एकैदिन सडकमा निस्किँदै राजावादी र कम्युनिस्ट, के गर्ला सरकार ? | Khabarhub Khabarhub

एकैदिन सडकमा निस्किँदै राजावादी र कम्युनिस्ट, के गर्ला सरकार ?

चैत १५ गते समाजवादी मोर्चालाई काउन्टर दिने तयारीमा दुर्गा प्रसाईँ



काठमाडौं– राजावादीहरू उत्साहित भइरहेका बेला नेकपा माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चाले पनि सडकको बाटो रोजेको छ । तत्काल सत्ता तलमाथि हुने सम्भावना नदेखेपछि समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्न लागेको हो ।

पछिल्लो समय आफूलाई सबैभन्दा कडा राजावादी देखाउन थालेका दुर्गा प्रसाईंले पनि त्यही दिन काठमाडौंमा आन्दोलन घोषणा गरेका छन् । चैतलाई आन्दोलनको महिनाका रुपमा पनि चिनिन्छ । तर गणतन्त्रवादी र राजावादी एकै दिन सडकमा निस्किँदा केही तलमाथि हुने हुने चिन्ता पनि बढेको छ ।

प्रसाईंले अब राजा फर्काउने निर्णायक समय आएको भन्दै आन्दोलन चर्काउने घोषणा गरिसकेका छन् । गत फागुन २५ गते राजा फर्काउनेहरूले स्वागतका नाममा एक चरण आन्दोलन गरिसकेका छन् । राजावादीको आन्दोलनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेमौसमको बाजा भनिसकेका छन् ।

सरकार र राजावादीको विरोधमा मोर्चा सडक तताउँदै

अहिले नेपालमा दुईवटा तनाव छ । पहिलो, दुईतिहाइनजिकको केपी शर्मा ओली नेतृत्वको सरकारले नतिजा दिन नसक्नु । अर्को त्यही जगमा राजावादीले पनि आन्दोलन गरेर तनावतिर लैजान खोज्नु । नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीलगायतको सरकार भए पनि परिणाम नदेखिँदाको असन्तुष्टिलाई राजावादीले उपयोग गर्न खोजेका छन् ।

उता समाजवादी मोर्चा पनि सरकारविरुद्ध नै सडकमा जाँदैछ । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र संसदीय राजनीतिमा नआएको नेपाल कम्युनिस्ट पार्टी छन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा देखिएको समस्या र राज्यसत्ताको बागडोर सम्हालेकाको अलोकतान्त्रिक गतिविधिका कारण नेपाली जनताका अधिकार कुण्ठित हुँदै गएकाले सडकमा जानुपरेकोे मोर्चाको निष्कर्ष छ ।

नौ महिनाअघि असारमा प्रधानमन्त्रीबाट बिदा भएका प्रचण्डले प्रतिनिधि सभाबाटै राजावादी सडकमा आउनुको कारण सरकार नै भएको दाबी गरेका थिए ।

सरकारले भ्रष्टाचार, कमिशनखोरी र कालोबजारी बढाउँदा अर्थतन्त्र सङ्कटग्रस्त भएको बताएका छन् । यति हुँदा पनि सरकारले अन्देखा गरेको आरोप उनले लगाए । वर्तमान सरकारकै कारण नेपाली जनताको जनजीविका संकटग्रस्त भएको प्रचण्डको निष्कर्ष थियो ।

‘सरकार बिचौलिया दलालहरूको स्वार्थसिद्धिमा केन्द्रित छ । लोकतान्त्रिक मूल्य मान्यताको उपहास गर्दै छ । अध्यादेशमार्फत् सरकार चलाउने, सदन छल्ने, र संसद्मा दर्ता विधेयकहरू नियन्त्रण गरी राख्नेमा उद्यत छ’, उनले भनेका थिए, ‘जनतामा आक्रोशको आगो ज्यामितीय रूपमा बढेको छ । यो लोकतन्त्रविरुद्ध प्रयोग हुने डर बढेको छ । प्रतिगामीहरू नारायणहिटीको गेटैमा पुग्दा पनि सरकार सुध्रिएन । सरकारले यसलाई जनताको आक्रोशका रूपमा बुझ्नुपर्छ ।’

प्रचण्डले यसो भनेपछि चैत २ गते समाजवादी मोर्चाले संघीयता र गणतन्त्रविरुद्ध भइरहेको भन्दै प्रदर्शन गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रका महासचिव देव गुरुङ सरकारलाई खबरदारी र राजावादीलाई चेतावनी दिन आफूहरू सडक आउनुपरेको बताउँछन् ।

‘गणतन्त्रको रक्षा र नेपाली विशेषताको समाजवादको दिशामा अगाडि बढ्नु वर्तमान राष्ट्रिय राजनीतिको मुख्य कार्यभार हो । यसको जिम्मेवारी अहिले समाजवादी मोर्चामा छ’, गुरुङले भने, ‘सरकारको मनोमानी, देश एवम् जनताको हितविपरीत गलत क्रियाकलापका कारण जनतामा पैदा भएको असन्तुष्टि धमिलो पानी बनाई राजतन्त्र पुनस्र्थापनाको षड्यन्त्रमा प्रतिगामी लागिपरेका छन् । यसको प्रशय सरकारले पनि दिइरहेको छ । किनकि सरकारले जनतामा आशा भर्न सकेन ।’

उनी देशमा अशान्ति मच्चाउने छुट कसैलाई नभएको बताउँदै गणतन्त्रलाई हल्लाउने काम गर्न नहुने तर्क गर्छन् ।

नेकपा एकीकृत समाजवादीमा उपाध्यक्ष राजेन्द्र पाण्डे पनि गणतन्त्रवादी शक्तिहरू एकजुट भई प्रतिगमन र प्रतिक्रियावादीहरूको षडयन्त्रलाई विफल पार्न सडकमा आउन लागेको दाबी गर्छन् ।

‘हामीले रगतसँग साटेर गणतन्त्र ल्याए थियौँ । राजावादीमा आँट बढाउने काम गणतन्त्रवादी शक्तिहरूबाटै भएको हो’, उनले भने, ‘दुई ठूला दलको सरकारले डेलिभरी दिन नसक्दा समस्या भयो । सत्ताकालाई एउटा र बाहिरकालाई अर्को कानुन लगाउँदा सडक अशान्त छ ।’

माओवादी उपाध्यक्ष पम्फा भुसालले पनि केही समयअगाडि खबरहबसँग सरकारप्रति जनताको असन्तुष्टि रहेकाले राजावादीले त्यसको सेन्टिमेन्ट क्यास गर्न खोजेको बताएकी थिइन् । ‘हामीले लामो संघर्ष गरेर ल्याएको गणतन्त्र त्यति कमजोर छैन । सरकारलाई घचघच्याउन र प्रतिक्रियावादीलाई सचेत गराउन सडकमा जाँदैछौँ’, उनले भनेकी थिइन् ।

राजावादी सडकमा निस्किँदैमा आत्तिनुपर्ने अवस्था आएको हो भन्ने प्रश्नमा थप्छन्, ‘गणतन्त्र कमजोर भएको छैन । तर गणतन्त्रवादीकै कारण राजावादी सडकमा आएको देखिन्छ । हामी पनि सुध्रिनु पर्छ, सरकारमा भएका र राजावदीहरु पनि सुध्रियुन् ।’

माओवादी महासचिव गुरुङका अनुसार अहिलेसम्म मोर्चाको कार्यक्रमस्थल निर्धारण भएको छैन । उनले भने, ‘कार्यक्रमस्थल निर्धारण भएको छैन । काठमाडौंमा गर्ने हो, ठूलै जनमत भेला हुन्छ ।’


मोर्चालाई काउन्टर दिँदै राजावादी

पूर्वराजा ज्ञानेन्द्र शाह गण्डकी प्रदेशको भ्रमण सकेर फागुन २५ गते काठमाडौं फिर्ता भए । उनी काठमाडौं आउँदा स्वागतका राजावादी दल राप्रपा र राप्रपा नेपाल सहभागी थिए । राजा फर्काउने भन्दै हिँडेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पनि त्यहीँ भिडमा मसिए । उनी आफ्ना केही कार्यकर्तासहित पूर्वराजकै शैलीमा गाडीमा देखिए । त्यसपछि हौसिएका प्रसाईंले पत्रकार सम्मेलन गरेर राप्रपा र राप्रपा नेपालभन्दा आफू नै ठूलो राजावादी भएको बताए ।

उनले आफूलाई राप्रपाका नेताहरूले ‘गोठालो’ सम्झिएको आरोप लगाए । आफू राप्रपाको गोठालो नभएको उनको जिकिर गरे । यतिमात्र होइन, निर्मल निवास छिर्न नदिएपछि पूर्वराजाको उनको सचिवालय ठिक नभएको तर्क गरे । उनले निर्मल निवाससम्म पुर्‍याउने कार्यक्रम आफूले आयोजना गरेको तर त्यहाँ राप्रपाका नेताहरू घुसेर गाडीमा झुन्डिएको आरोप लगाए ।

उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपाल अध्यक्ष कमल थापासँग सङ्गत नै नगर्ने यदि गर्नुपरे संसद् छाडेर सडक आउनुपर्ने तर्क गरे । ‘म सङ्गत गर्दा राजाकै गर्छु । आन्दोलन गर्नुपर्छ भने राजासँग मिलेर गर्छु । गोठालाहरूसँग सडकमा गएर नाटक देखाउँदिनँ’, उनले भने, ‘यो कुरा सबै जनालाई हेक्का रहोस् । क्लियर होस् । म कसैको गोठालो होइन ।’

त्यसपछि राजावादी र गणतन्त्रवादी दलहरूलाई देखाउन भन्दै उनले चैत १५ गते आन्दोलन गर्ने भएका छन् । निर्णायक समय आउँदै गरेकाले तयार रहन भनेका छन् । प्रसाईंले गर्न लागेको सडक आन्दोलनमा राप्रपा र राप्रपा नेपालले साथ नदिने भएका छन् । यसबारे दुवै पार्टीसँग प्रसाईंले छलफल गरेका छैनन् ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार कोही नेता–कार्यकर्ता प्रसाईंको आन्दोलनमा जाँदैनन् । ‘१५ गते आन्दोलनमा जाने कुनै छलफल र निर्णय भएको छैन । किन जानु र ? अरू दिन छन् नि’, श्रेष्ठले खबरहबलाई भने, ‘हामी यो आन्दोलनमा सहभागी हुने छलफलमा छैनौँ ।’

नयाँ आन्दोलन र योजनाबारे आइतबार राप्रपाको केन्द्रीय कार्यकारिणी बैठक बसेको उनले बताए ।

प्रसाईंको आन्दोलनमा १० हजार मानिस उतार्ने लक्ष राखिएको उनका समर्थक बताउँछन् । यसअघि पनि प्रसाईंले हजारौँ मान्छे उतार्ने भनेका थिए, तर उनले भनेजित सहभागी भएनन् ।

फाइल तस्बिर

एमालेपछि मोर्चासँग भिड्दै

समाजवादी मोर्चाले शनिवार दिउँसो सडक प्रदर्शन गर्ने घोषणा गरेको थियो । मोर्चाको घोषणापछि हौसिएका प्रसाईंले त्यही दिन जनप्रदर्शन गर्ने घोषणा गरे । यसअगाडि पनि उनले पटक–पटक एमालेसँग आफ्ना प्रदर्शन जुधाउने गरेका थिए । सुरुमा माओवादी, त्यसपछि एमाले र अहिले स्वतन्त्र भएका प्रसाईं ठूला शक्तिसँग जोरी खेलेर शक्तिशाली हुने योजनामा छन् । उनको सचिवालयका अनुसार बानेश्वर भन्दा उत्तरपूर्व कोटेश्वर क्षेत्रमा प्रदर्शन हुन सक्छ ।

दलहरू सच्चिनुपर्छ : विश्लेषक

राजनीतिक विश्लेषक सुरेन्द्र लाभ अहिलेप्रसाईंले थालेको राजा फर्काउने आन्दोलन बेमौसमको फल भएको संज्ञा दिन्छन् । उनी राजावादी शक्तिहरूले नै एक अर्कोको खुट्टा तान्ने गरेकाले आन्दोलन सफल नहुने बताउँछन् । तर गणतन्त्रवादी दलहरूले जनअपेक्षाअनुसार काम नगरे खतराको सङ्केत पनि हुन सक्ने उनको बुझाइ छ । त्यसैले गणतन्त्रवादी दलहरू जनमैत्री हुनुपर्ने उनी बताउँछन् ।

समाजवादी मोर्चा सडकमा आउने कुरा सामान्य भएको बताउँदै उनी प्रसाईंको पछि लागेर कोही सफल नहुने बताउँछन् ।

‘राजा फर्कने कुरा बेमौसमको भयो । यसले गणतन्त्रवादीले जनअपेक्षा पूरा गरेनन् भन्ने सङ्केत गर्छ,’ लाभले भने, ‘समाजवादी मोर्चा सडकमा आएर सरकारलाई दबाब दिनु ठिकै हो । तर, राजावादीलाई परास्त गर्न सडकमा आएको भए पहिले दलहरू सच्चिनुपर्छ । दुर्गाले आफू पपुलर हुन यस्तो गरिरहन्छन् । यो लोकतन्त्रको सुन्दर पक्ष हो । शान्तिपूर्ण प्रदर्शन गर्न पाइन्छ ।’

उनी दलहरूले कार्यशैली नसुधारे अन्य शक्तिहरू समयक्रममा थपिइरहने बताउँछन् ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ८ : ०७ बजे

प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

इन्जुरी समयमा यमाल र टोरेस चम्किँदा दुई गोलले पछि परेको बार्सिलोनाको कम ब्याक जित

काठमाडौं – स्पेनिस ला लिगाको आइतबार राति भएको खेलमा दुई

केही प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रहरी महानिरीक्षक बसन्त कुँवर घर जाँदै, को बन्ला नयाँ आईजीपी ?

काठमाडौं– नेपाल प्रहरीको नेतृत्व सम्हालिरहेका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर आजैदेखि

एसइईको सम्पूर्ण तयारी पूरा : पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुँदै

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक