काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पूरै असफल भएको निष्कर्ष निकालेको छ ।
बुधबार बसेको संसदीय दलको बैठकले यस्तो निष्कर्ष निकालेको हो । यो बैठकले सात दलीय गठबन्धन सहभागी सरकारलाई दिएको समर्थन फिर्ता लिएर विपक्षमा जाने निर्णय पनि लिएको छ।
ओली नेतृत्वको सरकार आफ्नै प्रतिबद्धता अनुसार अघि बढ्न नसकेको निचोड जसपाले निकालेको हो। सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सरकारको एक वर्षे कार्यकालको समीक्षा गरेको थियो ।
उक्त बैठकमा ११ बुँदे आरोपसहित सरकार पूरै असफल भएको निचोड निकालिएको हो ।
संविधान संशोधन, सुशासन, सामाजिक न्याय र जनजीविकाका सवालमा सरकार पूरा असफल भएकाले समर्थन गरिरहनु औचित्यपूर्ण नहुने जसपाले निष्कर्ष निकालेको छ ।
‘केपी शर्मा ओली नेतृत्वको असफल भइसकेको वर्तमान सरकारलाई पार्टीले गर्दै आएको समर्थनको कुनै औचित्य एवम् अर्थ नै छैन’, जसपाले भनेको छ, ‘तसर्थ उक्त समर्थन फिर्ता लिई अब उप्रान्त विपक्षमा बस्ने निर्णय गरियो ।’
सरकारबारे जसपाको निष्कर्ष
- जनतालाई सरकारले सुशासनको प्रत्याभूति गराउन नसक्नु ।
- भ्रष्टाचार, अनियमित्तता, दण्डहीनता, कमिशनतन्त्र र विचौलियाहरूको चलखेल नियन्त्रण गर्न नसक्नु ।
- मुलुकको अर्थतन्त्रलाई सुधार गरी आर्थिक विकासको गतिलाई अगाडी बढाउन नसक्नु । असन्तुलित र पूर्वाग्राही रूपले आ.ब. २०८२/८३ को बजेट ल्याउने कार्य गर्नु ।
- संघीयता कार्यान्वन गर्न कुनै ठोस प्रयास नगर्नु ।
- कृषि, उद्योग, पर्यटन र जलस्रोतको विकास गरी गरिवी, बेरोजगारी जस्ता समस्याहरूलाई हल गर्न नसक्नु ।
- स्वच्छ खानेपानी, शिक्षा, स्वास्थ्य आदि सेवाका क्षेत्रमा गुणात्मक सुधार गरी जनतामा सेवा प्रवाह गर्न नसक्नु ।
- समानतामा आधारीत न्यायपूर्ण समाज निर्माण गर्न मधेशी, आदिवासि जनजाति, दलित, महिला, पिछडावर्ग, थारू, अल्पसंख्यक लगायत उत्पीडित समुदायहरूको राष्ट्रिय समस्याहरूलाई हल गर्न नसक्नु ।
- मधेश, थरूहट, किरता– लिम्वुवान लगायतका आन्दोलनहरूका क्रममा झुठा मुद्दा लगाई बन्दी बनाइएका राजबन्दीहरूलाई रिहाई नगर्नु ।
- संविधान संशोधन गर्न हालसम्म कुनै प्रयास नगर्नु ।
- कृषि विकास गर्न किसानहरूलाई कृषि बजार, सिंचाई, मलखाद्य, विऊ विजन र किट्नाशक औषधीका साथै सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउन नसक्नु ।
- बेरोजगारी समस्या हल गर्न रोजगारीका अवसरहरू सिर्जना गर्न नसक्नु ।
प्रतिक्रिया