काठमाडैंस्थित सिद्धार्थ पब्लिक एकेडेमीमा पढ्ने एक बालकका अभिभावकले गुनासो गरे । बच्चाले स्कुलमा पाइन्टमै पिसाब गरेछन् । त्यो पिसाब खुट्टा हुँदै बगेर जुत्ताभित्रसमेत पुगेको थियो । भित्री वस्त्र, पाइन्ट र मोजासमेत पिसाबमा चुर्लुम्म डुबेको थियो । स्कुलबाट त्यस्तो अवस्थामा सात वर्षको बच्चा घरमा फर्किदा अभिभावकको मन कति अशान्त भयो होला ?
पाइन्ट फुकालेर किन पिसाब नगरेको भनेर सोध्दा बच्चाको उत्तर थियो– ‘बेल्ट र पाइन्टको बटन खोल्न सकिन ।’ तर पिसाब रोक्न नसकेपछि ड्रेसमै पिसाब गर्नु परेको बाध्यता बच्चाले सुनाए । अब अर्को समस्या बच्चाले थपिदियो । तर बच्चाको कुरा जायज थियो ।
श्याम शर्मा(नाम परिवर्तन) ले भने, ‘प्रिनर्सरी, नर्सरीदेखि नै बालबालिका स्कुल जान सुरु गर्छन् । त्यो भनेको करिब ३ देखि चार वर्षका बालबालिका हुन् । नर्सरीदेखि कक्षा एकसम्मको बच्चाहरू आफ्नो ड्रेस सम्हाल्न सक्ने भइसकेका हुँदैनन् । हरेक स्कुलको ड्रेस कोड प्राय त्यस्तै छ । व्यापारिक हिसाबले पनि धेरै स्कुलले ड्रेस कोड बनाएका छन् । व्यापारिक नहुँदाको अवस्थामा पनि अधिकांश स्कुलको ड्रेस त्यस्तै छ ।’
‘बच्चाहरू मिलाएर चेन लगाउन सक्दैनन् । कहिले दायाँ बढी र कहिले बायाँ बढी फर्किन्छ । त्यसरी बच्चा सहज हुँदैन ।
आफूलाई भइरहेको अप्ठ्यारो पनि कतिपयले थाहा पाउँदैनन्’ शर्मा थप्छन्, ‘थाहा पाउनेले पनि भन्न सक्दैनन् र कष्टमा बसिरहेका हुन्छन् । उनीहरू खेलिरहेका पनि हुन्छन् । ट्रयाक हप्तामा दुई दिन लगाउने हो । त्यो बालबालिकाको लागि सजिलो छ । त्यसमा गेटिस हुन्छ । टाँक तथा बेल्ट लगाउन पर्दैन ।’
स्कुलहरूले बालमैत्री ड्रेस कोडको बारेमा गम्भीर भएर सोच्नुपर्ने शर्माको भनाइ छ । ‘पिसाब करिब एक देखि दुई घण्टामा आउँछ । गई राख्नुपर्यो । एउटै काम बारम्बार गर्नुपर्यो । शौचालय जाँदा टाँक वा बटन भएको र चेन लगाउनु पर्ने कपडा खोल्न र लगाउन मुस्किल हुन्छ । बेल्ट फुत्किराखेको हुन्छ’ भन्छन्, ‘शौचालय जाँदा र खेल्दा फुत्कियो भने उनीहरूले आफै राम्रोसँग लुगा लगाउन सक्दैनन् । सर्ट, पाइन्ट र टाई कुनै अभिभावक वा केयरटेकरको निगरानीमा मात्रै लगाउन दिन उचित हुन्छ ।’
काठमाडौं बुद्धनगरकी स्थायीवासी सञ्जिता महर्जनको छोरा रिसव ‘काठमाडौं मोडल सेकेण्डरी स्कुल’ मा कक्षा एकमा पढ्दै छन् । सञ्चितालाई सधैँको पिरलो के छ भने छोरालाई बिहान स्कुल कसरी पुर्याउने ?
उनी भन्छिन्, ‘स्कुल पठाउन धेरै मुस्किल हुन्छ । स्कुल जाने बेलामा सधैँ रुन्छ । मैले स्कुलमा बच्चाहरूको लागि वातावरण पनि बुझेँ । बालबालिकालाई पिट्ने गरेको पनि छैन । पढाइको धेरै बोझ पनि छैन । पढाइसँगै अधिकतम खेलकुद नित्य छ । बालबालिका खुसीले बस्ने वातावरण स्कुलमा छ । सबै बालमैत्री छ ।’
‘तर पनि छोरा हरेक दिन स्कुल जाने भनेपछि मरिहत्ते गरेर रुन्छ । जान मान्दैन । कारण बुझ्दै जाँदा उसलाई स्कुलको ड्रेसले समस्यामा पार्ने रहेछ’ महर्जन थप्छिन्,‘ घरबाट हामीले ड्रेस लगाएर पठाइदिन्छौ । स्कुलमा शौचालय गर्ने बेला खोलेपछि फेरि उस्तै गरी लगाउन जान्दैन । आफ्नो समस्या मिसहरूसँग भन्न अप्ठ्यारो लाग्ने रहेछ ।’
ड्रेस बिग्रने डरले पिसाबसमेत बच्चाले रोकेर बसेको उनले दुखेसो गरिन् । हेर्दा आफ्नो मात्रै सानो समस्या भए पनि स्कुलहरूले ड्रेस कोडको बारेमा गम्भीर भएर छलफल गर्नुपर्ने उनी बताउँछिन् । पढाइको बोझ भन्दा बढी ड्रेसको समस्याले बच्चा स्कुल जान मन नगर्ने तथ्य सत्य भएको उनी स्वीकार गर्छिन् ।
त्यसै गरी पूर्व नवलपरासी मध्यविन्दु नगरपालिका–७ स्थित लक्ष्मी आदर्श आधारभूत विद्यालयकी शिक्षिका सिर्जना न्यौपाने आफ्नो अनुभव सुनाउँदै भन्छिन्, ‘मन्टेश्वरीको बालबालिकालाई छुट्टै किसिमको हेरचाह हुन्छ । नर्सरी, एलकेजी र युकेजीकोलाई पनि विशेष ख्याल गरिन्छ । कक्षा एक, दुई र तीनसम्मका विद्यार्थी पनि सानै हुन्छन् । तर उनीहरूलाई विशेष हेरचाह छैन ।’
धेरै सानो उमेरमा विद्यालय पठाउने संस्कारले अहिले बालबालिकाले यस्तो समस्या भोग्न परेको उनी सुनाउँछिन् ।
भन्छिन्, ‘अधिकांश आमाहरू अहिले जागिरे हुन्छन् । वा जागिरमा जानकै लागि सानैमा बच्चा स्कुल भर्ना गर्ने चलन छ । राम्रोसँग लुगाको टाँक पनि लगाउन नसक्ने बच्चाहरू आफूभन्दा बढी वजनको किताब बोकेर स्कुल जानु परिरहेको बाध्यता हामी अभिभावकले नजरअन्दाज गरिरहेका छौँ ।’
‘आफूले समय दिन नसकेर बच्चाहरू स्कुलको जिम्मामा छोडेका छन् । जसको सबैभन्दा ठूलो मार बालबालिकालाई परेको छ’ न्यौपाने थप्छिन्, ‘स्कुलमा केटाकेटी हेर्ने कर्मचारी छन्, तर हरेक समय उपलब्ध नहुँदा केटाकेटी समस्यामा पर्छन् ।’
ड्रेस बालमैत्री नहुनु र अत्यन्त सानो उमेरमा बच्चा स्कुल पठाउने प्रवृत्तिले बालबालिकाले मानसिक रूपमा निकै कष्ट भोगिरहेको सिर्जनाको गुनासो छ । यो विषय स्कुल व्यवस्थापक, अभिभावक र स्थानीय सरोकारवालाहरूले बहस गर्नुपर्ने एजेन्डा भएको उनको भनाइ छ ।
बालबालिकासम्बन्धी पुस्तकका लेखक तथा बाल अभियन्ता दामोदर न्यौपाने स्कुलले उपलब्ध गराएको अथवा तोकिदिएको ड्रेस कोड बालमैत्री नभएको बताउँछन् ।
उनी भन्छन्, ‘नेपालमा हरेक क्षेत्र बालमैत्री छैन । त्यसमध्येको एक हो– स्कुल ड्रेस । पहिलो कुरा पोसाक आरामदायी छैन । स्कुलले तोकिदिएको ड्रेस कोहीको साइज मिल्दैन । कसैको डिजाइन मिल्दैन । धेरैको रुचि पनि मिल्दैन ।’
‘स्कुलमा पढाइमात्रै हुँदैन । खेल र नृत्यलगायत अन्य विभिन्न क्रियाकलाप हुन्छ । ड्रेस पढाइलाई मात्रै फोकस गरिएको छ । अन्य क्रियाकलापलाई ध्यान दिएको छैन, न्यौपाने थप्छन्, ‘पूर्व किशोर अवस्थामा बच्चाहरू आफ्नो रुचि व्यक्त गर्ने हुन्छन् । त्यो भन्दा अगाडि अभिभावक तथा स्कुलले जस्तो दिन्छ, त्यसमै खुसी हुन्छन् । तर एक समयमा आएर उनीहरू यस्तो लगाउँछु । मलाई यस्तो मन पर्छ भन्न थाल्छन् ।’
अर्को स्कुलहरूमा मौसममैत्री ड्रेस नभएको उनको आरोप छ । ‘स्वेटर र ज्याकेट अत्यधिक चिसोमा नधान्ने किसिमका छन् । कोसिस गरिरहेका छन् स्कुलहरूले तर कार्यान्वयन गर्न सकिरहेका छैनन् ।’
उनले भने, ‘हाम्रो समयमा लुगा नै थिएन । समयअनुसार आरामदायी परिवर्तन हुँदै जान्छ । हिजोको समय र आजको समय दाँज्नै मिल्दैन । सहजतामा ध्यान दिनु आवश्यक छ । पुरानो पुस्ताले आफ्नो कुरा लाद्नु समय सान्दर्भिक हुन्न ।’
बालबालिका सम्बन्धी ऐन, २०७५ परिच्छेद–३ को दफा १६ मा बालबालिकाको सर्वोपरि हितलाई प्राथमिकता दिनुपर्ने व्यवस्था छ । जसले बालमैत्री प्रक्रिया अपनाउनुपर्ने उल्लेख छ ।
परिच्छेद–९ दफा ७२ मा बालबालिकाप्रतिको दायित्व पूरा नगर्ने व्यक्ति, संस्था वा निकायको प्रमुखलाई ५० हजारसम्मको जरिवाना तथा एक वर्षसम्म कैदको सजाय तोकिएको छ ।
प्रतिक्रिया