मंगलसेन आक्रमणको २३ वर्ष : ध्वस्त संरचना अझै अधुरा, टुंगिएन पुन:निर्माण | Khabarhub Khabarhub

मंगलसेन आक्रमणको २३ वर्ष : ध्वस्त संरचना अझै अधुरा, टुंगिएन पुन:निर्माण

समय बित्यो, त्रास र घाउ मेटिएन 


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

धनगढी– २०५८ साल फागुन ४ गते शनिबारको दिन थियो । सरकारी कार्यालय र विद्यालय विदा थिए । दिनभर कर्मचारी, विद्यार्थीले अरु शनिबार झैँ व्यक्तिगत सरसफाइ र विदाको आनन्द लिइरहेका थिए । 

तर सेना प्रहरीको सुरक्षा ड्यूटी भने नियमित जस्तै थियो । संकटकालिन अवस्था सेना प्रहरीको सुरक्षा गस्ती भइरहन्थ्यो । त्यो बाहेक अछाम सदरमुकाम मंगलसेन र साँफेबगरमा स्थानीयको दिनचार्यमा कुनै फेरबदल थिएन । 

दिन ढल्किँदै गयो । स्थानीय घरभित्र पसे । सुरक्षामा सक्रिय सेना प्रहरी गस्ती पनि ब्यारेकतिर फर्कियो । तर त्यही बेला तत्कालीन विद्रोही नेकपा माओवादी हातहतियारसहित मंगलसेन र साँफेबगर पस्न थाले । जब रातको १० बज्यो । एकै पटक सबैको होस उड्ने परिस्थिति बन्यो । मस्त निन्द्रा सुतेका स्थानीय बिउँझिए । कोकाहल र रुवाबासीको आवाज अनि बन्दुकको दोहोरो फाइरिङ मात्रै चल्यो । घरबाहिर निस्किने अवस्था थिएनन्, जीवन सकिएको भन्दै स्थानीय घरभित्रै रातभर त्रासपूर्ण अवस्थामा जागराम बसेका थिए । 

जुन दिन विशेष गरी अछामी र समग्र नेपालीका लागि कालो दिन थियो । माओवादी पक्षले जिल्ला सदरमुकाम मंगलसेन र साँफेबगर एकैसाथ आक्रमण गरी ठूलो जनधनको क्षति गराए । आक्रमणमा प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्री, उनकी पत्नी, राष्ट्रिय अनुसन्धानका निरीक्षकसहित मंगलसेनमै १२२ जनाले ज्यान गुमाउन बाध्य भए । 

मारिनेहरूमा ५३ जना नेपाली सेना, ५९ प्रहरी, २ जना निजामती कर्मचारी र ८ जना सर्वसाधारण थिए । भने त्यस्तै, साँफेबगर विमानस्थल सुरक्षा गार्डमा कार्यरत २७ जना प्रहरी जवान पनि त्यसै दिन माओवादी आक्रमणमा मारिए । दुवै ठाउँमा माओवादी सेनाले एकसाथ आक्रमण गरेका थिए । उता विद्रोही माओवादी तर्फको क्षतिको अझै यकिन विवरण उपलब्ध छैन ।

त्यही घटना भएको २३ वर्ष पुरा भएको छ । अछामवासीले त्यो घटना अझै बिर्सिएका छैनन् । पछि जन्मेकाहरूले सुनाएको कुरा मात्रै थाह पाए । तर प्रत्यक्ष दर्शीका हकमा अझै पीडा, अझै त्रास बाँकी नै छ । ज्यान भगवानले बचाइदिएकोमा खुसी हुनेहरू पनि मंगलसेन र साँफेबगरमा भेटिने गरेका छन् । तर उनीहरूलाई युद्धको त्रास र त्यो रातको बीभत्स मानव हत्याको चोट अझै पुरिएको छैन । 

माओवादीले आफ्नो सशस्त्र युद्धको सबैभन्दा ठूलो आक्रमण मानिएको यस घटनाले अछामको समग्र विकासमा गम्भीर असर पुर्‍याएको थियो । नेपाली कांग्रेसका नेता तथा घटनाका प्रत्यक्षदर्शी नमबहादुर शाहीका अनुसार उक्त आक्रमणपछि अछामका सरकारी संरचना तहसनहस भएका थिए । मंगलसेनस्थित तत्कालीन जिल्ला प्रहरी कार्यालयको गेटमा रहेको विद्युत् पोल आज पनि त्यो भयावह रातको स्मरण गराउँछ । 

‘बन्दुकधारी समूहले बालमन्दिर, नाइके टुडो, खुल्लेतोला, साबिकको कारागार र कुडबस्तीको बीच गाउँबाट गरी ५ ठाउँबाट एकैसाथ ध्वस्त पारिएको अछाम दरबार अझै अधुरै देखिन्छ । अछामको सम्पत्ति र पहिचानको रूपमा थियो, अछाम दरबार । ध्वस्त हुनु पहिला मंगलसेन पुग्नेहरूले अझै दरबारलाई बिर्सिन सकेका छैनन् ।  

जितपछि माओवादीहरू विजयको जुलुस लगाएर बाहिरिए । लगत्तै थप मद्दतका लागि तत्कालीन शाही नेपाली सेनाको हेलिकोप्टर आयो । जलिरहेको बजारलाई फन्को लगाएर सेनाको हेलिकप्टर बजार भन्दा तल अवतरण गर्‍यो र हेलिकोप्टरबाट झरेका सैनिकले अन्धाधुन्ध गोली बर्साउँदै बजार प्रवेश गरे । 

राती भरिको युद्ध केही समय स्थगित जस्तो भए पनि फेरि मद्दतका लागि आएका सेनाको व्यवहारले माओवादी हमलाबाट बाँच्न सफल मंगलसेनवासीलाई अर्को विपत्ति थपिएको थियो । काठ चिरान गर्ने र सडक खन्ने ज्यामीले समेत सेनाको गोली लागेर ज्यान गुमाएका थिए । 

‘आक्रमणमा बाँचेका डिएसपी र जिल्ला विकास समिति अछामका तत्कालीन सभापति तथा हालका नेकपा एमाले प्रदेश कमिटीका अध्यक्ष कृष्णप्रसाद जैसीसहितले सेनालाई सहजीकरण गरेपछि धेरैको ज्यान जोगिएको थियो । 

आक्रमणका कारण ऐतिहासिक अछाम दरबारसहित सम्पूर्ण सरकारी कार्यालय संरचना ध्वस्त भए । नागरिकको बैंकमा रहेको नगद र गरगहना माओवादीले लुटे । कतिपयले आफ्नो पैसा फिर्ता पाएनन् । त्यो पीडा अझै स्थानीयसँग बाँकी नै छ । आक्रमणपछि अछामको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्र कमजोर भयो, जसको असर अहिलेसम्म पनि देखिन्छ ।

शान्ति प्रक्रियामा आएपछि माओवादी पटक–पटक सत्तामा पुगे पनि अछाम र अछामीको अवस्थामा मात्रै होइन, ध्वस्त पारिएका संरचना पुन निर्माणमा समेत खासै सुधार हुन सकेको छैन । अछाम दरबार पुन निर्माणकै क्रममा छ । त्यही युद्धले अछामलाई दशकौँ पछाडि मात्रै धकेलेन, युद्ध त्रास र पीडाले एक पुस्तालाई मानसिक चोट दिइरहेको छ । 

त्यो रात सम्झँदै मंगलसेनवासी अहिले पनि भक्कानिन्छन् । त्यो बेला ध्वस्त पारिएका सरकारी कार्यालयहरू नयाँ स्थानमा सारिए, तर स्थानीय नागरिकलाई अझै पनि सास्ती छ । पुनर्निर्माणमा अर्बौँ रकम खर्च भए पनि आर्थिक विकासको गति सुस्त छ । लगानीको वातावरण नबन्दा जिल्लाको समग्र उन्नति प्रभावित बनेको छ । जुन दिनलाई अछामवासीले कालो दिनका रूपमा लिने गरेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ६ : ३० बजे

सामाजिक सञ्जालमा सरकार र एमालेको विरोध गर्नेको प्रतिरोधमा उत्रिन कार्यकर्तालाई ओलीको निर्देशन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मिसन ०८४ मा बहुमत ल्याउन

उरुग्वेका राष्ट्रपति मुजिकाको ८९ वर्षको उमेरमा निधन

एजेन्सी– उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू तथा

नाउपाबाट कैलाश चौधरी फेरि सुदूरपश्‍चिममा मन्त्री बन्दै, घूसको अडियोले गएको थियो लक्ष्मणकिशोरको पद

काठमाडौं- रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले कैलाश

सरकारी कारोबारमा बेरुजु बढ्नु सुशासनका लागि चुनौती : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकले आर्थिक वर्ष २०८०-२०८१ को

नेपालको जलविद्युतमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पानको आग्रह

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूका संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपालको