रमेश पौडेल
धनुषा घर भएकी अस्मिता सार्की काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको सिप मेला–२०८२ मा हाउस किपिङको तालिम लिन आएकी हुन् । अस्मिता बोल्न र सुन्न सक्दिनन् । तर उनले काठमाडौं महानगरले दिएको तालिम दोभासेको माध्यमबाट लिइरहेकी छिन् ।
अस्मिता दिउँसोको समय तालिम लिन आउँछिन् । प्रशिक्षकले सिकाएको हेरेर सिक्ने गरेकी छिन् भने भनेको कुरा उनीहरूसँगै हुने दोभासेले हातको इसाराले गरेको संकेतबाट बुझ्ने गरेकी छिन् । अस्मिता सीप सिक्न काठमडौं आउनु अघि नै उनले जनकपुरको एक रेस्टुरेन्टमा वेटरको काम गर्थिन् । अस्मिताको काम गर्दाको अनुभव सहज भने छैन । उनले ग्राहकले मेनु हेरेर अर्डर गरेको चीजबस्तु किचनमा समन्वय गरेर आफ्नो कर्तव्य पूरा गर्थिन् ।

कहिलेकाहीँ ग्राहकले बोलेका शब्दहरू, जस्तै ‘मःम’ ‘चाउमिन’, जस्ता कुराहरू सुनेर पनि अर्डर गरेको कुरा थाहा पाउने गरेको अस्मिता आफ्नो अनुभव सुनाउँछिन् । ‘सुरुमा त गारो हुन्थ्यो बिस्तारै बानी पर्दै गयो ।’, अस्मिता भन्छिन् ।
जनकपुरको रेस्टुरेन्टमा काम गर्दा अस्मिताले मासिक १२ हजार रुपैयाँ पारिश्रमिक पाउने गर्थिन् । खाना रेस्टुरेन्टले दिए पनि बस्ने व्यवस्था भने अस्मिताले आफै गरेकी थिइन् ।
‘राम्रो काम गरेमा ग्रेड र तलब पनि बढ्ने सम्भावना छ’, अस्मिताले भविष्य कुरा सम्झँदै भनिन्, ‘अहिले पनि म जनकपुरमा त्यही रेस्टुरेन्टमा काम गर्छु, तर यो तालिमका लागि एक महिनाको बिदा लिएर आएकी हुँ ।’
अस्मिता अहिले एसइई दिएर रिजल्टको पर्खाइमा छिन् । उनको सङ्घर्ष भने सामान्य छैन । अस्मिताको ५ जनाको परिवार छ । अस्मिताको घरमा बुवा, तीन दाइ, एक जना भाउजू र उनी छिन् । उनको बुवाले दिनहुँ जस्तो रक्सी खाएर आउने भएकाले गर्दा घरमा दैनिक जस्तो झगडा हुने गरेको अस्मिता बताउँछिन् । परिवारको अवस्था राम्रो नहुँदा आफूलाई धेरै गाह्रो परेको अस्मिता सुनाउँछिन् ।
‘घर के भनौं टहरो छ, पानी पर्दा चुहिन्छ’, अस्मिता भन्छिन्, ‘स्कुल राम्रोसँग पढ्न पाइनँ, र आर्थिक समस्याले धेरै कुरामा बाधा पुर्यायको छ ।’
रेस्टुरेन्टमा काम गर्दाकै बेला सेफ सन्तोष शाहले अस्मितालाई काठमाडौंमा तालिमको बारेमा बताए । सेफलेनै अस्मितालाई काठमाडौंसम्म ल्याउने वातावरण बनाए । अनि अहिले अस्मिता गल्र्स होस्टेलमा बसिरहेकी छिन् ।
‘अहिले मलाई सरिता म्यामले गल्र्स होस्टेलमा बस्ने व्यवस्था मिलाइदिनुभएको छ’, अस्मिताले भनिन्, ‘म यहाँबाट तालिम लिन आउँछु ।’
अस्मिताले अहिले तालिम लिइरहेकी छिन् । तर, उनी तालिमपछि जनकपुर फर्केर रेस्टुरेन्टमै काम गर्ने कि काठमाडौंमा नयाँ अवसर खोज्ने भन्नेमा अझै निश्चित छैनन् । तालिम पछि भविष्यमा हाउस किपिङ सम्बन्धी जागिर पाउने आशाले तालिम लिएको अस्मिता बताउँछिन् ।
‘यो तालिम र यसको प्रमाणपत्रले मलाई रोजगारी पाउन सहयोग गर्छ भन्ने विश्वास छ । यसबाट म आफ्नै खुट्टामा उभिन सक्छु र आत्मनिर्भर बन्न सक्छु भन्ने मेरो मुख्य लक्ष्य हो’, अस्मिताले भनिन्, ‘काठमाडौंमा धेरै अवसरहरू छन्, र यो तालिमपछि म रोजगार बनेर आफ्नो जीवन अघि बढाउन चाहन्छु ।’
आफूले रेस्टुरेन्टमा वेटरको काम गर्दा पनि धेरै कुरा सिकिरहेको तर अहिले होटेलमा हाउस किपिङ कर्मचारीले कसरी काम गर्छन्, कसरी सफाइ र व्यवस्थापन गर्छन् भन्ने कुरा डेमो र प्राक्टिकल मार्फत सिकिरहेको अस्मिता बताउँछन् ।
‘मलाई निकै रमाइलो लागिरहेको छ ।’, अस्मिताले खुशी हुँदै भनिन् ।
हाउस किपिङ बारे केही पनि नभएको र प्रशिक्षकहरूले कसरी सफाइ गर्ने, होटेलका कोठाहरू कसरी व्यवस्थित गर्ने भन्ने कुरा डेमो र भिडियोमार्फत सिकाएको कुरा आफूलाई निकै मन परेको अस्मिता बताउँछिन् ।
‘हामीलाई दोभासेले सबै कुरा सांकेतिक भाषामा बुझाइदिनु हुन्छ, जसले सिक्न धेरै सजिलो भएको छ ।’, अस्मिताले भनिन् ।
बहिरा भएकाले सुन्न र बोल्न नसक्ने भएकाले कसैसँग बोल्न नेपाली सांकेतिक भाषा प्रयोग गर्दा प्राय नबुझिने अस्मिता बताउँछिन् ।
‘सांकेतिक भाषा बुझ्ने व्यक्ति भए सञ्चार गर्न सजिलो हुन्छ, तर नबुझ्ने भए निकै गाह्रो हुन्छ ।’, अस्मिता भन्छिन् ।
अस्मिताले काठमाडौं महानगरपालिका र सन्तोष साहलाई आग्रह गर्दै भनिन्-‘यो तालिम र मेरो मेहनतले मलाई रोजगारीको अवसर प्राप्त होस् । म मेहनत गर्न तयार छु, र मेरो भविष्य उज्यालो बनाउन चाहन्छु । म फेरि त्यही अँध्यारो जीवनमा फर्किन चाहन्नँ । यो तालिमपछि मलाई काठमाडौंमा काम पाउन सजिलो होला भन्ने आशा छ, किनभने महानगरपालिकाले हाम्रो अवस्था बुझ्नुभएको छ ।’
अस्मितालाई हाउस किपिङ मात्र होइन अन्य सिप पनि सिक्ने चाहना छ । आफूलाई ब्युटिसियनको काम सिक्ने इच्छा रहेको अस्मिता बताउँछिन् । ‘एउटै काममा मात्र सीमित नरही एक–दुई वटा सीप सिकेर म अझ आत्मनिर्भर बन्न चाहन्छु । यो मेरो सपना हो ।’, अस्मिता भन्छिन् ।

रबी शंकर साह पनि बोल्न र सुन्न सक्दैनन् । उनी सुनसरीबाट सिप मेलामा हाउस किपिङको तालिम लिन आएका हुन् ।
रबी दिउँसो ३ बजेदेखि ७ बजेसम्मको सिफ्टमा तालिम लिन्छन् । उनले पनि सेफ सन्तोष साहले गर्दा यो तालिमको बारेमा थाहा पाएका हुन् । रबी अहिले बागबजारको एक होस्टलमा बसेर सिप सिकिरहेका छन् ।
काठमाडौं पहिलो पटक आएका रबी काठमाडौँमा भीडभाड हुने गरेकाले गर्दा तालिममा आउन जान भने समस्या हुने गरेको रबी बताउँछन् ।
‘काठमाडौँ एकदमै राम्रो र ठूलो सहर छ’, रबीले भने, ‘तर, बाटोमा गाडीको जाम र भिडभाड देख्दा कहिलेकाहीँ डर लाग्छ । हाम्रो गाउँतिर त यस्तो हुँदैन, खुल्ला–खुल्ला हुन्छ । यहाँ बाटो काट्न पनि डर लाग्छ ।’
रबीको सिप सिकेर विदेश जाने रहर छ । सोचेजस्तो रोजगारी नपाउने भएकाले उनी विदेश जान चाहन्छन् । ‘रोजगारी पाउन त झनै गाह्रो छ । सबै जना यहीँ थुप्रिए भने, यति धेरै रोजगारी कहाँबाट पाउनु ?’, रबीले भने, ‘त्यसैले म के सोचिरहेको छु भने, काम सिकेर म विदेश जाने मन छ ।’
महानगरले सिप सिकाएकोमा रबी खुसी छन् । आफूलाई तालिम पनि एकदमै राम्रो लागेको रबी बताउँछन् । तर, रबीले रोजगारीका लागि विभिन्न ठाउँमा अवसर खोज्दै नहिँडेका भने होइनन् । आफूले जागिर खोज्न जाँदा अपाङ्ग भएकै कारण ‘ठाउँ छैन, सबै भरियो’ भन्दै फर्काउने गरेको रबी आफ्नो दुखद कहानी सुनाउँछन् ।
‘हामीले आफ्नो कुरा बुझाउन सक्दैनौँ, र उनीहरूले भनेको कुरा पनि हामीलाई थाहा हुँदैन । तर, सुन्ने र बोल्ने मान्छेहरूले भने सजिलै अवसर पाउँछन्’, रबीले भने, ‘हामीलाई त अपाङ्गता भएको कारण विभेद भएको जस्तो लाग्छ । यो देख्दा मन दुख्छ ।’
महानगरले तालिम दिएपछि भने आफूलाई जागिर पाउ आशा बढेको रबी बताउँछन् । अझै धेरै कुरा सिक्न मन भएकाले उनी एक महिनामा धेरै कुरा थाहा नहुने भएकाले अझै धेरै समय तालिम लिन चाहन्छन् ।
‘एक महिनामा सबै कुरा सिक्न गाह्रो हुन्छ’, रबीले भने, ‘यदि यो तालिमलाई ६ महिनासम्म विस्तार गरेर अझै उन्नत बनाइयो भने हामीलाई धेरै फाइदा हुन्थ्यो ।’
दीपेन्द्र थापा बहिरा अपाङ्ग हुन् । काठमाडौंको सामाखुसी बस्तै आएका दीपेन्द्र पनि महानगरले सञ्चालन गरेको सिप मेलामा अन्य जस्तै हाउस किपिङको तालिम लिइरहेका छन् ।

साथीहरूले भनेपछि दीपेन्द्रले पनि महानगरले आफू जस्तै बहिरा अपाङ्ग भएका व्यक्तिलाई महानगरले तालिम दिने कुरा थाहा पाएका थिए । तालिममा आफू छुट्छु कि भन्ने भएर थाहा पाउन साथ हतार हतार गरेर आवेदन दिएको दीपेन्द्र बताउँछन् ।
अहिले आफूले हाउस किपिङको समानहरू के के हुन्छ ? त्यसलाई कसरी मिलाउने, मेसिनहरू कसरी चलाउने भन्ने कुराहरू सिकिरहेको दीपेन्द्र बताउँछन् ।
‘तालिम सबै राम्रो छ’, तालिम लिएको अनुभव सुनाउँदै दीपेन्द्रले भने, ‘दोभासे म्यामले र टिचरले थ्योरी र प्राक्टिकल गरेर राम्रोसँग सिकाइरहनु भएको छ ।’
यो भन्दा अगाडि ट्याटु बनाउने काम गरेका दिपेन्द्रको कमाई भने राम्रो थिएन । उनले ४ वर्षसम्म ट्याटु बनाउने काम गरे पनि पैसा भने सुक्को कमाउन सकेनन् ।
‘थोरै काम जान्दथे । त्यसमा मैले अलि अलि मात्र पैसा पाउँथे’, दीपेन्द्रले भने, ‘ग्राहकै नआउने भएकाले गर्दा एक वर्ष भयो, मैले त्यो काम नै छाडेँ ।’
महानगरले हाउसकिपिङको तालिमपछि काम पाउनेमा दीपेन्द्र आशावादी देखिएका छन् ।
‘म आसावादी छु काम पाउँछु होला’, दीपेन्द्र भन्छन् । दीपेन्द्रलाई महानगरले अगाडि पनि काम दिलाउँछ भन्ने आशा छ ।
‘तालिम दिएर मात्र होइन यही अनुसार हामीलाई अगाडि ठाउँहरु पाइयोस्’, दीपेन्द्रले भने, ‘अवसर दिइयोस् । रोजगारको अवसर पाइन्छ भन्ने विश्वास छ ।’
महानगरले रोजगारको वातावरण बनाइदिने
महानगरले सञ्चालन गरेको सिप मेला २०८२ मा आउनेमध्ये माथिका बहिरा अपाङ्गता भएका व्यक्ति प्रतिनिधि पात्र मात्र हुन् । महानगरका सिप मेला २०८२ कार्यान्वयन समिति संयोजक शैलेन्द्र झाका अनुसार त्यस्ता अपाङ्गता भएका ७५ जनाले तालिम लिइरहेका छन् ।
अपाङ्ग व्यक्तिलाई लक्षित गरेर सिकाइएको सिप पहिलो भए पनि आउँदा वर्षबाट भने अझै थप गर्दै लगे झा बताउँछन् ।
‘हामीलाई किन हाउस किपिङको मात्र तालिम दिएको भन्ने प्रश्नहरू पनि आएको छ । त्यसरी चासो राखिदिनु एकदमै राम्रो हो’, झाले भने, ‘तर तालिम दिन दोभासेको अभाव छ, सीमित स्रोतबाट यो वर्ष हामीले एउटा मात्र तालिम दिएको हो ।’
बहिरा अपाङ्ग भएका व्यक्तिलाई रोजगारी दिन अहिलेसम्म महानगरले लगभग ८–९ वटा होटेललाई सम्पर्क गर्दा उनीहरु सकारात्मक देखिएको झा बताउँछन् । ‘हामीले ५ तारे होटेलदेखि साना होटेलहरूमा हामीले सम्पर्क गरेका छौं’, झाले भने, ‘बहिरा अपाङ्गता भएका व्यक्तिलाई जागिर दिन उहाँहरूले रुचि देखाउनु भएको छ ।’

महानगरको योजना सकेसम्म ७५ वटा अवसर दिने भएको झाले बताए ।
‘७५ जनाले तालिम लिएका छन् भने ७५ जनाको लागि हाउस किपिङ कामको अवसर हामीले दिलाउने छौँ’, झाले भने, ‘उहाँहरूलाई हामीले अन्तर्वार्ता लिन बोलाइदिने, काम देखाइदिने गछौँ । छानिने नछानिने र पाउने नपाउने त्यो तालिम लिनेमा भर पर्छ । हाम्रो योजना ७५ वटा अवसर सिर्जना गर्ने हो ।’
अहिले तालिम लिने बहिरा अपाङ्गहरुमध्ये महानगरमै पढ्नेहरू पनि भएको झा बताउँछन् । त्यस्ता व्यक्तिहरूसँग शिक्षा भए पनि सीप नभएको कारण सफाइको काम गर्न बाध्य भएको झा बताउँछन् ।
‘अब सीप भएपछि उहाँहरूको विकल्प भयो । सफाइमा नै जानुभयो भने हामी सफाइकै तालिम दिन्छौँ’, झाले भने, ‘अन्यथा अरू कुनैमा जानुहुन्छ भने त्यसको तालिम दिन्छौँ ।’
तालिम दिएर सबैले जागिर पाउँछन् भन्ने नहुने उनको भनाइ छ ।
‘हामीले कम्पनीहरू खोजेर यहाँ ल्याउँछौँ’, झाले भने, ‘तर इन्टरभ्यु त उहाँले नै फेस गर्नुपर्छ । इन्टरभ्यूअरलाई उहाँले कन्भिन्स गर्न सक्नुपर्छ ।’
तालिम पछि स्व–रोजगारी उद्योग पनि हुन सकिने झा बताउँछन् । तालिमदेखि इन्टरभ्यू दिने वातावरणसम्म मिलाइदिए पनि इन्टरभ्यू पास गर्ने दायित्व प्रतिस्पर्धीकै हुन्छ ।
‘इन्टरभ्यु पास गरेमा एक वर्षको तलबको हामीले तलब सहित इन्टर सीपको ग्यारेन्टी हामीले गरिदिने हो’, झाले भने, ‘६ महिनासम्म १६ हजार ५०० तलब पनि दिन्छन् ।’
काम गर्ने थालेपछि सामाजिक सुरक्षा कोष, श्रमिकको रक्षा जस्ता कुराहरूमा महानगरले ध्यान दिने झा बताउँछन् ।
प्रतिक्रिया