कर्णाली– कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले सङ्घीयता कार्यान्वयनमा पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको बताएकी छन् ।
कर्णाली प्रदेशासभा सचिवालयद्वारा सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित ‘कानुन निर्माण र कार्यान्वयनमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सभामुख गुरुङले समाजको ऐनाका रुपमा चित्रित सञ्चारकर्मीको जिम्मेवारपूर्ण कार्यले देशमा सुशासन कायम गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरिन्।
‘सङ्घीय व्यवस्थाअनुसार तीन तहका सरकार छन्’ सभामुख गुरुङले भनिन्, ‘ती तीनै तहका सरकारले गरेका काम, सफल अभ्यास र कानुन कार्यान्वयनबारे नागरिकलाई सूचित गराउन यहाँहरूको जिम्मेवारी र जवाफदेही पत्रकारिता आवश्यक छ, जसले सार्वजनिक नेतृत्वमा रहेर काम गर्नेलाई दायित्व बोध गराइरहोस् ‘ ।
प्रदेश मामिला र सामाजिक विकास समितिका सभापतिद्वय कल्याणी खड्का र पूर्णबहादुर खत्रीले सार्वजनिक महत्व तथा नागरिक सरोकारका मुद्दा उठानमा पत्रकारको अहम् भूमिका रहेको बताए। पत्रकारको निष्पक्ष एवं तटस्थ पत्रकारिताले नागरिकदेखि सार्वजनिक पदमा रहेका सबैलाई जिम्मेवार बन्न सचेत गराउने भएकाले आफ्नो भूमिकामा अडिग भएर काम गर्न सभापतिद्वयले आग्रह गरे ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभामा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले राज्य सञ्चालक, कानुन निर्माता र पत्रकार सबैको मूल कार्य नागरिकलाई सेवा दिनु, उनीहरूलाई सुशासनको प्रत्याभूति गराउनु र जिम्मेवारी नागरिक बन्न उत्प्रेरित गराएको बताए।
अन्तरक्रियामा प्रदेश सचिवालयका सूचना अधिकारी राजेन्द्रप्रसाद पौडेलले प्रदेशसभा सचिवालयले हालसम्म गरेका कामकारवाही एवं त्यसको प्रगति र कानुन तथा विधेयक महाशाखाका कानुन उपसचिव अर्जुन भुसालले पत्रकारले सवाल उठान र न्यायिक क्षेत्रका गतिविधिलाई बाहिर ल्याउन सुझाउँदै हालसम्म बनेका कानुन र कार्यान्वयनको अवस्थाबारे आफ्नो प्रस्तुति राखे ।
प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकी र प्रवक्ता नेत्रबहादुर कार्कीले प्रदेशसभाका विषयगत समितिका गतिविधिमा पत्रकारको पहुँच नभएको भन्ने विषयमा ध्यानाकर्षण भएको र प्राप्त सुझावअनुसार काम गरिने बताए।
उक्त अन्तरक्रिया कार्यक्रममा पत्रकारहरूले प्रदेशसभाको काम, कर्तव्य र अधिकार, विषयगत समितिको कार्यसम्पादन, सरकारको कार्यशैली र त्यसमा सुधार गर्नुपर्ने पक्षका विषयमा सुझाव दिएका थिए ।
प्रतिक्रिया