संस्कृति पुनर्जीवित गर्दै बागलुङ बजारका स्थानीय | Khabarhub Khabarhub

संस्कृति पुनर्जीवित गर्दै बागलुङ बजारका स्थानीय


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गत शनिबारको छिप्पिँदो साँझसँगै सुरु भएको ऐतिहासिक हनुमान नाचले बागलुङ बजारको किनाराटोल उत्सवमय बन्यो । मानिसहरू अबेर रातिसम्म ठेलमठेल भएर उक्त नाच हेरे । रैथाने संस्कृतिको आनन्द बटुले ।

लौरो जुझाउँदै मृदङ्ग र झ्यालीको तालमा नाचिरहेका कलाकारले दर्शकदीर्घाको मन जिते । नाच अवलोकनका लागि गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकसहितका विशिष्ट व्यक्तिहरू पनि किनाराटोल आइपुगेका थिए ।

नौ वर्षको अन्तरालमा गत भदौ ११ मा सुरु भएको हनुमान नाच त्यसयता तेस्रोपटक विधिवत रूपमा नचाइएको हो । भदौ ११ बागलुङ नगरपालिका–३ नारायणचोक, मङ्सिर १५ मा वडा नम्बर २ लोकतान्त्रिकचोक र शनिबार वडा नम्बर ३ किनाराटोलमा नाच निकालिएको हनुमान नाच संरक्षण परिषद्का अध्यक्ष तीर्थप्रसाद श्रेष्ठले जानकारी दिए । यही फागुन १० गते राधाकृष्णटोलमा नाचको तयारी भइरहेको उनले जानकारी दिए ।

नारायणचोकमा हनुमानको मूर्ति प्रतिस्थापन र पूजाविधि गरेपछि हनुमान नाच सुरु भएको थियो । सोही दिन भीमसेनको मन्दिरमा विशेष पूजाआजा गरी बोका बलि दिने परम्परासमेत रहिआएको छ । नारायणचोकमा मुख्य पूजाआजासहित नाच सुरु गरेपछि बजारका विभिन्न टोलटोलमा पुगेर उक्त नाच देखाउने चलन छ ।

हनुमान नाचका मूलकजी (व्यवस्थापक) ईश्वरप्रसाद मलेपतिले यसअघि विसं २०७२ र विसं २०६३ मा हनुमान नाच देखाइएको बताए ।

मेला–महोत्सवमा झाँकीका रूपमा नाच प्रदर्शन गर्ने गरिए पनि विधिवत रूपमा नाच निकाल्न लामो समय कुर्नुपर्ने अवस्था रहेको परिषद्ले जनाएको छ ।

हनुमान नाच खर्चिलो मानिन्छ । एकै पटक धेरै कलाकार र व्यवस्थापकहरू आवश्यक पर्ने हुँदा तयारीका लागि धेरै समय चाहिने मूलकजी मलेपतिले बताए । उनका अनुसार यसअघि काठमाडौं, भक्तपुर, पोखरा, भैरहवालगायतका ठाउँमा उक्त नाच प्रदर्शन गरिएको थियो । चैतको अन्तिम मङ्गलबार नाच समापन गर्ने पूर्वयोजना रहेपनि वैशाख–जेठसम्म नाच लम्बिने देखिएको उनको भनाइ छ । 

के हो ऐतिहासिक हनुमान नाच ?
भक्तपुरबाट सुरु भए तापनि हनुमान नाच बागलुङ, बेनीलगायत सीमित ठाउँमा मात्र संरक्षित रहेको संस्कृतिकर्मी प्रेम छोटाले बताए ।  तीन, पाँच, सात र नौ गरी बिजोर वर्ष पारेर नाच नचाउने परम्परा रहेको उनको भनाइ छ । पौराणिककालका वीर हनुमानको आराधनाले शक्ति प्राप्त हुनुका साथै सुख, समृद्धि प्राप्त हुने विश्वासमा हनुमान नाच नाच्ने गरिएको संस्कृतिकर्मी छोटाले बताए । रामायणका प्रमुख पात्रसमेत रहेका हनुमानमा निहित पराक्रम, वीरता, अनुशासन र भक्तिभावलाई नृत्यको माध्यमबाट प्रदर्शन गरिने उनको भनाइ छ ।

‘नाचमा १३ जोडी कलाकारले हनुमानको स्वरुप धारणा गेरर दिने प्रस्तुति कलात्मक हुन्छ, विभिन्न दस तालमा यो नाच नाचिन्छ’, उनले भने, ‘यो पाँच सय वर्षभन्दा पहिले भक्तपुरबाट सुरु भएको नाच हो, पछि त्यहाँबाट बागलुङ बसाइँ सरेर आएका नेवारहरूले हुनमान नाचको संस्कृति पनि सँगै ल्याए ।’ बागलुङमा नेवार समुदायको इतिहास झण्डै तीन सय ५० वर्ष पुरानो छ ।

विसं १७ सय ६८ मा पहिलोपटक नेवार जाति बागलुङ प्रवेश गरेको इतिहासमा उल्लेख रहेको संस्कृतिकर्मी छोटाले बताए । उनका अनुसार मल्लकालीन समयमा भक्तपुरका राजा भुपतिन्द्र मल्लले हनुमान नाच सुरु गरेका थिए । हनुमान नाच मङ्गलबार, बिहीबार र शनिबार मात्र नाच्न मिल्ने पराम्परा छ । पछिल्लो समय नेवारबाहेक अन्य समुदायका कलाकारले पनि नाचमा भाग लिने गरेका छन् ।

‘धेरै कलाकार चाहिने हुँदा यो नाच महँगो छ, पूजाआजा, पोशाक, वाद्ययन्त्रलगायत सामग्री व्यवस्थापनमा खर्च बढी हुन्छ’, संस्कृतिकर्मी छोटाले भने, ‘नाच सञ्चालनको लागि प्रधान कजी (व्यवस्थापक), उपप्रधान कजी, कजी, पूजारी, वाद्यवादक, कलाकारलगायत एकै पटक सयौँ व्यक्ति खटिनुपर्छ ।’ हनुमान नाच बागलुङकै ऐतिहासिक र सांस्कृतिक धरोहरको रूपमा रहेको उनको भनाइ छ ।

देवालय, सलामी, ६ ताल, आठ ताल, १२ ताल, २४ ताललगायत गरी दश तालमा नाच नचाइने हुनमान नाचका वाद्यवादक नीरज शाक्यले बताए । पुच्छरसहित हनुमानको भेष पहिरेका कलाकार एकापसमा लौरो जुझाउँदै मृदङ्ग र झ्यालीको तालमा नाच्ने गरेको उनको भनाइ छ । नाच्ने क्रममा कतिपयलाई ‘वीर’ उत्रने गरेको छ । ‘बाजाको ताल छोपेर नाचिरहेका बेला ताल बिग्रियो भने पनि वीर उत्रने गर्छ, बाहिर दर्शकदीर्घामा रहेका व्यक्तिलाई पनि वीर उत्रन सक्छ’, उनले भने, ‘वीर उत्रेर शरीर काँप्ने, दौडने, भाग्ने गरेमा पुजारीबाट धूप सुँघाएर सामान्य अवस्थामा फर्काउने गरिन्छ ।’

हनुमान नाचका अग्रज कलाकार शाक्यले पौराणिक ग्रन्थ रामायणको कथाका विभिन्न घटना तथा प्रसङ्गमा आधारित रहेर ताल र नाचको संयोजन गरिएको बताए ।

नाचको उत्पत्ति भएको भक्तपुरबाटै लोप हुन लागेको हनुमान नाचको संस्कृति बागलुङमा भने जीवित छ । पछिल्लो समय युवा पुस्ता पनि हनुमान नाचप्रति आकर्षित छन् । हनुमान नाच सुरु हुनुपूर्व हप्तौँसम्म नाचको पूर्वअभ्यास हुने गर्छ । नाच र वाद्यवादनमा पारङ्गतहरूबाट हनुमानको कला र विधि नयाँ पुस्तामा हस्तान्तरण हुँदै आएको छ ।

हनुमान नाचबारेको ज्ञान, कला र शिल्प सिकाउने उद्देश्यले परिषद्ले बेलाबेलामा प्रशिक्षणसमेत चलाउँदै आएको छ । यसपालि पनि प्रशिक्षणबाट नाच र वाद्यवादनतर्फ झण्डै ५० जना किशोर र युवा छानिएका थिए । उनीहरू नै अहिले हनुमान नाचमा कलाकारका रूपमा सहभागी छन् ।

विसं २०४६ मा हनुमान नाच संरक्षण परिषद् गठन भएपछि बागलुङमा नाचको संरक्षण तथा प्रवर्द्धनमा संस्थागत पहल सुरु भएको हो । 

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ७ : ४८ बजे

पोखरामा स्वदेशी सीप र पुँजीमा निर्माण भयो अत्याधुनिक हवाई इन्धन डिपो

कास्की – पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो

पोर्चुगलका पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा

लिस्बन – पोर्चुगलका पूर्वप्रधानमन्त्री जोस सुक्रेट्समाथि स्थानीय सञ्चारमाध्यमले यसअघि नै

‘कुलिङ पिरियड’बारे भएको हेरफेरप्रति रास्वपाको आपत्ति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’बारे

आजका समाचार : सर्वोच्चले जोगाइदियो ५२ भाइको जागिर, कुलिङ पिरियडमा छानविन समिति बन्दै, प्रधानमन्त्री रियल मड्रिडमा र फुटबलर जोटा दुर्घटनामा बिते   

प्रधानमन्त्री ओलीद्वारा रियल मेड्रिडको रङ्गशाला अवलोकनप्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको

नेपाल औषधि लिमिटेडले आगामी वर्ष २० प्रकारका औषधि उत्पादन गर्ने

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता