काठमाडौं- चालु आर्थिक वर्षमा १६ हजार ६ सय ३५ वटा मुद्दा फर्छ्यौट गरे पनि सर्वोच्च अदालतमा २४ हजार १ सय २७ वटा मुद्दाको चाङ लागेको छ ।
सबै अदालत तथा विशिष्टीकृत अदालत र न्यायाधिकरणहरूको २०८२ असार मसान्तसम्मको प्रगति विवरण सार्वजनिक गरिएको छ । विवरणअनुसार उच्च अदालतमा २१ हजार ३० र जिल्ला अदातलहरूमा १ लाख ६ सय ४८ वटा मुद्दाहरू फर्छ्यौट गर्न बाँकी रहेको छ ।
प्रगति विवरणमा सर्वोच्च अदालतमा बक्यौता मुद्दा न्युनीकरण कार्ययोजना २०७९ को तर्जुमा र कार्यान्वयनका माध्यमबाट मुद्दा व्यवस्थापन प्रभावकारी बनाई सर्वोच्च अदालतमा आठ वर्ष नाघेका मुद्दा हाल शुन्य रहेको उल्लेख छ ।
आ.व २०८०/८१ मा मुद्दाहरूको लगत ४१ हजार २ सय ३८ रही फर्छ्यौट १५ हजार ५ सय ५२ (३७.६४ प्रतिशत) रहेकामा चालु आ.व. मा कुल मुद्दाको लगत ४० हजार ७ सय ४० मध्ये १६ हजार ६सय १ (४०.७५ प्रतिशत) फर्छ्यौट भई २४ हजार १ सय ३९ मुद्दा बाँकी रहेका छन् ।
सर्वोच्च अदालतमा पाँच वर्ष नाघेका मुद्दाको सङ्ख्याको कुल लगत ५ हजार ७ सय ९९ रहेकामा ४ हजार ५ सय ३५ फर्छ्यौट भई १ हजार २ सय ६४ मुद्दा बाँकी छन् ।
‘आव २०८२/८३ को अन्त्यसम्म पाँच वर्ष नाघेका मुद्दा शून्य बनाउने रणनीति पञ्चवर्षीय योजनाले लिएको छ ।’ प्रगति विवरणमा भनिएको छ, ‘दुई वर्ष नाघेका मुद्दा सङ्ख्या १६ हजार ८ सय ९९ रहेकोमा ७ हजार ९ सय २५ मुद्दा फर्छ्यौट भई ८.९७४ बाँकी छ ।’
आगामी वर्षमा यो सङ्ख्यालाई सारभूत रुपमा न्यूनीकरण गरिने बताइएको छ । विगत वर्षहरुको तुलनामा सर्वोच्च अदालतको यो प्रगति उल्लेखनीय रहेको प्रगति विवरणमा उल्लेख गरिएको छ । विवरणमा भनिएको छ, ‘यसमा सम्माननीय प्रधान न्यायाधीश ज्यू, माननीय न्यायाधीशज्यूहरु तथा अदालत प्रशासन र कर्मचारीहरुको योगदान उल्लेखनीय छ ।’
पेशी व्यवस्थापन गर्न मासिक ७२ वटा इजलास
सर्वोच्च अदालतमा मुद्दा एवं पेशी व्यवस्थापनलाई प्रभावकारी बनाउन ५ वर्ष नाघेका अभियानअन्तर्गतका मुद्दालाई मासिक ७२ वटा इजलास दिने गरिएको छ ।
‘८ वर्ष नाघेका मुद्दाहरू शुक्रबार बाहेक प्रत्येक दिन पेसी तोकी हेर्न नमिल्ने माननीय न्यायाधीशबाहेक गरी पेशीमा पालो आउने गरी व्यवस्थापन गरिएको, थुनुवाका मुद्दालाई प्राथमिकतामा राखिएको कारण सर्वोच्च अदालतको मुद्दाहरुको फर्छ्यौटमा उल्लेखनीय सुधार भएको छ ।’ प्रगति विवरणमा भनिएको छ ।
जिल्ला अदालतमा फरक मुद्दा व्यवस्थापन पद्धति
उच्च अदालतमा कुल ६० हजार ६ सय ५५ लगत रहेकोमा ४६हजार २ सय ५८ फर्छ्यौट भई २१हजार ७५ वटा मुद्दा बाँकी छन् । विवरणअनुसार जस मध्ये २ वर्ष नाघेका मुद्दा २६ थान छन् ।
जिल्ला अदालतहरूमा कुल २ लाख ६४ हजार ६ सय ३६ वटा मुद्दा लगत रहेकामा १ ला ६३ हजार ३ सय ६१ वटा मुद्दा फर्छ्यौट भई १ लाख १ हजार २ सय ७५ वटा मुद्दा बाँकी छन् । जस मध्ये २ वर्ष नाघेका मुद्दा ३ हजार ९ सय ९८ थान छन् ।
उच्च एवं जिल्ला अदालतहरूमा फरक मुद्दा व्यवस्थापन पद्दति अवलम्बन गरी मुद्दा व्यवस्थापनलाई प्रभावकारी बनाएपछि उपलब्धि भएको प्रगति विवरणमा उल्लेख छ ।


प्रतिक्रिया