अबदेखि एमालेको सदस्यता लिन अनिवार्य परीक्षा दिनुपर्ने | Khabarhub Khabarhub

अबदेखि एमालेको सदस्यता लिन अनिवार्य परीक्षा दिनुपर्ने


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख सत्तारुढ नेकपा (एमाले) ले अबदेखि संगठित सदस्यता वितरणका क्रममा परीक्षा लिने भएको छ ।

एमाले संगठन विभागको मंगलबार च्यासलमा बैठकले यस्तो प्रस्ताव पारित गरेको हो । संगठन विभागका सचिव माधव ढुंगेलका अनुसार महासचिव शंकर पोखरेल र संगठन विभाग प्रमुख काशीनाथ अधिकारीको उपस्थितिमा बसेको बैठकले यो निर्णय लिएको हो ।

‘पार्टी सदस्यहरूमा एमालेबारे आधारभूत जानकारी परीक्षण गर्नका लागि पार्टी सदस्य वितरणपूर्व अनिवार्य परीक्षा गर्ने प्रस्ताव पारित गरिएको छ’, उनले भने, ‘त्यसैगरी देशभरका मतदाताको ६ प्रतिशत पार्टी सदस्य संख्या पुर्‍याउने प्रस्ताव पनि बैठकले पारित गरेको छ ।’

ढुंगेलका अनुसार एमालेको संगठित सदस्यता लिन इच्छुकहरूलाई अनलाइन फर्म व्यवस्था गरेर परीक्षा लिइने छ ।

एमालेले २०८१ मै नयाँ सदस्यता वितरणमा कडाइ गर्ने योजना ल्याएको थियो। आफ्नै सदस्यबाट २०७९ को निर्वाचनमा सहयोग नपाएपछी एमालेले सदस्यता वितरणमै कडाइ गर्ने प्रस्ताव त्यही बेला एमालेले गरेको थियो । त्यसबेला एमालेले थोरै भए पनि पार्टीबारे जानकारी जानकारी भएकालाई मात्रै सदस्यता वितरण गर्ने तयारी गरेको थियो ।

२०७९ को आमनिर्वाचनमा सहरी क्षेत्रमा ‘अन्तर्घात’ भएको ठहर एमालेले गरेको थियो । त्यसपछि एमालेले कटिबद्ध कार्यकर्तालाई मात्रै सदस्यता दिने तयारी गरेको थियो । उक्त तयारीलाई मूर्तरुप दिँदै संगठन विभागले मंगलबार संगठित सदस्यता दिँदा परीक्षा लिने प्रस्ताव पारित गरेको हो ।

२०७८ सालमा एमालेले सात लाख ८९ हजार ६२० संगठित सदस्य रहेको जनाएको थियो । एमालेका अनुसार उसबेला पाँच लाख ९९ हजार ६२४ जना पुरुष र एक लाख ८८ हजार ९९६ जना महिला सदस्य थिए।

एमालेको नवौँ महाधिवेशन (२०७१ साल असार) सम्म पाँच लाख ९१ हजार संगठित सदस्य थिए। चितवनमा भएको दसौँ महाधिवेशन (२०७८ मंसिर) एमालेले एक लाख ९८ हजार संगठित सदस्य थपिएको जनाएको थियो।

ढुंगेलका अनुसार अब मंगलबारको यो बैठकले पार्टीको पकड बढाउन समुदायसँग जनसंगठन अभियान सञ्चालन गर्ने निर्णय पनि लिएको छ।

सबै तहका कमिटीका लघु प्रशिक्षण आयोजना गर्ने, जिल्लामा एमालेको प्रोफाइल तयार गर्ने, दुई पुस्ता सँगसँगै कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको ढुंगेलले बताएका छन् ।

बैठकले आगामी विधान महाधिवेशनका लागि संशोधन प्रस्तावहरू मर्यादित भाषामा पठाउन सबै पार्टी कमिटीहरूलाई निर्देशन पनि गरेको छ ।

एमालेले आगामी भदौ २० गतेदेखि २२ गतेसम्म ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

पार्टी सदस्यतासम्बन्धी एमालेका निर्णय

सदस्यता नवीकरण-पूर्व अनिवार्य रुपमा परीक्षा दिनुपर्ने (यथासम्भव अनलाइन फर्म भर्नुपर्ने) व्यवस्थामा जाने ।
हरेक वर्ष तोकिएको समयमा नवीकरण गर्ने कामलाई कडाइका साथ स्थापित गर्ने ।
सम्पूर्ण सदस्यलाई अनलाइनमा अभिलेखिकरण गर्ने काम सम्पन्नगर्ने।
विस्तारमा निरन्तर जोड दिइरहने र मतदाताको ६ प्रतिशत संख्या पुऱ्याइछाड्ने ।
सबै तहका पार्टी कमिटीमा लघु-प्रशिक्षण सहितका बैठकको परिपाटी बसालेर स्तर उन्नत गर्ने।
ङ. सम्पूर्ण टोल तहसम्म (करिब १७ हजार टोलमा) पार्टी कमिटीहरु गठन गर्ने, सुचारुगर्ने र अधिवेशन गराउने ।
च. सबै जिल्लामा नेकपा (एमाले) को समग्र संगठनात्मक प्रोफाइल तयार पार्ने ।
छ. जनसंगठनका पिंधसम्मका कमिटी निर्माण गरिसक्ने । ‘समुदायसंग जनसंगठन अभियान चलाउने ।
ज. ‘दुई पुस्ता संगसंगै’ विशेष कार्यक्रम चलाउने। हरेक वडामा अग्रज सम्मान र युवा प्रशिक्षण कार्यक्रम संगसंगै आयोजनागर्ने ।
झ. पार्टी कमिटीको संस्थागत क्षमताको विकास, कार्यालय सञ्चालन, व्यवस्थापन, डिजिटलाइजेसन र संगठनात्मक डाटा व्यवस्थापन प्रणालीको विषयमा प्रदेश स्तरमा कार्यशाला आयोजना गर्ने ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  २ : २६ बजे

म्याग्दीमा रहेको खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखरामा गाभिँदै

म्याग्दी– म्याग्दीमा रहेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय

भोजपुरको अरुण गाउँपालिकामा बहुउद्देश्यीय प्रतिष्ठान भवनको शिलान्यास

काठमाडौं— भोजपुरको अरुण गाउँपालिकामा भारत सरकारको सहयोगमा निर्माण हुने ‘अरुण

गण्डकीमा ७१ प्रतिशत रोपाइँ

गण्डकी– गत आइतबार सम्ममा गण्डकी प्रदेशमा ७१ दशमलव ०३ प्रतिशत

एमालेको ‘नोटिस’ ढकालको कि च्यासलको ?

काठमाडौं– ‘कसरी नेतृत्वलाई अप्ठ्यारो पार्न सकिन्छ भनेर बोल्ने नेताहरूबारे विचार