गफ जोतेर जीविका चलेको मुलुक ! | Khabarhub Khabarhub

गफ जोतेर जीविका चलेको मुलुक !



हिउँजस्तै बकुल्लो देखेपछि एउटा कालो कागलाई खपिनसक्नु पीडा भएछ । उसले बकुल्लालाई भेटेर सुन्दर भएकोमा बधाई दिँदै आफू कालो र कुरुप हुनुको दर्द पोखेछ । कागको कुरा सुनेर बकुल्लाले गुनासो गर्दै भनेछ– ‘मयूर नदेखेसम्म त मलाई मेरो सौन्दर्यमा घमण्ड थियो । तर जब उसलाई भेटें, त्यसपछि भने मभित्रको त्यो दम्भ चकनाचूर भयो ।’

उसले चिडियाघरमा मयूरसँग कागको भेट गराइदिएछ । नौरंगमा सजिएको मयूर आफ्नो पखेटा फिँजाएर नाच्दा संसारको सौन्दर्य पृथ्वीमा पोखिएजस्तो भान पथ्र्यो । मयूरको अद्भूत लीलाबाट तरंगित कागलाई उभित्रका सुन्दर जीवन भोगाइका अनुभव सुन्ने लोभ जाग्यो । आनन्दका कति अनुभूति होलान भनेर प्रशंसाको पुल बाँध्यो ।

कागको बखान सुनेर मयूर खुसी हुनु सट्टा स्तब्ध भएर बर्रर आँसु झार्दै भन्यो– ‘तिमीले बाहिरबाट हेर्दा जति मलाई सुन्दर देख्दछौ, मभित्र छट्पटीका थुप्रै बेदना छन् । तिमी देख्दा कालो भए पनि स्वतन्त्र छौ । म सुन्दर भएकै कारण जिन्दगीभर कैदी जीवन बाँच्न बाध्य छु । मेरो दैनिकी अरुको खटनपटनमा बित्छ । दिए खान पाउँछु , नदिए भोकै बस्नुपर्छ । अरुका लागि खुसी भएको नाटक गर्नुपर्छ । यस्तो नारकीय जीवनभन्दा तिमीले भोगेको खुल्ला संसार लाखौं गुना अब्बल छ । त्यसैले आफूले पाएको जीवनप्रति गर्व गर । अरुसँग आफूलाई तुलना नगर । तिमीभन्दा सुखी मैले संसारमा अरु कोही देखेको छैन ।’ मयूरको अनुभव सुनेपछि कालो काग संसारको सुखी र सुन्दर प्राणी आफैं रहेको निष्कर्ष निकालेर फर्कियो ।

विश्वका जुनसुकै मुलुक डुले, घुमे पनि अन्ततः नेपाली त्यो काग हुन, जसले आफूलाई सुखी र खुसी प्रमाणित गरेरै छोड्छ ।

संसारमा गफ जोतेर लाउन, खान पुग्ने मुलुक कुन हो ? यदि यो प्रश्न सोधियो भने नर्सरीका बच्चाले पनि एक सेकेन्ड नरोकिई उत्तर दिने छन्– नेपाल । विश्वका जुनसुकै मुलुक डुले, घुमे पनि अन्ततः नेपाली त्यो काग हुन, जसले आफूलाई सुखी र खुसी प्रमाणित गरेरै छोड्छ । हुन पनि संसारमा अरु वनस्पति, जीवजन्तु घटेका घटेकै छन् तर कागको संख्या बढ्दो छ ।

नेपाली यस्ता भाग्यमानी नागरिक हुन, जसको पुर्पुरोमा श्री मात्र लेखिएको छ । राष्ट्रपति, प्रधानमन्त्रीदेखि वडा सदस्यसम्मको दैनिकी गफ, अर्ती, बुद्धिबाहेक केही छैन । स्वदेशको राजनीतिक गफ सकियो भने डोनाल्ड ट्रम्प, एलेन मस्क, सी चिनफिङ, भ्लादिमिर पुटिन हुँदै नरेन्द्र मोदीसम्मका विषयमा नेपालीले चिन्ता गर्छ । अर्थतन्त्र ध्वस्त भएको दशकौं भयो, सबै चलेकै छ । जेन जी आन्दोलनपछि मुलुकका भौतिक संरचना ध्वस्त भयो, नेता बासविहीन भए भन्दाभन्दै सबै जर्‍याकजुरुक उठिसके ।

नेताहरुले पहिलेभन्दा विलासीयुक्त नयाँ बास भेटिसके । उनीहरुको तिकड्म शुरु भइसक्यो । कर्मचारीले गाडी, कार्यालय पाइसके । आफू विरुद्ध भित्तामा लागेका नारा नमेटिदै ओली सत्तामा मुख मिठ्याउन थालिसके । शेरबहादुर देउवाले सिंगापुरमा बसेर उहीँ बसेर ‘देउवा आऊ, पार्टी बचाऊ’को पटकथा मात्र लेखेनन् । नेपाल फर्किएर राजनीतिमा फेरि उदाएको संकेत गरिसके । तीन पूर्वप्रधानमन्त्री एक ठाउँ भेला भएका प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल बामदेव–भिम रावल लिएर खैंजडी बजाउने सुरसारमा छन् ।

सामाजिक सञ्जालमा देश चलाउनेहरुको भीड थामिनसक्नु छ । देशबाहिर गएका ४० लाख नेपालीको काम नमागेको अर्ती बुद्धि दिएर देश विकासमा सघाउनु रहेको छ ।

दलका मुखियाहरु दैनिक तीनवटा सार्वजनिक कार्यक्रममा देखिन नपाए आफूविना सृष्टि रोकिने चेतावनी दिन थालिसकेका छन् । मुख्यसचिव, सचिव, सहसचिवदेखि चौकीको हवल्दारसम्मलाई बैठक गर्न भ्याइनभ्याइ छ ।

सामाजिक सञ्जालमा देश चलाउनेहरुको भीड थामिनसक्नु छ । देशबाहिर गएका ४० लाख नेपालीको काम नमागेको अर्ती बुद्धि दिएर देश विकासमा सघाउनु रहेको छ ।

फेसबुकका भित्ता भित्तामा स्वघोषित नारायणगोपाल, तारादेवी, अरुणा लामा, नीतिको पाठ सिकाउने विदुर, चाणक्य, दानवीर कर्णहरु जन्मिएका छन् । घरघरमा टिकटक बिकाउने कलाकार जन्मिएका छन् । खाडीमा गए पनि घरमा डेढ लाखको आइफोन पठाएका छन् । सन्तान अंग्रेजी फरर्र बोल्ने बोर्डिङमै पढाएका छन् । नेपालमा बस्ने रोजेको भट्टीमा चलेकै ब्रान्डको झोलमा रमाएका छन्।

नेपालीको ज्ञान र चासो कतिसम्म बृहत् छ भने डोनाल्ड ट्रम्प, भ्लादिमिर पुटिन र नरेन्द्र मोदीसम्मको चिन्ताले उनीहरु पिरोलिएका छन् । अघिल्ला अमेरिकी राष्ट्रपति बाराक ओबामादेखि श्रीदेवीका किशोरी छोरीको भविष्यलाई लिएर नेपाली चिन्तित हुने गरेका छन् ।

नेताहरु आर्थिक समृद्धि सूत्र लिएर माला, खादा, अविर, मायाको चिनो र अभिनन्दनमा रमाइरहेकै छन् । ठूलो मान्छे भएपछि राम्रो देखिनुपर्छ भन्ने मनोविज्ञानले होला, कपडा पसलका थानै रित्याएर सिलाइएका लुगा दिनैपिच्छे फेर्छन् । उत्ताउलिएको मनोविज्ञान र शरीरको बनोटले स्वीकृत नदिएको जबर्जस्त राम्रोबीच तालमेल नखाएको स्पष्ट देखिन्छ ।

नेपालीको ज्ञान र चासो कतिसम्म बृहत् छ भने डोनाल्ड ट्रम्प, भ्लादिमिर पुटिन र नरेन्द्र मोदीसम्मको चिन्ताले उनीहरु पिरोलिएका छन् ।

निर्देशन नदिए ओहोदाको मूल्य नहुने भएकाले तेल, रेलसँगै झेल, आदेश र निर्देशन नित्य अनि दिव्य कामभित्र परिहाल्यो । राजनीतिज्ञ अब्बल ठहरिने उसको भिजनले हो । मानिसको सुन्दर कवच मुस्कान हो । अरुलाई उज्यालो छर्ने यात्रामा हिँडेको मानिसका लागि त्यही उज्यालोभित्रको सानो प्रकाश बाँच्नका लागि काफी हुन्छ । नूनको तातो लाग्नुपर्ने देशमा सुनैसुनको समाचारले मिडिया धपक्कै बलेको छ ।

यी सबै बेथितिका बाबजुद अधिकांश नेपालीले मीठै खाएका छन् । राम्रै लाएका छन् । विकसित देशका जनताका लागि एकादेशको कथा बन्ने घरजग्गा, जमिन र अलिकति अन्न नेपालीको जन्मसिद्ध अधिकारभित्र पर्ने गरेको छ । भारतभित्र महाभारत छ । जहाँ लाखौं किसान बैंकको ऋण तिर्न नसकेर मर्छन । बाउबाट छोराछोरी असुरक्षित छन् । दाइजो प्रथा हिलोमा गाडिएको किलो भैंm यसरी भासिएको छ कि करोडौं बाँचेर मरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व अर्थतन्त्रमा भारतलाई अब्बल बनाए पनि सामाजिक चेतनामा भारतभन्दा हामी लाख गुना माथि छौं । त्यो भूमिमा कस्मिरबाहेक अरु कुरामा भारतीयले भारतीयलाई विश्वास गर्दैन । भारतभित्र दर्जनौं देश छन् । विश्वको समृद्ध मुलुक अमेरिका जहाँ बिग्रिएको गँजडी छोरो पेस्तोल बोकेर स्कुलको कक्षा कोठामा निर्दोषमाथि गोली बर्साउँछ । हतियारको होडमा उन्मत्त भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम एक अर्कालाई ‘मोटे’ र ‘बुढो’ भनेर भद्दा मजाकमा रमाउँछन् ।

युरोपेली मुलुक जहाँ दुईघण्टा न्यानो घाम लाग्दा त्यहाँका बासिन्दाका लागि दशैँ आएजस्तो हुन्छ । ती देशमा ५० वर्षमा बढ्ने बनस्पति हाम्रोमा पाँच वर्षमा हुर्कन्छ । नेपाल त्यो सक्कली फूल हो, जसमा अत्तर छर्कन जरुरी छैन । खाँचो व्यवस्थापनको हो । एउटा लुगा सुकाउने डोरी पछ्याउँदै लहराएको स्कुुसको दानो महिनौंको भोक मेटाउन काफी छ । छतमा रोपिएका गमलाको तरकारीले परिवारलाई आत्मनिर्भर बनाएको छ । खाडीबाट अपाङ्ग शरीर लिएर आएकाले रोपेको टमाटर र काउली अर्गानिक खेतीको नमूना बन्छ । यो भन्दा समाज निर्माणको सजिलो अर्थशास्त्र कहाँ हुन्छ ?

अलिकति जमिन खोस्रिने वातावरण बन्न बित्तिक्कै नेपाली सुखी हुन एक वर्ष पनि लाग्दैन । त्यसैले नेपालमा अब विकासको ढाँचामा आमूल परिवर्तन जरुरी छ । ह्याङ भएको कम्प्युटर जस्तो सोचलाई समय सापेक्ष बदल्न जरुरी छ ।

नागरिकले सामाजिक सुरक्षालाई महत्त्व दिन्छ । जमिन बाँझो राखेर खाडी धाउने एकातिर बढ्दैछन् भने अर्कातिर हजार म्यादी पुलिस खुल्दा लाखौं युवा लाइनमा खडा छन् । यस्तो दृश्य देखेपछि सीपलाई व्यारेकीकरण किन नगर्ने ? छानो छाउने सिपाही, सिकर्मी हवल्दार, डकर्मी जमदार, जुत्ता टल्काउने असई, इँटा पार्ने सई, ढलान गर्ने इन्सपेक्टर किन नजन्माउने ? यदि यो बीउ रोपियो भने अंकको कागजी ओढ्ने, ओछ्याउनेमा रमाउनु पर्दैन । जनतालाई चाहिएको उनीहरुको आईफोनमा रिचार्ज गर्ने उद्यम हो ।

मार्क्सवाद, लेनिनवाद, माओवाद, बीपीबाद नभएर मानवताबाद आजको आवश्यकता हो । अर्जेन्टिनाको मकैले भोक मेटिएकै छ । ब्राजिल र रुसको तोरीले खोकनाको इज्जत धानेकै छ । डीडीसीको छुर्पी, चीज सोलुमा कोसेली बाँधिएर गएकै छ । इन्डियागेटमा उभिएर खिचिएका सेल्फी र इन्डियागेट चामलको भीड नेपालमा बढेकै छ ।

‘शिक्षक उड्यो भने विद्यार्थी दौडिन्छ । शिक्षक दौडियो भने विद्यार्थी हिँड्छ । शिक्षक हिँड्यो भने विद्यार्थी बस्छ । शिक्षक बस्यो भने विद्यार्थी सुत्छ । शिक्षक सुत्यो भने विद्यार्थी मर्छ ।’

भारतीय पाउडरबाट बनाइएको डीडीसीको दूधले भक्तपुरको जुजु धौ चलेकोलाई अर्गानिक उत्पादन ठान्ने हो भने त त्यो स्वतन्त्रता नेपालीले पाएकै छन् । चरीचुचे रेलभन्दा अघि सुधार गर्नुपर्ने प्राथमिकताका विषय यी हुन् । एउटा चिनियाँ उक्ति छ– ‘शिक्षक उड्यो भने विद्यार्थी दौडिन्छ । शिक्षक दौडियो भने विद्यार्थी हिँड्छ । शिक्षक हिँड्यो भने विद्यार्थी बस्छ । शिक्षक बस्यो भने विद्यार्थी सुत्छ । शिक्षक सुत्यो भने विद्यार्थी मर्छ ।’

हामी दूध बेच्नु अपराध हो भन्ने नेपाली समाजबाट निसृत प्राणी हौं । पानीको पनि किनबेच होला भनेर त अघिल्लो पुस्ताले सपनामा पनि सोचेको थिएन । तर चलनमै आएपछि त त्यही स्वाभाविक बन्यो । बरु नकिनिएको पानीमा विश्वास हुन छोड्यो।

नेपालीलाई भाग्यले ठगेको होइन । नेताले ठगेको हो । उनीहरुलाई भाग्यसँग भन्दा पनि नेतासँग गुनासो छ । राणा, पञ्चायत, बहुदल, गणतन्त्र हुँदै मुलुक संघीयता पुगेर पनि हरियो बत्ती नबलेपछि फेरि लोकतन्त्र, गणतन्त्र, ज्ञानेन्द्र तन्त्र हुँदै जेन–जीतन्त्र सम्म फन्का मारेको छ । आस गर्ने तर भर नगर्ने राजनीतिक क्रान्तिबाट पुस्तौं पुस्ताले पाएको गोताको क्षतिपूर्ति कसले भर्छ ? लुगा फाटे सिउने, मन फाटे पिउने सधैंको समाधान होइन । राष्ट्रियताका बकबास अब बन्द गरौं । यो त पान खाएर पिच्च थुक्याभन्दा पनि सस्तो भयो । घरघरमा प्रेम बढाऔं, राष्ट्रियता आफैं मजबुत हुन्छ ।

अरुको हैन, आफ्नो चिन्ता गरौं । यसो भयो भने त्यो परिवार, समाज हुँदै देशमा फैलिन्छ । अब एकमात्र विकल्प भने आइडियाले खाइडिया गर्ने हो । अफ्रिकामा सुन छ । तर अरु देशका डन बसेर सुनको मोलतोल गरिरहेका हुन्छन् । कतै नेपालको सेतो सुन मानिने पानी अधिकार अरुको, तिर्खा हामीमा सीमित त हुने होइन ?

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  १० : २६ बजे

गणतन्त्रभन्दा उत्तम व्यवस्था अरु छैन : मुख्यमन्त्री बानियाँ

पाटन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आम नागरिकको हितका लागि

ओलीको प्रश्न : संविधानले नचिन्ने यो सरकार कसको हो ? न दलको न जेन-जीको ?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कसको

‘ग्लोबल डे अफ एक्शन’का अवसरमा जलवायु न्यायको मागसहित नेपालभर आवाज (तस्बिरहरू)

काठमाडौं– हरेक वर्ष मनाइने’ग्लोबल डे अफ एक्शन’का अवसरमा नेपालभरका अग्रपंक्तिमा

राष्ट्र बैंकको तथ्यांक भन्छ- मुद्रास्फीति गत वर्षको भन्दा आधा बढी तल झर्‍यो

काठमाडौं– नेपाल राष्ट्र बैंकको तथ्यांकले नेपालमा मुद्रास्फीति गत आर्थिक वर्षको

ओलीको जिकिर : नयाँ आईजीपीलाई तर्साउन अवकाशमा गएका खापुङलाई स्थानहद तोकियो

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्रहरीका नयाँ