काठमाडौं – रक्षामन्त्री मानवीर राईले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि राष्ट्रिय सुरक्षा, शासकीय सुधार, विकास निर्माण र विपद् व्यवस्थापनका क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको बताएका छन् । रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षको अवधिमा मन्त्रालय र अन्तर्गतका निकायबाट सम्पादन भएका कार्यको जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले थुप्रै अप्ठयारा र चुनौतीका बाबजुद पनि महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए।
मन्त्री राईले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरव तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा उल्लेख्य प्रगति भएको जनाउँदै आफ्नो सक्दो प्रयास र प्रयत्नबाट ती आयोजनामा रफ्तारमा काम गर्न सकिएको बताए। उनले काठमाडौँ-तराई-मधेस द्रुतमार्ग, महाकाली कोरिडोर, कोशी कोरिडोरलगायत आयोजनामा महत्त्वपूर्ण सफलता हासिल भएको स्पष्ट पारे ।
त्यसक्रममा मन्त्रालयका सहसचिव एवं प्रवक्ता मनोजकुमार आचार्यले मन्त्री राईले जिम्मेवारी सम्हालेको एक वर्षको अवधिमा मन्त्रालय र मातहतका निकायबाट सम्पादन भएका मुख्यमुख्य कार्यको प्रगति विवरणबारे प्रस्तुति दिएका थिए ।
रक्षा मन्त्रालयका लागि चालु आवमा विनियोजित बजेटमध्ये चालुतर्फ ९९ दशमलव ५८ प्रतिशत र पूँजीगततर्फ ५९ दशमलव ७१ प्रतिशत खर्च भएको तथा मन्त्रालय र मातहतको निकायका बेरुजुमध्ये ६१ दशमलव ३७ प्रतिशत फछर्यौट गरिएको सो अवसरमा जानकारी दिइयो ।
असार मसान्तसम्म काठमाडौँ–तराईरमधेस द्रूतमार्गको भौतिक प्रगति ४१ दशमलव ३७ प्रतिशत र वित्तीय प्रगति ४२ दशमलव ७४ प्रतिशत हासिल भएको छ । आयोजनाअन्तर्गत सात वटा सुरूङमध्ये प्याकेज नं २ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका र गढी गाउँपालिकामा निर्माणाधीन धेद्रे तथा लेनडाँडा सुरूङको ‘ब्रेकथ्रु’ सम्पन्न भएको र बाँकी निर्माणको चरणमा रहेको मन्त्रालयले जनाएको छ ।
आयोजनाअन्तर्गत विभिन्न स्थानमा रहेका जम्मा ८९ वटा पुलमध्ये ८५ स्थानका पुल निर्माणका लागि खरिद सम्झौता सम्पन्न भएकामा हालसम्म पाँच वटा पुल निर्माण भइसकेका छन् । ललितपुरको खोकना इलाकामा दू्रतमार्गको सुरू बिन्दु निर्धारण, सवारी आवागमन व्यवस्थापनसम्बन्धी निर्णय र जग्गा अधिग्रहणसम्बन्धी समस्या समाधानपश्चात खरिद प्रक्रिया सुरू गर्ने तयारी छ ।
यही अवधिमा हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय राजमार्गसँग जोडिएको छ । यही असार २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको व्यवस्थापनमा खार्पुनाथस्थित चुवा खोलामा निर्माण भएको ८०० मिटर लम्बाइको ‘बेलिब्रिज’ उद्घाटन गरेका थिए ।
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयका लागि काभ्रेपलाञ्चोकमा प्रशासनिक भवन, विद्यार्थी आवास भवनलगायत भौतिक संरचना निर्माणअन्तर्गत करिब ७६ दशमलव ५८ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । बंकरदेखि ब्यारेक कार्यक्रमअन्तर्गत ७३ वटा विभिन्न भौतिक संरचना निर्माण भएका छन् ।
एक वर्षको अवधिमा विपद्बाट प्रभावित नौ सय ८९ जनाको उद्धार, ९८ वटा शव झिक्ने, ३२ स्थानमा पहिरो हटाउने, ३४ स्थानमा अवरुद्ध सडक सञ्चालन, चार स्थानमा तटबन्ध निर्माण, छ स्थानमा अस्थायी पुल निर्माण र विभिन्न चार स्थानमा बेलिब्रिज जडान गरिएको छ ।
गत चैत १५ गते म्यानमारमा गएको भूकम्पपछि मानवीय सहायतास्वरूप भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्योपचार सेवाका लागि सेनाको मेडिकल टोली खटिइएको र सो टोलीले एक हजार तीन सय ५८ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको मन्त्रालयले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा पाँच सय ६८ महिलासहित पाँच हजार आठ सय ८८ शान्ति सैनिक खटिइएका र शान्ति स्थापनार्थ फौज योगदान गर्ने मुलुकमा नेपाल पहिलो स्थानमा रहेको छ । हालसम्म नेपालबाट कुल एक लाख ५९ हजार पाँच सय ४३ फौज शान्ति स्थापनार्थ खटिइएका छन् ।
प्रतिक्रिया