काठमाडौं– सरकारले निजी क्षेत्र लक्षित गरेर इन्टिग्रेटेड बिजनेस रिकभरी प्लान ल्याउने भएको छ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले मङ्गलबार निजी क्षेत्रका प्रतिनिधिमूलक सङ्घसंस्थाका प्रतिनिधिसँग कुरा गर्दै उद्योगी व्यवसायीलाई समस्याबाट बाहिर निकाल्नका लागि सो योजना ल्याउने बताएका हुन् ।
कर नीति तथा मौद्रिक नीतिबाट दिन सकिने सहुलियतका लागि नेपाल सरकार सकारात्मक रहेको साथै अबका दिनमा निजी क्षेत्र तथा नागरिकहरूले सरकारको मुहार सार्वजनिक सेवा प्रदान गर्ने विन्दुहरूबाट अनुभूत गर्न सक्ने गरी सेवा प्रवाह गर्नका लागि सबै सार्वजनिक निकायमा कार्यरत कर्मचारीलाई निर्देशन दिइएको उनले बताए ।
उद्योग व्यवसायीहरूलाई सम्बोधन गर्दै अर्थमन्त्री रामेश्वर खनालले आफूले अटो सेक्टर थापाथली, भाटभटेनी सुपरस्टोर कोटेश्वर, अन्नपूर्ण र कान्तिपुर मिडिया हाउस तथा ट्राफिक प्रहरी कार्यालयका क्षतिग्रस्त संरचनाहरूको अवलोकन गरेको जानकारी गराए ।
उक्त अन्तरक्रियामा अर्थसचिव घनश्याम उपाध्यायले दशैँको दिन बाहेक अन्य सार्वजनिक बिदामा दिनमा समेत बैक तथा भन्सार खुला रहने र पहिरोका कारण अवरोध पुगेको तातोपानी नाका जोड्ने बाटो खुलाउनका लागि सरकारले प्रयास गरिरहेको जानकारी गराए ।
उक्त छलफलमा निजी क्षेत्रले नवनियुक्त अर्थमन्त्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुका साथै उद्योग व्यवसायको सुरक्षा, उद्योग व्यवसाय प्रवर्द्धन तथा लगानी प्रोत्साहनका लागि नेपाल सरकारले विश्वस्त तुल्याउन अनुरोध गरेका थिए ।
प्रदर्शनका क्रममा उद्योग व्यवसायमा भएको क्षतिको सम्बन्धमा कर सहुलियत, सहुलियतपूर्ण कर्जा, बिमा रकम यथाशीघ्र भुक्तानी हुने व्यवस्था लगायतमा नेपाल सरकारले यथाशीघ्र निर्णय गर्नु पर्ने माग राखेका थिए । निजी क्षेत्रलाई सरकार, राजनीतिक दल, पत्रकार, नागरिक समाज समेतले हेर्ने दृष्टिकोणमा परिवर्तन हुनु पर्ने विषय उठान भएको थियो ।
भदौको २३ र २४ भएको प्रदर्शनबाट निजी क्षेत्रको उद्योग व्यवसाय तथा लगानीमा पुगेको क्षति तथा उद्योग व्यवसायीका समस्याको सम्बोधनका सम्बन्धमा निजी क्षेत्रका प्रतिनिधिमूलक सङ्घसंस्थाका अध्यक्ष तथा प्रतिनिधिसँग अर्थमन्त्री रामेश्वर खनालले अर्थ मन्त्रालयमा छलफल र अन्तरक्रिया गरेका थिए ।
छलफलमा निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर्स एण्ड कर्मश, नेपाल उद्योग परिसङ्घ, नेपाल अटो डिलर्स एशोसियसन, चौधरी तथा भाटभटेनी ग्रुप समेतका उद्योग व्यवसायीहरू समेतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया