हाकिम बन्ने त्यो लिगलिगे दौड, अहिले मन्त्री र कर्मचारी | Khabarhub Khabarhub

कुलमान–हितेन्द्रबीच अन्त्य भएको रस्साकस्सी :

हाकिम बन्ने त्यो लिगलिगे दौड, अहिले मन्त्री र कर्मचारी


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भदौ २४ र २५ गते भएको जेन–जी आन्दोलन क्रममा देशकै ठूला पार्टीहरू नेपाली काँग्रेस र नेकपा (एमाले) गठजोडमा बनेको केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो ।

ओली नेतृत्वको सरकारले प्रदर्शनको पहिलो दिन सोमबार गरेको बर्बर दमनका कारण मङ्गलबार देशको सम्पूर्ण सुरक्षा संयन्त्रले नै थेग्न नसक्नेगरी अराजक प्रदर्शन भयो । छानिछानी नेताका घर जलाउन थालेपछि मौजुदा प्रमुख दलका नेताहरू भागेर सेनाको शरणमा पुगे । ती मध्ये अधिकांश नेता अहिलेसम्म पनि विभिन्न सैनिक अखडामा आश्रयमै छन् ।

सरकार ढलेको, मौजुदा दल दुला पसेको र सडकराज हाबी भइरहेका बेला देशमा राजनीतिक शून्यता चिर्न राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई गत शुक्रबार बेलुकी प्रधानमन्त्री नियुक्त गरे ।

प्रधानमन्त्री नियुक्त भएको तेस्रो दिन अर्थात् सोमबार कार्कीलाई सघाउन मन्त्रीमण्डलमा नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध–निर्देशक कुलमान घिसिङ विभागीय मन्त्री नियुक्त भए । घिसिङले यतिखेर ऊर्जा, जलस्रोत तथा सिँचाइसहित भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी लिएका छन् ।

मन्त्रीको रूपमा आएका घिसिङ ऊर्जा मन्त्रालय अन्तर्गतको विद्युत प्राधिकरणमा दुई कार्यकाल प्रबन्ध निर्देशक भएका व्यक्ति हुन् । तर, घिसिङले आफ्नो कार्यकाल पूरा गर्न भने पाएनन् ।

त्यसको कारण थियो – केपी ओली सरकार र तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको आर्थिक तथा राजनीतिक स्वार्थ ! त्यसैले, कार्यकाल नसकिँदै घिसिङलाई काँग्रेस–एमाले गठबन्धन सरकारले हटाइदिएको दियो । घिसिङलाई ओलीनिकट हितेन्द्रदेव शाक्यले विस्थापन गरे ।

प्राधिकरणको नेतृत्वमा आउनासाथ एमाले अध्यक्ष ओली (प्रधानमन्त्री) र काँग्रेस नेता खड्का (ऊर्जामन्त्री) कै स्वार्थअनुसार शाक्य घिसिङमाथि खनिइन थाले । घिसिङको सार्वजनिक छवि ‘ड्यामेज’ गर्न शाक्यले त्यत्ति नै बल लगाए, जस्तो भाष्य एमाले कार्यकर्ताहरू बनाउन चाहन्थे ।

देश चरम लोडसेडिङमा रहेका बेला डेडिकेटेड फिडर र ट्रङ्कलाइनबाट चौबीस घण्टासम्मै निर्बाध विद्युत उपभोग गरिरहेका उद्योगी/व्यापारीहरूले बिजुलीको अर्बौँ रुपैयाँ महशुल तिर्न आनाकानी गरिरहेका थिए ।

उनीहरूले ठूला पार्टीका शीर्ष नेता र तिनै नेता सरकारमा रहँदा उनीहरूलाई रिझाएर विद्युत महशुल झ्वाम पार्न खोजेका थिए । कुलमान भने जसरी पनि उक्त महसुल उठाउने प्रयासमा थिए ।

मुख्यतः एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली उद्योगी/व्यवसायीबाट महसुल उठाउन लगाउनुको साटो कुलमानलाई नै प्राधिकरणबाट हटाउन चाहन्थे । कुलमानलाई प्रतिस्थापन गर्न पहिलेका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्य छँदैथिए । त्यसअघिको सरकारले आफूलाई हटाएर कुलमान नियुक्त गरेको विरोधमा शाक्य अदालतसम्म पुगेकै थिए ।

व्यापारी, ओली, उनका विभागीयमन्त्री खड्का र शाक्यकै इच्छाबमोजिम हाल सत्ताच्यूत ओली सरकारले गत चैत १० गते विवादास्पद निर्णय गर्‍यो । उक्त दिन बसेको मन्त्रीपरिषद् बैठकमार्फत ओलीले घिसिङलाई प्राधिकरणबाट हटाउने निर्णय गरेका थिए । शाक्यलाई नियुक्त गर्ने निर्णय पनि सोही दिन भएको थियो ।

शाक्य जसै प्राधिकरणमा फर्किए, तब कुलमानविरुद्ध उनको चुरीफुरी ओलीको ‘इगो’ लाई उछिन्ने खालको थियो । कुलमानले प्राधिकरणलाई नाफामा फर्काएका थिए । कम्पनीको वासलातमा बाँकी उठतीलाई पनि आम्दानीमै गणना गर्ने गरिन्छ । कुलमानले पनि उठ्न बाँकी २२ अर्ब रुपैयाँभन्दा बढी महशुल जोड्न बिर्सेका थिएनन् । तर, शाक्यले उठ्दै नउठेको बक्यौताको हिसाब देखाउँदै प्राधिकरण नाफामा रहेको भनी कुलमानले प्रचार गरेको भन्न थाले । उनको यो तर्क एमाले अध्यक्ष ओली र उनका कार्यकर्ताकै जस्तो थियो ।

शाक्यले यतिसम्म कि; प्राधिकरण घाटामै रहेको र सञ्चालन गर्न ऋण नै उठाउने हालतमा पुगेको समेत भनेका थिए ।

पदको प्रतिष्पर्धा र आरोपको ‘च्याप्टर क्लोज’ !

हितेन्द्रले राजनीतिक संरक्षण पाइआएको खम्बा अर्थात् ओलीलाई जेनजी आन्दोलनले सिंहदरबार र बालुवाटारबाट खेदाएपछि कुलमान–हितेन्द्रबीच प्रतिष्पर्धा र आरोप–प्रत्यारोपको अध्याय नै समाप्त भएको छ ।

हिजोसम्म आफूले सत्तोसराप गरेका कुलमान अहिले विभागीय मन्त्री बन्दा यतिखेर शाक्य उनका कर्मचारी बनेका छन्, अर्थात् कुलमानले दिएका निर्देशन शाक्यले पालना गर्नुपर्ने भएको छ । उनले आफ्ना कामको रिपोर्टिङ घिसिङलाई गर्नुपर्ने भएको छ ।

के थियो घिसिङ–शाक्य बीचको लफडा ?

कुलमान र हितेन्द्रबीचको लफडा नयाँ होइन, विगत देखिकै हो । कुलमानभन्दा पहिले विद्युत् प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक हितेन्द्र नै थिए ।

ओलीले शाक्यलाई प्राधिकरणमा २०७७ माघ २७ गते चार वर्षका लागि भित्र्याएका थिए । पछि ओली सरकार ढलेसँगै प्राधिकरणको जिम्मेवारी फेर्ने खेल पनि सुरु भएको थियो ।

कांग्रेसको नेतृत्वमा सरकार बनेसँगै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ साउन २४ गते शाक्यलाई प्राधिकरणको नाफा घटेको, अनधिकृत रूपमा विद्युत् कटौती भएको र विद्युत् चुहावट बढी भएको भन्दै हटाएर कुलमानलाई ल्याएका थिए ।

देउवा नेतृत्वको सरकारले शाक्यको कार्यकाल बाँकी रहँदै कुलमानलाई जिम्मेवारी दिएको थियो । शाक्यलाई विद्युत् नियमन आयोगमा विशेष पद खडा गरेर सरुवासमेत गरिदिएको थियो ।

आफूलाई अपमानपूर्वक हटाइएको भन्दै शाक्य अदालत गएका थिए । तर, अदालतले भने समयमा फैसला गरेन । पछि शाक्यको कार्यकाल अवधि सकिएपछि पनि त्यो मुद्दा अदालतमै थियो ।

यता कुलमान लामो समयदेखि समस्या बनेको लोडसेडिङ अन्त्य गरेसँगै जनताबीच लोकप्रिय भइसकेका थिए । उनले घाटामा रहेको विद्युत् प्राधिकरणलाई नाफामा ल्याए । कुलमानकै पालामा नेपालको ९९ प्रतिशत भूभागमा बिजुली पुग्यो ।

राम्रो काम गरेको भन्दै दोस्रो कार्यकालका लागि पनि कुलमान विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त भए । दोस्रो कार्यकालमा भने उनले प्रसारणलाइन विस्तारदेखि गाउँ–गाउँमा बिजुली पुर्‍याउने काम गरे ।

यता; गत वर्ष असारमा सत्ता–समीकरण परिवर्तन भयो र देशका ठूला राजनीतिक दल कांग्रेस र एमाले मिलेर सरकार बन्यो । सरकार बनेको केही समयपछि नै सरकार कुलमान हटाउने खेलमा लाग्यो ।

ऊर्जामन्त्री खड्काले कुलमानलाई कार्यसम्पादन मूल्याङ्कनमा शून्य नम्बर दिनेदेखि पटकपटक स्पष्टीकरण सोध्ने अभियान नै चलाए । कुलमानले पनि ऊर्जा मन्त्रीलाई खरो जवाफ फर्काए ।

अन्ततः २०८१ चैत ११ गते बसेको मन्त्रिपरिषद् बैठकबाट ओली सरकारले कुलमानलाई पदबाट हटाएरै छाड्यो । कुलमानले सार्वजनिक रूपमै व्यापारीबाट बिजुलीको महसुल उठाउन खोज्दा आफूलाई हटाइएको भनिदिए ।

घिसिङलाई हटाएको निर्णय गरेको दिन नै ओली सरकारले हितेन्द्रलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । सरकारको उक्त निर्णयविरुद्ध कुलमान पनि अदालत गएका थिए । अदालतले उक्त मुद्दामा फैसला गरिसकेको छैन ।

अहिले चाहिँ देशको राजनीतिसँगै कुलमान–हितेन्द्र सम्बन्ध यस्तो मोडमा आएको अवस्था छ, जहाँ आफूलाई हटाउन आवश्यक निर्णय गर्नसक्ने ठाउँमा हितेन्द्रले उनै कुलमानलाई पाएका छन्, जसलाई यसअघिको सरकारले हटाइदिएको थियो । यतिबेला कुलमानको मातहतमा हितेन्द्र छन् ।

कुलमानले मन्त्रीको हैसियतमा पहिलो निर्णयमार्फत् विद्युत् प्राधिकरणलाई डेडिकेटेड ट्रङ्कलाइनको बक्यौता रकम असुल्न निर्देशन दिएका छन् । आफू प्राधिकरणको कार्यकारी निर्देशक हुँदा सरकारले उठाउन नदिएको रकम अब उनले हितेन्द्रलाई आदेश दिएर उठाउनेछन् । मन्त्री कुलमानको आदेश अनुसार अब हितेन्द्रले पनि बक्यौता रकम उठाउनुपर्नेछ ।

को हुन् कुलमान ?

जेनजीहरूको आन्दोलन हुनु र ओली सरकार सत्ताच्यूत हुनुमा कुलमान पनि एउटा ‘फ्याक्टर’ हुन् । जेनजीको आन्दोलनपछि सामाजिक सञ्जालमा सम्बोधनको क्रममा कांग्रेसका महामन्त्री गगन थापाले समेत यो यथार्थ स्वीकारेका छन् । आफूले घिसिङलाई हटाउन हुन्न भनेपनि सरकारले त्यसो नगरेको उनको भनाइ छ ।

घिसिङलाई प्राधिकरणबाट हटाउनासाथ पनि आन्दोलनहरू भएका थिए । तर, त्यो बेला शिक्षक आन्दोलन व्यापक रूपमा चर्किएका कारण कुलमानको पक्षमा भएको प्रदर्शनले ठूलो रूप लिन सकेन ।

सरकारले हटाउँदा आम नागरिक नै सडकमा आउनेगरी कुलमानले आफ्नो छवि विद्युत् प्राधिकरणमा आएर लोडसेडिङ अन्त्य गरेपछि कमाएका हुन् । कुलमानका नाममा अहिले पनि विभिन्न ठाउँमा चोकहरूको नामाकरण नै गरिएको छ ।

ऊर्जामन्त्रीको रूपमा आएका कुलमान रामेछापका बासिन्दा हुन् । पाँच कक्षासम्म गाउँमै पढेर उनी काठमाडौँ आएका थिए । उनीले पहिलोपटक बिजुलीबत्ती काठमाडौँमै देखेका थिए ।

कुलमानले काठमाडौँकै अस्कल क्याम्पसबाट आइएस्सी गरेपछि छात्रवृत्तिमा भारतबाट थप अध्ययन गरे । जम्सेदपुरबाट सन् १९९४ मा इलेक्ट्रिकल इञ्जिनियरिङमा बीएस्सी गरेका थिए ।

कुलमानले प्राधिकरणमा इन्जिनियरको रूपमा आफ्नो जागिरे जीवन सुरु गरेका थिए । प्राधिकरणमा जागिर गर्दा उनले इञ्जिनियरिङ क्याम्पसबाट पावर सिस्टम इन्जिनियरिङमा स्नातकोत्तर गरे ।

कुलमानले ‘इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमाण्ड साइड म्यानेजमेन्ट’मा थेसिस गरेका हुन् । उनले पोखरा विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर समेत गरेका छन् ।

प्राधिकरणमा दशौँ तहको कर्मचारी हुँदा घिसिङले चिलिमे हाइड्रोपावर कम्पनीको जिम्मेवारी पाएका थिए । तर, पछि उनलाई त्यो जिम्मेवारीबाट हटाएर दुई वर्ष जति त्यत्तिकै राखिएको थियो ।

त्यसपछि भने उनलाई सरकारले प्राधिकरणको कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो । उनी कार्यकारी अधिकृत बन्नुअघि देशमा १८ घण्टासम्म लोडसेडिङ थियो । उनले केही समयभित्रै लोडसेडिङ अन्त्य गरिदिएका थिए । त्यसैले घिसिङलाई उज्यालोको प्रतीकका रूपमा आम नागरिकले चिन्छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  १ : ५७ बजे

चितवनको गाईघाट दुर्घटनामा २१ जना घाइते

चितवन– भरतपुर महानगरपालिका– २९ गाइघाटमा सातवटा सवारीसाधन एकापसमा ठोक्किँदा २१

जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट

पर्वत– गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै

बर्दिया र कैलालीको सान चिसापानी पुल (तस्बिरहरू)

कर्णाली– एउटा मात्रै पिल्लरबाट बनेको केबुल तारयुक्त पाँच सय मिटर

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत