एमाले मोरङमा कलह- परशुरामले अपमान गरेको भन्दै जब विनोद ढकाल मञ्च छाडेर हिँडे | Khabarhub Khabarhub

एमाले मोरङमा कलह- परशुरामले अपमान गरेको भन्दै जब विनोद ढकाल मञ्च छाडेर हिँडे

एक पक्षलाई निषेध गर्दा प्रदेश इन्चार्ज शेरधन पनि मौन


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

विराटनगर- गत फागुन तेस्रो साता भएको नेकपा एमाले मोरङको दशौँ महाधिवेशनमा केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले हस्तक्षेप गर्दा पनि विनोद ढकाल नेतृत्वको विद्रोही प्यानलले एकछत्र जित निकालेको थियो।

एमाले कोशी प्रदेशको पहिलो अधिवेशनमा ओलीसहितका शीर्षनेताहरू एकजुट भएर हराएपछि ढकालले मोरङको अधिवेशनबाट कमब्याक गरेका थिए । एमाले मोरङको अधिवेशनबाट ढकाल नेतृत्वको प्यानलबाट अजम्बर राईसहित पाँचै पदाधिकारीले एकपक्षीय जित निकाले ।

मोरङमा ढकाल पक्षले पकड बनाएपछि एमालेको संस्थापन पक्ष अहिले तनावमा छ । कोशीका मुख्यमन्त्री हिक्मत कार्की, एमाले इन्चार्ज शेरधन राई, स्थायी कमिटी सदस्य भानुभक्त ढकालसहितका नेताहरूले सारा शक्ति लगाउँदा पनि विनोद ढकाल नेतृत्वको प्यानललाई रोक्न सकेनन् ।

मोरङमा ढकाल पक्षको पकडका कारण अहिले एमाले मोरङमा कलहको बिउ रोपिँदैछ । पराजित भएको ओली पक्षलाई अहिले ढकालको समूहलाई स्वीकार्नै मुस्किल परिरहेको छ ।

एमाले मोरङमा अहिले दुई पक्षले समानान्तर अभ्यास गरिरहेका छन् । त्यही अभ्यासको बाछिटा मंगलबार विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशनका क्रममा सार्वजनिक रुपमै पक्रट भयो ।

पार्टी कार्यालय पाञ्चाली परिसरमै भएको महानगर कमिटीको अधिवेशन उद्घाटन समारोहमा शुभकामना दिने नेताको सूचीमा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य विनोद ढकाल पनि थिए । एमाले मोरङमा उनले बनाएको पकड संस्थापनले अझैसम्म मन नपराएको कुराको प्रकट रुप महानगरको महाधिवेशनमा देखियो ।

उक्त उद्घाटन समारोहमा ढकाललाई अपमानजनक व्यवहार गरेर कलहको बिउ रोप्ने काम महानगर इञ्चार्ज परशुराम बस्नेतले गरेका थिए । बस्नेतले ढकालसहितका नेताहरूलाई ‘अवैधानिक नेतृत्व’ भनेर टिप्पणी गरेका थिए । उक्त टिप्पणीलाई लिएर नेता ढकालले मञ्चमै रोष प्रकट गरे ।

एमाले प्रदेश कमिटी सदस्यसमेत रहेका बस्नेतले यसअघि आफूलाई मोरङ अध्यक्षका लागि लबिइङ समेत गरेका थिए ।विवादास्पद पृष्ठभूमिका बस्नेत आगामी चुनावमा विराटनगर महानगरको मेयरका लागिसमेत नेतृत्वसँग भनसुन गरिरहेका छन् । तर फागुन २३ गते एमाले मोरङको परिणाम ढकालको प्यानलतिर गएपछि उनलाई ठूलो धक्का लागेको छ ।

एमाले मोरङको चुनावमा धक्का व्यहोरेका बस्नेतले विराटनगर महानगरको अधिवेशनमा त्यसको रिस फेर्न खोजेको ढकाल पक्षको बुझाइ छ ।

बस्नेतले सार्वजनिक रुपमै आफूलाई ‘अवैधानिक नेतृत्व’को संज्ञा दिएपछि माला पहिरिएर अन्य अतिथिसँगै बसेका ढकालले तत्कालै प्रतिरोध गरे । उनले अतिथिगणको बेन्चबाट उठ्दै अधिवेशनस्थल छाडेर हिँडे । ढकालले वैधानिक नेतृत्वहरू मञ्चमा बस्ने म कार्यकर्तासँग बस्छु भन्दै असन्तुष्टि जनाए ।

तर, एमालेका अर्का कार्यकर्ताले ढकाललाई तानेर अतिथि भएको ठाउँमै फर्काउन खोजे । ढकालाई विराटनगर महानगरपालिका वडा नम्बर-३ का बासु बस्नेतसहितका कार्यकर्ताले तानेर मञ्चमा लैजान खोजे । तर उनी मञ्चमा नगई कार्यकर्तामाझ बसे ।

ढकालको चित्त दुखाइ स्वभाविक पनि थियो । आफूलाई जुनियर एमाले नेताले अपमान गरेको भन्दै ढकालले मञ्च छाडेर कार्यकर्तासँग बस्न गए । उनलाई एमालेका कार्यकर्ताले मञ्चमै आउन भने पनि ढकालले कार्यकर्तासँगै उद्घाटन समारोहमा बसेर बिताए ।

प्रतिस्पर्धा

२०८० असोज दोस्रो साता पाञ्चालीमै भएको कोशी प्रदेशको अधिवेशनमा ढकाललाई एमालेका शीर्ष नेताहरू लागेर हराएका थिए। चौतर्फी घेरामा पर्दा पनि ढकाल घनश्याम खतिवडासँग पराजित भएका थिए।

एमाले कोशी प्रदेशको प्रथम अधिवेशनमा  खतिवडाले ५१२ मत पाउँदा प्रतिस्पर्धी विनोद ढकालले ४३० मत ल्याएका थिए । एक्लै मैदानमा उत्रिँदा पनि ढकाल केवल ८२ मतले पराजित भएका थिए ।

कुनैबेला ओलीकै संरक्षण पाएका ढकाल कोशी प्रदेशको चुनावपछि किनारा पारिएका थिए । यस्तो अवस्थामा विराटनगर महानगरका तत्कालीन अध्यक्ष सागर थापासहितलाई जुटाएर ढकालले एमाले मोरङको चुनाव जिताएका थिए । ढकाललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पनि संरक्षण मिलेको बताइन्छ । तर उनले यसबारेमा केही बोलेका छैनन् ।

विराटनगरस्थित पुष्पलाल चोकमा रहेको मानगढ खानेपानी आयोजनाको निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तरघात गरेको आरोपमा परशुराम बस्नेतसहितको दबाबमा थापालाई कारबाही गरिएको थियो । एमालेले थापा नेतृत्वको विराटनगर महानगरको निर्वाचित कमिटीलाई हटाएर नयाँ पदाधिकारी तोकेको थियो ।

अहिले विराटनगर महानगर कमिटीमा बस्नेतनिकट रोहित कोइराला अध्यक्ष छन् । तर, यहाँ पनि अहिले एमाले जिल्ला उपाध्यक्ष रहेका थापाको पकड बलियो छ । थापामाथिको कारबाही गत कात्तिकमा फुकुवा गरिए पनि महानगर अध्यक्षमा नफर्काई कोइरालालाई जिम्मेवारी दिइएको थियो । थापालाई प्रदेशको एउटा विभागमा थन्क्याइएको थियो । तर, एमालेले कर्णरमा पारेका उनै थापासहितलाई जुटाएर ढकालले मोरङमा बाजी मारेका थिए ।

अब जिल्ला कमिटीपछि महानगर कमिटीमा पनि एमालेका दुई गुटको भिडन्त हुने निश्चित भएको हो । विराटनगर महानगरको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्वका लागि ढकालले वर्तमान कमिटी सचिव बलराम गिरी (नवीन) लाई साथ दिएका छन् ।

नवीनले प्यानलसहित प्रतिस्पर्धाको तयारी गरेका छन् । उता एमाले मोरङमा धक्का व्यहोरेका परशुराम बस्नेतले वर्तमान अध्यक्ष रोहित कोइराला नेतृत्वको प्यानल बनाएका छन् । बस्नेतलाई स्थायी कमिटी सदस्य भानुभक्त ढकालसहितको संरक्षण मिलेको छ। उनी आफूलाई केपी ओलीका प्रिय पात्रका रुपमा पनि चिनाउँछन् ।

एमालेको मञ्चमा विनोद ढकाल पनि ।

कुनै बेला नेता ढकाल वर्तमान एमाले अध्यक्ष ओली कमजोर रहेको समयमा साथ दिने जिल्ला कमिटी अध्यक्षमध्ये एक थिए । त्यसैगरी उनीसँगै तत्कालीन काभ्रे जिल्ला अध्यक्ष गोकुल बास्कोटा ओलीको साथमा थिए ।

पछिल्लो समयमा उनी एमालेको राजनीतिमा प्रभावशाली नेताका रुपमा मानिन्थे । तर कोशी प्रदेश कमिटीमा हारेसँगै उनले केन्द्रीय सदस्य पद गुमाए । उनी अहिलेको अवस्थामा सल्लाहकार परिषद् सदस्य मात्रै छन् । आफूले भनेको नटेरेको आरोपमा ओलीले ढकालमाथि अन्याय गरिरहेको एमालेकै कार्यकर्ता बताउँछन् ।

ढकालले प्रदेश कमिटीमा हारे पनि मोरङबाट पुन: शक्ति आर्जन गरेपछि आफू ओलीकै मान्छे भएको बताएका थिए । उनले अधिवेशनको परिणामलगत्तै एमालेमा कुनै गुट नरहेको बताएका थिए । तर, ढकालको प्यानलबाट अजम्बर राईसहितको प्यानलले जितेपछि एमाले मोरङमा दुई लाइन संघर्ष चर्किरहेको छ । त्यही दुई लाइन संघर्षको बाछिटा महानगर कमिटीको दोस्रो अधिवेशनमा देखिएको हो । जहाँ ढकाललाई बोल्न नदिने सबै प्रपञ्च परशुराम बस्नेतले गरेको भिडियोमै देख्न सकिन्छ ।

उद्घाटन कार्यक्रम सञ्चालकको भूमिकामा थिए अध्यक्षका दाबेदारसमेत रहेका महानगर कमिटीका वर्तमान सचिव बलराम गिरी । उनी र वर्तमान अध्यक्ष रोहित कोइरालाले ढकाललाई पनि मन्तव्य गर्न दिने सूची तयार गरिसकेका थिए । यसबीचमा महानगर कमिटी इञ्चार्ज रहेका परशुराम बस्नेतले ढकाललाई बोल्न दिएनन् ।

आफूभन्दा सिनियर नेतालाई बोल्न रोकेका बस्नेत आफैंले भने मञ्चबाट सम्बोधन गर्दै ढकाललाई कटाक्ष गरे । उनले मन्तव्य थाल्नेबित्तिकै वैधानिक नेतृत्वबाट पार्टी चल्नुपर्ने व्याख्या गरे । बस्नेतले मञ्चबाट त्यसो भनेपछि अधिवेशनको माहोल बिग्रिन सक्ने अनुमान भइसकेको थियो । बस्नेतको उक्त भनाइपछि दर्शकदीर्घामा रहेका एमाले नेता-कार्यकर्ताले अवैधानिक नेतृत्वलाई लिएर कानेखुसी गर्न थाले ।

बस्नेतले मोरङ जिल्ला अधिवेशनमा भएको पराजयको रोष प्रकट गर्नेगरी अझै अघि बढे । सार्वजनिक मन्तव्यपछि उनले नेताहरूको कान पनि फुके । अधिवेशन उद्घाटन समारोहका प्रमुख अतिथि थिए प्रदेश इन्चार्ज शेरधन राई । उनले ढकालबारे चासो राखे । मञ्चमै राईले ढकालालई ‘तपाँईले किन मन्तव्य नदिनु भएको ?’भनेर सोधे ।

त्यसपछि ढकालले त्यहीँ राईलाई आफ्नो अपमान भएको र नमजा लागेको गुनासो गरे । उता त्यहीबेला कार्यक्रमका उद्घोषक एवम् महानगर कमिटी सचिव गिरीले नेता ढकाललाई बोल्न दिने बताए । तर ढकालनजिकै मञ्चमा रहेका परशुराम बस्नेतले ‘अवैधानिक नेतृत्व’को संज्ञा दिए । आफ्नो मन्तव्य र मञ्चबाट पनि ढकालबारे उनले आपत्तिजनक भनाइ राखे । बस्नेतको आपत्तिजनक भनाइपछि नेता ढकालले एमाले स्थायी कमिटी सदस्य राईलाई ‘म कसरी अवैधानिक ?’भनेर तत्कालै प्रश्न उठाए ।

बस्नेतले दिएको आपत्तिजनक अभिव्यक्तिबारे ढकालले प्रश्न उठाउँदा प्रदेश इन्चार्ज राई आफ्नो स्वभावअनुसार मौन बसिरहे । हाँसे जस्तो गरेका राईले केही बोलेनन् । एमालेमा राईको निर्णय क्षमताबारे उनकै कार्यकर्ताले प्रश्न उठाउने गरेका छन् । राईले यो विवादबारे चुप बसेरै जित्ने योजना बनाएपछि ढकाले अपमान सहन नसक्ने भन्दै मञ्चमै प्रतिकार गरे ।

शेरधनको स्वागतमा देखिएका परशुराम बस्नेत ।

बस्नेतले आफूलाई गरिएको अपमानबारे प्रदेशन इन्चार्ज राईले पनि मौनता साँधेपछि माला फुकाल्दै मञ्चबाट निस्किए । त्यसपछि अन्य कार्यकर्ताले अधिवेशन उद्घाट समारोह छाडेर नजान भने । ढकालले मञ्च छाडेर कार्कयर्तासँग बस्दै उद्घाटन शत्र गुजारे ।

उनले आफूमाथिको अपमानबारेमा सञ्चारकर्मीलाई प्रतिक्रिया पनि दिएका छन् । उनले आफूलाई महानगर कमिटी अध्यक्ष रोहित कोइरालाले निम्ता गरेकैले अधिवेशन उद्घाटन समारोहमा सहभागी भएको बताए ।

‘महानगर कमिटी अध्यक्ष रोहित कोइरालाले बोलाएपछि गएको थिएँ । बोलाउँदा पनि नगए अर्को समस्या हुने भएपछि गएको हुँ। त्यहाँ मलाई बोल्न दिनुपर्छ भनेको थिइनँ’, ढकालले भने, ‘अधिवेशनको मञ्चमै मलाई अपमान गर्दै आपत्तिजनक अभिव्यक्ति दिने काम भयो । मेरो वैधानिकतामाथि त्यहाँ प्रश्न उठाइयो । तर म कसरी अवैधानिक हो त ? मेरो हैसियतलाई अवैधानिक बनाइदिने को हुन् त ?’

ढकालले यो अधिवेशनमा वर्तमान सचिव गिरी नेतृत्वको प्यानललाई साथ दिने पनि बताएका छन् । उनले आफू महानगरका वर्तमान अध्यक्ष कोइरालाको विरुद्धमा पनि नरहेको उल्लेख गरे । तर पार्टी कमिटीलाई बाहिरका मान्छेले चलाउन थालिसकेपछि आफू विकल्प खोज्न बाध्य भएको पनि बताएका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  २ : ५७ बजे

राप्रपाले भन्यो– अध्यक्ष र नेताहरूलाई अविलम्ब रिहा गरियोस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन

पुटिनको इस्टर युद्धविरामका बाबजुद रुसी आक्रमण रोकिएन : जेलेन्स्की

क्रामाटोर्स्क– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले

सिक्वेलले अभिनयमा फर्कायो कामेश्वरलाई, ‘अभिमन्यु’मा लिड हिरो

काठमाडौं – ७० को दशकमा कामेश्वर चौरसिया सहायक भूमिकाका लागि

जुम्ला पुगेर खानेपानी मन्त्रीले भने- खानेपानीसहित विविध समस्या समाधान गर्छु

जुम्ला– खानेपानीमन्त्री प्रदीप यादवले जिल्लामा निर्माणधीन खानेपानी आयोजनाको अनुगमन गरेका

अस्ट्रेलियाको तटमा ठूलो छाल : डुबेर ६ जनाको मृत्यु

सिड्नी– आइतबार सिड्नी नजिकै चट्टानबाट खसेपछि एक मछुवाको मृत्यु भएको