काठमाडौं- बिहीबार एकै दिन पार्टी प्रवेशका दुई दृश्य सामाजिक सञ्जालमा भाइरल भए। एउटा थियो मधेसी नेता देवेन्द्र यादवको नेपाली कांग्रेसमा प्रवेश, अर्को थियो, पूर्वडीआईजी र पूर्वकर्णेलसहितको टोली राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश ।
एउटा कार्यक्रम नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपास्थित सभापति शेरबहादुर देउवाको कार्यकक्षामा भएको थियो । अर्को कार्यक्रम रवि लामिछाने सभापति रहेको रास्वपाको केन्द्रीय कार्यालय घण्टीघरमा आयोजना गरिएको थियो ।
यी पार्टी प्रवेश कार्यक्रममा दुवै दलका उच्च तहका नेताहरू सहभागी थिए । सानेपामा कांग्रेस सहभापति शेरबहादुर देउवा, महामन्त्री विश्वप्रकाश शर्मा र सह-महामन्त्री महेन्द्र यादवसहितका नेताहरू देखिन्थे । त्यसैगरि महोत्तरी ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य महेन्द्रकुमार राय, कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण यादव र कांग्रेस महोत्तरी सभापति नागेश्वर यादवलगायत पनि त्यहाँ थिए ।

उता घण्टीघरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा रास्वपा कार्यवाहक सभापति डीपी अर्याल, महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनीष झा र सांसद गणेश पराजुली देखिन्थे ।
देउवाले स्वागत गरे हत्या आरोपी
सानेपास्थित देउवाकै कार्यकक्षमा आयोजित कार्यक्रममा कांग्रेस नेताहरू बडो उत्साहित देखिन्थे । सभापति देउवाले सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको हत्याका फरार प्रतिवादी देवेन्द्र यादवलाई पार्टी सदस्यता दिँदै स्वागत गरेका थिए ।
मधेस आन्दोलनको क्रममा २५ भदौ ०७२ मा महोत्तरीको जलेश्वरमा घाइते भएका सशस्त्र प्रहरीका असई थमनलाई उपचारका लागि जनकपुरमा ल्याउने क्रममा एम्बुलेन्सबाटै थुतेर लखेटी लखेटी हत्या गरिएको थियो ।
उक्त हत्या प्रकरणमा प्रहरीको खोजी सूचीमा रहेका यादवलाई देउवाले बिहीबार पार्टीमा भित्र्याएका थिए । तर कांग्रेसको उक्त निर्णय २४ घण्टा पनि टिक्न सकेन । एकजना हत्या आरोपीलाई पार्टीमा स्वागत गरेको भन्दै चौतर्फी आलोचना भएपछि कांग्रेसले यादवको सदस्यता शुक्रबार खारेज गरेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल परित्याग गरेर नेपाली कांग्रेस प्रवेश गरेका महोत्तरीका देवेन्द्र यादवको सदस्यता खारेज गरेको छ ।
लोसपाका पूर्वमहासचिवसमेत रहेका यादवविरुद्ध फौजदारी कानुनी कारबाही चलिरहेको भन्दै कांग्रेसले एक दिनमै उनको सदस्यता खारेज गरेको हो ।

‘पार्टीका केही साथीहरूले महोत्तरीका देवेन्द्र यादवलाई लिएर कार्यकक्षभित्र प्रवेश गरी पार्टी सदस्यता प्रदान गर्न आग्रह गरेबमोजिम नेपाली कांग्रेसका सभापतिले निजलाई सदस्यता प्रदान गर्नु भएको हो,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञिप्तमा भनिएको छ, ‘तर, बुझिँदै गर्दा निजउपर फौजदारी कानुनी कारबाही प्रक्रिया रहेको भन्ने थाहा हुन आएको हुँदा निजले प्राप्त गरेको पार्टी सदस्यता खारेज गरिएको जानकारी गराइन्छ ।’
विज्ञप्तिमा पार्टीले कानूनी कारबाहीको प्रक्रियाबारे गृह प्रशासनको समेत ध्यानाकर्षण गराएको उल्लेख छ । मुख्य सचिव पौडेलले यादवलाई पार्टी प्रवेश गराउन ल्याउने नेताहरूसँग गम्भीरतापूर्वक जानकारी लिइरहेको पनि बताएका छन् ।
राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीमा २०६४ मा आबद्ध भएका यादव उक्त पार्टीको महासचिवसम्म भए । तर राजपा नेपाल बनेपछि उनी त्यसमा पनि महासचिव नै बने।
त्यसपछि २०७४ को चुनावमा राजपा नेपालले यादवलाई टिकट दिएन । उनी स्वतन्त्र उठेर पराजित भए । २०७४ को चुनावमा पराजित भएपछि राजनीतिबाट निष्क्रिय देखिए ।
राजनीतिमा निष्क्रिय उनी अचानक एमालेमा प्रवेश गरे । एमालेमा प्रवेश गरे पनि सक्रिय नभएका उनी बिहीबार कांग्रेसमा प्रवेश गरे थिए। आफू र आफ्नो परिवार पुरानो कांग्रेसी भएको भन्दै उनले आफ्नो घर फर्केको बताएका उनको सदस्यता एक दिनमै खारेज भयो ।
असई विक हत्याका आरोपित यादव प्रहरीको सूचीमा फरार अभियुक्तमध्ये एकजना हुन् । महोत्तरी जिल्ला अदालतले यादवको मुद्दा अहिले पनि मुलतवीमा राखेको छ ।
विकको हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते ७ जनालाई जन्मकैदको सजाय सुनाएको थियो । न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले अभियुक्तहरू सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको सजाय सुनाएको थियो ।
मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते आन्दोलनकारीले महोत्तरीमा लखेटी लखेटी विकको ज्यान लिएका थिए । हत्याको तीन वर्षपछि २०७५ साउन २८ गते २८ जनाविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता भएको थियो ।
उक्त प्रकरणमा एमाले लक्ष्मी महतो कोइरी पनि मुछिएका थिए । तर उनलाई २८ मंसिर २०८० मा विकको कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जिल्ला अदालत महोत्तरीले सफाइ दियो ।
उक्त हत्या प्रकरणमा लक्ष्मी महतो कोइरी लगायतलाई अभियुक्त बनाएर जिल्ला अदालतमा मुद्दा चलेको थियो । महोत्तरी जिल्ला अदालतले कोइरीलाई २०७६ असोज २ गते एक लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।
जिल्ला अदालतको आदेशविरुद्ध परिवार उच्च अदालत जनकपुर गएपछि उच्च अदालत जनकपुरले २०७७ मंसिर १९ गते महतोलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको थियो । त्यसपछि कोइरी फरार थिए । प्रहरीको फरार सूचीमा भए पनि कोइरी २०७९ मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा एमालेबाट महोत्तरी १ मा निर्वाचित भए ।

रास्वपामा प्रवेशको दृश्य
बिहीबार नै घण्टी घर बनस्थलीमा नेपाली सेनाका पूर्वकर्णेल र सशस्त्र प्रहरीका पूर्वडीआईजी रास्वपामा प्रवेश गरेको दृश्य पनि भाइरल भयो ।
पछिल्लो समय पुराना पार्टीविरुद्ध अभियान छेडिरहेको रास्वपाले पूर्वप्रशासकहरूलाई तान्न खोजिरहेकोछ । त्यही क्रममा कांग्रेसले हत्या आरोपीलाई भित्र्याउँदै गर्दा रास्वपा कार्यवाहक सभापति अर्याल भने अवकाशप्राप्त उच्च सुरक्षाअधिकारीहरूलाई पार्टीमा स्वागत गरिरहेका थिए ।
बिहीबार घण्टीघरमा नेपाली कांग्रेस सम्बद्ध ट्रेड युनियनका उपाध्यक्षसमेत रहेका ललित बहादुर श्रेष्ठ पनि रास्वपामा प्रवेश गरे । उनीसँगै नेपाली सेनाका पूवकर्णेल डाक्टर (एजम्) प्रद्युम्न पौडेल र सशस्त्र प्रहरी बलका पूर्वडीआइजी दुर्गा भट्टराईले पनि घण्टीघरबाट रास्वपाको राजनीति थाले ।
त्यही कार्यक्रममा सशस्त्र प्रहरी बलका पूर्वएसएसपी विश्वेश्वर थापा, अन्तर्राष्ट्रिय लायन्स क्लबका पूर्वगभर्नर र रेयुकाई नेपालका पूर्वअध्यक्ष शोभा जोशी पनि रास्वपामा प्रवेश गरेकी छन् । रास्वपा सभापति रवि लामिछानेलाई सरकारले प्रतिशोध साँधेको आरोप लागिरहेका बेला पूर्वप्रशासक र उच्च सुरक्षाअधिकारीहरू रास्वापतिर जोडिन थालेका हुन् ।

प्रतिक्रिया