एउटै मान्छे दुई पटकभन्दा धेरै दोहोरिँदा पार्टी बिग्रिन्छ : विद्या भट्टराई « Khabarhub

अन्तर्वार्ता

एउटै मान्छे दुई पटकभन्दा धेरै दोहोरिँदा पार्टी बिग्रिन्छ : विद्या भट्टराई

ईश्वरीको तर्क : नेतृत्वलाई खबरदारी गर्ने जिम्मा अब नयाँ पुस्ताको



नेकपा एमालेको एघारौँ महाधिवेशन चलिरहँदा भृकुटीमण्डपमा एकसाथ भेटिए दुई नेतृ विद्या भट्टराई र ईश्वरी जीएम । संयोग के छ भने उनीहरू दुवैले अझै पनि कम्तीमा २० वर्ष राजनीति गर्ने समय हुँदा पनि एमालेको नेतृत्वमा नफर्किने निर्णय लिए। नेतृत्व अर्थात् केन्द्रीय कमिटीमा दुवैले उम्मेदवारी नदिने निर्णय गरे ।

कास्कीकी विद्या भट्टराई यसअघि दुई पटक संघीय सांसद र एक पटक शिक्षा मन्त्री भइसकेकी छन् । उनी एमालेको दशौँ महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य थिइन् । उता रोल्पाकी ईश्वरी पनि दशौँ महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सांसद बनेकी थिइन् । यी दुवै नेतृले नयाँ पुस्तालाई बाटो खोल्दै केन्द्रीय कमिटीमा उम्मेदवारी दिएनन्। ईश्वरी दशौँ महाधिवेशनबाट निर्वाचित एमालेकी कान्छी केन्द्रीय सदस्य हुन् । यी दुवैले खबरहबसँगको कुराकानीमा ७० वर्ष काटेका नेताहरूलाई राजनीति विश्राम लिनुपर्ने पनि सन्देश दिए । ७४ लागेका केपी शर्मा ओलीले विधान संशोधन गरेर तेस्रो कार्यकाल अध्यक्ष हुने दौडमा लागिरहँदा यी दुई नेतृको बहिर्गमनलाई विद्रोहका रुपमा पनि एमालेजनले ब्याख्या गरेका छन् । उनीहरूले एमाले नेतृत्वमा नजान गरेको निर्णय र अबको बाटोबारे खबरहबले गरेको कुराकानीको सम्पादित अंश :

विद्या भन्छिन् : नयाँका लागि ढोका खोलिदिएँ

एमालेको एघारौँ महाधिवेशन चलिरहेको छ । पदमा अनिच्छा गर्नेमध्ये एकजना नेतृ तपाईं हुनु हुँदो रहेछ । किन यस्तो अनिच्छा ?

खासमा म दुई पटक सांसद भइसकेँ । एक पटक मन्त्री भइसकेँ । एक पटक केन्द्रीय कमिटी सदस्य भएँ । पार्टीले दिएको जिम्मेवारी पूरा गरेँ । एक प्रकारले दिने योगदान गरे । पटक पटक एउटै मान्छे किन दोहोरिनु त ? अरू साथीहरूलाई ढोका खोलिदिएको हो । अब पार्टीमा नयाँ साथीहरू आएर काम गर्नुहुन्छ ।

तपाईंसँग उमेर छ, समय पनि छ । एमालेमा अध्ययनशील नेतृका रुपमा चिन्छन् । तपाईंको त सम्भावना अझै थियो नि त नेतृत्वमा जाने ?

अध्ययन अध्यापनका कामहरू पनि अघि बढाउनु छ । बाहिर बसेर म पठनपाठनमा केन्द्रित हुन्छु । मैले बाहिरै बसे पार्टीलाई सहयोग पुर्‍याउँछु ।

के फेरि अध्यापनतिरै फर्किने हो ?

अनुसन्धानको काम गर्ने हो । एमफील सक्काएको छु । अब पीएचडीको तयारी गर्ने सोचमा छु ।

एमालेबाट नेतृत्वमा जान त रोकिनु भयो ? संसदीय चुनाव के गर्ने त ?

संसदीय चुनावबारे छलफल हुन बाँकी छ, समय पनि छ । तर मैले आफू दुई पटकभन्दा धेरै संसदीय चुनावमा उठ्दिनँ भनिसकेकी छु । मैले राखेको त्यो मान्यतालाई मैले कायम गरेर जानुपर्छ ।

तपाईंले एमालेको नेतृत्वलाई पनि म्यासेज दिनु भएको हो ?

हाम्रोमा आउन पनि गाह्रो, निस्कन पनि गाह्रो भएको अवस्था छ । अब हामीले पार्टीमा आउन र निस्कन पनि एउटा प्रणाली बनाउनुपर्छ । त्यसो नभए भ्याकुम भएर, त्यसले असन्तुष्टि पैदा गर्छ । हामी जस्ता बीचकाले छोड्दा नयाँलाई पनि केही समयपछि छोड्नुपर्ने रहेछ भन्ने सन्देश जान्छ । पुरानालाई पनि बीचकाले छाडे भने हामीले पनि छोड्नुपर्ने रहेछ भन्ने चेत आउँछ । यसरी एक्जिटको एउटा अभ्यास सुरू गर्नुपर्छ भन्ने सन्देश दिन यो निर्णय गरेको हो ।

एमालेलाई जेन-जी आन्दोलनपछि चौतर्फी चुनौती छ । यो चुनौतीबीच महाधिवेशन गर्दैछ । यसबाट लानुपर्ने सन्देश के हो ?

जेन-जी आन्दोलनले एउटा सन्देश दिएको छ । त्यो सन्देशलाई राजनीतिक दलहरूले ग्रहण गर्नुपर्छ । त्यसलाई दलहरूले सम्बोधन गर्नुपर्छ । एमालेले पनि जेन-जी आन्दोलनले दिएको सन्देशलाई सम्बोधन गर्न तयार हुनुपर्छ ।

ईश्वरी भन्छिन् : संख्याले समाधान दिँदैन, पार्टी विधिमा चल्नुपर्छ

तपाईं नेकपा एमालेको केन्द्रीय सदस्यमा किन उठ्नु भएन ?

मैले यो निर्णय गर्नुमा दुईवटा कारण छन् । पहिलो त मैले पारिवारिक कारणले यो निर्णय लिएको हो । मैले मेरा हुर्किँदै गरेका बालबच्चालाई समय दिनुपर्नेछ । उनीहरूलाई हुर्काउन आमाको भूमिका मैले निर्वाह गर्नुपर्छ । दोस्रो कुरा मैले महाधिवेशनबाट बिदा लिँदै गर्दा धेरैले अहिले नै किन छाडिस् भनेर प्रश्न गरेका छन् । मान्छे एकचोटी राजनीतिमा प्रवेश गर्‍यो, सांसद याद केन्द्रीय कमिटी सदस्य केही भयो भने आम सामान्य नागरिक, सामान्य कार्यकर्ता भएर बाँच्न हुन्न भन्ने आममानसिकतालाई म चिर्न चाहन्छु ।

तपाईंले राजनीतिप्रति वितृष्णा भएर त छोड्नु भएको होइन ?

म प्रष्ट छु, म रोल्पाबाट संघर्ष गरेर यहाँसम्म आएकी हुँ । म हिजोको विषम् परिस्थितिमा राजनीतिमा होमिएकी हुँ । त्यसकारण मैले पार्टीभित्रका केही कुरा खुलेर केन्द्रीय कमिटीमा राखेको छु । त्यसकारण मलाई राजनीतिबाट वितृष्णा भएर, पार्टीप्रति कुनै द्विविधा भएर विश्राम लिन लागेको होइन । मलाई छोड्न हुन्न भनेर समकालीन र सिनियर नेताहरूले भनिरहनु भएको छ। म आफ्नै परिस्थितिले पनि आइनँ ।

हिजो हामी युवाहरू संयोगले आएका थियौँ । अहिले हामीले युवाहरूका लागि प्रतिशत छुट्याउन बाध्य बनाएका छौँ । यो हाम्रो आवाज हो । मैले जेन-जी आन्दोलनपछिको केन्द्रीय कमिटीको दशौँ बैठकमा हामीले युवालाई पार्टी सहभागी हुनुपर्छ भन्ने तर नीतिगत रुपमा युवा ल्याउन सकेनौँ भनेर प्रश्न उठाएँ । त्यसकारणयुवालाई सहभागी गराउन पार्टीको महाधिवेशनबाटै प्रतिनिधि बनाउनु पर्छ भनेको हो ।

जिल्ला जिल्लाबाट युवा ल्याउनुपर्छ भन्ने आवाज मैले पार्टीमा उठाएँ ।त्यसमा हामी सफल भयौँ । हामी बाहिरिँदै गर्दा हामी जस्ता युवा धेरै पायौँ । अहिले युवाहरू आउँदा हामीले उहाँहरूलाई विश्वास गर्ने हो । अब हाम्रा भावनालाई नयाँ पुस्ताले समेट्ने छन् । कमिटीमा आउने नयाँ साथीहरूले एस म्यान हुनु हुन्न भन्ने लागेको छ। अबका यवाहरू ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्ने आउनेछन् ।

तपाईंले यसो भन्दै गर्दा नेतृत्वले त दुई कार्यकालले नपुगेर विधान नै संशोधन गरे । ७० वर्षे पनि हटाए । तपाईं चाहिँ छोड्दै हुनुहुन्छ ?

विधान जतिपटक परिवर्तन गरे पनि, सांगठानिक ढाँचालाई जति परिमार्जन गरे पनि केही हुन्न । पदाधिकारी १५ बाट १९, २५१ बाट केन्द्रीय सदस्य ३०१ पुर्‍यायँदा पनि पुग्ने रहेनछ नि । दुई पक्षको उम्मेदवारी र स्वतन्त्र पनि हुँदा आकांक्षी को त थुप्रो छ । संख्याले समस्याको समाधान दिँदैन, पार्टी विधि र पद्धतिमा चल्नुपर्छ । मुख्य कुरा विधिसंगत चल्ने कुरा ठूलो हो ।

केन्द्रीय कमिटीमा आउनु भएन, अब के गर्ने, भूगोलको राजनीतिमा सक्रिय हुने कि ?

होइन, म जिम्मेवार कार्यकर्ता हो । मैले संघीय सांसद र केन्द्रीय कमिटी सदस्यको भूमिका निर्वाह गरेँ । मैले अब गुमनाम भएर बस्न मिल्दैन । म त राजनीतिक कार्यकर्ता हो । जिम्मेवार र सामान्य कार्यकर्ताका रुपमा स्थानीय तहबाटै, जिल्लाबाटै नेतृत्वालाई खबरदारी गर्ने भूमिकामा रहन्छु । पार्टीलाई सल्लाह दिने, वडा कमिटी, पालिका कमिटीमा सक्रिय हुने काममा लाग्छु । म अध्ययन र पारिवारिक कामलाई पनि एकसाथ अघि बढाउने योजनामा छु ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ६ : २४ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद