फिर्ता हुन थाल्यो लुटिएको चामल र चिनी « Khabarhub

फिर्ता हुन थाल्यो लुटिएको चामल र चिनी


३० भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको लहान नगरपालिका–१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदामबाट लुटपाट गरिएको खाद्यान्न प्रशासनको कडा उर्दीपछि फिर्ता हुन थालेको छ ।

जेनजी आन्दोलनका क्रममा गत मङ्गलबार दिउँसो कम्पनीको गोदामबाट चामल, चिनी लुटपाट भएको थियो । इलाका प्रशासन कार्यालय लहानका प्रशासकीय अधिकृत सन्तोष रायका अनुसार, लुटपाटको घटनाले राष्ट्रियस्तरमै लहानको बेइज्जत गराएको भन्दै कार्यालयले कडा निर्देशन जारी गरेपछि फिर्ता हुन थालेको हो ।

उनले भने, ‘हामीले उर्दी जारी गरेका थियौँ फिर्ता गर्नका लागि । फिर्ता नगर्नेलाई सीसीटीभी फुटेज र सामाजिक सञ्जालमा उपलब्ध फोटो भिडियोका आधारमा पहिचान गरी कानूनी कारबाही गरिनेछ भनेर ।’

उनका अनुसार स्थानीय युवाहरूको सक्रियतामा चामल र चिनी क्रमशः फिर्ता हुन थालेको हो । केही व्यक्तिहरूले स्वयं आएर र केहीले स्थानीय युवाको माध्यमबाट आइतबार चामल र चिनी फिर्ता गरेका हुन् ।

खाद्य कम्पनी लहान शाखाका सूचना अधिकारी अनिलकुमार महतोका अनुसार, आइतबार बेलुका ९ बजेसम्म ७१ क्वीन्टल चामल र करिब १८ क्वीन्टल चिनी फिर्ता भएको छ ।

विवरणअनुसार, चार वटा गोदाममा भण्डारण गरिएको आठ हजार १४८ क्वीन्टल चामल, तीन हजार २२० क्वीन्टल चिनी, ५३ क्वीन्टल २१ किलो धान र ९८ हजार ८१५ थान जुटका बोरा लुटिएको थियो । उनका अनुसार यसको अनुमानित मूल्य १० करोड ९१ लाख २२ हजार ८२७ बराबर रहेको छ ।

खाद्यान्नलाई सुरक्षित राख्न प्रयोग गरिने विशेष प्रकारका ‘फ्युमिगेसन सिट’ लुटिएको छ । महतोका अनुसार, ती सिटहरू अत्यन्तै भारी हुने र उठाउन कम्तीमा १० जनाको आवश्यकता पर्दछ । यस्तो सिट खाद्य कम्पनीसँग मात्रै रहेको जनाइएको छ ।

लुटपाटको क्रममा कार्यालय परिसरमा राखिएको कार र मोटरसाइकलमा आगजनी गरिएको छ । खाद्यकर्मीको ‘क्वार्टर’ बाट ल्यापटप, खाना पकाउने दुई थान ग्यास सिलिण्डर तथा मोबाइलसमेत लुटिएको छ ।

यसअघि २०६३ सालको मधेस आन्दोलनसहित अन्य विभिन्न आन्दोलनका क्रममा गरी हालसम्म तीन पटक लहानको खाद्य कम्पनीमा लुटपाट भइसकेको छ । यसले गर्दा आगामी दिनमा सामान्य आन्दोलनको बेलामा पुनः लुटपाटको जोखिम उच्च रहेको स्थानीय बताउँछन् । (रासस)

प्रकाशित मिति : ३० भदौ २०८२, सोमबार  ७ : १४ बजे

यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

रसुवा– यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको

खुसी र उल्लासका साथ दसैँ मनाउन परराष्ट्रमन्त्री खनालको आग्रह

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी

पत्रकार उपाध्यायको परिवारलाई आर्थिक सहयोग

दमौली – दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार

बाल्यकालको दसैँ स्मृति : लेकको आलु, नयाँ लुगा र बाबियोको डोरी

काठमाडाैँ – दसैँ भन्नेबित्तिकै जो कसैको मानसपटलमा बाल्यकालका मीठा स्मृति

रास्वपा सभापति रवि लामिछानेको दसैँ शुभकामना- निराशाबाट आशातर्फ लम्किन आह्वान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्षको बडादसैँ