विश्वभर उथलपुथल ल्याएका २१ औँ शताब्दीका पाँच क्रान्ति | Khabarhub Khabarhub

विश्वभर उथलपुथल ल्याएका २१ औँ शताब्दीका पाँच क्रान्ति

सत्ताका शक्तिशालीहरू देश छोडेर भाग्न बाध्य भए



काठमाडौँ- भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनपछि नेपाली राजनीतिमा व्यापक उथलपुथल देखिएको छ । केपी शर्मा ओली नेतृत्वको शक्तिशाली सरकार संसारकै सम्भवत: छोटो आन्दोलनका कारण ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको छ।

अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि मध्यावधि चुनावको मिति पनि घोषणा गरिसकेको छ । सोमबार मात्रै अन्तरिम सरकारमा तीनजना मन्त्री थपिएका छन् । अन्तरिम सरकार विस्तारको क्रम जारी छ ।

नेपालमा अहिले भएको प्रदर्शन र यसपछिको राजनीतिक उथलपुथल पहिलो र एकमात्रै घटना होइन । यसअघि वि.सं. २०६२–०६३ मा भएको दोस्रो जनआन्दोलनले राजसंस्था ढालेर लोकतान्त्रिक गणतन्त्र ल्याएको थियो । त्यसैगरी त्यसअघि २०४६ सालको आन्दोलनले पञ्चायती निरंकुश व्यवस्था ढालेर बहुदल फर्काएको थियो।

२१ औँ शताब्दी शुरु भएदेखि विश्वभर विभिन्न किसिमका प्रदर्शन, क्रान्ति र आन्दोलन भइरहेका छन् । यीमध्ये कतिपय प्रदर्शन सफल भएका छन् भने कतिपयले असफलता भोगेका छन् ।

कतिपय प्रदर्शन र आन्दोलनले गृहयुद्धको स्वरुप लिएको उदाहरण पनि देख्न पाइन्छ । यहाँ हामी २१ औँ शताब्दीमा सर्वाधिक चर्चित ५ राजनीतिक प्रदर्शनबारे चर्चा गर्दैछौँ ।

१. सर्बियाको बुलडोजर क्रान्ति (२०००)

२१ औँ शताब्दीको सुरुवातमा भएको महत्वपूर्ण क्रान्तिमध्ये सर्बियाली बुलडोजर क्रान्तिलाई लिने गरिन्छ । सन् २००० मा भएको यो क्रान्तिले स्लोभोदान मिलोसेभिचको अधिनायकवादी सरकारलाई पतन गरेर सर्बियामा लोकतान्त्रिक सरकार स्थापना गरेको थियो । मिलोसेभिचले आफ्नो शासनकालमा क्रोएसिया र बोस्निया हर्जगोभिनाविरुद्ध युद्ध छेडेका थिए । त्यस युद्धका क्रममा लाखौँ मारिए ।

युगोस्लाभियाको पतनसँगै शुरु भएको त्यस युद्धका कारण विश्वबाट एक्लिएको थियो । सर्बियाको आन्तरिक अवस्था पनि दयनीय थियो । ग्लोबल ननभायलेन्ट एक्सन डेटाबेसका अनुसार २१ औँ शताब्दीको शुरुमा सर्बियामा बेरोजगारी दर ५० प्रतिशतसम्म पुग्यो । तर, मिलोसेभिचले जनताको समस्या बेवास्ता गर्दै प्रहरी र सेनालाई बलियो बनाउनतिर ध्यान दिए ।

१९९६ को स्थानीय चुनावमा विपक्षी गठबन्धनले ४० भन्दा धेरै शहरहरूमा विजय हासिल गरेको थियो । यद्यपि मिलोसेभिचले त्यस चुनावको नतिजा नै प्रमाणित गरेनन् । मिलोसेभिचको यो कदमले पनि सर्बियामा तीव्र आक्रोश निम्त्यायो ।

पछि सन् २००० फेब्रुअरीमा मिलोसेभिचको विरोध गर्न ओट्पोर (प्रतिरोध) नामक समूह सक्रिय भयो । यस समूहमा विद्यार्थी, आम नागरिकहरू, स्वतन्त्र सञ्चारमाध्यम, मजदुरहरू, स्थानीय तहका जनप्रतिनिधि समावेश थिए । उनीहरूको मुख्य लक्ष्य मिलोसेभिचको सत्तालाई हटाउनु थियो ।

प्रदर्शनको मुख्य उद्देश्य सक्दो छिटो स्वतन्त्र रुपमा राष्ट्रपतीय निर्वाचन गरी राजनीतिक प्रणाली परिवर्तन गर्नु थियो ।मिलोसेभिचविरुद्ध ओट्पोरले व्यापक प्रदर्शनको आयोजना गर्‍यो । प्रदर्शनमा लाखौँ मानिसहरु सहभागी भए । मिलोसेभिचले प्रदर्शनमा दमन गरे ।

उनले प्रदर्शनको समाचारमाथि सेन्सरसिप लगाए भने प्रदर्शनकारीको पनि व्यापक गिरफ्तारी गरियो । पछि उनले ओट्पोरलाई अवैध पनि घोषणा गरे । सन् २००० को सेप्टेम्बर २४ का दिन आयोजित निर्वाचनमा विपक्षी उम्मेदवार भोजिस्लाभ कोस्टुनिकाले भारी मत ल्याए । उनले ५० प्रतिशतभन्दा धेरै मत ल्याएका थिए ।

तर, निर्वाचन आयोगले उनको जितलाई अस्वीकार गर्दै दोस्रो चरणको निर्वाचनको घोषणा गर्‍यो । अक्टोबर ५ का दिन आयोजित प्रदर्शनमा दुई लाखभन्दा धेरै सहभागी थिए । प्रदर्शनकारीको आक्रोशित भीडले संसदमा भवनमा आगजनी गर्‍यो ।

प्रदर्शनकारीले बुलडोजर प्रयोग गरेर भवनहरू भत्काए । त्यसको भोलिपल्ट अक्टोबर ६ मा संवैधानिक अदालतले मिलोसेभिचको विपक्षमा फैसला सुनायो र, उनले पदबाट राजीनामा दिए ।

२. किर्गिजस्तानको टुलिप क्रान्ति (२००५)

किर्गिजस्तानमा सन् १९९१ को सोभियत संघ विघटनपछि अस्कार अयाकेभ डेढ दशकदेखि सत्तामा थिए । शुरुवाती चरणमा लोकतान्त्रिक हिसाबमा निर्वाचित भए पनि विस्तारै उनको सरकार भ्रष्टाचार, आर्थिक असमानता र सत्ताको दुरुपयोगका कारण बदनाम हुन थाल्यो ।

सन् २००५ को फेब्रुअरी २७ मा आयोजित संसदीय चुनावमा व्यापक धाँधली भयो । यस चुनावमा विपक्षी नेतालाई विभिन्न बहानामा भाग लिन दिइएन । अयाकेभको सत्तालाई निरन्तरता दिने प्रयासस्वरुप आयोजित चुनावी धाँधलीले थप जनआक्रोश बढायो ।

त्यसबेला पिपुल्स मुभमेन्ट अफ किर्गिजस्तान (पीएमके) सरकारविरोधी गतिविधिमा सक्रिय थियो । यस अभियानको आह्वानमा प्रदर्शनको आयोजना गरियो । प्रदर्शनमा विपक्षी नेताहरू, विद्यार्थी समूह, विदेशमा बस्ने किर्गिज नागरिक, मजदुर, किसान, पेशागत संगसंगठनहरू आबद्ध थिए । संसदीय चुनावको नतिजा खारेज गरी अयाकेभले तत्काल राजीनामा दिनुपर्ने माग राख्दै आयोजित प्रदर्शनमा दशौँ हजार नागरिक सहभागी भए ।

चुनाव भएको मिति फेब्रुअरी २७ पछि राजधानी बिश्केकमा प्रदर्शन सुरू भयो । मार्च १३ सम्म आइपुग्दा जलालाबाद र ओश जस्ता शहरमा प्रदर्शन फैलिसकेको थियो । आक्रोशित प्रदर्शनकारीले सरकारी भवन कब्जा गर्न थालेका थिए । मार्च २४ का दिन बिश्केकको मुख्य चोकमा १५ हजारदेखि २० हजार प्रदर्शनकारी जम्मा भएका थिए । किर्गिजस्तानको राष्ट्रपति निवास किर्गिज ह्वाइट हाउस पनि प्रदर्शनकारीको कब्जामा गयो ।

त्यही दिन राष्ट्रपति अयाकेभ देश छाडेर रुस पुगे । मस्कोबाटै अप्रिल ३ मा उनले औपचारिक रुपमा राजीनामा दिएका थिए । उनको राजीनामासँगै कुरमान्बेक बाकियेभको नेतृत्वमा अन्तरिम सरकार बन्यो र जुलाई १० मा नयाँ राष्ट्रपतीय चुनाव भयो । यस निर्वाचनमा बाकियेभ नै विजयी भए ।

यस क्रान्तिले किर्गिजस्तानमा लोकतन्त्रको आशा त जगायो, तर बाकियेभको शासन लामो समयसम्म टिक्न सकेन । बाकियेभको सत्ता पनि २०१० मा अर्को क्रान्तिबाट समाप्त भयो ।

३. गुलाबी क्रान्ति (२००३)

सन् १९९१ मा सोभियत संघ विघटन भएपछि जर्जियाले पनि स्वतन्त्रता प्राप्त गरेको थियो । त्यसको छोटो समयमा नै सैन्य विद्रोहको बलमा राष्ट्रपति ज्भियाद गम्साखुर्दिया पदच्युत भए । सन् १९९५ मा आयोजित निर्वाचन जितेर एडुआर्ड शेभार्डनाड्जेले जर्जियाली सत्ता सम्हाले ।

सुरुवाती चरणमा शेभार्डनाड्जेको सरकार जनतामाझ लोकप्रिय थियो । सन् २००२ मा आयोजना भएको राष्ट्रपतीय निर्वाचनमा पनि उनकै जित भयो । तर, धेरैले चाहिँ धाँधली गरेर उनले दोस्रो कार्यकाल जितेको आरोप लगाए ।

दोस्रो कार्यकालसम्म आइपुग्दा उनको सरकार भ्रष्टाचार र आर्थिक अपचलनजस्ता प्रकरणमा मुछिन पुग्यो । सन् २००३ को नोभेम्बर २ मा आयोजित संसदीय चुनावमा पनि व्यापक धाँधली भयो । शेभार्डनाड्जेको सत्तालाई कायम राख्ने प्रयासस्वरुप आयोजित निर्वाचनमा धाँधली भएपछि गर्‍यो । यही धाँधली गुलाबी क्रान्तिको आधार बन्यो ।

चुनावको नतिजा सार्वजनिक भएसँगै विपक्षी नेताहरु सडकमा उत्रिएर प्रदर्शन गर्न थाले । उनीहरूको प्रमुख माग थियो– चुनावको नतिजा खारेज, राष्ट्रपति शेभार्डनाड्जेको राजीनामा र स्वतन्त्र चुनाव । प्रदर्शनकारीहरूले गुलाबको फूललाई विरोधको प्रतीक बनाए । क्रान्तिको शुरुवात नोभेम्बर ४ मा राजधानी टिब्लिसीमा भएको प्रदर्शनबाट भयो । शुरुमा प्रदर्शनमा थोरै सङ्ख्यामा मात्रै मानिसहरूको उपस्थिति देखिन्थ्यो ।

तर, नोभेम्बर २० मा सर्वोच्च अदालतले शेभार्डनाड्जेको पक्षमा फैसला गरेपछि विरोधको स्वरुप व्यापक बन्दै गयो । नोभेम्बर २२ मा विपक्षी नेता मिखाइल साकाश्भिलीको नेतृत्वमा हजारौँ प्रदर्शनकारीले संसद भवन घेरे । सरकारले प्रहरी र सेना प्रयोग गरेर दमन गर्न खोजेको भएपनि सेना प्रदर्शनकारीको पक्षमा थियो ।

हातमा गुलाब बोकेका प्रदर्शनकारीसामु राष्ट्रपति शेभार्डनाड्जे निरीह भए । शेभार्डनाड्जेले नोभेम्बर २३ मा राजीनामा दिए र भागेर रुस पुगे । पछि सन् २००४ को जनवरीमा आयोजित नयाँ राष्ट्रपतीय चुनावमा साकश्भिली निर्वाचित भए । संसदीय निर्वाचनमा पनि उनकै गठबन्धन विजयी भयो ।

४. बङ्गलादेशको जुलाई क्रान्ति (२०२४)

बङ्गलादेशमा सन् २००९ देखि शेख हसिना प्रधानमन्त्रीको पदमा थिइन् । धेरैले उनको शासनलाई अधिनायकवादी चरित्रको ठान्थे । उनले आफ्नो शासन लम्ब्याउन विपक्षीको आवाज दबाउने, विपक्षीलाई चुनावमा भाग लिन बन्देज लगाउने काम गरेकी थिइन् । सन् २०१४, ०१८ र ०२४ मा भएको चुनाव व्यापक धाँधली भएको आशङ्का गरिएको थियो । सन् २०२४ मा भएको संसदीय निर्वाचनमा हसिनाको अवामी लिगले बहुमत ल्याएर सरकार बनायो ।

तर, सरकारी नियुक्तिमा स्वतन्त्रता सङ्ग्राममा सहभागी लडाकुका सन्ततिलाई दिइएको कोटा वृद्धि गर्ने कदम उनका लागि भारी पर्न गयो । गत वर्षको जुनमा त्यहाँको सर्वोच्च अदालतले सरकारी कोटा वृद्धिसम्बन्धी विवादास्पद फैसला सुनाएपछि विद्यार्थीहरू प्रदर्शनमा उत्रिए ।

सुरक्षाकर्मीले आन्दोलन दबाउन बल प्रयोग गरे । सुरक्षाकर्मीको गोली लागेर सयौँ आन्दोलनकारी मारिए । सुरक्षामर्कीको दमनले आन्दोलन अझ उग्र भयो । सुरक्षाकर्मीले आन्दोलन नियन्त्रणमा लिन सकेनन् । यद्यपि पछि हसिना कोटा बढाउने कदमबाट पछि हटिन् । तर, आन्दोलन थामिएन । आन्दोलनकारीले सरकारी कार्यालय, नेता मन्त्रीका घरमा प्रवेश गरी तोडफोड र आगजनी गर्न लागे ।

हसिनालाई सेनाले साथ देला भन्ने अपेक्षा थियो । सेनाले साथ दिए आन्दोलनलाई जसरी पनि दबाएरै छाड्ने उनको विचार थियो । हुन पनि सेना प्रमुख वाकार उज–जमान हसिनाका टाढाका नातेदार पर्थे । अगस्टको पहिलो साता आन्दोलन चर्किन थालेपछि जमानसँग हसिनाले संवाद गरिन् । तर, जमानले हसिनाको पक्ष लिन मानेनन् । उनले हसिनालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरे ।

विद्यार्थी र युवाको नेतृत्वमा भएको आन्दोलन दबाउन सेनाले साथ नदिने भएपछि गत वर्ष अगस्ट ५ का दिन हसिनाले घुँडा टेकिन् । उनले दिएको राजीनामा स्वीकृत गर्दै राष्ट्रपति मोहम्मद शहाबुद्दिनले संसद भङ्गको घोषणा गरे । उनी भागेर भारत पुगिन् । अझै उनी भारतमै बसिरहेकी छन् ।

त्यसपछि सेनाप्रमुख जमानले पत्रकार सम्मेलन आयोजना गर्दै देशको सम्पूर्ण व्यवस्था आफूले नियन्त्रणमा लिएको घोषणा गरे । उनले प्रदर्शनकारीको माग पूरा गर्न सेनाले पूर्ण साथ दिने बाचा गरे । उनले सबै पक्षलाई वार्तामा आउन र छलफल गरी अन्तरिम सरकार गठन गर्न आह्वान पनि गरे ।

जमानको आह्वानअनुसार आन्दोलनको नेतृत्व गरेका विद्यार्थी नेताहरु, अन्य दलका नेताहरु, बुद्धिजीवी र अन्य नागरिक समाजका अगुवाहरूको बैठक डाकियो । बैठकको निर्णयअनुसार राष्ट्रपति शाहबुद्दिनले नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई अन्तरिम सरकारप्रमुख नियुक्त गरे ।

त्यसबेला युनुस स्वास्थ्य जाँचका लागि फ्रान्सको राजधानी पेरिसमा थिए । तर, आन्दोलनकारीको विशेष आग्रहमा उनी बङ्गलादेश फर्किए । पछि उनले विद्यार्थी नेता, नागरिक समाजका अगुवा लगायत सम्मिलित मन्त्रिपरिषद् गठन गरे । युनुसलाई नयाँ निर्वाचन गराउने म्यान्डेटसहित अन्तरिम सरकारको प्रमुख सल्लाहकार पद दिएर नेतृत्व प्रदान गरियो । अहिले पनि उनै युनुसले बङ्गलादेशको अन्तरिम सरकार चलाइरहेका छन् । उनले अर्को वर्षको फेब्रुअरी महिनामा निर्वाचन गराउने बाचा गरेका छन् ।

५. अरब वसन्त (२०११)

उत्तर अफ्रिका र मध्यपूर्वमा अवस्थित अरब मुलुकहरुमा लामो समयदेखि अधिनायकवादी सरकार सत्तामा थिए । ती मुलुकहरुमा भ्रष्टाचार, अनियमितता, विपक्षीको दमन, स्वेच्छाचारिता, नागरिक अधिकारको उल्लङ्घनजस्ता गतिविधि निरन्तर चलिरहेको थियो । यस्तो अवस्थाको विरोध गर्न सन् २०१०को अन्त्यमा उत्तर अफ्रिकी मुलुक ट्युनिशियाको सिदी बौजिद शहरको सडकमा एक युवा व्यापारी मोहम्मद बौआजिजीले आत्मदाह गरे ।

यो आत्मदाहबाट सल्किएको आन्दोलन र क्रान्तिको डढेलो पूरै उत्तर अफ्रिका र मध्यपूर्वमा फैलियो यो आन्दोलनलाई आम भाषामा ‘अरब वसन्त’ भन्ने गरिन्छ । ट्युनिशियाबाट शुरू भएको यो आन्दोलन सामाजिक सञ्जालको माध्यमबाट छिमेकी देशहरू इजिप्ट, लिबिया, सिरिया, यमन र बहराइनसम्म फैलियो ।

विशेषगरी शिक्षित तर बेरोजगार युवाहरू यस क्रान्तिमा महत्वपूर्ण भूमिका खेलेका थिए । यस आन्दोलनमा प्रदर्शनकारीलाई संगठित गर्न र प्रदर्शनको सन्देश विश्वसामु पुर्‍याउन फेसबुक, ट्विटर, युट्युबजस्ता सामाजिक सञ्जालले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

बौआजिजीको आत्मदाहसँगै ट्युनिशियामा शुरु भएको व्यापक प्रदर्शनका कारण विगत २३ वर्षदेखि सत्तामा रहेका राष्ट्रपति जिन अल–अबिदिन बेन अली जनवरी २०११ मा देश छोडेर भागे । त्यसैगरी, उत्तर अफ्रिकाकै अर्को देश इजिप्टको तहरीर स्क्वायरमा पनि लाखौँ जनताले ३० वर्षदेखि सत्तामा रहेका होस्नी मुबारकको विरोधमा प्रदर्शन गरे ।

