पर्यटनको सम्भावना बोकेको मुस्ताङको ‘झारकोट’ ओझेलमा « Khabarhub

पर्यटनको सम्भावना बोकेको मुस्ताङको ‘झारकोट’ ओझेलमा


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ पर्यटन विकासको प्रचुर सम्भावना हुँदाहुँदै ओझेल परेको छ ।

मुक्तिनाथ मन्दिर नजिकै एउटा वडामा रहेको पुराना रानीपौवा बजार पर्यटनले गुल्जार भइरहँदा यहाँको सबैभन्दा पुरानो ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ पर्यटन प्रवर्द्धन र विकासमा भने पछि परेको हो ।

वारागुङ मुक्तिक्षेत्रस्थित मुक्तिनाथ मन्दिरको काखैमा चारवटा गाउँ छन्, यसमध्ये सबैभन्दा बाक्लो बस्ती र पुरानो गाउँ हो झारकोटगाउँ । यहाँस्थित मुक्तिनाथको काखमा झारकोटसहित पुराङ रानीपौवा, खिङ्गा र छेङ्गुरगाउँ पर्दछन् । यी गाउँमध्ये सबैभन्दा धार्मिक तीर्थालुको आगमनका कारण पुराङ रानीपौवा बजारमा पर्यटकको चहलपहल निकै हुने गर्छ । झारकोटसहित अरु गाउँमा भने पर्यटन गुमनामजस्तै हुन्छ । कागबेनी–मुक्तिनाथ सडकखण्डसँगै जोडिएको झारकोट पर्यटनका हिसाबले सबैभन्दा पछि परेको छ ।

तत्कालीन समयमा यहाँको कागबेनी–मुक्तिनाथ जाने सडकमार्ग नहुँदा पुरानो झारकोट गाउँमा पर्यटकको चहलपहल हुन्थ्यो । सडक नहुँदा मुक्तिनाथ दर्शन गर्ने धार्मिक तीर्थालुहरू र मनाङ हुँदै थोरङ्लापास गर्ने विदेशी पर्यटक झारकोट गाउँभित्रको गोरेटो बाटो हिँडेर आवतजावात गर्थे । मुक्तिनाथ दर्शन गर्न आएका तीर्थायात्री र विदेशी पर्यटक झारकोट गाउँको प्राकृतिक तथा सांस्कृतिक सौन्दर्यता नियाल्थे । पैदल आएका तीर्थायात्री यहाँको गाउँमा खाजा खाना र बाँस बस्थे ।

त्यतिबेलाको अवस्थामा झारकोट गाउँमा स्थानीयको व्यापार व्यवसाय पनि राम्रै चलेको थियो । तर, अहिले झारकोटा गाउँभित्रको गोरेटो पदमार्ग बिरानो बनेको छ । पछिल्लो एक दशकयता गाउँभित्रको गल्ली गोरेटो बाटो स्थानीयवासीको आवतजावतका लागि मात्र सीमित बनेको छ ।

कागबेनी–मुक्तिनाथ सडक र यस गाउँको आवश्यक प्रचारप्रसार नहुँदा झारकोट ओझेलमा परेको स्थानीय धेचआङ्मो गुरुङले जानकारी दिए । उनका अनुसार गाउँको विकासका लागि युवा जनशक्ति विदेश पलायन हुँदा पर्यटन प्रवर्द्धन हुन नसकेको हो । कागबेनी–मुक्तिनाथ सडकमार्गमै पर्ने झारकोट मुक्तिनाथ मन्दिरको काखैमा भए पनि पर्यटन क्षेत्रबाट कुनै फाइदा लिन नसक्ने अवस्था रहेको गुरुङको भनाइ छ ।

झारकोट गाउँ विगत डेढ दशकदेखि पर्यटनका हिसाबले गुमनामजस्तै छ । बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक झारकोट गाउँ नजिकैको सडकमार्ग हुँदै मुक्तिनाथ आवतजावत गर्ने भए तापनि झारकोट गाउँमा पर्यटकको उपस्थिति शून्य रहेको स्थानीय गुरुङको दुखेसो छ ।

प्राचीन वस्ती झारकोटमा ६० घरपरिवार छन् । पहिला सडक नहुँदा गाउँका अधिकांश युवा गाउँ थिए । सडकको विकासले यस गाउँको रोजीरोटीमा नराम्रो धक्का पुग्यो । डेढ दशकअघि निकै चहलपहल हुने झारकोट पछिल्लो समय सुनसान बनेको स्थानीय धेचआङ्मो गुरुङको भनाइ छ । गाउँमा आम्दानी गर्ने माध्यम गुम्न थालेपछि गाउँका युवायुवती एकपछि अर्को गर्दै गाउँ छाडेर विदेश पलायन हुन थालेको उनको भनाइ छ ।

यतिबेला झारकोट गाउँमा युवायुवतीको सङ्ख्या एकदमै कम छ । अधिकांश युवायुवती वैदेशिक रोजागारका लागि युरोप र अमेरिका भासिँदा गाउँमा बालबालिका र ज्येष्ठ नागरिकको सङ्ख्या बढी रहेको स्थानीयवासी गुरुङले उल्लेख गरे ।

यहाँको ऐतिहासिक झारकोट गाउँका स्थानीय आंशिक खेतीपाती र पशुपालन व्यवसाय गरी जीविकोपार्जन गर्ने गरेको स्थानीय नम्डुल गुरुङले जानकारी दिए । यहाँ केहीले याक र घोडाको व्यापार गर्ने गरेको स्थानीय गुरुङको भनाइ छ । पछिल्लो समय मुक्तिनाथ मन्दिर नजिकैको चार गाउँका मानिसले घोडाबाट मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने दर्शनार्थीहरूलाई घोडा चढाएर आयआर्जन गर्ने गरेका छन् । जसमध्ये झारकोटमा पनि केही युवाले मुक्तिनाथमा घोडालाई यात्री ओसारपसार गरी सशुल्क सेवा दिइरहेको स्थानीय गुरुङको भनाइ छ । वर्षभरिको खेतीपाती र पशुपालन व्यवसायले वार्षिक गर्जो टार्न मुस्किल भएकाले वैकल्पिक व्यापार व्यवसायको भर पर्नुपरेको स्थानीय गुरुङले जानकारी दिए ।

वारागुङ मुक्तिक्षेत्र–१ स्थित यहाँको झारकोट गाउँमा सदियौँ पुरानो ऐतिहासिक राजाको दरबार अवस्थित छ । प्राचीनकालमा निर्माण भएको यहाँ अवस्थित साढे तीनतले झारकोट राजाको दरबार यहाँको पुरातात्विक तथा सांस्कृतिक सम्पदा रहेको यहाँका वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए । यहाँको दरबारमा तत्कालीन झारकोट राजाका पछिल्ला पुस्ताले बस्ने र दरबारको भोगचलन गर्दै आइरहेको उनले उल्लेख गरे ।

यहाँ सदियौँ वर्ष पुरानो झार छोदे गुम्बा अवस्थित छ । त्यसैगरी झारकोट गाउँमा कुनै व्यक्तिको मृत्यु भएमा उसको शवलाई गाउँभित्र रहेको (केनिल) मुनिबाट लगेर दाहसंस्कार गर्ने प्रचलन रहेको छ । झारकोट गाउँ नजिकै गुरु सेप्ची रहेको छ । जहाँ ढुङ्गामा कुदिएका जस्ता गुरु पद्ममसम्भवका पाइलाको डोब देख्न सकिन्छ ।

यहाँ प्राचीनकालमा निर्माण भएका ढुङ्गा र माटोले निर्मित पुराना घर अझै जीवन्त रहेका छन् । गाउँमाथि केहीपर तोराताल अवस्थित छ । ताल वरपर प्राकृतिक वनस्पति सिवकर्थोन अर्थात् स्थानीय भाषामा (तोरा) पाइने भएकाले त्यहाँको ताललाई तोराताल भनिएको हो । पछिल्लो समय त्यहाँ स्थानीयले ताल वरपर लुङ्ता झण्डा गाडेर निकै आर्कषक तुल्याएका छन् । मुक्तिनाथ आएका पर्यटक तोराताल अवलोकन गर्न जाने गरेका वडाध्यक्ष गुरुङले बताए । पछिल्लो समय झारकोटस्थित गुम्बा संरक्षणका लागि प्रदेश र पालिका सरकारले बजेट विनियोजन गरेर संरक्षण तथा संवर्द्धन गर्दै आइरहेको वडाध्यक्ष गुरुङको भनाइ छ । (रासस)

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ८ : ४९ बजे

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : आयोग

काठमाडौं- निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी

लालबाबु पण्डितले श्रीमतीलाई सम्झिँदै किन लेखे भावुक स्टाटस?

काठमाडौँ- नेकपा एमालेको सचिव पदमा उम्मेदवारी दिएका लालबाबु पण्डितले आफ्नी