काठमाडौं – नेपालको मिडिया क्षेत्रमा देखिएका समस्याको पहिचान र तिनको सामाधानका उपाय खोजी गर्ने उद्देश्यले नगरकोटमा शुक्रबार र शनिबार सम्पादकहरुको दुई दिने भेला आयोजना गरिएको थियो । खोज पत्रकारिता केन्द्रले आयोजना गरेको सो भेलाले पत्रकारिता क्षेत्रलाई थप विश्वसनीय बनाउनका लागि ‘गाइडलाइन’ समेत पारित गरेको छ ।
कार्यक्रममा सञ्चार विश्लेषक मोहन मैनालीद्वारा प्रस्तुत गरिएको गाइडलाइन सर्वसम्मतरुपमा पारित गरिएको थियो । पत्रकारहरुले समाचारको संकलन, खोजी, सम्पादन वा प्रकाशन गर्दा हुन सक्ने त्रुटिहरु कसरी कम गर्ने भन्ने विषयमा यस गाइडलाइनले मार्गनिर्देश गर्ने प्रयास गरेको छ ।
काठमाडौंलगायत देशैभरिबाट प्रकाशन/प्रसारण हुँदै आएका पत्रपत्रिका, टेलिभिजन, रेडियो, अनलाइन र युट्युव च्यालनसमेतलाई यस गाइडलाइनले मार्गनिर्देश गर्ने ठानेर यहाँ उक्त गाइडलाइनको पूर्णपाठ प्रस्तुत गरिएको छ :
पृष्ठभूमि
सत्यतथ्य, पत्रकारिताको मूल मर्म हो । कुनै पनि जानकारी अडियन्ससम्म पुर्याउनुअघि त्यसको सत्यापन गर्ने मिडियाको पुरानै अभ्यास हो । न्यू मिडियाको विकासले गर्दा अहिले जो कोहीले जुनसुकै बेला सूचना सार्वजनिक गर्न सक्छ । यो परिवर्तन अभिव्यक्ति स्वतन्त्रताका दृष्टिले अभूतपूर्व क्रान्ति हो ।
तर यससँगै सूचनाको क्षेत्रले गम्भीर चुनौती पनि भोग्न थालेको छ । मिथ्या सूचनाको बाढी आएको छ । कुन सूचना सही र कुन मिथ्या हो भनी छुट्याउन आम नागरिकलाई कठिन भएको छ । न्यू मिडिया आउनुअघि पनि सूचना सत्यापन गर्ने काम जटिल थियो । तर अहिले यो काममा अझ बढी चुनौती थपिएको छ । पत्रकारले आफूले पाएका सूचना कडाइका साथ रुजु गर्ने प्रणालीमा थप सुधार गरी अडियन्सको विश्वास जित्नु परेको छ ।
अब पत्रकारहरूले आफ्नो सञ्चारमाध्यममा मात्र सत्यतथ्य र शालीन सामग्री प्रवाह गरेर पुग्दैन । अडियन्सलाई विश्वसनीय र अविश्वसनीय सूचना छुट्याउन सक्ने बनाउने नयाँ दायित्व पनि थपिएको छ । यसो गरेर समग्र मिडिया जगतमा फैलिइरहेका मिथ्या सूचनाको प्रवाह कम गर्न सकिन्छ । पत्रकारितालाई थप विश्वसनीय बनाउन सकिन्छ ।
सूचना जगतमा फैलिने सामग्रीहरू मानमर्दन गर्ने वा व्यक्तिगत गोपनीयता भंग गर्ने खालका पनि हुन्छन् । यस्ता सामग्रीले समाजको जग खल्बल्याउँछन्, व्यक्तिको मौलिक अधिकारमाथि हस्तक्षेप गर्छन् र उनीहरूलाई चोट पुर्याउँछन् । त्यसैले यस्ता सामग्रीलाई फैलन नदिन आम मानिसलाई सचेत गराउनुपर्ने भएको छ ।
अनलाइनमा विचरण गरेर जानकारी र मनोरञ्जन लिने सुविधा पनि न्यू मिडियाले दिएका छन् । यस्तो सुविधाले जोखिम पनि बढाएको छ । त्यसैले अनलाइनमा विचरण गर्दा खतरा आउन नदिने उपायबारे अडियन्सलाई जानकारी दिनु आवश्यक भएको छ ।
अब सबै व्यक्ति सूचना सामग्रीका निर्माता बन्न सक्छन् । उनीहरू आफै, आफ्नो ठाउँ, कार्यक्षेत्र र परिवेश सम्बन्धी विषयमा सामग्री तयार पार्न सक्ने भएका छन् । तर सामग्री तयार गर्दा ध्यान दिनुपर्ने सामग्रीको सर्वाधिकार, व्यक्तिको गोपनीयता, मानहानि आदि जस्ता कानूनी र नैतिक पक्षको जानकारी नहुन सक्छ । यस्ता सामग्री तयार गर्ने सीप पनि नहुन सक्छ । त्यसैले यस्ता विषयबारे जानकारी दिनु र सामग्री उत्पादनका सीपहरू प्रदान गर्नु पत्रकारहरूको जिम्मेवारी बन्न पुगेको छ ।
मिडिया लोकतन्त्रको रक्षक पनि हो । त्यसैले मिडियाले सबैलाई – खासगरी अहिलेसम्म आफ्ना विचार सुनाउन नपाएका वर्ग, समुदाय र क्षेत्रका मानिसहरूलाई धारणा व्यक्त गर्ने ठाउँ दिनुपर्छ ।
यी काम गरेर आफ्नो मिडियालाई स्वच्छ र विश्वसनीय बनाउन सकिन्छ । साथै, अडियन्सलाई सूचनाको मूल्यांकन गर्न, अनलाइनमा सुरक्षित भएर विचरण गर्न, तथ्यपरक जानकारी लिन र स्वयं जिम्मेवार सामग्री दिन सक्ने बनाउनेतर्फ पनि पत्रकारले सहयोग गर्नुपर्ने भएको छ ।
यही उद्देश्य पूरा गर्नका लागि यो मार्गनिर्देशन तयार गरिएको हो । यसका दुई खण्ड छन् ।
पहिलो खण्डमा आफ्नो मिडिया र आफ्ना जनशक्तिमा ध्यान दिइएको छ भने दोस्रो खण्डमा आफूबाहेकको समग्र सूचना जगतमा गर्नुपर्ने कामबारे उल्लेख छ ।
१. आफ्नो मिडियालाई स्वच्छ बनाउने
सूचना रुजु गर्ने
पत्रकारहरूले पाएका सूचना रुजु गरेर मात्र प्रकाशित प्रसारित गर्नुपर्छ । सूचना प्रकाशित गर्नुअघि त्यसको स्रोत, प्रामाणिकता र सन्दर्भबारे सतर्क हुनुर्र्छ । पछिल्लो समय, विशेषगरी सामाजिक सञ्जाल वा अन्य मिडियामार्फत जानी नजानी झुठा कुरा फैलाइएको पाइन्छ । त्यसैले जुनसुकै सूचना पाउँदा सधै शंका गर्नुपर्छ । सूचना पाएपछि यी प्रश्न आफैलाई सोध्नुपर्छ :
– यो जानकारी पूर्णरूपमा सही छ ? (जानकारी पूरै गलत हुन सक्छ वा आंशिक रूपमा मात्र सही हुन सक्छ । )
– जानकारी कसले दिएको हो ? जानकारी दिने व्यक्ति वा निकाय यो जानकारी दिन योग्य हो ? (केही वर्ष पहिले नेपालका धेरै मिडियामा कृषि मन्त्रालयको नापी शाखाले तयार गरेको भनिएको नक्कली कागजातका आधारमा समाचार बनाइएको थियो । यदि त्यसबेला सीमानासम्बन्धी विषयको जानकारी दिन कृषि मन्त्रालय योग्य निकाय हो कि होइन भन्ने सोधेको भए यस्तो समाचार जाँदैनथ्यो ।)
–स्रोतले यो जानकारी दिन यहीबेला किन रोजेको होला ? (उसले जानकारी दिनुका पछाडि कुनै व्यक्तिगत, राजनीतिक वा व्यावसायिक स्वार्थ त छैन?)
–पुराना कुराको जानकारी दिनेले सम्झनाका भरमा दिएको हो कि त्यतिबेलै गरिएका टिपोटका आधारमा वा कुनै आधिकारिक कागजात वा अभिलेखका आधारमा दिएको हो ? (सम्झनाका भरमा दिएको हो भने बढी शंका गर्नुपर्छ ।)
–समग्र पक्षको जानकारी आउने गरी थरीथरीका स्रोतबाट जानकारी लिएको छ कि छैन ?
ख्याल राख्नुपर्ने कुरा
प्रत्यक्षदर्शीका कुरा
प्रत्यक्षदर्शी भनिएका मानिसको कुरा पनि सही नहुन सक्छ (३१ साउन २०८१ मा भक्तपुरको ठिमीमा भएको गाडी दुर्घटनाबारे प्रत्यक्षदर्शीको बयानका आधारमा मिडियाले समाचार बनाए । पछि सीसीटीभी फटेज हेर्दा घटना विवरण फरक र मर्नेको लिङ्ग नै फरक भएको पाइयो ।)
भावुक बनाउने सूचना
कसैको सफलता, झगडा/लडाईं, आँशु, अति नै राम्रा/नराम्रा कुरा, सबैभन्दा ठूला/राम्रा/पहिलो पटक जस्ता दाबी, भ्रष्टाचार, हिंसा र आन्दोलन, जात, जेन्डर, रङ, बसोबासको थलो आदिमा आधारित अन्धविश्वास जस्ता संवेदनशील विषयवस्तुले कहिलेकाहीँ रिपोर्टर र सम्पादकको मन बहकिएका उदाहरण छन् । यस्तो बेलामा सूचना रुजु गर्ने पत्रकारिताको प्रचलित विधि बिर्सने गरिन्छ । त्यसैले यस्ता सामग्री आएमा रिपोर्टर र सम्पादक थप सतर्क हुनुपर्छ ।
हरेक सूचना प्रमाणीकरणका लागि स्रोतहरू जाँच गर्ने, विविध दृष्टिकोण समेट्ने र निष्पक्षता कायम राख्ने अभ्यासलाई कहिल्यै बेवास्ता गर्नुहुँदैन ।
पहिचान खुलाउन नचाहने स्रोत
स्रोतले उसको पहिचान नखुलाउने शर्तमा दिएका जानकारी पनि पत्रकारका लागि महत्वपूर्ण हुन्छन् । तर यसरी पाएका सूचना मिथ्या हुनसक्ने जोखिम पनि रहन्छ । यस्तो स्रोतको प्रयोग अति धेरै प्रयोग गर्दा अडियन्सले हामीलाई विश्वास गर्न छाड्छन् । त्यसैले अति आवश्यक पर्दा र स्रोतको पहिचान खुलाउन साँच्चै नमिल्ने कुरा स्पष्ट देखिने ठाउँमा मात्र उपयोग गर्नुपर्छ । (यसपालिको चुनावमा कुन पार्टीका समर्थकले कसलाई भोट हाल्छन् भनी बताउन नसकिने अवस्था भएको एक विश्लेषकले बताए’ भन्ने जस्ता ठाउँमा यसलाई जायज मानिँदैन ।)
त्यही जानकारी नाम उल्लेख गर्न दिने शर्तमा अरू कसैले दिन्छ कि भनी खोज्न कोशिश गर्नुपर्छ । (कुनै प्रहरी अधिकारीले कसैलाई पक्राउ गरेको जानकारी नाम उल्लेख नगर्ने शर्तमा बताएको छ भने त्यही जानकारी प्रहरी वा गृह मन्त्रालयको प्रवक्ताले नाम उल्लेख गर्ने शर्तमा दिन सक्लान् ।)
आधिकारिक निकायका कागजात
आधिकारिक डकुमेन्टमा पनि सामान्यतया पत्यार नलाग्ने खालका अति नै राम्रा अथवा अति नै नराम्रा (too bad to be true/too good to true) जानकारी छन् भने त्यहाँ केही कैफियत छ कि भनी शंका गर्नुपर्छ । (उदाहरणका लागि, हामीलाई जानकारी दिने मानिसले ‘२०१८ सालमा तेह्रथुमको जनसंख्या चार लाख रहेकोमा त्यसको पचास वर्षपछि २०६८ मा घटेर एक लाखमा आइपुग्यो’ भनी बताए । सामान्यतया यो सूचना जाँच्नका लागि हामी २०१८ र २०६८ सालका जनगणनाका प्रतिवेदन हेर्छौं । ती प्रतिवेदनमा पनि यी आँकडा सही देखिए भने हामीले उपयोग गर्दा हुन्छ । तर यति धेरै मानिस घट्नु असामान्य कुरा हो । त्यसैले यस्तो पनि हुनसक्छ र ! भनी शंका गरेर हेर्नुपर्छ । त्यसो गर्दा के थाहा हुन सक्छ भने २०१८ सालमा जनगणना गर्दा तेहथुम जिल्ला भन्नाले अहिलेका संखुवासभाका केही भाग अनि ताप्लेजुङ, पाँचथर र तेह्रथुमका सबै भाग भन्ने बुझिँदो रहेछ । अर्थात् २०१८ सालको जनगणनामा तेह्रथुमको भनिएको जनसंख्या धेरै वटा जिल्लाको रहेछ । )
फेक/डिप फेक
न्यू मिडियाले गर्दा पत्रकारहरूले सूचना रुजु गर्ने काममा थप चुनौती बेहोर्नु परेको छ । डकुमेन्ट वा अडियो वा भिडियो वा इमेजको निश्चित अंश मात्र दिएर गलत अर्थ लाग्ने बनाइएको हुन सक्छ । एआईको प्रयोग गरेर फेक वा डिप फेक सामग्री बनाइएको हुनसक्छ । एउटा ठाउँ वा घटनाको फोटो वा भिडियोलाई अर्को ठाउँ वा घटनाको भनी हल्ला चलाइएको हुनसक्छ । यस्तो अवस्थामा परिस्थितिजन्य प्रमाण/फोटो वा भिडियोमा देखिएका साइनबोर्ड, प्रकाशको अवस्था र भौगोलिक परिस्थिति, मौसम आदि) को मूल्यांकन गर्न आफ्नो विवेक र विभिन्न टुल्स उपयोग गर्नुपर्छ । यसका लागि निम्न प्रश्न आफैलाई सोध्नुपर्छ :
–लामो भिडियोबाट काटकुट पारेर गलत अर्थ लाग्ने बनाइएको छ कि ?
–अरू नै घटना/ठाउँको अडियो, भिडियो र फोटो आदिलाई अरू नै घटना/ठाउँको भनी राखिएको छ कि ?
–एउटाको आवाज भनी अर्कैको आवाज राखिएको छ कि ?
यस्तो बेला आवश्यक परेमा विज्ञको सहयोग लिनुपर्छ । सूचना रुजु गर्नका लागि उपयोगी साबित भएका प्रविधि सधैँ अद्यावधिक गराइरहनुपर्छ ।
मानहानि आदि
निर्दोष मानिसको मान सम्मानमा चोट पुर्याउने, जेन्डर/जातीय लगायत सबै खालका भेदभाव गर्ने र चरित्र हत्या हुनसक्ने खालका मिथ्या आरोप मात्र लगाइएका सामग्री दिनुहुँदैन । सार्वजनिक पदमा बसेका व्यक्तिको गोपनीयताको हक उसका कामबाट सार्वजनिक जीवनमा असर पार्ने हदसम्म मात्र मिच्न मिल्छ । बाँकी अवस्थामा उसको पनि गोपनीयताको अधिकारमा हस्तक्षेप गर्न हुँदैन । कुनै आयोजनामा फलानाले यति रकम खायो भनी जतिसुकै ठूलो पदमा बसेको व्यक्तिले भन्यो भने यस विषयमा थप खोज र छानविन गर्नुपर्छ । उसले लगाएको आरोपलाई सही जस्तो बनाएर सामग्री दिनुहुँदैन । गम्भीर विषयमा कसैले लगाएको आरोपलाई मात्र आधार मानेर सामग्री दिनुहुँदैन ।
एआईको उपयोग
एआईको उपयोग नैतिक र पारदर्शी भएर मात्र गर्नुपर्छ । यसको प्रयोग गर्दा गल्ती हुन सक्छ भनेर सतर्क हुनुपर्छ ।
भूलसुधार नीति
गल्ती भइहालेका खण्डमा गल्ती सच्याउन तत्पर हुनुपर्छ । निम्न गल्ती भएका खण्डमा निम्न किसिमले सच्याउन सकिन्छ :
हिज्जे र व्याकरणमा भएका गल्ती चूपचाप सच्याउनुपर्छ ।
नयाँ जानकारी थप्नु वा जानकारी सच्याउनु परेमा सच्याएको ठाउँमा * चिह्न दिने र हेडलाइनमा अद्यावधिक गरिएको भनी बताइदिनुपर्छ ।
सामग्रीको मूल सन्देश नै फेरिने गरी जानकारी सम्पादन गर्नुपरेमा सम्पादन गरेका ठाउँमा * चिह्न दिने र हेडलाइनमा अद्यावधिक गरिएको भनी बताइदिनुपर्छ ।
मानहानि हुने जानकारी प्रकाशित भएको रहेछ भने त्यसलाई हटाउनु, क्षमा माग्नु र यसकारणले हटाएको भनी लेख्नुपर्छ ।
भूल सुधार नीति प्रकाशित गर्नुपर्छ ।
सम्पादकीय मूल्यमान्यता
कुनै मिडियाको सम्पादकीय मूल्यमान्यता अडियन्सले थाहा पाउनु जरूरी हुन्छ । त्यसैले सम्पादकीय मूल्यमान्यता सार्वजनिक गर्नुपर्छ ।
गल्ती औंल्याइदिन आह्वान
आफ्ना सामग्रीमा गल्ती पाइए आफूलाई बताइदिन पाठकलाई अनुरोध गर्नुपर्छ ।
पब्लिक एडिटरको व्यवस्था
यस पदलाई अम्बुडसपर्सन पनि भनिन्छ । उनको काम मिडियामा प्रकाशित/प्रसारित सामग्रीबारे अडियन्सको गुनासो सुन्नु र तिनलाई निष्पक्ष ढंगले मूल्यांकन गरी आफ्नो राय प्रकाशित गर्नु हो । यस्तो कामले मिडियाको आन्तरिक समीक्षा हुन्छ र अडियन्ससँग निरन्तर संवाद कायम हुन्छ । अडियन्सको विश्वास र बफादारी पाइराख्न यस्तो काम गर्नु जरूरी छ ।
चुस्त प्रस्तुति
प्रविधिले पत्रकारहरूलाई अप्ठ्यारो पारेको मात्र छैन, सजिलो पनि पारिदिएको छ । खासगरी, ठूल्ठूला आँकडाबाट स्टोरी आइडिया निकाल्न, तिनलाई प्रशोधन र प्रस्तुत गर्न सहज बनाएको छ । यस प्रविधिलाई उपयोग गरेर अडियन्सलाई रोचक र सुन्दर तरिकाले सामग्री प्रस्तुत गर्ने सीप पत्रकारहरूले सिक्नुपर्छ र प्रविधिको ज्ञान अद्यावधिक गरिरहनुपर्छ ।
२. पूरै मिडिया क्षेत्रलाई विश्वसनीय बनाउन काम गर्ने
प्रविधिको तीव्र विकासले गर्दा अहिले जो–कोहीले अक्षर, आवाज वा दृश्यमार्फत आफ्ना सन्देश तुरुन्तै प्रचार–प्रसार गर्न सक्ने भएका छन् । यसले सूचना क्षेत्रलाई खुला र पहुँचयोग्य बनाए पनि, जस्तोसुकै सामग्री सार्वजनिक हुने अवस्था सिर्जना भएको छ । सामग्री तयार पार्दा र प्रचार–प्रसार गर्दा आवश्यक सावधानी अपनाइएन भने सूचना जगतमा भ्रम र गडबडी फैलिने सम्भावना हुन्छ ।
त्यसैले पत्रकारहरूले आफ्नो मिडियामा मात्र स्वच्छ सामग्री दिएर नपुग्ने भएको छ । समग्र सूचना क्षेत्र विश्वसनीय, जिम्मेवार र तथ्यमा आधारित होस् भन्ने वातावरण निर्माणमा पनि योगदान पुर्याउन आवश्यक छ ।
कस्तो जानकारी पत्याउने र कस्तो जानकारी नपत्याउने भन्ने कुरा बुझाउन पत्रकारको भूमिका महत्त्वपूर्ण हुन्छ । यसका लागि आम नागरिकलाई सूचना विश्लेषण गर्ने क्षमतामा सशक्त बनाउनुपर्ने हुन्छ । यसरी, सूचना उपभोक्तालाई विश्वसनीय जानकारी मात्र लिन सक्षम बनाउँदै समग्र मिडिया क्षेत्रको गुणस्तर सुधार गर्न सकिन्छ ।
अडियन्सको ध्यान तान्ने लहड चलेपछि जस्तासुकै उपाय पनि उपयोग गरिन्छ । झुटा कुरा, तोडमोड गरिएका तथ्य र भ्रामक सामग्री पनि प्रस्तुत गरिन्छ । यस्तो अवस्थामा अडियन्सलाई सतर्क गराएर उनीहरूलाई विश्वसनीय मिडियाका कुरा मात्र पत्याउन प्रेरित गर्न सकिन्छ ।
अर्थात् सूचना प्रणाली र डिजिटल प्रविधिलाई विश्वसनीय बनाउन पत्रकारले आम नागरिकलाई विवेकी भएर सूचना उपयोग गर्न सक्षम बनाउनुपर्छ । उनीहरूलाई सूचना दिंदा जिम्मेवार हुन सिकाउनुपर्छ । मर्यादित सामग्री मात्र उत्पादन र प्रसार गर्न पनि सक्षम बनाउनुपर्छ । अनलाइनमा सुरक्षित र सचेत रूपमा सञ्चार गर्न आवश्यक डिजिटल साक्षरता प्रदान गर्नुपर्छ ।
विभिन्न सञ्चार माध्यममा फैलिएका झुटा सूचनाको तथ्य जाँच गरी पाठकलाई जानकारी दिने पत्रकारिताको नयाँ विधा ‘तथ्य जाँच’ को पनि उपयोग गर्नुपर्छ ।
तथ्य जाँच गर्ने विभिन्न तरिकाबारे अडियन्सलाई टिप्स दिनेखालका सामग्री प्रकाशित प्रसारित गर्न पर्छ ताकि डिजिटल दुनियाँमा फैलिएका सूचनामध्ये कुन सही र कुन गलत हुन् भनी छुट्याउने काम उनीहरूले नै गर्न सकुन् । यस सम्बन्धी नयाँ–नयाँ टुल्स र विधि आइरहने हुँदा यस्तो जानकारी नियमितरूपमा दिनुपर्छ ।
अबका अडियन्स हाम्रा सामग्रीका उपभोक्ता मात्र होइनन्, सञ्चार प्रणालीका महत्त्वपूर्ण सहभागी पनि हुन् । त्यसैले उनीहरूलाई आफ्ना कुरा व्यक्त गर्ने मञ्च दिनुपर्छ । सहभागीको दायरा जति फराकिलो बनाउन सक्यो, सूचना प्रणाली पनि त्यति नै समावेशी र सशक्त बन्छ । यस्ता सहभागितामूलक सामग्री सामाजिक सञ्जालका आफ्ना अकाउन्टमार्फत पनि प्रसार गर्न सकिन्छ ।
अडियन्सलाई सामग्री तयार गर्ने सीप सिकाउनु पनि पत्रकारको दायित्व हो । यस्तो सीप भिडियो वा लेखमार्फत सिकाउन सकिन्छ अथवा कार्यशाला आयोजना गर्न पनि सकिन्छ । यसो गर्नु भनेको सिर्जनशील जनशक्तिलाई मलजल गर्नु पनि हो ।
प्रभावकारी सूचना सम्प्रेषण र सूचनाको स्वच्छता कायम राख्ने काम पत्रकारले मात्रै गर्न सक्दैन । त्यसका लागि समाजका अन्य अंगहरूसँग हातेमालो गर्ने काम पनि मिडियाले गर्नुपर्छ ।
डाउनलोड गर्नुहोस्–
प्रतिक्रिया