आगोको रापमा सेलिब्रेटी अनुहार : सूत्रधारदेखि आगो झोस्नेसम्म | Khabarhub Khabarhub

आगोको रापमा सेलिब्रेटी अनुहार : सूत्रधारदेखि आगो झोस्नेसम्म


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनमा तीन दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का नेताहरुको घर प्रदर्शनकारीले खोजी–खोजी जलाए ।

यी तीन दल निकट व्यापारी र उद्योगीहरुको भौतिक संरचना पनि आक्रोशित प्रदर्शनकारीबाट बच्न सकेन । यो प्रसंगलाई जोडेर फिल्म क्षेत्रका एकाध व्यक्तिले टिप्पणी गरेका छन्- ‘हाम्रा कलाकार पनि नेता निकट थिए । तर, उनीहरु को सम्पति नजल्नु कलाकारिताप्रतिको सम्मान हो ।’

आन्दोलनकारीले एमाले नेतृसमेत रहेकी गायिका कोमल ओलीको दाङस्थित होटल जलेको छ । आन्दोलनबाट प्रत्यक्ष प्रभावित भएकी एक मात्रै कलाकार उनी हुन् ।

सायद उनी अहिले कलाकार भन्दा एमालेको नेतृ बढी देखिएर होला !

रोचक कुरा – आन्दोलनकारीको आगोले भौतिक संरचना जलेपछि सम्बन्धित क्षेत्र र व्यक्तिले अभिव्यक्ति सार्वजनिक गरेका छन् । केही अभिव्यक्ति सार्वजनिक गर्ने क्रममा छन् ।

देशभर चार हल जल्दा १७ करोडको क्षति भएको अनुमान चलचित्र संघले गरेको छ । यो खबर मिडियाबाट सार्वजनिक भइसकेको छ ।

यसप्रति कलाकारहरुले सार्वजनिक रुपमा बालेका छैनन् ।

तर, तथ्य के हो भने आन्दोलनकारीले सिधा हललाई निशाना बनाएका होइन् । व्यापारिक कम्प्लेक्स जलाउँदा त्यहाँ भएका हलमा पनि क्षति पुगेको हो ।

आन्दोलनले देशका हल बन्दा गर्ने अवस्था सिर्जना हुँदा ६ फिल्म प्रदर्शनरत थिए । यी फिल्मको व्यापारमा प्रत्यक्ष असर पर्‍यो ।
हल खुलाउने विषयमा पनि कलाकारहरु बोलेको भेटिएको छैन ।

कलाकारहरु जेनजी आन्दोलनको पक्षमा नै बोलेका भेटिन्छ । केही त आन्दोलनमा प्रत्यक्ष सहभागी नै भएका थिए ।

नायक अनमोल केसीकै सक्रियता देखियो । उनी यस्ता नायक हुन जो हतपत सामाजिक विषयमा उनी बोल्दैनन् ।

उनले यो आन्दोलनको विषयमा फेसबुकमा तीन स्ट्याट्स राखेका छन् । आन्दोलनको अघिल्लो दिन उनी जेनजीको समर्थनमा स्ट्याट्स राखेका थिए ।

त्यसबेला फेसबुक र युट्युबसहितका २६ सामाजिक सञ्जालमा केपी ओली नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको थियो ।
प्रतिबन्धकै बीच उनले फेसबुक चलाएर आन्दोलनको समर्थन गरेका थिए ।

अनमोल पनि यो मामलामा क्रान्तिकारी नै देखिए !

आन्दोलनकारी जेनजी प्रदर्शनकारीले सोमबारको ज्यान गुमाएको दुख व्यक्त गर्दै मंगरबार उनले भ्रष्टाचार मुक्त आन्दोलनको पक्षमा आफू अडिग रहेको बताएका थिए । यो आन्दोलनको दोस्रो दिनको कुरा हो ।

आन्दोलनपछि बनेको अन्तिरिम सरकारको नेतृत्व पूर्वप्रधानमन्त्री सुशीला कार्कीले गर्दा पनि उनी सहमत देखिए ।

उनले आन्दोलनमा ज्यान गुमाएकोप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका थिए, ‘देशले पहिलो महिला प्रधानमन्त्री पाएको छ । यो जित हाम्रो पुस्ताको साहसले भएको हो ।’

करिश्माले छाडिन् एमाले

०७९ को प्रतिनिधि सभाको चुनावी माहोल सुरु हुने बेला नायिका करिश्मा मानन्धर एमालेमा प्रवेश गरेकी थिइन् ।

उनलाई पार्टी अध्यक्ष केपी शर्मा ओली नै एक कार्यक्रमका बीच प्रवेश गराएका थिए ।

पार्टी प्रवेशसँगै करिश्माले फेसबुकको नामको पछाडि ब्य्राकेटमा ‘सूर्य कुमारी’ राखेकी थिइन् ।

सूर्य एमालेको चुनाव चिह्न भएको पनि यस विषयले चर्चा पाएको थियो ।

यस्तो जोशका साथ पार्टी प्रवेश गरेकी करिश्मा एमालेमा साढे २ वर्ष मुस्किकले टिकिन् ।

गत सोमबारको आन्दोलनमा जेन–जी प्रदर्शनकारीले ज्यान गुमाएको बाहना देखाएर उनले पार्टी परित्यागको घोषणा गरिन् ।

जनता जहिल्यै आफ्नो प्राथमिकतामा रहेको दाबी गर्दै उनले लेखेकी थिइन्, ‘आजदेखि म कुनै पनि राजनीतिक दल वा संगठनसँग आबद्ध नभएको स्पष्ट पार्न चाहन्छु । म जनताकै कलाकार थिएँ, जनता कै आवाज थिएँ र आगामी दिनहरूमा त्यही रूपमै रहिरहन चाहन्छु ।’

उनले सुशीला कार्कीलाई पहिलो महिला प्रधानमन्त्री बनेकामा बधाईसमेत दिएकी छन् ।

उनले फेसबुकबाट नामपछाडिको सूर्यकुमारी अझैँ हटाएकी छैनन् । सूर्यकुमारी आफ्नो न्वारनको नाम भएको उनको दाबी थियो ।

यसले उक्त दाबी चाहिँ सत्य हो भन्ने विश्वास दिलाएको छ ।

प्रतिरक्षामा संगीतकार सापकोटा

चेतना सापकोटा माओवादी निकट संगीतकार मानिन्छन् । उनी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यसमेत हुन् ।

आन्दोलनकारीबाट सिंहदरबारमा आगजनी हुँदा उनी त्यही रहेको भिडियो र तस्बिर सार्वजनिक भएको छ ।

चेतन चलेको प्रोफाइल भएकाले यसलाई ‘पार्टीका सदस्यहरुको जेन–जी आन्दोलनमा घुसपैठ’को उदाहरणका रुपमा लिइएको छ ।

तर, चेतन भने यसलाई आरोपका रुपमा लिन आग्रह गर्छन् । आफू सिंहदरबार जलाउन नभएर बचाउन गएको उनको दाबी छ ।

उनी भन्छन्, ‘मेरो व्यवसायिक सम्बन्ध भएको रेडियो नेपाल र नेपाल टेलिभिजन सिंहदरबारभित्र छन् । कसरी म जलाउन सक्छु ? म त यी संरचना जोगाउन गएको हो ।’

१० वर्षको हुँदा ०४१ सालमा गायक बन्न छिरेको रेडियो नेपाल जलाउने विषय आफ्नो कल्पनाभन्दा बाहिरको विषय रहेको उनको तर्क छ ।

केही व्यक्ति शत्रु लाग्दा आफूलाई ‘घुसपैठिया’को आरोप लागेको उनको स्पष्ट दाबी छ ।

यसले परिवारमा मानसिक असर परेको उनले बताए । उनी भन्छन्, ‘म त कलाकार हो फरक पर्दैन । तर, मेरो परिवार छ । उनीहरु ममाथि भएको टिप्पणीले मानसिक तनावमा छन् ।’

‘घुसपैठियाको आरोप’लाई षड्यन्त्रको रुपमा बुझन् उनले खबरहबमार्फत् आम पाठक र दर्शकसमक्ष आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमा एमालेका कार्यकर्तामार्फत् यो षड्यन्त्र भएको दाबी गरेका छन् ।

उनी भन्छन्, ‘म जुन कठघरामा उभिन तयार छु । म जलाउन गएको होइन । बचाउन गएको हो ।’

राज्यले अपराध गर्‍यो : राजेश हमाल

नेपालमा आन्दोलन चलिरहँदा महानायक राजेश हमाल अस्ट्रेलिया भ्रमणमा थिए । सोमबारको आन्दोलनका क्रममा जेनजी प्रदर्शनकारीले ज्यान गुमाएकामा उनले लज्जित महसुस गरेका छन् ।

यसलाई उनले ‘राज्यले ठूलो हत्या गरेको’ रुपमा बुझेका छन् ।

सोमबार राज्यबाट जेनजीको हत्या भएपछि उनले लेखेका थिए, ‘ हामी एक राष्ट्रको रूपमा हाम्रो युवालाई आशालाग्दो भविष्यमात्र दिन असफल भएका छैनौं, उनीहरुको वर्तमानसमेत खोसिरहेका छौं । म बिदेश यात्रा गर्दै छु । नेपाली भएकोमा यति लाज महसुस मैले कहिल्यै गरेको थिइनँ । आजको दिन नेपालको इतिहासमा सबैभन्दा पिडादायी दिन बनेको छ ।’

राजेश सिड्नीमा आयोजिक दीप प्रज्वलन कार्यक्रममा पनि सहभागी भएर आफ्नो अभिव्यक्ति राखेका थिए ।

त्यहाँ पनि उनले भने, ‘यो जेनजी आन्दोलनको क्रममा भएको हत्या ठूलो अपराध हो । राज्यले १८ वर्षभन्दा कम उमेरका युवा पनि सहभागी छन् भनेर सोचेन ।’

उनले आफू पनि जेनजी आन्दोलनको समर्थनमा रहेको घोषणा गरेका छन् । सार्वजनिक सम्पत्तिमा क्षति नगर्न उनले आन्दोलनकारीलाई सुझावसमेत दिएका थिए ।

तर, उनले मंगलबार साँझ ६ बजे उक्त सुझाव दिएको भिडियो सार्वजनिक गरेका थिए । त्यसबेला काठमाडौं धुँवाले ढाकिसकेको थियो । धेरै संरचना खरानी भइसकेका थिए ।

सम्झाउने र गाली गर्ने

हाम्रा प्रायः सबै कलाकार जेनजी समर्थक देखिएका थिए । यो आन्दोलनको समर्थन नगर्नेको सूची तयार गर्न सम्भव होला तर, पक्षमा हुनेको गाह्रै पर्छ ।

निर्देशक निश्चल बस्नेत, गायिका समीक्षा अधिकारी नायक तथा व्यवसायी संजोग कोइराला, गायक रमेशराज उप्रेतीलगायतका कलाकार भने आन्दोलनस्थल बानेश्वर नै पुगेका थिए ।

टिकटकर तथा नायक पारस कम ‘कुल ब्वाइ’ले त नारा समेत भट्याए । सोसल मिडिया इनफ्ल्युएन्सरहरुको सहभागीता भने बाक्लो थियो ।

जेनजी आन्दोलनको मुमेन्टमा कलाकार दीपकराज गिरीले भने सामाजिक सञ्जालबाटै सक्रियता देखाएका थिए ।

उनले सार्वजनिक सम्पत्तिको क्षति भएपछि ‘घुसपैठ भएको’ भन्दै जेनजी आन्दोलनकारीलाई घर फर्किन आग्रहसमेत गरेका थिए ।

सार्वजनिक सम्पत्तिमा आगजनी गरेपछि निर्देशक निश्चल बस्नेतले भने संयमता अपनाउन आन्दोलनकारीलाई भिडियो सन्देशमार्फत् आग्रह गरेका थिए ।

उनले भनेका थिए, ‘अब देश जेनजीको हातमा आइसकेको छ । फरक अवस्था सिर्जना भएको छ । लुटपाटहरु बढ्न सक्छ । यो कुरामा ध्यान दिनू । यसलाई प्रसय दिनुहुँदैन ।’

नायिका केकी अधिकारी पनि सार्वजनिक सम्पत्तिमा क्षति नगर्ने आन्दोलनकारीलाई सामाजिक सञ्जालबाट अपिल गरिरहेकी थिइन् ।

हाँस्यकलाकार साजन श्रेष्ठ भने सक्रियरुपमै आन्दोलनमा उपस्थित भएका थिए ।

उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय देखिन्छन् । उनका शब्द चयन भने अहिल पनि आक्रोशित भेटिन्छन् ।

आन्दोलनले विकसित घटनाक्रममा आएका नेताहरुको अभिव्यक्ति सेयर गर्दै उनले अश्लील गालीसमेत गरेको देखिन्छ ।

साजनको शब्द चयन आक्रोश हो । उनी केही बढी देखिएका हुन् । तर, प्रष्ट छ– यो उनको राज्य सञ्चालकहरु प्रतिको आक्रोश हो ।

दीप प्रज्वलनमा सहभागी

जेनजी आन्दोलनमा शहादत प्राप्त गर्नेको सम्झनामा सेलिब्रिटीहरु दीप प्रज्वलनमा सहभागीसमेत भएका छन् ।

उनीहरु शनिबार माइतीघर पुगेर दीप प्रज्वलनमा सहभागी भएका हुन् ।

सहभागी हुने निर्देशकहरु निश्चल बस्नेत, प्रदीप भट्टराई, दीपाश्री निरौला, नायक धिरज मगर, नायिकाहरु सुरक्षा पन्त, ऋचा शर्मा, स्वस्तिमा खड्कालगातय सहभागी थिए ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  २ : ४८ बजे

धनुषाका सरकारी कार्यालयहरूद्वारा सेवा सञ्चालन

जनकपुरधाम– धनुषामा रहेका सरकारी कार्यालयहरूले सेवा प्रवाह सुरु गरेका छन्

तनहुँ कारागारबाट भागेका १०९ कैदीबन्दी पक्राउ

दमौली – तनहुँ कारागारबाट फरार भएकामध्ये १०९ जना कैदीबन्दी पक्राउ

दशैँ तिहार लक्षित सुपथ पसल सुरु (तस्बिरहरू)

काठमाडौं– सरकारले आजबाट चाडपर्व लक्षित दशैँ तिहार सहुलियत पसल सुरु

एमाले कार्यालय पुगेर शंकर पोखरेलले भने- सरकारलाई सघाउँछौँ, तोकिएकै समयमा निर्वाचन गराओस्

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेल गत सोमबार र मंगलबार

आगजनीबाट जोगियो स्वास्थ्य सेवा विभाग

काठमाडौं–  ‘जेनजी पुस्ता’को प्रदर्शनमा देशभर कैयौँ कार्यालय आगजनीबाट ध्वस्त भए