प्रदर्शनका कारण सन् २०११ को फेब्रुअरीमा मुबारक पनि सत्ताच्युत भए । सन् २०१२ मा मोहम्मद मोर्सी राष्ट्रपतिमा निर्वाचित भएपनि त्यसको एक वर्षपछि इजिप्टको सेनाले कू गरी सत्ता आफ्नो हातमा लियो ।

लिबियामा तीन दशकभन्दा लामो समयदेखि मुअम्मर गद्दाफीको स्वेच्छाचारी र अधिनायकवादी शासन थियो । अरब वसन्तको हावाले लिबियालाई पनि भेट्यो ।

लिबियामा भएको शान्तिपूर्ण प्रदर्शनलाई दमन गर्न खोज्दा हिंसा फैलियो र गृहयुद्धमा परिणत भयो । गृहयुद्धमा नेटोको सैन्य हस्तक्षेपपछि सन् २०११ मा गद्दाफी मारिए । यद्यपि लिबियामा शान्ति स्थापना हुन सकेन । त्यहाँ अझै पनि विभिन्न सशस्त्र समूहहरु सक्रिय छन् ।

अरब वसन्तको प्रदर्शन मध्यपूर्वी मुलुक सिरियामा पनि फैलियो । सिरियामा पनि लामो समयदेखि बशर अल असदले शासन गरिरहेका थिए । असदले पनि शान्तिपूर्ण प्रदर्शन दबाउन खोज्दा गृहयुद्ध निम्तियो ।

अनेकौँ सशस्त्र समूह संलग्न गृहयुद्धका कारण लाखौँ मानिसहरु मारिए भने दशौँ लाख विदेश पलायन भए । यद्यपि गत वर्ष विद्रोहीको व्यापक हमलापछि असदको सत्ता च्युत भयो र विद्रोही नेता अहमद अल शर्राले सिरियाको सत्ता कब्जा गरे ।

अरब वसन्तकै परिणामस्वरुप अर्को मध्यपूर्वी मुलुक यमनमा पनि राष्ट्रपति अली अब्दुल्लाह सालेहको सरकार ढल्यो । उनले सन् २०१२ मा पदच्युत भएका थिए । यद्यपि यमनमा शान्ति स्थापना हुन सकेन । यमन गृहयुद्धमा फस्यो ।

सन् २०१४ मा यमनमा हुथी समूहले आफ्नो आक्रमणलाई तीव्र बनायो । यसको जवाफस्वरुप साउदी अरबसहितका मुलुकले सैन्य कारवाही सञ्चालन गरे । गृहयुद्ध र सैन्य हस्तक्षेपपछि अहिले यमनमा ठूलो मानवीय सङ्कट पैदा भएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  १ : ४३ बजे

झापामा एक सय ५२ भौतिक संरचनामा क्षति

सुरुङ्गा– जेनजी आन्दोलनका क्रममा झापामा १५२ वटा भौतिक संरचनामा क्षति

जेन-जी प्रदर्शन : ४१ जनाको शव पोष्टमार्टम गरी परिवारको जिम्मा लगाईयो 

काठमाडौं– भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनमा मृत्यु

सडकको अवस्था हेरेर अग्रिम ‘टिकट बुकिङ’ खुला गरिने

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सडकको अवस्था हेरेर मात्रै

कैलाश ढुंगेललाई प्रश्न- एमालेको नेतृत्व कहिले फेर्ने ?

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

चाडपर्वमा यातायात सेवा प्रभावकारी बनाइँदै, भाडा नबढाइने

काठमाडौं– यातायात व्यवस्था विभागले चाडपर्वलाई मध्यनजर गर्दै यातायात सेवालाई प्रभावकारी