रविलाई जेलभित्रै राखेर रास्वपा महाधिवेशनको तयारी | Khabarhub Khabarhub

रविलाई जेलभित्रै राखेर रास्वपा महाधिवेशनको तयारी

चुनाव र महाधिवेशनको मिति जुध्दा नेतालाई सकस



काठमाडौं– अन्तरिम सरकारले अगामी फागुन २१ गते निर्वाचन हुने मिति घोषणा गरेको छ । निर्वाचनको मिति घोषणा भए पनि ०७९ को निर्वाचनमा मात्रै भाग लिएको दल राष्ट्रिय स्वतन्त्र पार्टी यसपालि भने आन्तरिक समस्यामा फसेको छ ।

रास्वपाको महाधिवेशन आगामी फागुन ७ देखि ९ गतेसम्म चितवनमा हुँदैछ । तर, यहीबीचमा फागुन २१ का लागि मध्यावधि निर्वाचन घोषणा भएको छ ।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन पूर्वनिर्धारित कार्यक्रम हो । तर, निर्वाचनको मिति घोषणा भएपछि महाधिवेशन अझ अगाडि सार्नै कि भन्ने विषयमा छलफल भइरहेको पार्टी प्रवक्ता मनिष झा बताउँछन् । तर, यसबारे आगामी केन्द्रीय समिति बैठकले निर्णय लिने उनको भनाइ छ ।

रास्वपामा अहिले जेन–जी आन्दोलनप्रति सबै नेताहरूको समर्थन देखिन्छ । तर आन्दोलनको मौका पारेर सभापति रवि लामिछाने भदौ २४ गते नख्खु कारागारबाट निस्केको विषयमा भने पार्टीभित्र विवाद देखिएको छ ।

सभापति लामिछाने किर्ते कागज बनाएर जेलबाट निस्केको भन्दै केन्द्रीय सदस्य गणेश कार्की र सहमहामन्त्री सुमना श्रेष्ठ लगायतले असन्तुष्टि जनाएका थिए । असन्तुष्ट रहेको केही दिनमै सुमनाले पार्टी परित्याग गरेकी छन् ।

रवि कारागारमा फर्किसक्दा पनि अहिलेसम्म रास्वपाभित्र लामिछाने नख्खु कारागारबाट बाहिरिएको विषयमा पक्ष र विपक्षमा विवाद भइरहेको छ । यो विवादले पार्टीलाई घाटा लगाएको नेताहरूको भनाइ छ ।

‘जेनजी आन्दोलनप्रति हामी सबैको एकमत धारणा छ । भ्रष्टाचार र अनियमितताले सीमा नागेपछि जनता उकुसमुकुस भएर यो किसिमका आन्दोलन गरेका हुन् भन्ने हाम्रो बुझाइ छ,’ रास्वपाका एक सचिवालय सदस्यले खबरहबसँग भने, ‘सभापति लामिछाने नख्खु कारागारबाट निस्केपछि हाम्रो पार्टीलाई थप घाटा भएको छ । जनताले पनि उहाँले चाल्नुभएको कदममा असहमति जनाउनु भएको छ ।’

रास्वपाका अर्का नेताले भने, ‘उहाँ निस्केर खतरा भएको भन्ने मेरो भनाइ होइन, तर उहाँसँगै अन्य व्यक्तिहरू पनि निस्केर समाजमा खतरा उत्पन्न भएको छ । यो विषयले पार्टीको आन्तरिक जीवनलाई ठूलो संकट पर्ने देखिन्छ ।’

रास्वपा उच्च स्रोतका अनुसार महाधिवेशन माघमै गर्ने विषयमा छलफल भइरहेको छ । रास्वपा नेताका अनुसार पार्टीको महाधिवेशन निर्वाचन अगाडि नै हुनुपर्छ भन्नेमा धेरै नेताहरू खुलेका छन् ।

कोषाध्यक्ष लीमा अधिकारी चुनाव अगाडि नै रासपाको महाधिवेशन हुने सङ्केत गर्छिन् । उनी यसलाई केन्द्रीय कमिटी बैठकले टुङ्गो लगाउने दाबी गर्छिन्।

यस्तै सहमहामन्त्री विराजभक्त श्रेष्ठ पनि निर्वाचन अगाडि नै पार्टीको महाधिवेशन हुनेमा ढुक्क छन् । उनी महाधिवेशन सार्ने या नसार्ने विषयमा छलफल भइरहेको बताउँछन् ।

पार्टीका विभिन्न विषय र वर्तमान राजनीतिक अवस्थाबारे खबरहबले रास्वपाका केही नेतासँग कुराकानी गरेको छ ।

कुराकानीको सम्पादित अंश उनीहरूकै शब्दमा–

मनिष झा, प्रवक्ता

निर्वाचनको मिति र हाम्रो पार्टी महाधिवेशनको मिति एकसाता मात्रै अघि–पछि भएकाले महाधिवेशन अगाडि गर्ने कि भन्ने छ तर छलफल हुन बाँकी छ । हामी निर्वाचन घोषणा भएको विषयलाई स्वागत गछौं । महाधिवेशनले निर्वाचनलाई असर नपुग्ने गरी मिति तय गर्ने छौँ । केन्द्रीय समिति बैठक बस्न बाँकी छ ।

अर्को कुरा, संगठनिक अनुशासनमा सम्झौता नहुने गरी काम गर्दै छौँ । जहाँसम्म सभापतिले जेल छाडेर भाग्नुभएको भनेर भाष्य बनाइएको छ, यसबारे छानबिन गर भनेका छौँ । आइपरेको घटनाक्रमले गर्दा पार्टीको पूर्वनिर्धारित लक्षमा सम्झौता नगर्ने हामीले भनेका छौं । सभापतिज्यू जेल नै बस्नुभयो भने पनि हामी पार्टीको महाधिवेशन गछौं र निर्वाचनमा पनि भाग लिन्छौँ ।

संसद् विघटनप्रति हाम्रा दुईवटा कुरा छन् । हामीले सामूहिक राजीनामा दियौँ । संसद् विघटन नगरेर दुई–तीनवटा बैठक गरेर संवैधानिक मान्यता दिएको भए हुने थियो । नेपालको संविधानले राष्ट्रियसभा विघटन हुँदैन भनेको छ । त्यो यथावत् छ ।

अब प्रश्न उठ्ला, संसद् विघटन हुनु हुँदैन पनि भन्ने, सामूहिक राजीनामा पनि दिने ? यसमा हाम्रो जवाफ के हो भने हामीले संसदमा केही हत्यारा र जनतालाई गुमराह बनाउने नेताका विषयमा प्रश्न उठाएका थियौँ । तर उहाँहरू आफ्नो लाज छोपेर हिँड्नुभयो । त्यसपछि यो आन्दोलन हुने विषयमा पनि खिसिट्युरी गर्नुभयो । तर, जनताले उहाँहरूलाई हटाउन चाहे र अझ नयाँ पुस्ताले विध्वंश मच्चाए । तर, पनि उनीहरूले सत्ता छोडेनन् । हामी यस्ता मान्छेसँग बसेर संसद् सेयर नगर्ने अवस्थामा पुगेका थियौँ । तर, अन्तिममा जनताले फाले । त्यसपछि हामी ताजा जनादेशको पक्षमा उभिएको हो ।

हामीले छोड्दैमा त्यो घर नै जल्नुपर्छ, विघटन नै हुनुपर्छ भन्ने पक्षमा हामी उभिएको हैन । हामी संविधानलाई मान्ने मान्छे भएकाले सहज अवस्थामा संसद् विघटन गर्नु ठLक होइन । तर, परिस्थितिले बाध्यता पनि थियो होला ।

अन्तरिम सरकार चुनावी सरकार हो । हामी चुनावमा जान्छौँ । सुशासन कायम गराउने विषयमा प्रधानमन्त्रीलाई यो ६ महिनामा पनि सघाउँछौँ । यो सरकार जनताको होस् । कर्मचारीलाई काम गर्ने वातावरण होस् । यो सरकारले अघिल्लो कार्यकालमा भएको राजनीतिक नियुक्ति खारेज गर्नुपर्छ ।

हामीले अहिले जनतालाई भेटेर आगामी कदमबारे कुराकानी गरिरहेका छौँ । हुन त पार्टीमा केही नेता बिदा हुनुभएको छ । यो कुरा अपेक्षित थियो । अझ पनि भन्छौँ, कुनै साथीहरूलाई यो पार्टीमा बसेर उकुसमुकुस भएको भए हामी रोक्दैनौँ । जेन–जी आन्दोलनले पार्टीभन्दा ठुलो व्यक्ति होइन र नेताभन्दा ठूला जनता हुन् भन्ने सन्देश दिएको छ ।

विराजभक्त श्रेष्ठ, रास्वपा दलका उपनेता

हामी अहिले आन्तरिक संवादमा छौँ । संवादले नै निकास निकाल्छ । अर्को कुरा, हामी संगठनको नियमित काममा फर्कन्छौं । हाम्रा नेताहरू पार्टी छाड्ने, साइड लाग्ने, मौन हुने इत्यादि भइरहेको छ । अहिले हामी अन्य व्यक्तिसँग पनि संवादमा छौँ । विचार मिल्ने शक्तिसँग संवाद गरेर दायरा बढाउने काममा छौँ ।

महाधिवेशन नभएका कारणले पनि अहिले पार्टीमा समस्या आएको छ । हामी पार्टी महाधिवेशन निर्वाचन अगाडि नै गर्ने पक्षमा अहिलेसम्म छौँ । सार्नेबारे पनि पार्टी केन्द्रीय कमिटी बैठकमा छलफल हुन्छ । अहिले सबै परिस्थिति मिलाउनुपर्ने छ । आन्तरिक कुराहरू धेरै मिलाउनुपर्ने छ । त्यसको समाधान महाधिवेशन नै हो ।

हाम्रो पार्टीका सबै नेता समेटेर लानुपर्ने छ । रवि दाइ जेलबाट निस्किएको भनेर कुराहरू आएका छन् । म चाहन्छु– यसबारे कारागार प्रशासनले पनि सत्य बोलिदियोस् । रवि दाइबाट अलिकति कमजोरी भएको होला तर उहाँले जेलमा आगो लगाउने कार्य हुन्छ भनेर जोगिनुपर्ने स्थिति थियो । परिस्थितिले यो सब गराएको होला । त्यो सबै भएपछि फेरि उहाँले आफूले आफूलाई नै बुझाउन पनि जानुभएको छ । त्योबेला कागज किर्ते हो भनेर अनुसन्धान गर्ने मेकानिज्म पनि त थिएन । जे छ, त्यो साँचो आओस् ।

संविधान भन्दा बाहिर गएर सरकार बने पनि संविधानमै टेकेर गरेको मान्नुपरेको छ । किनकि विश्वमै थोरै भएको घटना नेपालको राजनीतिमा भयो । परिस्थितिले सिर्जना गरेको कुरालाई नकार्न सकिँदैन । ओली सरकारको रवैयाका कारण यो भएको हो ।सरकार प्रतिपक्षको कुरा सुन्नै नसक्ने अवस्थामा पुगेको थियो तर युवाले पचाएनन् । सडक तात्यो । सडकलाई त रोक्न सकेनन् नि । जनता त आक्रोशित भए । परिस्थिति नै समाज र राज्यले आत्मासमीक्षा गर्नेखालको भएको छ । यसको मुख्य दोषी ठुला दल हुन् । तर, उनीहरूलाई दोष दिनको साटो प्रवृत्तिहरु सच्चिएर जानुपर्छ भन्ने छ । अहकार र दम्भ तोड्नुपर्छ । बेथिति र भष्ट्राचारको घर भत्किएको छ । भ्रष्ट्राचारी कोही बच्ने छैन भन्ने सन्देश दिएको छ ।

अर्को कुरा, पार्टीमा नेतातन्त्र भन्दा जनता ठुलो हो भन्ने सन्देश पनि यो जेन–जीले दिएका छन् । पार्टीहरूमा म बाहेक सबै नराम्रो भन्ने जुन प्रवृत्ति थियो, यसलाई आन्दोलनले तोडेको छ । यसबाट पाठ सिक्नुपर्ने छ । नयाँ सरकारले गरेका राम्रा कामलाई हामी साथ दिन्छौँ ।

लीमा अधिकारी कोषाध्यक्ष

निर्वाचनको मिति घोषणा भएको कुरालाई स्वागत गर्छौं । रास्वपा अब निर्वाचनको तयारी र अन्य संगठानिक काममा जान्छ । यो परिस्थितिको कल्पना भएको थिएन । यो कल्पनाभन्दा बाहिरको विषय भयो । यसबारे विस्तारित केन्द्रीय कमिटी बैठकमा यसबारे छलफल गछौं ।

हामी महाधिवेशन सार्न कि भन्नेबारे प्रदेशसम्म साथीहरूलाई बोलाएर छलफल गर्छौं । फागुन २१ गते निर्वाचन तोकिएकाले सोचेर प्लान गर्नुपर्छ ।

संविधानको मर्मअनुसार चल्ने कुरामा हाम्रो दुई मत छैन । तर, परिस्थिति ठीक नभएका कारण समस्या आयो । हामीले त जहिले पनि संविधानको मर्मअनुसार नै चल्नुपर्छ भनेको हो । तर विषम परिस्थिति आउँदा यसलाई स्वीकार गर्नुको विकल्प छैन ।

प्रतिनिधि सभा विघटन भए पनि राष्ट्रियसभा जीवित छ । त्यसलाई पनि टेकेर काम गर्न सकिन्छ । हामीले बीचमा बसेर निकासको वातावरण दिने भनेर चार/पाँच घण्टा सचिवालय बैठकमा छलफल गरेका छौँ । त्यसपछि सांसदहरूले राजीनामा दिनुभयो ।

महाधिवेशन नगर्ने भन्ने कुरा अहिले छैन । सभापति जहाँ भए पनि विस्तारित बैठकबाट छलफल गरेर महाधिवेशन गछौं । निर्वाचनमा पनि भाग लिन्छौँ । जनताले साथ दिनुहुन्छ । पहिलो दल पनि भएर निस्कछौं । विषम परिस्थिति भए पनि हामी पार्टीका नियमित कामहरू गरेर जान्छौँ । नयाँ सरकारले राम्रो काम गरोस् ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ७ : १८ बजे

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा

विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको

बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौं – गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप

कर तिर्ने समय एक महिना थप

काठमाडौं – सरकारले कर तिर्ने समय एक महिना थप गरेको