वीर अस्पतालमा सास्ती- उपचारको आशमा लाइनमै उभिएर बित्छ बिरामीको दिन | Khabarhub Khabarhub

वीर अस्पतालमा सास्ती- उपचारको आशमा लाइनमै उभिएर बित्छ बिरामीको दिन



काठमाडौं– एउटा स्वस्थ मानिस सामान्यतया अस्पतालमा धाउँदैन । स्वास्थ्यमा समस्या भएपछि मात्रै अस्पताल धाउनै पर्ने बाध्यता आउँछ । कुनै प्रकारको पीडा भएपछि वा स्वस्थ मान्छे बिरामी लिएर उपचार गर्न अस्पताल पुग्छ । राजधानीका ठूला सरकारी अस्पतालमा रोग निको पार्ने विश्वासकाे केन्द्र ठानेर देशभरबाट बिरामी आउँछन् ।

सरकारी अस्पताल मध्यम र निम्न आयस्तरका मानिसमात्रै उपचार गर्ने थलाे हुन् । धनी वर्गका मान्छे त्यति आउँदैनन् । आएको पनि देखिँदैन । रोग निको हुने विश्वास बोकेर वीर अस्पताल छिरेका बिरामी थकित र थिल्थिलो बन्छन् । बिरामी निको नै त हुँदैन नभनौँ तर, सरकारी अस्पतालका बेथितिले अर्काे एउटा राेग थपिदिन्छ ।

बिरामीलाई टिकटको लाइन, डाक्टर चेकजाँचको लाइन, स्ट्याम्पको लाइन, मितिको लाइन र रिपोर्टको लाइनले थप रोगी बनाइदिन्छ । थप गरिब गराउँछ । सायद कति बिरामीको अकालमै मृत्यु हुन्छ । जसको राज्यसँग कुनै तथ्याङ्क नै छैन ।

स्वास्थ्य बिमा र सामाजिक कोषमा आबद्धलाई थप लाइन

सामान्यतया सबै सरकारी तथा निजी अस्पतालमा बहिरङ्ग उपचार (ओपीडी) पद्धति समान पाइन्छ । वीर अस्पतालमा बिरामीले एकपछि अर्काे लाइनकाे सामना गर्नुपर्छ । उपचारका लागि पहिला ओपीडीको टिकट हाेइन, टिकटका लागि टोकन लिनुपर्छ ।

याे अस्पतालमा एकै दिनमा हजारौँ बिरामी उपचारका निम्ति आउँछन् । बिहान साढेसात बजेदेखि अस्पतालमा डिजिटल प्रणालीबाट लाइनको लागि टोकन लिने काम सुरु हुन्छ । जुन टोकन नम्बर साढे ८–९ बजेसम्म झण्डै हजार पुगिसक्छ ।

डिजिटल टोकन नम्बरअनुसार सबै बिरामीले पालैपालो टिकट लिन्छन् । स्वास्थ्य बिमा र सामाजिक सुरक्षा कोषमा आबद्ध बिरामीले भने टिकट लिँदा नै आफूलाई प्रणालीमा आबद्ध गराएर टिकट लिने व्यवस्था छ ।

मङ्गलबारसम्म सामाजिक सुरक्षा कोषमा आबद्ध बिरामीलाई अस्पतालले अन्य सर्वसाधारणलाई लाग्ने टिकट शुल्कको तुलनामा दुई गुणा बढी बिल बनाएर त्यसमा फेरि ८० प्रतिशत छुट दिएरमात्रै टिकट दिने गरेको छ ।

सायद काठमाडौंको सबैभन्दा बढी चहलपहल हुने गल्लीमा जस्तै आधा दिउँसो बढी समयसम्म चहलपहल हुने वीर अस्पतालमा आउने बिरामीलाई कसैसँग गुनासो सुनाउने र झगडा गर्ने फुर्सद हुँदैन । किनकि त्यसो गर्‍यो भने उसको उपचार प्रक्रिया नै छुट्छ ।

टोकन लिएपछि बिरामीले पालैपालो टिकट लिएर आ–आफ्नो सम्बन्धित रोगको चिकित्सा विभागमा पुग्नुपर्ने हुन्छ । सामान्यतया केही विभागबाहेक धेरै विभागमा बिरामीको घुइँचो राम्रै देख्न सकिन्छ । त्यहाँ पनि बिरामी गएर दोस्रो पटक लाइन बस्न सुरु गर्छ ।

सामान्यतया एउटा विभागमा वरिष्ठ चिकित्सकदेखि एमबिबिएस चिकित्सकसम्म ४–५ जनासम्मले बिरामी बाँडेर पालैपालो हेर्ने गर्छन् । अधिकांश विभागमा बिरामीलाई पुगनपुग बस्ने व्यवस्था पनि मिलाइएको छ । यद्यपि सबै बिरामीलाई भने बस्ने ठाउँ पुग्दैन ।

चिकित्सकलाई देखाउने बेलासम्म बिरामीको अन्य खर्च, टिकट शुल्कबाहेक बढी खर्च भएको हुँदैन । चिकित्सकलाई देखाइसकेपछि मात्रै उसले औषधिमात्रै खाने वा थप परीक्षण गर्ने भनेर निर्क्यौल गरेर सिफारिस गर्छ ।

चिकित्सकले थप परीक्षण गर्नुपर्ने सिफारिस गरेमा बिरामीले तोकिएको परीक्षणका लागि पैसा तिर्नुपर्ने हुन्छ । औषधिको लागि मात्रै सिफारिस गर्‍यो भने औषधि किनेर घर फर्किन सक्छ ।

वीर अस्पतालमा गरिब तथा विपन्न वर्गले पाउने सहुलियत उपचारको सुविधा पाउने व्यवस्था छ । साथै, स्वास्थ्य बिमा र सामाजिक सुरक्षा कोषमा आबद्ध बिरामीलाई पनि सुविधा पाउने परीक्षण, उपचार र औषधिमा सहुलियत पाउने व्यवस्था छ ।

तर, विडम्बना झण्डै २ देखि ३ घण्टा समय लगाएर चिकित्सकलाई देखाएको स्वास्थ्य बिमा वा सामाजिक सुरक्षा कोषमा आबद्ध बिरामीले थप परीक्षणको लागि वा औषधि खरिदमा सहुलियत लिन पर्‍योभने उसको टिकटमा थप छाप लगाउनुपर्ने हुन्छ । वीर अस्पतालमा त्यस्तो लाइन लाग्ने व्यवस्था नयाँ र ठूलो निलो भवनमा गरिएको छ ।

ती स्वास्थ्य बिमा र सामाजिक सुरक्षा कोषमा आबद्ध बिरामीहरू सहुलियतको सुविधा लिनका लागि नयाँ भवनको छाप लगाउनका लागि मात्रै बनाइएको काउन्टरमा लाइन लगाउन पुग्छन् । जुन लाइनमा धेरै प्रौढ र वृद्ध मान्छेहरू देखिन्छन् ।
६ जना कर्मचारी रहेको सो काउन्टरमा असाध्यै ढिलो काम हुन्छ ।

काम गर्दागर्दै कर्मचारीले बीच–बीचमा इन्टरनेट गयो भन्छन् । उनीहरूलाई स्वास्थ्य बीमासँग सम्बन्धित बिरामीले रेफरल सिफारिस देखाउनुपर्ने हुन्छ भने सामाजिक सुरक्षा कोषमा आबद्ध बिरामीले परिचय–पत्रको फोटोकपी दिनुपर्ने हुन्छ । त्यो काउन्टरले डिजिटल कार्ड देखाएर मान्दैन ।

अहिलेको डिजिटल समयमा अधिकांश बिरामीले आफ्नो कार्ड भिन्दै बनाएर हिँड्दैनन्, त्योमात्रै होइन कि सामान्यतया अस्पताल वरिपरि फोटोकपी गर्ने ठाउँ हुँदैन । जुन वीर अस्पतालमा पनि छैन । फोटोकपी ल्याउन सक्ने बिरामीले सहुलियतको छाप पाउँछ भने फोटोकपी ल्याउन नसक्ने बिरामीले त्यो सुविधा पाउँदैनन् ।

सुरुमा टिकट काउन्टरमा स्वास्थ्य बिमा वा सामाजिक सुरक्षा कोषमा आबद्ध भएको भनेर डिजिटल कार्डको आधारमा नै टिकट दिने अस्पतालले सहुलियतको लागि छुट्टै सास्ती दिने गरी लाइनमा किन लगाउँछ भन्ने प्रश्न त छ नै । फेरि अहिलेको डिजिटल समयमा उसले डिजिटल कार्डलाई छाप लगाउने बेलामा मान्दैन ।

बिरामीले छाप लगाउने लाइनमा घण्टौँ बिताएपछि औषधि किनेर फर्किने रहेछ भने त फर्किन्छ । परीक्षणको लागि थप पैसा तिर्नुपर्ने रहेछ भने त्यसपछि फेरि पैसा तिर्ने काउन्टरको लाइनमा गएर उभिनुपर्छ । पैसा तिर्दातिर्दै धेरै बिरामीको त्यो दिनको अधिक समय बितिसकेको हुन्छ ।

त्यसपछि भिडिओ एस्करे, एक्सरे, रगत जाँचजस्ता अधिकांश परीक्षण त्यो दिन पाइने सम्भावना लगभन न्यून भएपछि टाढाको बिरामी रहेछ भने भोलि बिहान फेरि आउने गरी बासस्थान खोज्न हिँड्छ । नजिककै रहेछ भने पनि आफ्नो घरतर्फ लाग्छ ।

अन्य ठाउँमा एकैदिन आउने धेरै परीक्षणको रिपोर्ट वीर अस्पतालमा आउँदैन । त्यसमा पनि सरकारी अस्पताल भएर सार्वजनिक बिदा लागू हुने नै भयो । शुक्रबार कुनै परीक्षण दियो भने त आइतबारमात्रै रिपोर्ट आउँछ भनेर प्रयोगशालाको कर्मचारीले भन्छ ।

पछिल्लो हप्तादेखि वीर अस्पतालमा थाइराइडको जाँच भइरहेको छैन । मेसिन बिग्रेको कारण परीक्षण रोकिएको प्रयोगशालाका कर्मचारीले बताएका छन् ।

सामाजिक सुरक्षा कोष र स्वास्थ्य बिमासँग आबद्ध बिरामीलाई अर्को अझै झन्झट के छ भने, कुनै दिन सामाजिक सुरक्षा कोष वा स्वास्थ्य बिमासँग आबद्धताको छाप लगायो भने त्यही दिन नै बिल काट्नुपर्छ । कुनै कारणले त्यो दिन नै लाइनमा बसेर बिल काट्ने अवस्था बनेन भने भोलिपल्ट फेरि भोलिकै मितिमा छाप लगाउनुपर्छ ।

विपन्नलाई थप पीडा

सरकारले सञ्चालन गरेको गरिब तथा विपन्न समुदायका मानिसलाई सहुलियत औषधोपचार गर्ने कार्यक्रम वीरमा पनि लागू भएको छ । जुन सुविधा देशको जुनसुकै ठाउँबाट आउने बिरामीले प्राप्त गर्न सक्छन् ।

दिउँसो १२ बजेदेखि १ बजेसम्म अस्पतालको भुइँतलामा रहेको सामाजिक सुरक्षा इकाईको कार्यालय रहेको बाहिरपट्टि हेर्‍यो भने दैनिकजसो विपन्न व्यक्तिहरू देखिन्छन् । जो टाढादेखि आएका साथै सँगै झोला बोकेका बिरामी वा आफन्तरहरू देखिन्छन् । उनीहरू गरिब तथा विपन्नले अस्पतालमार्फत् प्राप्त गर्ने सेवाको लागि कागजपत्रमा छाप लगाउनका लागि प्रतिक्षा गरिरहेका हुन्छन् ।

तर, १२ देखि १ बजेसम्म १ घण्टा शाखाका कर्मचारी भने खाजा खान भनेर बाहिर निस्कन्छन् । टिकटको लाइनदेखि चिकित्सकको लाइनसम्म पुगेर फर्किँदाको समयमा कर्मचारी खाजा खान निस्कन्छन् । जसको प्रतिक्षामा देशैभरीबाट आएका विपन्न समुदायका मानिसहरूको एक घण्टा समय बित्छ । सरकारकै सहयोग लिएरमात्रै उपचार गर्नसक्ने विपन्नहरूको उपचार समय लम्बिने, उनीहरूको बसाइ र खर्च बढ्ने गरेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ३ : ५७ बजे

सिंगो बस्तीको एउटा मात्रै शौचालय

गोरखा – दिपासा विक हरेक दिन बिहान हातमा लोटा लिएर

बंगलादेशलाई हराउँदै भारतले जित्यो साफ यु–१९ को उपाधि

काठमाडौं – भारतले साफ यु–१९ च्याम्पियनसिप २०२५ को उपाधि जितेको

‘मिथ्या सूचनाको बाढी’ ल्याएका भारतीय मिडियाले ‘युद्धको उत्सव मनाएर तमासा देखाए’

काठमाडौं– भारतीय टेलिभिजनका समाचार कार्यक्रम भन्नेबित्तिकै आममान्छेको दिमागमा के आउला

सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँचजना पक्राउ

सिरहा – सिरहाबाट प्रहरीले ठूलो परिमाणमा नगद र लागुऔषधसहित पाँचजना

करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो

सर्लाही – काभ्रेको धुलिखेलमा शनिबार करेन्ट लागेर ज्यान गुमाएका सर्लाहीको