले यो अध्ययन विश्वभर लागु गर्न सकिने बताए ।‘हामीले काठमाडौँ उपत्यकामा आधारित अध्ययनमार्फत विश्वभरका शहरहरूले सिक्न सक्ने खाका प्रस्तुत गरेका छौँ । यो शहरी क्षेत्रको ताप नियमन क्षमता आकलन गर्न प्रयोग गर्न मिल्ने एउटा फ्रेमवर्क हो, जुन जुनसुकै शहरमा पनि लागू गर्न सकिन्छ’, उनले भने ।

अमेरिकी सेनाका इञ्जिनियर अनुसन्धान तथा विकास केन्द्रका डा. नवराज प्रधानले चेतावनी दिँदै भनेका छन्‌, ‘यदि तत्काल ठोस कदम चालिएन भने तापक्रम वृद्धिले जनस्वास्थ्य प्रणालीमाथि दबाव सिर्जना गर्नेछ, चिसो पार्न आवश्यक ऊर्जा माग बढ्नेछ र कमजोर समुदायहरू सबैभन्दा बढी प्रभावित हुनेछन् ।’

अध्ययन अनुसार, यदि व्यापक शीतकरण रणनीतिहरू कार्यान्वयन गरियो भने शहरी क्षेत्रमा चिसो बनाउने ऊर्जा माग १५ देखि २५ प्रतिशतसम्म घटाउन सकिन्छ, जसले विद्युत खर्च घटाउनुका साथै जनस्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्न सक्छ।

सामान्य नागरिकले के गर्ने ?

शहरमा गर्मीको अवस्था बुझ्न सर्वसाधारणले साधारण थर्मोमिटरको प्रयोग गरेर पार्क, सडक, गल्लीजस्ता ठाउँहरूमा बिहान र बेलुका तापक्रम मापन गर्न सक्ने सिफारिस गरिएको छ । यसले विभिन्न स्थानबीचको तापक्रम अन्तर बुझ्न सहयोग गर्छ र निलो-हरियो क्षेत्र ले कति प्रभाव पारिरहेका छन् भन्ने कुरा प्रत्यक्ष अनुभव गर्न सकिन्छ ।

यदि कसैले चाह्यो भने थर्मोमिटर वा अन्य सामान्य उपकरणहरूको प्रयोगमार्फत यस्ता हरित क्षेत्रहरूको महत्व आफैँले अवलोकन गर्न सक्छन् ।

अनुसन्धान टोलीले दिउँसोको १२ बजेदेखि ३ बजेसम्मको समय अत्यधिक गर्मीको हुनाले त्यस अवधिमा बाहिरी क्रियाकलाप नगर्न सल्लाह दिएको छ। साथै, दैनिक यात्राको लागि रूखहरूले घेरेका सडक वा पार्क नजिकका बाटो छनोट गर्न सुझाव दिइएको छ ।

गर्मीबाट हुने स्वास्थ्य प्रभावहरू चिन्ने चेतावनी पनि दिइएको छ, जस्तै अत्यधिक पसिना आउनु, हल्का टाउको दुःखाइ वा थकान महसुस हुनुजस्ता गम्भीर लक्षण देखिएमा तत्काल चिकित्सकीय सहायता लिनुपर्ने उल्लेख गरिएको छ ।

सार्वजनिक सहभागिताको दृष्टिले नगरपालिकाको वृक्षरोपण कार्यक्रममा सहभागी हुन, रुखको जातमा पिपल, बर र नीमजस्ता स्थानीय जातमा प्राथमिकता दिन सिफारिस गरिएको छ ।

साथै, पोखरी सरसफाइ अभियानमा सङ्लग्न हुने र पोखरी पुरिने अवैध कार्यहरू सम्बन्धित निकायमा जानकारी गराउने जिम्मेवारी पनि नागरिकहरूले लिन सक्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  २ : ०० बजे

अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

अहमदावाद – भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको

गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द

जलेश्वर – विगत केही दिनदेखि एक्कासी गर्मी बढेपछि महोत्तरीको बर्दिवास

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

अछाम – अछामको मङ्गलसेन नगरपालिकाले आफ्न्नो नगरको फोहोरको व्यवस्थापन गर्न

जहाँ जाऊ लागिरहन्छ माया देशको…

काठमाडौं – “मेरो बाउबाजे नेपाल आउन नपाई संसार त्याग्नुभयो, म

कर्णाली प्रदेशसभामा विपक्षीको अवरोध, बजेट अनिश्चित

सुर्खेत – कर्णाली प्रदेशसभामा आज असार १ मा बजेट नआउने