एमाले महाधिवेशनमा सहभागीहरुमा मौसमी फ्लू र झाडापखालको संक्रमण  « Khabarhub

एमाले महाधिवेशनमा सहभागीहरुमा मौसमी फ्लू र झाडापखालको संक्रमण 

एकै दिनमा ४ सय बढीले गराए सुगर जाँच 


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा चलिरहेको छ । महाधिवेशनमा सहभागी हुनका लागि देशभरबाट एमालेका हजारौं नेता तथा कार्यकर्ता काठमाडौं आएका छन् ।

शनिबार भक्तपुरको सल्लाघारीमा उद्‌घाटन गरिएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा आइतबारदेखि सुरु भएको छ । भीडभाडमा हुँदा कसैलाई एक्कासी हर्टअट्याक आउने, मस्तिष्कघात हुने, बेहोस हुने, टाउको दुख्ने जस्ता समस्याहरू देखिने जोखिम हुन्छ ।

गत कात्तिक १३ गते एमालेको जनसंगठनका रुपमा रहेको नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको बोल्दा बोल्दै मृत्यु भएको थियो ।

विद्युत् कटौतीको विरोधमा भैरहवामा गरिएको कार्यक्रममा भाषण गर्दागर्दै ढलेका गौतमलाई हतार हतार उपचारका लागि लैजाँदा अस्पतालले मृत घोषणा गरेको थियो । त्यस्तै, जारी महाधिवेशनमा सहभागी नेता तथा कार्यकर्ताहरूमा यस्तै अचानक आउने समस्यामा प्राथमिक उपचार र उनिहरुलाई सुरक्षित स्वास्थ्य संस्थामा लैजानका लागि महाधिवेशनस्थलमा हेल्थ डेस्क स्थापना गरिएको छ । 

उक्त हेल्थ डेस्कमा कस्तो सेवा दिइन्छ ? कस्ता बिरामीहरू धेरै आउँछन् भन्ने विषयमा स्वास्थ्यकर्मी महासंघका उपाध्यक्ष तथा हेल्थ डेस्क संयोजक रामहरि ढकालसँग गरिएको कुराकानीको सम्पादित अंश-

महाधिवेशनमा सहभागी हुन देशभरीबाट हजारौं नेता तथा कार्यकर्ताहरु काठमाडौं आएका छन्, उनीहरुको स्वास्थ्य व्यवस्थापन कसरी भइरहेको छ ? 

महाधिवेशनकै लागि भनेर स्वास्थ्यकर्मी महासङ्घमा आवद्ध विज्ञ चिकित्सक, नर्स तथा पारामेडिक्स गरी ३ सय जना स्वास्थ्यकर्मीहरू खटिएका छन् । हर्टअट्याक लगायतका अकस्मात् हुने स्वास्थ्य समस्याको लागि भने एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ ।

त्यस्तै पारासिटामोल, जीवनजल जस्ता सामान्य औषधिहरू र प्रेसर, सुगर जाँचजस्ता सुविधा आवश्यकता अनुसार दिने गरिएको छ । महाधिवेशनमा सहभागी दुई हजार बढीलाई मेडिकल किट ब्याग उपलब्ध गराइएको छ ।

सहभागीहरूमा कस्ता कस्ता समस्या देखिने गरेका छन् ? 

उपत्यका बाहिरबाट धेरै नेता कार्यकर्ताहरू आएकाले खानपान तथा हावापानी परावर्तनका कारण धेरै जनालाई मौसमी फ्लू र झाडापखालाको समस्या देखिएको छ ।

त्यस्ता बिरामीहरूलाई झाडावान्ता रोक्ने औषधिहरू, जीवनजल, सिटामोल दिने र उनिहरुलाई आवश्यक सल्लाह सुझाव दिने गरिएको छ । अहिलेसम्म अस्पताल नै भर्ना गर्नुपर्ने अवस्थाका बिरामीहरू आएका छैनन् ।

पछिल्लो समय प्रेसर, सुगर लगायतका दीर्घरोगी भएका बिरामीहरूको सङ्ख्या बढ्दो छ । यो हेल्थ डेस्कमा त्यस्ता बिरामीहरू कतिको आएका छन् ? 

हेल्थ डेस्क स्थापना भएको पहिलो दिनमै आइतबार ४ सय भन्दा बढिले सुगरको जाँच गराएका  छन् भने तीन सय बढिले प्रेसर जाँच गराएका छन् । तीमध्ये अधिकांश बिरामी प्रेसर तथा सुगरको औषधी खाइरहेका छन् । 

 उनीहरूको खानपान तथा जीवनशैली नमिल्दा प्रेशर तथा सुगर बढेको पाइएको छ ।

सामान्य जिवनजल र सिटामोल बाहेक अन्य कस्तो खालको औषधिहरू राख्नुभएको छ ? 

सामान्यदेखि लिएर अति आवश्यक प्रेसर, सुगर, थाइराइड, दमलगायतका दीर्घरोगीहरूले प्रयोग गर्ने औषधिहरू गरी करिब १५ सय प्रकारका औषधिहरू राखिएको छ ।

नियमित औषधि खाने बिरामीहरू कतिपयले खान बिर्सेको भन्दै आउँछन्, त्यस्ता बिरामीहरूलाई आवश्यक औषधी दिने गरिएको छ । त्यस्तै कसैलाई एक्कासी सुगर, प्रेशर बढेको छ भने आवश्यक जाँचहरू गरेर औषधि दिन्छौँ । 

तपाईँहरूले दिने मेडिकल किट ब्यागमा के के हुन्छ ? 

मेडिकल किट ब्यागमा टुथपेस्ट, ब्रस र सन्चो राखिएको छ । अन्य औषधिहरू चेकजाँच गरेर मात्रै दिने गरिएको छ ।

सुगर प्रेशरको समस्या कस्ता व्यक्तिमा बढी देखिने गरेको छ ? 

महाधिवेशनमा २५ वर्षमाथि सबै उमेर समूहका व्यक्तिहरू सहभागी भएका छन् । प्रायः सबैले सुगर, प्रेसर जाँच गराउँछन् । तर, ४० माथिका धेरै व्यक्तिहरूमा सुगर प्रेसरको समस्या देखिने गरेको छ ।

महाधिवेशनमा धेरै महिलाहरू पनि सहभागी हुनुहुन्छ । उहाँहरुको प्रयोगको लागि सेनेटरी प्याडको व्यवस्था छ की छैन ? 

पर्याप्त मात्रामा सेनेटरी प्याडको व्यवस्था गरिएको छ । आवश्यक परेका महिलाहरूले आफैँ आएर लिने गरेका छन् । 

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ८ : १० बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका