काठमाडौंं – फिल्म क्षेत्रमा आफ्नो करिअर बनाउन दशक बढी संघर्ष गर्ने भेटिन्छन् ।
लामो समय रङ्गमञ्चमा भिजेर ठूलो पर्दामा दशक संघर्ष गर्दा पनि लिड नायिका बन्ने सपना पूरा नभएका कलाकार यही सिनेमा क्षेत्रमा छन् ।
अर्थात्, किशोर र युवावस्थाको सुरुवाती उर्वर समय यही क्षेत्रमा लगानी गर्दा पनि उनीहरुको लिड नायक-नायिका बन्ने सपना बाँकी नै छ ।
यो मामलामा नायिका सनिशा भट्टराई बिलकुल फरक छिन् । दुई वर्षअघिसम्म न उनको कलाकारितामा आउन सोच थियो, न यस क्षेत्रमा परिचित कोही व्यक्ति थिए ।
फेसबुक मेसेजका आएको प्रस्तावले उनलाई म्युजिक भिडियोको मोडल बनायो । पहिलै काम सफल भयो । त्यहीकारण रङ्ग क्षेत्रमा प्रवेशको दुई वर्षमा नै सनिशाले दुई फिल्ममा अभिनय गरिन ।
उनी अभिनीत दुई दर्जन म्युजिक भिडियो बजारमा आए । जसमध्ये डेढ दर्जन ‘मिलियन क्लब’मा छन् ।
सनिशा भन्छिन्, ‘मेरो करिअरको ग्राफ सोच्दै नसोच्ने गरी माथि चढ्यो । सुरुमा म सपनामा छु कि जस्तो लाग्थ्यो ।’

०००
सनिशाको जन्म हुर्काइ र स्नातकसम्मको पढाइ पोखरामा भएको हो । व्यापार व्यवसाय गर्ने परिवारमा जन्म भएकाले उनले आर्थिक रुपमा सहज बाल्यकाल पाइन् ।
उनी भन्छिन्, ‘आवश्यताका सहजै पूरा भयो । इच्छामा केही सम्झौता गरियो होला । तथापि मैले सहज बाल्यकाल पाएँ ।’
स्कुलमा रहँदा पढाइ र नृत्यमा सनिशा आफूलाई अब्बल दर्जामा नै राख्छिन् ।
कक्षा चढ्दा पहिलो, दोस्रो र तेस्रो स्थानभन्दा तल नपुगेकाले उनी आफ्नो मूल्याङ्कन पढ्ने विद्यार्थीकै रुपमा गर्छिन् ।
स्कुलमा हुने नृत्य प्रतियोगिता विजेता बन्ने गरेकाले उनको दाबी छ, ‘म पढ्नभन्दा राम्रो नाच्न सक्थेँ ।’

एयर होस्टेज बन्ने सपना
किशोरावस्थामा प्रवेश गर्दै गर्दा बहुसंख्यकको एउटा सपनाको पेसा हुन्छ । कालान्तरमा उक्त पेसा अंगाल्ने उनीहरुमा अठोटको विकास हुन्छ ।
सनिशाको सपना जागिर ‘एयर होस्टेज’ थियो । सोहीकारण उनलाई कलाकारिताको मोह भएन ।
सनिशा एसईई पहिलो ब्याचकी विद्यार्थी हुन् । एसईई दिएपछि काठमाडौँ आएर एयर होस्टजको तालिम लिने योजनामा पूरा भएन ।
उनी सुनाउँछिन्, ‘एसईईलगत्तै काठमाडौं जान्छु भनेको ममीले उमेर सानो भएकाले पठाउनु भएन । प्लस टू सकेर जानु भनेर मलाई रोक्नुभयो ।’
प्लस टू सकेपछि उही कुरा दोहोरियो । स्नातक सकेर मात्रै एयर होस्टेज बन्न उनलाई परिवारले सुझायो ।
सनिशा थप्छिन्, ‘स्नातक भनेको अहिले सामान्य शैक्षिक योग्यता हो । परिवारले पहिला स्नातक सक भन्नुभयो । अनि म पोखरामै अड्किएँ ।’
पोखरामा एयर होस्टेज तालिम लिने स्थान नभएको र काठमाडौं आउन दुई प्रयास असफल भएपछि सनिशा एयर होस्टेज भइनन् ।

बुबाको फिल्म रुचि
सनिशा भन्छिन्, ‘मेरो बाल्यकालको धेरै फोटो फिल्म हल बाहिर खिचेका छन् ।’
सनिशाका अनुसार उनका बुवा फिल्म प्रेमी हुन् । हलमा नयाँ फिल्म लाग्दा उनका बुवाले फिल्म हेरेकै हुन्थे ।
बुबाको फिल्म मोहका कारण सनिशाले बुवासँग हलमा पुगेर नयाँ–नयाँ फिल्म हेर्न पाइन् । हलमा पुगेर उनले हेरेको पहिलो फिल्म ‘सिलसिला’ हो । जसका नायक विराज भट्ट र नायिका रेखा थापा हुन् ।
सनिशा भन्छिन्, ‘म बुझ्ने भएर हलमा गएर हेरेको फिल्म नै सिलसिला हो । त्यसअघि मलाई कुनै फिल्म हलमा पुगेर हेरेको याद छैन ।’
यसरी आफूलाई फिल्मसँग परिचित गराउने जस उनी बुवालाई दिन्छिन् ।
उनी भन्छिन्, ‘मलाई फिल्ममा आउने इच्छा थिएन । बुवालाई फिल्मप्रति मोह थियो । बुवाको इनर्जीका कारण अहिले म यो क्षेत्रमा आइपुगे जस्तो लाग्छ ।’

पढ्दै गर्दा आएको प्रस्ताव
सनिशा बीआईएम (ब्याचलर इन इन्फरमेसन म्यानेजमेन्ट)की विद्यार्थी हुन् । स्नातक पढ्दासम्म कलाकार बन्ने उनको इच्छा थिएन । यस क्षेत्रमा लाग्ने छनक-लक्षण केही थिएन ।
बरु, स्नातक सकेर विदेश जाने योजनामा थिइन् । विदेश पुगेर भए पनि एयर होस्टेज बन्ने सपना पूरा गर्ने सोचमै थिइन् ।
भन्छिन्, ‘स्नातक सकेर विदेश जाने र उत्तै पढ्ने योजना थियो । त्यहाँ गएर आफैँ पैसा कमाएर भए पनि एयर होस्टेजको तालिम लिने सोच थियो ।’
स्नातकको अन्तिम वर्ष पढ्दै गर्दा आएको एक मेसेजले उनको जीवनमा नयाँ मोड ल्यायो । उक्त मेसेजमार्फत् उनलाई म्युजिक भिडियोको प्रस्ताव आएको थियो ।
उनी भन्छिन्, ‘टिकटकमा पनि एक्टिभ थिइनँ । खै कसरी मलाई प्रस्ताव आयो थाहै छैन ।’
प्रस्ताव आयो तर म्युजिक भिडियोमा अभिनय गर्न परिवारले अनुमति नदिने हो कि भन्ने उनमा डर थियो । त्यस्तो भएन उनले अनुमति पाइन् ।
रोचक कुरा– पोखरामै बसेर उनले पहिलो म्युजिक भिडियोमा अभिनय गर्ने डिल गरिन् ।
उक्त भिडियोको छायाङ्कन लुम्बिनीमा भएको थियो । छायाङ्कनस्थलमै उनले पहिलो पटक निर्देशक र अन्य कलाकारको टिमलाई भेटिन् ।
उनी सुनाउँछिन्, ‘मैले सुटिङ युनिट लगायत सबैलाई पहिलोपटक सेटमै भेटेको हो । म काठमाडौंं पनि आएको होइन । पोखराबाटै लुम्बिनी गएको हो । साथमा ममीलाई लिएर गएकी थिएँ ।’
यो किस्सा उनको डेब्यू म्युजिक भिडियो ‘ए होर माया’ छायाङ्कनको हो । जुन गीत दुई वर्षअघि सार्वजनिक भएको थियो ।
अहिले यस गीतको भ्यूज तीन करोड ३४ लाख बढी छ । अर्थात्, उनको पहिलो म्युजिक भिडियो नै सुपरहिट भयो ।

भाग्यमानी मोडल
सनिशा पहिलो म्युजिक भिडियोलाई नै आफ्नो जीवनको टर्निङ प्वाइन्ट मान्छिन् । कारण- करिअरले आफूले सोच्दै नसोचेको क्षेत्रमा गति लियो ।
सनिशा भन्छिन्, ‘पहिलो म्युजिक भिडियो हिट भएपछि यति धेरै प्रस्ताव आउन थाल्यो कि सपना जस्तो लाग्थ्यो । एक महिना ३०–३५ वटा म्युजिक भिडियोबाट प्रस्ताव आउन थाल्यो ।’
तर, उनले पहिलो म्युजिक भिडियो सार्वजनिक भएको तीन महिनापछि दोस्रोमा काम गरिन् ।
तेस्रो म्युजिक भिडियो ‘तिम्लाई हेर्ने बानी पर्यो’ मा नायक पल शाहसँग स्क्रिन सेयर गर्न पाइन् । त्यसपछि उनको व्यस्तता झन् बढ्यो ।
भन्छिन्, ‘सुरुमा यति धरै कामको प्रस्ताव आउँदा मेरो जीवनमा के भइरहेको छ नै पत्तो भएन । सपनै जस्तो लाग्थ्यो ।’
म्युजिक भिडियोमा व्यस्तता बढेसँगै सनिशाको स्नातकसम्मको पढाइ सकियो । त्यसपछि उनले काठमाडौं कर्मथलो बनाउन पोखरा छोडिन् ।
उनले अहिलेसम्म २२ हाराहारी म्युजिक भिडियोमा अभिनय गरेकी छन् । प्रायः सबै हिट छन् ।
भन्छिन्, ‘तीन–चार वटा बाहेक सबै म्युजिक भिडियो मिलियन क्लबमा पुगेका छन् । यो कुरामा म भाग्यमानी हो जस्तो लाग्छ ।’
उनका बढी चर्चित म्युजिक भिडियो ‘ए आमा जाम भन्यो मलाई’ र ‘ए हो र माया’ हुन् । यी दुईले युट्युबमा तीन करोड बढी भ्युज पाएका छन् ।
पर्दामा देखेका नायकसँग फिल्म
सनिशाले गत वर्षको दशैँमा प्रदर्शनमा आएको फिल्म ‘१२ गाउँ’बाट ठूलो पर्दाको अभिनयमा डेब्यू गरिन् ।
दर्जन हिट म्युजिक भिडियो र ठूला ब्रान्डसँग जोडिएर विज्ञापन गर्न थालेपछि उनलाई फिल्मको अफर आएको हो ।

उनी भन्छिन्, ‘म्युजिक भिडियो गरेको एक वर्षमै मैले फिल्म पाएँ । नयाँ नयाँ काम आइरहेको थियो । मैले के भइरहेको छ भनेर सोच्नै सकिरहेको थिइनँ ।’
‘१२ गाउँ’को प्रस्ताव उनका लागि अझ विशेष छ । कारण- उनलाई विराज भट्टले नै फोन गरेर फिल्मको प्रस्ताव राखेका थिए ।
विराज उनै नायक हुन् जसको फिल्म सनिशाले पहिलो पटक हलमा पुगेर हेरेकी थिइन् ।
उनी भन्छिन्, ‘विराज सरले फोन गरेर फिल्मका लागि कुरा गर्नुछ भन्नुभयो । मलाई त विश्वास नै लागेको थिएन । पछि भेट भयो । अनि बल्ल विश्वास लाग्यो ।’
पहिलो प्रोजेक्टमा विराजसँग स्क्रिन सेयर गर्न पाउनुलाई उनी अवसर भन्दा बढी भाग्य मान्छिन् ।
भन्छिन्, ‘विराज सरहरुको फिल्म हेर्दै हुर्किएको हो म । उहाँहरुसँग काम गर्न यही क्षेत्रमा लामो समय संघर्ष गरेको कलाकारको इच्छा हुन्छ । मैले भाग्यवस डेब्यू फिल्ममा उहाँसँग काम गर्न पाएँ ।’
यता ‘१२ गाउँ’ सुपरहिट भयो । यसले पनि सनिशाको करिअरलाई फाइदै पुगेको छ । उनको दोस्रो फिल्म ‘नरसिंहा : अभतार’ हो । जुन गत जेठमा प्रदर्शनमा आएको थियो ।
‘१२ गाउँ’ छायाङ्कनकै दौरान सनिशाले यस फिल्मका लागि सम्झौता गरेकी हुन् । दोस्रो फिल्ममा उनले महानायक राजेश हमालसँग सहकार्य गर्न पाइन् ।
सनिशा भन्छिन्, ‘हाम्रो बाल्यकालमा राजेश र विराज सरहरुले नै इन्डस्ट्री लिड गर्नुभएको थियो । उहाँहरुसँगै मैले काम गर्न पाएँ । त्यो पनि करिअर सुरु गरेको १ वर्ष भित्रै ।’
सोहीकारण फिल्म क्षेत्रमा आफ्नो करिअरले अस्वाभाविक गति लिएको उनी भन्न रुचाउँछिन् ।
थप्छिन्, ‘अब यो क्षेत्रबारे केही थाहा भयो । काम गर्ने तरिका बुझियो । अहिले सामान्य लाग्छ । सुरुवाती डेढ वर्ष त के भइरहेको छ थाहै भएन ।’
‘स्थापित हुन गाह्रो’

सनिशा अहिले रङ्गमञ्चमा डेब्यू गर्ने तयारीमा छन् । उनले नाटक ‘शिरीषको फूल’मा अभिनय गर्ने पक्का भएको छ । यो साउन ८ देखि मञ्चन हुँदैछ ।
यस नाटकमा उनले नायक जीवन लुइँटेलसँग मञ्च साझा गर्नेछिन् ।
चाँडै आफ्नो तेस्रो फिल्मको छायाङ्कन सुरु हुने सनिशा बताउँछिन् । भन्छिन्, ‘वर्कसप चलिरहेको छ । चाँडै मेरो तेस्रो फिल्म घोषणा हुँदैछ । अहिले निर्माण टिम आन्तरिक तयारीमा छ ।’
अहिले पनि उनी म्युजिक भिडियो नगन्य संख्यामा गरिरहेकी छन् । तथापि उनको ध्यान बढी फिल्ममा केन्द्रित छ ।
तर, सनिशाको करिअरमा भाष्य लागू भएको छ, ‘फिल्ममा आउनभन्दा टिक्न कठिन छ ।’
सनिशाकै भनाइअनुसार उनलाई फिल्ममा आउन सहज भयो । तर, स्थापित हुन संघर्ष गरिरहनु परेको छ ।
हुन पनि उनको दुई फिल्म प्रदर्शनमा आयो । तर, उनको अभिनय क्षमताको प्रशंसा स्थापित हुने तहमा भएको छैन । यो कुरा उनी पनि स्वीकार गर्छिन् ।
भन्छिन्, ‘मलाई धेरै दर्शकले चिन्नुहुन्छ । तर, अभिनयले उहाँहरुको मन जित्न अझै बाँकी छ ।’
अब अभिनयमार्फत् दर्शकको मन जित्नका लागि आफू यस क्षेत्रमा संघर्ष गरिरहेको उनी बताउँछिन् ।
भन्छिन्, ‘अब दर्शकलाई राम्रो फिल्म दिनुपर्छ भन्नेमा नै म केन्द्रित छु । यसैमा मेरो संघर्ष छ । सोच जस्तो फिल्म पाउन गाह्रो हुने रहेछ । पाएको अवस्थामा मेरो ध्यान अभिनयमा निखरता ल्याएर दर्शकको मन जित्ने नै हो ।’
अब सनिशाको करिअर कता जान्छ । निकट भविष्यका फिल्महरुले निर्धारण गर्नेछ । तर सनिशा अहिले जुन स्थानमा छिन्, दुई वर्षको छोटो यात्रामा यो सामान्य कमाइ होइन।
प्रतिक्रिया