भुटानबाट भारतीय सेना फिर्ता हुनुपर्छ, राजा रहे देश रहन्छ | Khabarhub Khabarhub

भुटानी नेता बलराम पौड्यालसँग विशेष वार्ता

भुटानबाट भारतीय सेना फिर्ता हुनुपर्छ, राजा रहे देश रहन्छ

मेरो खरानी भुटानमा छर्नू !


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 22 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यसलाई एउटा रोचक संयोग मान्नुपर्छ, नेपालको सत्तामा यतिखेर पौडेलहरुको ‘बिगबिगी’ छ । राष्ट्रपतिमा पौडेल, अर्थमन्त्रीमा पौडेल, राष्ट्र बैंकको गभर्नरमा पौडेल, स्वाथ्यमन्त्रीमा पौडेल । जहाँसुकै पौडेल ।

पौडेलहरुको यो सूचीमा ७३ वर्षका सेतै फुलेका बलराम पौड्याललाई पनि लिन सकिन्छ तर, उनी नेपाली नागरिक नै होइनन् । नेपालमा जन्मेका पनि होइनन् । नेपालसँग उनको नातो यही ‘पौडेल’ थर मात्र हो । उनी भुटानमा जन्मेका हुन्, भुटानी नागरिक हुन् तर अहिले शरणार्थीमा रुपमा झापाको बिर्तामोडमा बस्दै आएका छन् ।

कतिपय थरहरु अन्तरराष्ट्रिय हुन्छन् । जस्तो उपेन्द्र यादव नेपालका नेता हुन् तर अखिलेश यादव र लालु यादवहरु नेपाली होइनन्, भारतीय माटोमा जन्मेका खाट्टी भारतीय हुन् । उता उपेन्द्र यादव नेपालका भूमिपुत्र हुन् । उनीहरुको थरमात्रै मिलेको हो ।

बलराम पौड्याल पनि नाम थर र मातृभाषा हेर्दा नेपाली नागरिक पो हुन् कि भन्ने मानिसहरुलाई भ्रम पर्न सक्छ । तर, यो फगत भ्रम मात्र हो । शायद, यही भ्रमकै कारणले भुटान सरकारले सन् १९९० मा करिब एक लाख भुटानी नागरिकलाई नेपालतर्फ खेदायो र शरणार्थी बनायो ।

भुटान पिपुल्स पार्टीका अध्यक्षसमेत रहेका पौड्यालले सन् २००१ मा ‘भुटान हिजो र आज’ पुस्तक लेखेका थिए । अहिले उनले ‘पर्दापछाडिको भुटान’ शीर्षकमा ३९४ पृष्ठको अर्को किताब लेखेका छन् । यसको नेपाली र अंग्रेजी दुबै भर्सन एकैसाथ बजारमा आएको छ ।

तीनपटक स्वदेश फिर्ती आन्दोलन असफल भैसकेको अवस्थामा पौड्यालले अब यो पुस्तकले ‘चौथो आन्दोलनको शुभारम्भ’ गराउने विश्वास लिएका छन् ।

नेपालमा पाहुनाका रुपमा रहेका पौड्यालले अहिले भुटानको अवस्था नाजुग रहेको र सीमानासमेत खुम्चँदै गएको बताएका छन् । भुटानकै माटोमा मर्ने आफ्नो अन्तिम इच्छा रहेको र बाहिरै मरेको खण्डमा खरानी भुटानमा लगेर छर्न परिवारलाई भनेको पौड्याल सुनाए ।

राजाले कुनै ठोस कदम नचाल्ने हो भने भुटान आधा चीनले र आधार भारतले लान सक्ने चिन्तासमेत उनले जनाए । राजतन्त्र नरहे भुटानको अस्थित्व नरहने भन्दै उनले भुटानी राजालाई सुझाव दिए, चाँडो मेलमिलापको नीति लिनोस् । बाहिर रहेका जनतालाई स्वदेश फर्काउनोस् । भुटानबाट भारतीय सेना हटाउन पहल गर्नोस् ।

भुटानी नेता पौड्यालसँग अहिलेको भुटानको वास्तविक अवस्था र नेपालमा रहेका करिब ७–८ हजार शरणार्थीहरुको स्थिति, नक्कली शरणार्थी प्रकरणलगायत विविध विषयमा खबरहबकर्मी अरुण बराल, संकेत कोइराला र ईश्वरदेव खनालले गरेको विस्तृत कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

‘बलराम पौड्यालको परिचय कसरी दिने ? पार्टीको नेता भन्ने कि लेखक ? खबरहबको प्रश्नमा पौड्यालको जवाफ छ– ‘पहिले त म भुटानको नागरिक । हाल शरणार्थी । र, अहिले भुटान पिपुल्स पार्टीको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हालिराखेको छु ।’

आफ्नो पारिवारिक स्थितिबारे पौड्याल भन्छन्, ‘म अहिले ७३ वर्ष लागें । दुई छोरी र एकजना छोराको परिवार तेस्रो मुलुक पुनर्वासमा छन् । एउटी छोरी भुटानमै छोडिएकी छिन् । उतै बिहे गरेकी हुन् तर नागरिकता छैन । एउटी छोरीले झापामा नेपालीसँग बिहे गरेकी छिन् । हामी दुई बूढाबुढी उनकै निगरानीमा बिर्तामोडमा बस्छौं ।’

मुख्य राजनीतिक कुराकानीमा प्रवेश गर्नुअघि पृष्ठभूमिमा पौड्यालले भुटानमा गरेको मृत्युसँगको संघर्षदेखि भुटान पिपुल्प पार्टी स्थापनासम्मको कथा, उनकै शब्दमा–

‘म सन् १९८९ मै मरिसकेको मान्छे हुँ’

सन् १९८५ सम्म हामीलाई भुटानभन्दा राम्रो देश छैन होला जस्तो लाग्थ्यो । हामी भारतीय सीमा (दक्षिण भुटान) मा बसेका थियौं । बजार आउँदा–जाँदा भारतमा जुलुस भएको देख्थ्यौं । कोहीबेला बाटो बन्द भएको देख्थ्यौं । हत्तेरिका ! योभन्दा त हाम्रै देश राम्रो हो नि, राजा भएकै देश राम्रो रहेछ जस्तो लाग्थ्यो ।

तर, सन् १९८५ मा जब सरकारले १९५८ मै लागू भएको नागरिकता अधिनियमलाई संशोधन गर्‍यो, त्यसपछि देशको अवस्था एकदम नाजुग भएर गयो ।

सन् १९५८ को जुन अधिनियम छ, त्यसले के भन्छ भने १९५८ डिसेम्बर ३१ तारेखभन्दा अगाडि भुटानमा बसोबास गरेको मानिस भुटानको नागरिक मानिन्छ । त्यसरी नागरिक मान्नका लागि उसको नाम गृहमन्त्रालयअन्तर्गत जनसंख्या तथ्यांकमा पञ्जीकृत भएको हुनुपर्छ । र, उसको नाममा जमीन पनि भएको हुनुपर्छ ।

सन् १९८५ मा आएर पनि शर्तचाहिँ त्यही नै राखियो तर विडम्बना के थियो भने भुटानको गृहमन्त्रालय १९६८ मा स्थापना भयो, अनि सरकारले १९८५ मा गएर १९५८ को प्रमाण खोज्न थाल्यो । त्यो आधारमा जनगणना शुरु भयो ।

हुन त भुटानमा जनगणना नौलो होइन । हरेक वर्ष ब्लक मण्डल (स्थानीय निकाय) को अफिसमा जम्मा भएर परिवारसहित टाउको गन्ती गरेर जनगणना लिने प्रचलन थियो । १९८५ को कानून लागू भइसकेपछि १९८७ मा जनगणना भयो । जनगणनामा सरकारले वर्ग छुट्यायो ।

सन् १९५८ को कानूनअनुसार त्यसअघि बसोबास गरेको केही आधार छ भने त्यो खास नागरिक भयो । घरमूलीको प्रमाण भए पनि भाइहरुको नाम छुट भएको रहेछ भने त्यो दोस्रो दर्जाको नागरिक भयो । यसरी सात वर्गमा नागरिकलाई विभाजन गरियो ।

विवाह गरेकाहरुलाई, छोराछोरीलाई त्यसरी छुट्याइयो । व्यवहार पनि एकदमै अप्ठ्यारो किसिमको भयो । हिजोका अफिसरहरुको हामीसँग बोल्ने व्यवहार अर्कै भयो ।

जस्तो– जनगणनामा प्रमाण पुर्‍याउनका लागि के शर्त राखियो भने सीइओ (सर्टिफिकेट अफ ओरिजिन) ल्याउनु भनियो । गाउँका मान्छेले घरमा गएर सियो र धागो लिएर आए । यत्तिसम्म सोझा नागरिकहरु थिए । तर, सर्टिफिकेट अफ ओरिजिन लिनका लागि आ–आफ्नो पुरानो बास्थानमा पुग्नुपर्‍यो । मानिसहरु बसाइँ सरेर वरपर गएका हुन्छन् । कत्तिवर्ष पछाडि त्यो लिन जानु पर्दाखेरि पहिलाको स्थानका मण्डलहरु छैनन् । त्यहाँ अफिसै छैन, रेकर्ड नै छैन । अनि सर्टिफिकेट अफ ओरिजिन दिने मान्छे पनि भएन ।

मरितरि वरपर सरजमिनको प्रमाण लिएर आउँदा पनि ‘यो त ठीकै छ, तर अहिलेको ब्लक मण्डलको ल्याएनछौं नि’ भनेर फेरि ब्लक मण्डलमा पठाइदिने । तर, त्यो ब्लक मण्डल नयाँ छ, उसकोमा रेकर्ड छैन । बल्ल तल्ल कसैले लिएर आयो भने ‘खै, तिम्रो हेल्थ रिपोर्ट छैन त ?’ भनिदिने । यसरी एकदमै हैरानी दिने काम भयो र राजतन्त्र स्थापना भन्दा अगाडिका मानिसहरु समेत अनागरिक बन्न पुगे ।

यस्तो अवस्था भएपछि अब के गर्ने त भनेर हामीले सरसल्लाह गर्दै थियौं । म त्यसबेला १९८१ देखि ब्लक मण्डलमा कार्यरत थिएँ । ब्लक मण्डल भनेको नेपालको पहिलाको स्थानीय पञ्चायत जस्तै हो । तर, एक घर एकभोटका आधारमा चुनाव हुन्थ्यो । भुटानमा त्यतिबेला १८ जिल्ला थिए, २०२ ब्लक मण्डलहरु थिए, अहिले २०५ भएका छन् ।

सन् १९८७ बाट १९८९ मा गएर भुटानमा डरलाग्दो जनगणना चल्दै थियो । १९८१ कै जनगणनापछि सरकारले परिचयपत्र पनि दिएको थियो । तर, त्यो परिचयपत्रलाई पनि मान्यता नदिनका लागि १९८९ मा एकदमै डरलाग्दो प्रकारले जनगणना हुँदै थियो । बीचमा दशैं आयो, दशैं पछाडि फेरि शुरु हुनेवाला थियो ।

यत्तिकैमा १९८९ नोभेम्बर ३ तारेख राति १० बजेतिर मेरो घरबाहिर मानिसहरु आएको थाहा भयो । ब्लक मण्डलको मानिसलाई भेट्न कोही आए होला भन्ने भयो । म सुत्नै लागेको थिएँ, मान्छे बोलेको सुनेर ढोका खोलें ।

त्यहाँ चारजना पुलिस रहेछन् । एकजना नजिकैको चेकपोष्टको प्रमुख, एकजना हवल्दार र दुईजना सिपाही । त्यो चेकपोष्ट मैले नै मागेर सरकारले स्वीकृति दिएको थियो ।

ओहो डासो आउनुभयो भनें, (उनीहरुलाई भुटानमा डासो भन्ने चलन छ ) बस्न लगाएँ । सधैं त हामीलाई बोलाउन पियन नेपालीमै लेखिएको चिठी बोकेर आउँथ्यो, यसपटक चेकपोष्टको प्रमुख आफैं आए ।

उनीहरुले भने, ‘भोलि राजा आउने रे । बिहान ८ बजेदेखि मिटिङ छ, सबै मण्डलहरु अहिल्यै जानुपर्छ ।’

ल ठिक छ भनियो, हिँडियो । तर, मलाई कता–कता डर लाग्यो । त्यसअघि टेकनाथ रिजाल, रतन गजमेरहरुलाई समातेको थियो । शायद देशमा हामीमाथि षड्यन्त्र हुन थाल्यो भन्ने भयो ।

घरभरि छोराछोरी छन्, आफ्नो व्यवहार पनि सम्हाल्नुपर्छ । मैले श्रीमतीलाई भनें, शायद म फर्कन्छु, फर्कन्न, यिनीहरु मलाई लिनै आएका हुन् । डकुमेन्ट पनि केही छैन, राति आएका छन् । भोलिको मिटिङका लागि आजै राति आउनुपर्ने त काम थिएन । फेरि साम्ची त टाढा हो, गाडीबाट जानुपर्छ ।

बाटो लागियो । उनीहरुले दृष्टान्त देखाइहाले । दुईजना अगाडि बसे, दुईजना पछाडि । अलि तल मण्डलले नै नियुक्त गरेका कारोबारीको घर थियो, उनकी आमा खस्नुभएको थियो, म त्यहाँ निस्किएँ । भित्र गएर ‘ल है साथीहरु, मचाहिँ जाँदैछु’ भनेर उनीहरुलाई संकेत दिएँ । त्यहाँबाट ओरालो लागियो ।

जाँदाजाँदै इण्डिया बोर्डरमा पुग्ने बेलामा सानो खोल्सीमा पुगेपछि यिनीहरुलाई टेस्ट गर्नुपर्‍यो भनेर पानी खान्छु भन्दै खोल्सीतिर लागें । झोला टक्क बिसाएँ । प्लाष्टिकको सेन्डल लगाएको थियो, पानीमा एउटा चिप्लियो । अर्को पनि त्यहीँ छोडिराखेर भागें ।

मेरो भाग्य बलियो, मैले चिनिराखेको बाटो, उनीहरुको टर्चको ब्याट्री सिद्धिएछ । आधा किलोमिटर दौडिएपछि कोट खोलेर फालिदिएँ । यता जरडगा खोलो, उता तोते खोलो । पुलपारि इण्डिया ।

त्यहाँ पहिरो आएर पुरेको ठूलो बगर थियो, म त्यो बगरमा कुदें । अँध्यारोमा खाल्डो देख्दा ढुंगाजस्तो, ढुंगाचाहिँ खाल्डोजस्तो लाग्थ्यो । मुटु ढुकुढक हुँदा कान बज्दोरहेछ, पछाडि केही छ कि जस्तो लाग्ने । फर्केर हेर्दा केही पनि छैन । जूनकिरीमात्रै उडेको देखिन्थ्यो । म भीरको किनारामा पुगेर बसें । त्यो बाँदर बस्ने ठाउँ रहेछ ।

अलिअलि उज्यालो भएपछि बिस्तारै तल झरें । ढुंगामा ढोक्किएर खुट्टा कक्रिए । रगताम्य थिए । तल, कालो मैलो खोला बगिरहेको छ । अग्लो ढुंगोमा चढेर फालहानें ।

त्यसबेला मैले दुईवटा कल्पना गरें । तरें भनें म बाँचे, आखिर पुलिससँग जाँदा पनि भोलि मर्नैपर्छ, यहाँ मरें भने उज्यालो भएपछि तल बगरमा त देख्लान् नि ।

मुनि पावरहाउसको ड्याम थियो । फाल हान्दा मुल्कोमा परिएछ, पानीले ह्वात्त फ्याँकेर पारिपट्टि बगरमा पुर्‍याइदियो ।
देशपट्टि फर्केर हेरें अनि अब यो कालो कानून समाप्त गरेर मात्रै फर्कन्छु भनें । पानी खाएँ र संकल्प गरेर हिँडें ।

त्यहाँबाट उकालो लागियो । मलाई सबैले चिन्थे, लुकेर हिँड्नुपर्ने । तल पुलिस छ, इण्डियापट्टि खबर गर्‍यो भने पनि समातिहाल्छ।

भीरबाट लुक्दै–लुक्दै इण्डियामै रहेको आफन्तको घरमा पुगें । भाञ्जा थिए त्यहाँ । भाञ्जा छक्क परे । खाना साना खुवाएर एउटा कोठामा लुकाएर सुत्न लगाए ।

भोलिपल्ट ६५ किलोमिटर पैदल यात्रा गरेर इण्डियाको जंगलै जंगल हिँडेर साम्सी भन्ने बजारमा पुगें । त्यहाँबाट गाडी समातेर सिलिगुडी आएँ । र, त्यहाँबाट नेपाल तरें ।

नेपालमा दुई–चार दिन यताउता गरें । बिर्तामोडमा टेकनाथ रिजाल र अरु साथीहरु पनि भेटें । अब के गर्ने भनेर सरसल्लाह गरियो । टेकनाथले सिक्किम जानुपर्छ भन्नुभयो । त्यहाँ मुख्यमन्त्री (नरबहादुर भण्डारी) लाई भेट्नुपर्छ भन्नुभयो ।

उहाँले त्यहाँ केही कदम चाल्नुभएको रहेछ । हामीले खासमा दार्जीलिङमा सुवास घिसिङलाई भेट्न चाहेका थियौं तर उनी दिल्ली गएका रहेछन् । अनि, म (भेटघाटको समय मिलाउन) सिक्किम गएँ ।

म सिक्किम पुगें, यता त्यही रात रिजाल बसेको ठाउँ बिर्तामोड) बाट रिजाल, जोगेन र सुशील पोखरेललाई नेपाल प्रहरीले समातेर लगेछ । हामीलाई थाहा छैन ।

नेपालबाटै एकजना काफ्ले गान्टोक पुगे । हामीले मुख्यमन्त्रीसँग भेट्ने समय मिलाउन पाएकै थिएन । रिजाल र टिमलाई लग्यो, नेपाल नआउनू भनेर ती मान्छे फर्किए ।

भाग्दै आएको मान्छे । इण्डियामा त डर छँदै थियो, नेपाल पुगेर बाँचिएला भनेको, नेपाल नआउनु भनेपछि कहाँ जाने ? हाम्रो ६/७ जनाको टिम थियो, लुकेर बस्नुपर्ने भयो ।

त्यसपछि हामी दार्जीलिङ गयौं । भुटानबाट आरके बूढाथोकी पनि निस्कनुभएछ । सिलिगुडीमा भेला भएर अब जाऔं भनेर दिल्ली गयौं ।

दिल्लीमा लालकृष्ण आडवानीलाई भेट्यौं । राजीव गान्धीलाई भेट्न सकेनौं, उनको अफिसमा गएर आफ्ना कुराहरु राख्यौं । यो विषयमा मेरो किताबमा पनि विस्तृत चर्चा गरेको छु ।

त्यहाँबाट बनारस गएर बनारस हिन्दु विश्वविद्यालयमा संस्कृत पढेका साथी जागिरमान लामालाई भेट्यौं । त्यहाँ एउटा सेमिनार गर्‍यौं । त्यो हाम्रो पहिलो सेमिनार थियो । त्यहाँका प्रोफेसरहरुले पनि साथ दिनुभयो । इण्डियन पेपरहरुले पनि राम्ररी कभरेज गरे । तर, के भयो भने भुटानमा शान्ति छ भन्ने थियो अचानक एउटा झुण्डले आरोप लगाउँदा कतिले लेखे, कुन पाराले लेखे ।
आडवानीलाई भेट्दा हामीले भुटानमा मानवअधिकारको उल्लंघन भयो भनेका थियौं । उनले भने, ‘तिमीहरुको संगठन के छ, कतिजना मरे ? हामीले त केही लडाइँ भएको पनि सुनेको छैन, कोही मरेको पनि सुनेको छैन । अचानक तिमीहरुले यो के भनेको ?’

छक्कै परियो । मान्छे त मर्नुपर्दोरहेछ ।

त्यसपछि हामी सिलिगुडीतिरै फर्कियौं । अनि के गर्ने भन्दाभन्दै आरके बूढाथोकीको अध्यक्षतामा सन् १९९० जून २ मा भुटान पिपुल्स पार्टी गठन गर्‍यौं । मैले त्यतिबेला कोषाध्यक्षको जिम्मा लिएको थिएँ । पछि प्रचार–प्रसार सचिवको जिम्मा लिएँ । टेकनाथ रिजालजी भुटानमै जेलमा हुनुहुन्थ्यो । नेपालले पक्रेर भुटानलाई बुझाइदिएको थियो ।

पार्टीको प्रचार–प्रसार हुँदै गयो । मानिसहरु आउन थाले । १९९० सेप्टेम्बरमा हामीले भुटानमा जुलुस गर्‍यौं । देशव्यापी घोषणा थियो तर दक्षिण भुटानमा ६/७ वटा जिल्लामा जुलुस गर्‍यौं ।

शुरुमा प्रशासनले केही गर्न सकेन, अक्टोबर ४ तारेखमा चिराङमा दोस्रो जुलुस भएपछि ठ्याप्प पुलिसले पक्डेर धरपकड गर्न थाल्यो । हली, गोठाला, गाडी चालक जो भेट्छ पुरुषजति समात्दै गाडीमा हाल्यो । जेलमा लग्यो । कुट्यो । त्यो कहानी अहिले भनिसक्ने नै छैन ।

परिस्थिति यस्तो भयो कि हामी इण्डियामा पनि बस्न नसक्ने भयौं, भुटानमा पनि बस्न नसक्ने भयौं ।

यद्यपि, गर्गण्डा भन्ने एउटा स्थान छ, त्यहाँ दिलिप थापा भन्ने मान्छेले आश्रय दिने बचन दिएछन् । त्यहाँ आश्रय स्थापना गरेपछि मान्छेहरु त्यहाँ आउन र बस्न थाले । पछि भुटानले त्यहाँका लोकल लिडरहरुलाई के दिँदा मान्छ, त्यही दिएर भड्कायो । त्यतिबेला भर्खरै कलर टीभी आएको थियो, राजाले पठाएको भनेर त्यही बाँडेर लोकल लिडरहरुलाई भुटान सरकारले हातमा लियो ।

उता इण्डिया सरकारले पनि दबाव दियो र त्यहाँबाट हामीलाई खेदाइयो । नेपाल प्रवेश गर्नुको हामीसँग विकल्प रहेन ।

नेपाल प्रवेश गर्न त्यतिबेला भिसा लाग्थ्यो । नेपालमा भर्खर प्रजातन्त्र आएको थियो । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो । हामी ६/७ जना कसो–कसो गरेर छिर्‍यौं र काठमाडौं आयौं । प्रधानमन्त्रीलाई भेट्यौं ।

उहाँले झापाको सिडियोलाई टेलिफोन गरेर यस्तो अत्याचार भयो भने त भिसा नलिनू भनिदिएपछि हामीलाई भिसा लागेन । त्यसपछि काँकडभिट्टाबाट शरणार्थीहरु नेपाल प्रवेश गर्ने बाटो खुल्यो ।

अब पुस्तकको चर्चा गरौं । तपाईको पुस्तक ‘पर्दा पछाडिको भुटान’ Bhutan Behind the Curtain भर्खरै प्रकाशित भएको छ । यसको अंग्रेजी र नेपाली दुबै संस्करण एकैसाथ बजारमा आएको छ । यो पुस्तक लेखनको पृष्ठभूमि र यसको विषयवस्तुबारे छोटकरीमा बताइदिनोस् न ।

भुटानमा बालक छँदाखेरि हामीले ऐतिहासिक तथ्यहरु भेटेनौं । मैले स्कुल पढ्दा त अझ भारतीय इतिहास पढ्नुपर्दथ्यो । योभन्दा राम्रो त हाम्रो देशकै इतिहास होला भन्ने मलाई लाग्थ्यो, सानैदेखि । अलि ठूलो हुँदै गएपछि थाहा भयो केही इतिहास जोङ्खा भाषामा लेखिएका रहेछन्, जोङखा हामीले बुझ्ने कुरो भएन । त्यतिबेला जोङखा पढाइँदैनथ्यो ।

जोङखा भाषाकै इतिहास लामो छैन भुटानमा । जोङखा भाषा ०७० को दशकमा एउटा कमिटी गठन गरेर सरकारी प्रयोगमा आयो । त्यसभन्दा अगाडि छोके चलाइन्थ्यो । र, तिब्बतको भाषा जोङखालाई चाहिँ पछि प्रयोगमा ल्याइयो । जोङ भनेको दरबार, खा भनेको भाषा । अर्थात् दरबारिया भाषाका रुपमा चल्थ्यो जोङखा । पछि गएर यो बैधानिक भाषाका रुपमा आयो ।

योभन्दा अगाडि मैले २००१ मा ‘भुटान हिजो र आज’ लेखेको थिएँ । ‘भुटान फर्कँदा’ ‘सुबोल’ जस्ता साना पुस्तिकाहरु पनि लेखेको थिएँ । ठूलो किताबचाहिँ पहिलो भुटान हिजो र आज हो । दोस्रो चाहिँ यो हो ।

यो किताब लेख्नपर्ने एउटा बाध्यता आयो । यसको कहानी त लामो छ । जब हामी नेपाल आयौं, हामीले आफूलाई शरणार्थी भन्नुपर्‍यो । यहाँका बुद्धिजीवी सर्कलले पनि हामीलाई ‘भुटान कहिले गएका थियौ ?’ भनेर सोध्ने । तर, हामी त भुटानमै जन्मेको ।

हो नि, तपाईहरु नेपालबाट भुटान छिरेको भनेर आरोप लाग्ने गरेको छ । भुटान सरकारले लगाएको मुख्य आरोप पनि यही नै हो…

संसारभरिका नेपालीहरुको उद्गमस्थल त नेपाल नै हो नि, हैन र ? इतिहास हेर्दै जाँदा गढवालबाट आउँदै आउँदै हामी पौडीगढवाल हुँदै हुँदै पौडेल भएको त हो । पोखरीमा घर बनाएर पौड्यालयबाट पौडेल भएको प्रशंग पनि आउँछ ।
विश्वमा नेपालीभाषी जति छन्, नेपाल भएरै संसारभरि छरिएका छन् । नेपाल पुर्खाको उदगमस्थल नहुन सक्छ । तर, नेपाली भएर बाहिर गएका पनि छन्, हाम्रो पनि त्यही नै हो ।

हाम्रोचाहिँ त्यो भन्दा अलिकति फरक के छ भने १६१६ मा साप्नावाङ नाम्ग्याल भन्ने एकजना लामा तिब्बतबाट आएर भुटान एकीकरण गरेका छन् । उनले एकीकरण गरेपछि १६२४ मा नेपाल त त्यतिबेला थिएन होला, गोर्खाका राजा राम शाहलाई भेटेर भुटानको विकास र सुरक्षा गर्न र जनसंख्या गुल्जार गर्नका लागि ४० घर, ६० घर लिएर गए भन्ने इतिहास छ ।

पछि १६४० मा शिवसिंह मल्लसँग काठमाडौंबाट कर्मीहरु लगेर सुरक्षाको व्यवस्था गरेका छन् । त्यो क्रम जारी रह्यो र सन् १९५८ भन्दा अघिसम्म जाने क्रम जारी रह्यो र त्यसरी बसेका हुन् । आफैं बसाइँ सरेर गए वा त्यहाँ थिचोमिचो गरेर गए भन्न मिल्दैन । किनभने, सम्झौता गरेर लगेका छन् ।

यसको मतलब, विश्वभर छरिएर रहेका भुटानीहरुलाई आफ्नो इतिहास सम्झाउने उद्देश्यले किताब लेख्नुपरेको ?

यो विश्वलाई जनाउने कुरो हो । भुटानमा मानवअधिकार संरक्षण भयो कि भएन ? प्रजातन्त्रले जनता खुशी छन् कि छैनन् यसले दिनुपर्छ । यो पुस्तक मेरो व्यक्तिगत कहानी होइन । प्रशंगबस म छु यहाँ । म हिँडेको पनि छु, भेटेको छु, त्यो बेग्लै कुरा हो। त्यो आन्दोलनको क्रम हो । तर, मेरो व्यक्तिगत इतिहास यहाँ छैन ।

मैले यसलाई चौथो आन्दोलन किन भनेको भनेदेखि अब तेस्रो मुलुक पुनर्बासमा जाने भाइबहिनीहरुले पनि पढ्छन् । नेपाली जानेनन् भने अंग्रेजी पढेर बुझ्छन् । बुझिसकेपछि हामीलाई अन्याय भयो भनेर उनीहरुले आवाज निकाल्छन् ।

अब यो किताब मैले किन लेखें ? भुटान हिजो र आज लेखेकै थियो, चुप लागेर बस्दा हुन्थ्यो नि त ।

भाइबहिनीहरुलाई पहिला त्यति चासो भएन । उहाँ पुगेपछि र अरु देशका शरणार्थीहरुलाई भेटेपछि चाहिँ देशका कुराहरु बुझेछन् उनीहरुले । अनि कतिजनाले भुटान हिजो र आज पठाइदे न भन्छन् । २००१ मा छापेको, त्यसको कपी मसँग छैन । मलाई के लाग्यो भने भुटानको समस्या बाहिर आओस् ।

हामी नेपाल आइसकेपछि तपाईहरु किन आफ्नो देश छाडेर भुटान किन गएको त भनेर गाली पनि खान्थ्यौं । किन र कहिले गएका थियौं भन्दा मै उत्तर दिन नसक्ने अवस्थामा थियौं । मेरो पूर्खा कहिले भुटान गयो, मलाई थाहै छैन । राजतन्त्रभन्दा कति अगाडि बसेको रसिदहरु म पढ्थें । राजतन्त्रभन्दा एक शताब्दी अगाडिको डकुमेन्ट मसँग छ । भनेपछि के गरौं त भन्दा म लेख्छु भन्ने भयो ।

शरणार्थी भएर नेपाल आइसकेपछि सबै जिल्लाका बुढापाकाहरु भेट्दै जाँदाखेरि पुर्खाहरुले कस्तो योगदान दिएका थिए भन्ने तथ्यहरु भेटें ।

नेपालमा आएर चन्द्रसमशेरबाट सिफारिस लिएर, इण्डियामा ब्रिटिस राजकुमारलाई भेटेर भुटानमा राजतन्त्र घोषणा भएको छ । तर, त्यो इतिहास जानेको थिएन । भुटानले पनि एउटा किताब निकालेको रहेछ डुक नेशनल्स भन्ने । खोज्दै जाँदा विपीन ढुंगेलको एउटा किताब भेटें । हाम्रा अध्यक्ष आरके बुढाथोकीले मलाई बारम्बार लेख्नुपर्छ भन्नुहुन्थ्यो । लेख्दै जाँदा २००१ मा भुटान हिजो र आज पुस्तक तयार भयो । शिबिरमा गयो ।


बाहिर पुगेपछि नयाँ पुस्तालाई पनि इतिहास चाहिनेरहेछ भन्ने भयो । कुन कानून लगाएर हामीलाई खेद्यो भन्ने चासो बाहिर हुने भाइबहिनीहरुमा देखियो । त्यसैले उनीहरुको आग्रहमा नै मैले यो किताब लेखेको हुँ । र, यो किताब मैले एक्लै लेखेको छैन, यसमा धेरै सहयोगीहरु छन् । र, सबैको समेटिएको यो आवाजको म माध्यम बनेको मात्रै हो ।


नेपाली भाषीलाई खेदाउनुअघि सन् १९८९ को जनगणनामा भुटानमा नेपाली भाषीहरुको संख्या कति थियो ? अन्य जातिको संख्या कति थियो ?


भुटानको जनसंख्या विवादित छ । भुटानले संयुक्त राष्ट्र संघ (युएन) मा दर्ता गर्दाखेरि ११ लाख हिसाब दिएको थियो । अहिले करिब–करिब १५ लाख देखाएको छ ।

हामी बाहिर निक्लेपछि मैले सिलिगुडीको एउटा पत्रिकामा भुटानको जनसंख्या ४ लाख छ भनेर निकालिदिएँ । एकजना इण्डियाका पत्रकारले थिम्पु गएर राजालाई सोधेछन्– भुटानको जनसंख्या कति हो ? यो कुरा मेरो किताबमा छ, राजाले त्यसबेला भनेका थिए– युएनमा दर्ता हुनका लागि १० लाख भन्दा माथिको जनसंख्या चाहिँदोरहेछ (तथापि भुटानी राजाको यो तर्क भ्रामक हो) यो जानकारी पाएपछि युएनमा दर्ता हुनका लागि पिताजीले १० लाख भन्दा माथि देखाएको हो, वास्तविक जनसंख्या चाहिँ दक्षिणका युवाहरुले भन्याजस्तै ६ लाख छ ।’

यसरी भुटानको जनसंख्या विवादित छ । तर, हाम्रो अञ्दाजमा सन् १९९० मा ६ लाख हुनुपर्छ । त्यसमध्ये अहिले डेढ लाख त हामी बाहिर छौं । भुटानले जनसंख्या बढाएर ७ लाख जति पुर्‍याएको छ । अब सन् २०३० सम्म हामी (शरणार्थी सहित) १० लाख पुग्छ भन्ने अनुमान मैले गरेको छु ।


अब भुटानको राजनीतिमा प्रवेश गरौं । यहाँ भुटान पिपुल्स पार्टीको अध्यक्ष हुनुहुन्छ । भुटानमा अहिले पार्टीहरुको स्थिति के छ ? देशभित्र र देशबाहिर कतिवटा पार्टी अस्थित्वमा छन् ? तपाई अध्यक्ष रहेको पार्टीले के गर्दैछ ?

पहिलो पार्टी ‘भुटान स्टेट कांग्रेस पार्टी’ चाहिँ सन् १९४८ तिरै गठन भएको हो । यसको कहानी लामो र छुट्टै छ, मेरो किताबमै अध्ययन गर्दिनुहोला । सो पार्टी खोल्ने महासुर क्षेत्रीचाहिँ सरभाङ अफिसमा पियन काम गर्दारहेछन् । बोलाउने नाम चाहिँ इनचिपदार भन्थे रे । (पछि उनलाई हत्या गरेर खोलामा फालियो)

अहिले अस्थित्वमा रहेका पार्टीहरुमा भुटान पिपुल्प पार्टी एउटा हो । यो इतिहासमा दोस्रो पार्टी हो । त्यसपछि ड्रुक नेशनल कांग्रेस पनि निर्वासनमै गठन भयो । शिविरमा आएपछि भुटान नेशनल डेमोक्रेटिक पार्टी गठन भयो । दुर्भाग्यचाहिँ के भैदियो भयो तीनवटै पार्टीको नेतृत्वको निधन भइसकेको छ ।

आरके बूढाथोकीको सन् २००१ मा हत्या भयो । बीएनडीपीका अध्यक्ष आरबी बस्नेत रोगका कारणले बित्नुभयो । रोङटोङ किन्ले पनि रोगकै कारण भनौं, कसरी बित्नुभयो भन्ने थाहा छैन । हामीसँग काठमाडौंमै बैठक गरेर अलिकति लामा पढाउनुपर्‍यो भनेर रुङतेक गएको, उतै बित्नुभएछ ।

पार्टीहरुको अस्तित्वचाहिँ छ, केही गर्न सकिएको छैन । पिपुल्स पार्टीको पनि केन्द्रीय कमिटी छ । अध्यक्षको रुपमा म छु । सबै साथीहरु भुटानबाहिरै हुनुहुन्छ । बाहिर हुने साथीहरुसँग सम्पर्क गरेर हामी कार्यक्रमहरु आफ्नो हिसाबले गर्दैछौं । भुटानभित्रै कार्यक्रम गर्न सक्ने अवस्था चाहिँ अहिले रहेन । भुटानमा हामीलाई प्रवेश नै दिइँदैन । एक त त्यो देशमा पुगेको त्यहाँको कानुन मान्नुर्‍यो । अर्को, जुन हामीलाई शरणार्थीको परिचयपत्र दिइएको छ, काँडकभिट्टाबाट उता जान भारतले दिएको छैन । भनेपछि, नेपालभित्र मात्रै हामी सीमित छौं ।

तपाई झापामा बस्दै हुनुहुन्छ । झापा र मोरङका शरणार्थी शिविरमा अहिले कति मानिसहरु छन् ?

६ हजार ५ सय दर्ता भएका शरणार्थी छन् । करिब १ हजार चाहिँ दर्ताविहीन शरणार्थी छन् । शिविरमा रहेका शरणार्थीहरु पनि तीन–चार प्रकारका भए अहिले त अब । एउटा– दर्ता भएको शरणार्थी । अर्को, तेस्रो मुलुक जान्छु भनेर सबै प्रक्रिया सकेर ठ्याक्कै एयरपोर्ट जाने बेलामा रोकिदिएकाहरु पनि छन् । तिनीहरु अझ पीडित शरणार्थी भए ।

अर्को– दर्तै नभएका शरणार्थी भए । र, अझ अर्को चाहिँ भर्खरै अमेरिकाबाट भुटान डिपोट भएर भारत हुँदै नेपाल आएका शरणार्थी पनि छन् । उनीहरुको यकिन संख्याबारे जानकारी छैन तर २५/२६ जना चाहिँ त्यसरी डिपोट भएको जानकारी आएको छ ।

ट्रम्प प्रशासनले उनीहरुलाई किन फर्कायो ?

त्यहाँको कानून नबुझेर पनि होला । कोही श्रीमतीसँग झगडा हुँदाखेरि श्रीमतीले पुलिसलाई भन्दिएर घरेलु हिंसा भन्दिएर पनि हुन सक्छ ।

ट्रम्पको नयाँ नीति आएसँगै अमेरिकामा अरु भुटानी शरणार्थीहरु चाहिँ कति सुरक्षित छन् ? तपाईका त आफन्तहरु पनि होलान्, खबर आइराख्दो हो, के भन्छन् उनीहरु ?

युएनएचसीआरको रेकर्ड अनुसार जम्मा एक लाख १९ हजार शरणार्थीहरु अमेरिका लगायत विभिन्न देशमा पुनर्बास भइसकेका हुन् । अमेरिकामा जो सिटिजन बनेको छ र सोझो व्यवहार गर्नेलाई त त्यस्तो अप्ठ्यारो केही पनि छैन । तर, मेरो अनुभवले भन्दा ढुक्कले निदाउन चाहिँ सकेका छैनन् । अहिले परिस्थिति नक्कली र वास्तविक शरणार्थीको कुरा छ । हामी सक्कली हैनौं, वास्तविक शरणार्थी हौं ।

नक्कली भुटानी शरणार्थी बनेर नेपालीहरु पनि अमेरिका जान खोजे । यहाँ ठूलो मुद्दा मामिला भयो । टेकनाथ रिजालसमेत यसमा मुछिनुभयो । यस्तो खबर सुन्दा तपाईहरुजस्ता वास्तविक शरणार्थीहरुलाई कस्तो अनुभूति भयो ?


यो त के भन्ने अब ? नेपालमा गणतन्त्रपछि नेपाली नागरिकले कति सुविधा प्राप्त गरे र कति सुरक्षित छन् भन्नेखालको दृष्टान्त यो केसले दिएको मलाई अनुभव हुन्छ । र, अर्को विडम्बना के छ भने अहिलेको शरणार्थीले प्रधानमन्त्रीदेखि लिएर सिडियोसम्मलाई भेटेर आफ्नो दुःख बिसाउँदा पनि ‘त्यो मुद्दा फैसला होस् न, त्यसपछि तपाईहरुको कुरा अगाडि बढ्छ र न्याय पाउनुहुन्छ’

भन्नुहुन्छ ।

यो पनि-

पीडामा भुटानी शिविरका वृद्धवृद्धा : छोराछोरी युरोप र अमेरिका पुगेपछि छैन सहारा


भनेपछि, तेस्रो मुलुक जान डकुमेन्ट तयार भएका भुटानी शरणार्थीहरुलाई यो नक्कली शरणार्थी प्रकरणले गर्दा नराम्रो प्रभाव पारेको रहेछ हैन ?

खै त्यो असर पर्‍यो भन्ने विवेक हुने मान्छेले त भन्ला । तर, यहाँ एउटा कथा सुनाऔं –

एउटा सानो, मृगको तीनमहिने पाठाले खोलामा पानी खान थालेछ । अलि मास्तिरपट्टि एउटा ब्वाँसो पनि पानी खान आएको रहेछ । ब्वाँसोले पाठोसँग निहुँ खोज्दै भनेछ– मैले खाने पानी किन धमिलो गरिस् ? तैंले पोहोर पनि यसै गरेको थिइस् ।
पाठाले भनेछ– जन्मेको पनि तीन मास हुन गो, पोहोर गरें के कसूर ?

यति भन्दाभन्दै ब्वाँसोले मृगको पाठो क्वाप्प खाएको थियो रे । अहिले हामी शरणार्थीहरुको अवस्था त्यही मृगको पाठाको जस्तै छ । नक्कली कसले बनायो, कसले पठायो थाहा छैन । नक्कली किन बन्यो थाहा छैन । आफूले आफूलाई कसरी बेच्यो थाहा छैन । तर, पीडित शरणार्थी, जो जंगलमा ३० वर्षदेखि आएर बसेको छ, त्यो मुद्दाचाहिँ अहिले नक्कलीको नाम लिएर रोक्न जायज हुन्छ कि हुँदैन ? यो गणतन्त्रको नेतृत्व गर्ने सरकार र नेपाली जनताले बुझ्नुपर्छ ।

नेपाल सरकारलाई सोध्नुभएन तपाईहरुले यो प्रश्न ?

हामी जाने अन्तिम थलो गृह मन्त्रालय हो । पोहोर त काठमाडौं आएर हामीले आफ्ना कुरा राखेका हौं ।

बालकृष्ण खाणलाई भेट्नुभएको थियो कि रवि लामिछानेलाई ?

नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्थ्यो । नारायणकाजीलाई भेटेर गुनासो गर्‍यौं ।

के भन्नुहुन्थ्यो उहाँ ?

केही पछाडि हाम्रो क्याबिनेट बस्दैछ, एउटा केही न केही निर्णय त आउँछ, ढुक्क भएर फर्किनोस्, यो भैहाल्छ भन्नुभएको थियो । हामी धेरै मागहरु लिएर आएका थियौं । यो–यो विषयमा समस्याहरु छन् भन्दाखेरि हामीलाई दिनोस्, हामी यही विषयहरु राख्छौं भन्नुभएको थियो, पछाडि उहाँको स्थानमा अर्कै पुग्नुभएछ । सरकारै परिवर्तन भयो । फेरि आइएन ।

पार्टीका सचिवहरुले आएर गृहमन्त्री रवि लामिछानेजीलाई भेट्नुभो । उहाँले केही समय पर्खिनु भन्नुभएको थियो । फेरि उहाँ पनि रहनुभएन । अहिलेचाहिँ भेटिएको छैन, अब भेट्नुपर्ला । शायद नबुझेको हो कि भनेर यो पुस्तकचाहिँ लगेर सरकारलाई दिनुपर्‍यो भन्दैछु ।

झापा र मोरङका शिविरमा रहेका शरणर्थीलाई पहिले त दातृ निकायले रासन लगायतको प्रवन्ध गर्दै आएका थिए । हिले ती ७/८ हजार शरणार्थीहरुले कसरी जीविकोपार्जन गरिरहेका छन् ?

यो एउटा विडम्बना भनौं । अथवा, घोटाला भनौं । अथवा, बाध्यता । छुट्याउन सकिएको छैन । तेस्रो मुलुक पुनर्बासको प्रक्रिया रोकियो भनेपछि पनि युएनएचसीआर बसेर राहत दिँदै थियो । पटक–पटक आएका युएनएचसीआरका अफिसरहरुले एकजना शरणार्थी रहेसम्म हामी रहन्छौं र सेवा दिन्छौं भनेका थिए ।

तर, सन् २०१६ मा हामी जिम्मा लिन्छौं भनेर नेपाल सरकारले जिम्मा लिएको भन्ने युएनएचसीआरको भनाइ छ । डकुमेन्ट पनि दिएको छ हामीलाई । यसरी जिम्मा लिएपछि कर्तव्य पूरा गर्नुपर्थ्यो होला । तर, कस्तो प्रकारको जिम्मा लियो र एग्रिमेन्ट के थियो भन्ने नेपाल सरकारले चाहिँ हामीलाई जानकारी दिएको छैन । गएर भन्दाखेरि त्यही नक्कलीकै कुरा आउँछ, जो हामीले गल्ती गरेकै छैन ।

टेकनाथ रिजालजीको नाम आयो । उहाँ शिबिरमा पनि बस्नुहुन्न, सरकारको निगरानीमा बसेको व्यक्तित्व हुनुहुन्छ ।

रिजालजीलाई त्यति भन्दाखेरि कमसेकम हामीलाई पनि सोधिदिएको भए हुन्थ्यो । रिजालजीले पनि हामीलाई सोध्नुभएन । सोधि त दिनुपर्थ्यो । सरकार थियो । गृहमन्त्रालय आफैं लागेको छ भने हाम्रो रेकर्ड त छ नि त उहाँहरुसँग ।

उसोभए शरणार्थीलाई राहत दिने कुरामा अहिले युएनएचसीआरले पनि हात झिक्यो, नेपाल सरकारले पनि हात हालेन ?

युएनएचसीआरले हात झिक्यो भन्न सकिँदैन । कहिले–कहिले महिनामा गएर केही न केही गरिराखेकै छ । क्याम्प म्यानेजमेन्ट कमिटीमा गएर युएनएचसीआरले कुरा गरिराखेको हुन्छ । तपाईहरुको समस्या के छ भनेर सोधिराखेको हुन्छ । तर, राहतको व्यवस्था छैन । शिक्षामा सहयोग छैन । स्वास्थ्यमा सहयोग छैन । छाप्रोमा बस्न दिएको छ, छाप्रो बिग्रियो भने अलिअलि युएनएचसीआरले सहयोग गरेको छ ।

अनि, शरणार्थीहरुले के गरेर खाँदैछन् ? बनिबुतो गर्छन् ?

बाध्यता । कसैका चाहिँ आफन्त बाहिर गएका छन् भने उनीहरुले पठाउँछन् र खान्छन् । बाहिर गएकाहरुले संगठन खोलेर ल्याएर घरिघरि दिँदैछन् । नभए त केही पनि छैन । माटो खानु बाहेक केही पनि छैन ।

तपाईको यो उमेर भइसक्यो, अझै आन्दोलन उठाएर, सफल बनाएर भुटान फर्किइएला भन्ने आश छ ?


विश्वमा आन्दोलन तुहिएर सकिएको पनि छैन । भुटानमा पटक–पटक गरेर तेस्रो आन्दोलन हाम्रो नेतृत्वमा भएको थियो । अब यो चौथो आन्दोलनको उदघोष हो । किनभने, हाम्रो मुद्दा के हो, हामी किन शरणार्थी भयौं र अहिलेको अवस्था के छ भन्ने कुरो त नेपालमा थोरै भुटानी शरणार्थी छन्, तेस्रो मुलुकमा पुनर्बास भएर मोज गरेका छन्, त्यत्ति मात्रै विश्वले बुझेको छ । र, ग्रस नेशनल ह्याप्पीनेस भुटानमा छ र त्यहाँ मान्छे रमाएर बसेका छन् भन्ने भुटानले सन्देश दिइरहेको छ ।

तर, हामीलाई लोत्साम्पा किन बनाइयो ? लोत्साम्पाको अर्थ के हो ? र, भुटानले लोत्साम्पा भन्नुको उद्देश्य के थियो भन्ने कुरो पनि खुलेको छ । लोत्साम्पा भनेको दक्षिण दिशा हो । तर, माथिबाट ङालुङ आएर बस्यो भने त्यो लोत्साम्पा हुँदैन । ङालुङ नै हुन्छ । पूर्वबाट आउने सारछोप भन्छौं, त्यो आएर दक्षिणमा बस्यो भने त्यो लोत्साम्पा हुँदैन । नेपाली समुदायलाई मात्रै लोत्साम्पा भनेर उसले ट्याग लगायो । चोर्न जाँदाखेरि यो घर चोर्ने भनेर टीका लगाएर राति चोरेजस्तो !

दुःखको कुरा भन्नुपर्छ, हामी डेढ लाख भुटानीहरुलाई निकालेपछि भुटानले कथित प्रजातन्त्र घोषणा गर्‍यो । पूर्वराजाले घोषणा प्रजातन्त्र दिएको विश्वमा विरलै इतिहास हुन सक्छ । शासकले घोषणा गरेर मैले जनतालाई न्याय दिएँ भनेर प्रजातन्त्र दिएको इतिहास छैन । अनि आफू अलग्ग बसेर छोरालाई गद्दी सुम्पेर पछाडिबाट छोरालाई समातेर राज गरिरहेका छन् जिग्मे सिंगे वाङचुकले ।

ठीक छ, प्रजातन्त्र आयो, जनता रमाउनुपर्ने नि । भुटानभित्र हामीले त आन्दोलन गरेका छैनौं । तिनीहरुलाई त्यहाँ नबस पनि भनेका छैनौं । तर, सन् २००८ मा प्रजातन्त्र घोषणा भयो, नयाँ राजा आए, त्यसपछि जनताहरु विस्तारै विस्तारै अष्ट्रेलिया, अमेरिका, क्यानडा, विशेषगरी अष्ट्रेलिया पलायन हुने क्रम बढ्यो । ६० हजार भन्दा बढी भुटानी नागरिक त्यहाँ गए र फर्किन मान्दैनन् अब । भनेपछि देश खोक्रो भएको छ अहिले । अब यही क्रम रह्यो भने एक–दुई वर्षमा एक लाख मान्छे बाहिरै हुन्छन् ।
जोसँग भुटानको नागरिकता छ, उनीहरु पनि बाहिर गए बसेका छन् । उनीहरुको परिवार फर्कँदैन । पोहोर सालमात्रै राजा गएर फर्किदेऊ, देशमा विकास गर भनेर रोएर आह्वान गरे । तर, जनता फर्केको इतिहास छैन । यसैगरी जाने क्रम रह्यो भने देश रहन्छ र ?

अर्कोपट्टि राजा जिग्मेले नेशनल ह्याप्पीनेस भनेर घोषणा गरे । तर देश विकास गर्ने नेपाली समुदायलाई चाहिँ विभिन्न लाञ्छना लगाएर खेदाए । अहिले देश खाली छ । अलैंची हुन्थ्यो, सुन्तला हुन्थ्यो, धान खेती हुन्थ्यो । भुटानबाट अन्न बाहिर बिक्री हुन्थ्यो । तर, अहिले इण्डियाबाट ल्याएर ओइर्‍याउनुपर्छ । जमीन खाली छ । खेती गर्ने मान्छे नै छैनन् । कामदार छैनन् । उता ग्रश नेशनल ह्याप्पीनेस घोषणा गरिएको छ ।

हामी भुटानमा रहँदा ४६ हजार ५ सय वर्ग किलोमिटर भुटानको क्षेत्रफल थियो । अहिले भुटानको माथि जुरो नक्सा छ, अहिले छैन त्यहाँ । अहिले भुटानले ३८ हजार कति वर्ग किलोमिटर मात्रै प्रचार गर्दैछ । भनेपछि करिब ८ हजार १ सय वर्ग किलोमिटर जमीन कहाँ गयो ?

उत्तर(चीन)तिर गयो कि दक्षिण(भारत)तिर गयो ?

भुटान बोल्दैन । अनि दोक्लाम क्षेत्रमा चीनले आक्रमण गर्‍यो भनेर तलबाट भारत चिच्याउँछ । किताबमा मैले यो कुरा लेखेको छु । त्यो दोक्लाम भन्नेचाहिँ भुटानको हा जिल्लाको क्षेत्रमा पर्छ । चीनको बोर्डर नजिकै छ ।

त्यो एरियामा जियोलोजिकल सर्भे अफ इण्डिया, भुटानमा सबै इण्डियाले नै सर्भे गर्छ, अहिले जियोलोजिकल सर्भे भुटान भएको छ, त्यसले डिक्लियर गर्‍यो कि भुटानको त्यो एरियामा युरेनियम छ । त्यो कयौं वर्ष भुटानलाई पुग्नेखालको धेरै मात्रामा छ भनेर एकजना बंगाली कर्मचारीले डिक्लियर गरिदिए । अनि त्यहाँका जीएसआईमा काम गर्ने पूर्वकर्मचारीले भन्छन्, त्यो डिक्लियर गर्ने मान्छे उज्यालो नहुँदै हरायो रे ।

चीनलाई डर छ, भुटानलाई फकाएर तलबाट छेडेर (सुरुङमार्फत्) युरेनियम इण्डियाले लान्छ । इण्डियालाई डर छ, चीनले लान्छ त्यो । विवाद चाइना र इण्डियाको त्यो भइरहेको छ ।

अर्को विवाद के छ भने भुटानमा करिब–करिब ६–७ हजार आर्मी छन् । पुलिस, बडीगार्ड सबै गरेर करिब १० हजार छन् भन्दिऔं । तर, २५ हजारचाहिँ भारतीय सेना भुटानमा छन् । इन्ट्र‍ाट भनेर, ग्रेफ (बाटो बनाउने) भनेर, दन्तक इत्यादिका रुपमा भारतीय सेना भुटानमा बसिराखेको छ ।

चीनको भारतप्रतिको ईष्या के हो भने उसले सानो भुटानभित्र ठूलो भारत देख्छ । परिस्थिति पनि त्यस्तै छ । हामीलाई के लाग्छ भने माथिबाट चाइनाले मिचेको अवस्थाको भुटान छ अहिले । तर भुटान पनि बोल्दैन, चीन पनि बोल्दैन । भारतचाहिँ चिच्याइरहन्छ ।

वास्तवमा भुटानको सीमा समस्या समाधान हुनुपर्छ भनेर २५ औं चरणको वार्ता पनि भइसकेको छ । धेरै वार्तामा भारतै बस्नुपर्ने बाध्यता सन् १९४९ को सन्धीले र २००७ को सन्धीले पनि गर्छ । तर, भुटानले अलिकति अघि सरेर २४ औं र २५ औं वार्ताचाहिँ गर्‍यो । तर, सीमा विवाद समाधान त भएको छैन ।

तर, मेरो अनुभव र भुटानका बुद्धिजीवीहरुको अनुभव के छ भने भुटानमा भारतका जुन अर्थसैनिक र सैनिक दस्ताहरु छन्, तिनीहरुले भुटान छोड्नुपर्छ । भुटानले आफ्नो सुरक्षा आफैं गर्न सक्छ । भारतीय सेना भुटानबाट बाहिर आउनुपर्छ । भुटानलाई शान्ति कायम गर्नुपर्छ भने राजाले त्यो कदम चाल्नुपर्छ ।

देशको सुरक्षाका लागि यदि लडाइँ गर्न जानुपर्छ भने हामी तयार छौं । तर, शान्ति वार्ता गरेर समस्या समाधान गर्नु राम्रो । भुटान रहनुपर्छ, राजतन्त्र रहनुपर्छ । राजतन्त्र रह्यो भने भुटान रहन्छ, राजतन्त्र छैन भने भुटान दुई भाग हुन्छ । आधा चीनले लान्छ, आधा दक्षिणमा विलय हुन्छ ।

एउटा दुःखको कुरा चाहिँ के छ भने तपाई खोज्दै जानोस्, भारतका युटुयुबहरुमा आउँछ, २९ औं प्रान्त चाहिँ भुटान हुन सक्छ भन्ने गरिएको छ । दुर्भाग्यको कुरा, यसमा भुटानले अब्जेक्सन गर्दैन । भुटानले विरोध गर्नुपर्ने हो नि त त्यो । २९ औं राज्य हुन सक्छ भनेर इण्डियाले घोषणा गरिसकेपछि त्थ्यो लर्तरो कुरा त होइन नि ।

तपाईले यसो भन्दै गर्दा नेपालमा भुटानबारे केही भाष्यहरु छन् । जस्तो– दक्षिण एशियामा भुटानले धेरै समृद्धि हासिल गर्‍यो, ग्रश नेशनल ह्याप्पीनेश पनि बढायो, दक्षिण एशियामा भुटान थर्ड कन्ट्रीबाट फस्ट कन्ट्री बन्ने बाटोतिर गइरहेको छ, उसको जीडीपी पनि बढेको छ र सुखद बाटोतर्फ गइरहेको छ भन्ने सुनिन्छ । अर्कोतर्फ विस्तारै चाइनासँग पनि उसको सम्बन्ध बढ्दै गएको र भारतसँग आँखा जुधाएर कुरा गर्न सक्ने भएको छ । हिजोको जस्तो ‘भुटानीकरण’को अवस्थाबाट बाहिर निस्कन थाल्यो भन्ने टाइपको बुझाइ छ नि नेपालमा ?

यस्तो सुविधा थियो भने भुटानभित्रका मानिसहरु कसैले खेदेको हैन, किन अष्ट्रेलियातिर पलायन भए ? कतिलाई त सरकार आफैंले बाहिर जान दिइरहेको छ । बाहिर जान इच्छुक हुनेले एक लाख रुपैयाँ डिपोजिट गर्नू, अनि उसलाई चाहिने रेकर्डका लागि बैंक ब्यालेन्स सरकारले राखिदिन्छ आफ्नो टिकट काट्नु जानु, भिसा दिन्छ सरकारले भन्ने पनि आएको थियो । विशेष अष्ट्रेलियाले चाहिँ भिसा दिने भयो भने जान सकिन्छ भनेर घोषणा गरियो । एक वर्षपछाडि उनीहरुको त्यो एक लाख रुपैयाँ सरकारले राख्यो । अहिले पनि सरकारले विदेश पठाइराखेको छ ।

यदि भुटानमा जनता ह्याप्पी हुन्थे भने मान्छे देश छोडेर हिँड्नुपर्छ र ? मान्छेले देश छाड्नका लागि कि आर्थिक परिस्थिति बिग्रेर जानुपर्‍यो, कि असुरक्षित हुनुपर्‍यो । दुईवटै अवस्था राम्रो छ भने किन बाहिर पलायन हुनुपर्‍यो ?


अहिले पनि तपाईलाई भुटानको औधि माया लाग्दोरहेछ है ?

जननि जन्मभूमिश्च स्वर्गादपि गरियसी । पहिलो पानीको घुड्को त त्यहाँको खाएको छ नि त । आमाको दूध त त्यही होइन र ?
भुटान प्राकृतिक हिसाबले पनि राम्रो छ । खोलानाला उदण्ड मच्चाउने खालका छैनन् । विश्वमा ठूला ठूला पहिरो गएको सुनिन्छ, तर भुटान त्यस्तो छैन । अहिले चाहिँ रुखहरु काटेर अलिकति बिग्रेको छ, पहिले त्यस्तो कहीँ हुँदैनथ्यो ।

यहाँले अघि भन्नुभयो भारतले भुटानबाट सेना हटाउनुपर्छ, राजाले यसमा पहल गर्नुपर्छ । तपाई यो खबरबहमार्फत भुटानका राजालाई के सन्देश दिन चाहनुुहन्छ ?

मैले किताबको अन्तिममा लेखेको पनि छु– राजाले मेलमिलापको वातावरण सिर्जना गर्नुपर्छ । यी जुन बाहिर आएका मानिसहरु छन्, देश विकासका लागि यिनीहरुको खुबीलाई प्रयोग गर्नुपर्छ । कोही डाक्टर भएका छन्, कोही साइन्टिस्ट छन्, कोही ठूला ठूला व्यापारी भए, यो सबै लगेर देशभित्र प्रयोग गर्नुपर्छ र देश विकास गर्नुपर्छ । यसको अर्को विकल्प पनि छैन ।

म भुटानका राजालाई अथवा विश्वलाई भन्छु– जो शरणार्थी छन्, यी मान्छेलाई फर्काएर लगिएन भने भुटानको अस्थित्व रहँदैन । किनभने भुटानमा मानिस नै रहँदैन भने देश कसरी रहन्छ ? जनताविनाको देश रहन्छ र ? राजा सत्तामा बसेर माथि मुकुट लाउँदैमा देश विकास त हुने होइन नि त । विकासको लागि त श्रम चाहियो । श्रम गर्ने जवान बाहिरबाट ल्याएर हुन्छ र ?

राजालाई डर होला नि त, शरणार्थीहरुले फिर्ता बोलाउँदा सत्ता पो ढाल्दिन्छन् कि ?

राजतन्त्र छैन भने भुटानको अस्थित्व नै छैन नि त ।

तपाई राजावादी हो ?

हुनुपर्छ नि त । राजाभन्दा पनि राजसंस्थावादी हो । राजा त जोसुकै बन्न सक्छ, तर मेरोचाहिँ विचारमा राजतन्त्रविनाको भुटान अस्थित्वमा रहँदैन । किनभने, त्यो ६ लाख जनसंख्यालाई किन धेरै विभाजन हुनुपर्‍यो र ? अब प्रान्तहरु छुट्याएर विकेन्द्रीकरण गरेर देश विकास गर्नुपर्‍यो । तब न देश बन्छ । मान्छे खेदाएर देश बन्दैन ।

तर, आन्दोलन सफल हुनका लागि त देशभित्रै आन्दोलन हुनुपर्‍यो होला नि ? देशबाहिर आन्दोलन गरेर मात्रै त भएन होला…

परिस्थिति आउँछ । अहिले बाहिर जुन परिस्थिति छ, संगठित रुपमा नयाँ भाइबहिनीहरुले जसरी लेखालेख र परिचालन गरिराखेका छन्, त्यसबाट परिस्थिति आउँछ ।

अब अमेरिकाको ओहायोमा यही १६ देखि २३ तारेखसम्म एउटा पुराण लाग्दैछ । त्यहाँ विश्वभर छरिएका शरणार्थीहरु आउँछन् । ५० हजार भन्दा बढी मानिसको त्यहाँ जमघट हुने सम्भावना छ । त्यो पनि एउटा विगुल फुकेको हो । संगठित रुपमा, धार्मिक रुपमा हामी एक छौं भनेर देखाउने कुरा हो त्यो ।

हामी बोल्छौं । दक्षिण भुटानमा हुने नेपाली समुदाय अलिकति सजग पनि छ । मिहेनती पनि छ । तर, भुटानमा अझै पनि यस्तो अवस्था छ कि डोक्पा भन्ने एउटा जाति छ, चौंरीको छाला आफैं सिलाएर लुगा लगाउँछन्् । घर छैन । एउटा खर्कमा गोठ लिएर जान्छन् र बस्छन् । फेरि अर्कोमा जान्छन् । ढिकी, जाँतो सबै बोकेरै जान्छन् । शिक्षा छैन त्यहाँ । तिनीहरुले पढ्न पाएका छैनन् । भुटानमा शिक्षा निशुल्क भन्ने हल्ला पनि छ । हामीले पनि फ्री मै पढेको हो । तर, एउटा डाँडामा स्कुल राखेर पल्लो डाँडाको विद्यार्थी आएर पढ्न सक्छ र ? वल्लो डाँडामा हेल्थपोष्ट राखेर पल्लो डाँडाको विरामी पनि पुग्न सक्दैन, जहाँ बाटो पनि छैन ।

अहिले तपाई जुन मुलक(नेपाल) मा बसिरहनुभएको छ, यहाँ शासन व्यवस्थाप्रति धेरै गुनासाहरु सुनिन्छन् । सिक्किमीकरण, भुटानीकरण इत्यादि चर्चाहरु पनि हुने गर्छन् । तिब्बतीकरणका चर्चाहरु पनि यहाँ भइराखेका छन् । तपाई एउटा माटोको परिचय खोजिरहेको व्यक्तिले यसलाई कसरी हेरिरहनुभएको छ ?

नेपाली जनताले निर्णय गर्नुभन्दा अगाडि माटो छुनुपर्छ पहिला त । नेपाली जनताको भनाइ अनुसार यहाँ निरंकुश राजतन्त्र थियो, हामी त एकदमै रेडियो नेपालबाट यस्तो सुन्थ्यौं कि नेपालमा यत्ति धेरै विकास भएको छ कि नेपालजस्तो देशै छैन ।

हुन त राजा महेन्द्रको भाषण पनि मैले बिराटनगरमा सुनेको हुँ । त्यो स्वर मेरो कानमा अहिले पनि टक्क अडिएको छ । अहिले ज्ञानेन्द्र बोल्दा पनि त्यही गुञ्जन्छ मेरो कानमा । ठीक छ, गणतन्त्र जनताको माग हो, जनताले विश्वास गरेको राजपरिवार त मारियो पनि । उहाँकै परिवारलाई राजा बनाइयो, त्यहाँसम्म ठिकै थियो । गणतन्त्र आयो, यो पनि बेठीक मानिँदैन । तर, आर्थिक क्रान्तितिर देश जानुपर्थ्यो नि त । त्यो त भएन फेरि ।

राजतन्त्र फालिसकेपछि स्थायी सरकार त हुनुपर्थ्यो नि । त्यो पनि भएन । हिजो भन्दा आज राजनीतिक गतिविधिहरु एकदमै अप्ठ्यारो भएको देखिन्छ । नेपाल पनि अब दुर्भाग्य नहोस् । दुर्घटनामा नपरोस् । टुक्रिएर नजाओस् ।

हुन त हामी शरणार्थीले दिएको सल्लाह कसले सुन्छ र । तर, जे होस् माटोको माया हरेक नागरिकले गर्नु पर्छ । नेपालमाकेही छैन हैन, छ । तर, कसरी (विकास) भएन, त्यो हामीले भन्न मिल्दैन ।


भुटानी नागरिकहरु अमेरिका, युरोप, अष्ट्रेलियामा गएर उतै सेटल भएका छन् । यहाँसँग उनीहरुको सम्वाद हुँदाखेरि त्यहाँ रहेको दोस्रो पुस्ताले फेरि भुटान फर्केर आउने चाहना राखेको पाउनुहुन्छ ? या उनीहरुले त्यस्तो चाहना राख्दैनन् ? स्वदेश नभए पनि विकसित मुलुकमा बस्दाखेरि उनीहरुले आफूलाई सुखी नै महसुस गरिरहेका छन् या पीडा व्यक्त गर्छन् ?

मेरा पनि छोराछोरीहरु तेस्रो मुलुक पुनर्बासमा छन् । मेरा छोराछोरी यहाँ आए भने फर्किन मन गर्दैनन् । तर, बाध्यताले जानैपर्छ । देशप्रति माया नरहने केही युवा नफर्केलान् तर घोषणा भयो भने २४ घण्टामा लटीपटी कसेर फर्कने चाहनेहरु छन् ।

अहिले जसरी अमेरिकाबाट भुटान फर्काइयो, यसले गर्दा त सबैको मुटु त हल्लिएको छ । भलै सबैलाई खेदाउने त नहोला, किनभने एग्रिमेन्ट गरेर लगेको हो । अमेरिका नै हो हामी ६० हजार लान्छौं भनेर घोषणा गर्ने । मानवीय समाधानमा अमेरिकाले चासो राख्यो । तर, परिस्थिति बन्यो भने ८० प्रतिशत मान्छे भुटान फर्कन्छन् ।

युवा पुस्ता पनि फर्कन्छ ?

अर्को विकल्प छैन । परिवारको एउटा सदस्यले काम गरेर त्यहाँ कर तिर्दै, घरको भाडा तिर्न पुग्दो रहेनछ । दुईजनाले काम गरे भने अलिकति पैसा बच्छ । जबकि नेपालमा या भुटानमा एकजनाले नोकरी गरेर पनि ५ जनाको परिवार मजाले पालिन्छ । यो त बुझेका छन् नि हाम्रा मानिसहरुले ।

अब त सक्षम पनि भएका छन् । पढेका पनि छन् । भाृेपल गएर भुटानमा विकास गर्ने ठाउँ प्रशस्त छ । अर्काकोमा जानु परेन, आफ्नै जमीन छ । त्यसैले नफर्किने हुन्छजस्तो मलाई लाग्दैन ।

र, तपाईको दाबी यो छ कि यो पुस्तक चौथो आन्दोलनको एक शुभारम्भ हो….

यो त हुन्छ नै । किनभने, विश्वास गर्दागर्दा कुरो झूठो निक्लियो भने प्रतिवाद त गर्नैपर्छ । हिजो नेतृत्व वर्गलाई दोष लगाएर तेस्रो मुलुक पुनर्बास गएका साथीहरु पनि छन् । बलराम पौड्यालमाथि नै दोष लगाएर जानेहरु पनि छन् । तर, अब यो किताब पढिसकेपछि शायद उनीहरुको दिमागमा हामी त गलत रहेछौं भन्ने पनि होला । अथवा भुटानले कुन कुन कानून लादेर चाहिँ हामीलाई खेद्यो त भन्ने सुनेपछि त्यसको विरोध गर्न पनि आउलान् । भनेपछि, केही न केही आन्दोलन शुरु हुन्छ र गर्नुपर्छ ।
यत्ति गर्दा पनि भएन भने मसँग अर्को एउटा विकल्प पनि छ ।

कस्तो विकल्प ?

म त भुटानै जाने ।

कसरी ?
यसै जान सकिएन भने नेपाल सरकारले भुटान सुपुर्द गर्नुपर्‍यो नि त । यो जिराहालाई उतै पुर्‍याइदिउँ भनेर पठाइदिनुपर्‍यो । म तयार छु त्यसका लागि । कानून बनाओस् नेपालले भुटानीलाई सुपुर्दर्गी गर्ने । म धेरैजना साथी लिएर जान्छु भुटान ।

भुटानकै माटोमा मर्ने ?

उहिल्यै मरेको म त । आज हो र ? ३ तारेख, नोभेम्बर १९८९ मै मरेको मान्छे हो म । मेरो त यो पुनर्जन्म हो । मलाई मर्न डर छैन, तर त्यो माटोमै जानुपर्छ । मैले छोराछोरीलाई पनि भनेको छु, कतै म वरपर मरिहालें भने पनि खरानी भुटानमा लगेर छर्नू है भनेर।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ११ : ३६ बजे

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि तीन अर्ब १९ करोड बजेट स्वीकृत

काठमाडौं– पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको १५औँ बैठकले आगामी आर्थिक

‘आगामी निर्वाचनमा कांग्रेस बाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैन’

बारा– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस एक्लै चुनाव लड्न

विद्या भण्डारीको स्वीकारोक्ति- संसद् विघटनको घटनाले मलाई पछ्याइरहन्छ

काठमाडौं-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो भूमिकाका बारे केन्द्रीय कमिटीले

ठूला पूर्वाधार निर्माण लागि वैकल्पिक वित्त परिचालन गरिन्छ : अर्थमन्त्री 

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विमानस्थल, रेलमार्ग लगायत पूर्वाधारका

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा भगवती न्यौपाने नियुक्त

काठमाडौं– घुस ‘डिल’ को अडिओ काण्डमा मुछिएका मन्त्री राजकुमार गुप्ताको