अर्थमन्त्री खनालले पुँजीबजारमा बिचौलियाको नेटवर्क भत्काउलान्‌ ? | Khabarhub Khabarhub

अर्थमन्त्री खनालले पुँजीबजारमा बिचौलियाको नेटवर्क भत्काउलान्‌ ?


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अर्थमन्त्री नियुक्त रामेश्वर खनालप्रति पुँजीबजारले प्रतिक्रिया देखाउन अझै दुई दिन बाँकी छ । जेन–जी आन्दोलनपछि यतिखेर शेयरबजार बन्द छ ।

खनालले अर्थ मन्त्रालय सम्हालेसँगै आम मानिस अर्थतन्त्र सुधार हुने अपेक्षामा छन् । नेपालको आर्थिक अवस्थाबारे भलिभाँती जानकार, अर्थ मन्त्रालयमा समेत काम गरेको अनुभवका आधारमा पनि खनालप्रति आम मानिसहरूले आशा व्यक्त गरेका हुन् ।

अघिल्लो सरकारलाई विज्ञको रूपमा देशको आर्थिक सुधार गर्ने सुझाव दिएका खनाल अहिले आफैँ त्यो सुझाव कार्यान्वयन गर्ने ठाउँमा आइपुगेका छन् । खनालले अर्थतन्त्रसँगै शेयरबजारका समस्याबारे पनि नजिकबाट बुझेका छन् ।

अर्थमन्त्रीको रूपमा खनाल आएसँगै शेयर लगानीकर्ताले पनि उनीसँग केही अपेक्षा गरेको देखिएको छ । उता, पुँजीबजारमा बिचौलियाको रूपमा काम गरिरहेकाहरू भने त्रसित देखिन्छन् ।

अहिलेसम्म बिचौलियाले नीतिगत र नियामकीय छिद्रमा खेलेर विभिन्न किसिमको चलखेल गरिरहेका थिए । खनालले विषयगत मन्त्रालय सम्हालेकाले अब भने त्यस्तो अवस्था अन्त्य हुने आशा लगानीकर्ताले गरेका छन् ।

शेयरबजारमा बिचौलियाहरुले एक किसिमको नेटवर्क नै बनाएर शेयर कर्नरिङ गर्नेदेखि सामाजिक सञ्जालमा अनावश्यक हल्ला चलाएर चलखेल गरिरहेको अवस्थामामा अब त्यो नेटवर्क भत्किने चर्चा छ ।

२०३७ सालमा २३ वर्षमै खनाल अधिकृत तहबाट सरकारी जागिरमा प्रवेश गरेर १५ वर्ष बढी समय अधिकृत तहमा काम गरेपछि खुला प्रतिस्पर्धाबाट सहसचिवमा नाम भए ।

२०६३ मा सचिवमा बढुवा भएका खनाल २०६७ मा तत्कालीन सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीसँग मतभेद भएपछि पदबाट राजीनामा दिएर अवकाशमा गएका थिए ।

शेयरबजार सुधार्न यस्ता थिए खनालका सुझाव

हाल अर्थमन्त्री नियुक्त खनाललाई सत्ताच्यूत पूर्ववर्ती सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग–२०८१ को संयोजक नियुक्त गरेको थियो ।

खनालले सरकारलाई शेयरबजार सुधारका लागि १३ बुँदे सुझाव दिएका थिए । त्यसबेला विभिन्न सञ्चारमाध्यममा दिएको अन्तरवार्ताहरूमा ठूलै रूपमा गर्नुपर्ने कुराहरू मात्र आफूले प्रतिवेदनमा समावेश गरेको खनालले बताएका थिए ।

शेयर धितो कर्जाको क्याप पूर्ण रूपमा खारेज हुनुपर्ने लगायत कुराहरू खनालले गरेका थिए । यस्तो सामान्य कुराहरू एकै छिनमा गर्नसक्ने भएकाले प्रतिवेदनमा आफूले समावेश नगरेको खनालको तर्क थियो ।

खनालले दोस्रो बजारमा ऋणपत्र कारोबार गराउनुपर्ने र दोस्रो बजारमा गैर–आवासीय नेपालीलाई शेयर कारोबार गर्ने अनुमति दिनुपर्ने सुझाव आयोगमार्फत् दिएका थिए ।

प्रतिवेदनमा धितोपत्र बोर्डको संरचना परिवर्तन गरेर नेपाल चार्टर एकाउन्टेण्ट्स संस्था, नेपाल उद्योग वाणिज्य महासङ्घ र कानुन मन्त्रालयको प्रतिनिधि हटाएर त्यसको ठाउँमा एक विज्ञ राख्नुपर्ने सुझाव उल्लेख थियो ।

धितोपत्र दलाल कम्पनी (ब्रोकर)हरूले मार्जिन कर्जा दिने व्यवस्था गर्न समेत खनालले सुझाएका थिए । बोर्डको कार्यक्षमता अभिवृद्धि गर्नुपर्ने, जलविद्युत कम्पनीले उत्पादन सुरु गरेपछि मात्र सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) जारी गर्न दिनुपर्ने खनालले प्रतिवेदनमा भनेका थिए ।

खनालले कारोबार शुल्क कम गराउने, नेप्सेको पुनर्संरचना गर्ने, बस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालन गर्ने, उत्पादनमूलक कम्पनीलाई दोस्रो बजारमा ल्याउने र निजी क्षेत्रका कम्पनीलाई बण्ड जारी गर्ने लगायत सुझाव पनि दिएका छन् ।

उनले प्रतिवेदनमा प्रिमियम र बुक बिल्डिङ प्रक्रियाबाट शेयर निष्कासन गर्नुपूर्व पारदर्शी विधि बनाउनुपर्ने पनि उल्लेख गरेका छन् ।

खनालले यो सुझाव दिँदै गर्दा ओली सरकारमा अर्थमन्त्रीका रूपमा विष्णुप्रसाद पौडेल थिए । अर्थात्, खनालले शेयरबजारमा सुधार गर्नका लागि पौडेललाई सुझाव दिएका थिए । तर, अहिले खनाल आफैँले बनाएको प्रतिवेदन आफँै कार्यन्यव गर्ने ठाउँमा छन् । त्यसले गर्दा पनि लगानीकर्ताहरु बढी आशावादी देखिएका छन् ।

आशावादी छन् लगानीकर्ता

रामेश्वर खनालले अर्थ मन्त्रालयमा आएपछि लगानीकर्तालाई राम्रो हुने र बिचौलिया ठेगान लाग्ने नेपाल सेयरधनी सङ्घका अध्यक्ष घनश्याम पाण्डे बताउँछन् ।

शेयरबजारलाई नजिकबाट बुझेका मान्छे भएकाले पनि बजारको लागि राम्रो काम गर्ने र विचौलियालाई समेत चलखेल गर्ने नदिने पाण्डेको विश्वास छ ।

‘उहाँ (खनाल) शेयरबजारका लागि मात्र होइन, समग्र अर्थतन्त्रलाई नै राम्रो गर्ने व्यक्ति हो’, पाण्डेले भने, ‘उहाँबाट हामी लगानीकर्ताले पनि आशा गरेका छौँ ।’

अहिलेको परिस्थितिमा केही नगरी शेयरबजार खोलेको खण्डमा पूरै शेयरबजार धराशायी हुने भएकाले गर्दा अहिले अर्थमन्त्रीले लगानीकर्तालाई सम्बोधन गर्नुपर्ने पाण्डेको बुझाइ छ ।

‘अर्थमन्त्रीज्यूले लगानीकर्तालाई लगानी गर्नेका लागि सम्बोधन गरिदिएको खण्डमा बजार धेरै गिर्ने थिएन’, पाण्डेले भने, ‘उहाँलाई सम्बोधन गरिदिनसमेत आग्रह छ ।’

धितोपत्र बोर्डले पनि अहिलेको अवस्थामा लगानीकर्तालाई मध्यनजर गरेर केही गतिविधि गरिदिनुपर्ने पाण्डे बताउँछन् ।

शेयर विश्लेषक राजु पौडेल पनि अर्थमन्त्री खनालसँग लगानीकर्ता आशावादी भएको बताउँछन् । ‘अहिले हामी उहाँ (खनाल)सँग आशावादी छौँ’, पौडेलले भने, ‘यस्तो विषम परिस्थितिमा आगामी दिनमा उहाँले शेयरबजारका विषयमा कस्तो खालको निर्णय लिनुहुन्छ, त्यो पछि भन्न सकिएला ।’

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ५ : ४८ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित