साउनबाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुल्ने | Khabarhub Khabarhub

साउनबाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुल्ने

सार्वजनिक बिदाको दिन पनि सञ्चालन हुने


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धरहरा अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ । साउन १ गतेबाट धरहरा खुल्ने समयावधि थप हुने भएको हो । सार्वजनिक बिदाको दिन पनि अब धरहरा चढ्न पाइने मन्त्रालयका प्रवक्ता नारायण मैनालीले बताए । 

धरहरा अहिले दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म खुला गरिएको छ । सरकारले दिने सार्वजनिक बिदाको दिन यो बन्द हुन्छ भने शनिबार दिइने साप्ताहिक बिदाको सट्टा बुधबार धरहरा बन्द हुने गर्छ । 

‘अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म दुई सिफ्टमा धरहरा सञ्चालन गर्दैछौं । धरहरा घुम्न चाहनेहरूका लागि सार्वजनिक बिदाको दिन पनि अब खुला रहनेछ,’ मन्त्रालयका प्रवक्ता मैनालीले भने । 

०७२ वैशाख १२ गतेको भूकम्पले ढलेको धरहरा पुन निर्माणपछि यही असोज ३ गतेबाट परीक्षणका रूपमा खुला गरिएको थियो । 

गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित धरहरा खुला गरिएको थियो । सर्वसाधारण नागरिकले धरहरा खुल्ने समय कम भएको भन्दै गुनासो गर्दै आएका थिए भने सार्वजनिक बिदाको दिन बन्द नगर्न सुझाव दिएका थिए । 

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नागरिकको सुझावलाई ध्यान दिँदै धरहरा सञ्चालनको अवधि बढोस् भन्ने नागरिकको चाहना अनुसार तयारी गर्न भनेपछि मन्त्रालयले सोही अनुसार दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो । 

भूकम्पले क्षतिग्रस्त धरहरा पुनर्निर्माणपछि सशुल्क सञ्चालन गरिएको सात महिनाको अवधिमा टिकट बिक्रीबाट ४ करोड ३३ लाख ९३ हजार ६५० रुपियाँ राजस्व सङ्कलन भएको सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) ले जनाएको छ ।

शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) अन्तर्गत धरहरा सञ्चालन हुँदै आएको छ । 

धरहरा सञ्चालन भएको यस अवधिमा २ लाख ३७ हजार ६५ जनाले धरहरा चढी अवलोकन गरेका छन् ।  विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश–२०८१ बमोजिम सशुल्क धरहरा सञ्चालनमा छ । 

झापाको बिजनेस कम्प्लेक्स खुला हुने 

झापाको दमकमा रहेको व्यापारिक कम्प्लेक्स साउन १ गतेबाट सर्वसाधारणका लागि खुला हुने भएको छ । शहरी विकास मन्त्रालयले अहिले परीक्षणका रूपमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालनमा ल्याउन लागेको हो । 

एक सय मिटर अग्लो यो कप्लेक्स १८ औं तलाको छ । ७२ मिटर उचाइ कंक्रिट संरचनामा बनेको छ भने २८ मिटरमा मेटल फ्रेमको टावर रहेको छ । यो धरहराभन्दा अग्लो हो ।

साउन १ बाट मन्त्रालयका काम पेपरलेस हुने

शहरी विकास मन्त्रालयले साउन १ गतेबाट मन्त्रालयमा  एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) कार्यान्वयनमा ल्याउने भएको छ ।  

यो प्रणाली पूर्ण कार्यान्वयनमा आएपछि मन्त्रालयअन्तर्गत हुने सरकारी कामकारबाही पेपरलेस हुने छन् भने अनावश्यक कागजी झन्झट हट्ने सचिव गोपाल सिग्देलले बताए । 

मन्त्रालयका सचिव सिग्देलले आंशिक रूपमा अहिले नै जीआईओएमएस कार्यान्वयनमा रहेकोमा साउन १ गतेबाट भने पूर्ण कार्यान्वयनमा ल्याउने जानकारी दिए । 

‘सरकारी कामकारबाही पेपरलेस बनाउने, एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) लागू गर्न लागेका छौँ,’ सचिव सिग्देलले भने,‘ अब अन्तर मन्त्रालय फाइल र चिठी पत्र, मन्त्रालय र विभागहरुबीच फाइल आदानप्रदान गर्दा पेपरलेस हुनेछ । सबै डिजिटलाइज हुनेछ ।’

अनधिकृत गाडी प्रयोगमा रोक, विद्युतीय हाजिरीमा कडाइ

शहरी विकास मन्त्रालयले अनधिकृत रूपमा प्रयोग भएका मन्त्रालयका गाडीहरू फिर्ता ल्याएको छ । साउन १ गतेबाट नेपाल सरकारको मापदण्डभित्र पर्नेलाई मात्र गाडी सुविधा दिइने मन्त्रालयले जनाएको छ । 

पाउनुपर्नेले गाडी नपाएको र मापदण्डमा नपर्नेले गाडी प्रयोग गरेको पाइएपछि उपप्रधानमन्त्री सिंहको निर्देशनपछि अनधिकृत रूपमा प्रयोग भएका गाडी फिर्ता ल्याइएको छ । 

मन्त्रालयबाट सरुवा भई जाँदा सचिव र उच्च पदस्थ कर्मचारीहरूले सँगै लगेका सवारीसाधन पनि फिर्ता ल्याइएको छ । 

त्यस्तै, मन्त्रालयले साउन १ गतेबाट विद्युतीय हाजिरीमा पनि कडाइ गर्ने भएको छ । अहिले विद्युतीय हाजिरिको व्यवस्था भए पनि विभिन्न बहाना बनाएर हाजिरी टार्ने प्रवृत्ति देखिएको भन्दै मन्त्रालयले कडाइ गर्न लागेको हो । 
 
प्रमुख आयोजनाको अनुगमन मन्त्रालयबाटै

शहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालित प्रमुख आयोजनाहरूका प्रत्यक्ष नियमित अनुगमन अब मन्त्रालयबाटै हुने छ । 

अहिले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उपप्रधानमन्त्री सिंहले मन्त्रालयस्थित कार्यकक्षबाटै अनुगमन गर्दै आउनुभएकोमा साउन १ गतेबाट अरु आयोजनाहरूको पनि अनुगमन हुने छ ।

आयोजनाको कार्य प्रगति विवरण मन्त्रालयको कन्ट्रोल रूपबाट नियमित रूपमा अनुगमन हुनेछ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ३ : ०४ बजे

गण्डकीमा ७१ प्रतिशत रोपाइँ

गण्डकी– गत आइतबार सम्ममा गण्डकी प्रदेशमा ७१ दशमलव ०३ प्रतिशत

एमालेको ‘नोटिस’ ढकालको कि च्यासलको ?

काठमाडौं– ‘कसरी नेतृत्वलाई अप्ठ्यारो पार्न सकिन्छ भनेर बोल्ने नेताहरूबारे विचार

एनसेल ‘लीग अफ क्रिएटर्स’ : अमनले जिते १० लाखको ब्रान्ड डिल

काठमाडौं– एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको ‘लीग अफ क्रिएटर्स’ प्रतियोगितामा ललितपुरका

बाजुरामा सम्बन्ध विच्छेद र जबरजस्ती करणीका मुद्दा बढ्दै

धनगढी– बाजुरा जिल्ला अदालतमा यो वर्ष मुद्दा दर्ताको संख्यामा वृद्धि भएको

वरिष्ठ अभिनेता तथा निर्माता धीरज कुमारको निधन, भारतीय मनोरञ्जन उद्योगमा शोकको छायाँ

काठमाडौं– पछिल्ला दिनहरूमा भारतीय फिल्म तथा टेलिभिजन उद्योगले एकपछि अर्को