सिङ्गो दलित परिवार नै नागरिकता विहीन « Khabarhub

सिङ्गो दलित परिवार नै नागरिकता विहीन


३ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीको शम्भुनाथ नगरपालिका–३ कचन्दाहाका मागैन सदाका पूरै परिवार आफ्नो पहिचान खोज्न संघर्ष गरिरहेको छ । नेपालमै जन्मिए हुर्किए पनि आफू नेपाली भएको कुनै पहिचान पाउन नसकेको ६० वर्षीय मागैन सदा बताउँछन् ।

घरकै मूली मागैनको नागरिकता नबन्दा उनकी श्रीमती ५५ वर्षीया उर्मिलादेवी सदा, जेठो छोरा २२ वर्षीय गोविन्दा, कान्छो छोरा १९ वर्षीय दीपक पनि नागरिकताविहीन छन् । नागरिकता नहुँदा उनीहरू राज्यबाट पाउने सबै सेवासुविधाबाट वञ्चित भएको दुखसो पोख्छन् ।

बुबा फनि सदा र आमा चरी सदाको नागरिकता नहुँदा अहिले मागैन सदाको पूरै परिवार पहिचानविहीन छन् । ‘बुबाको नागरिकता नहुँदा मेरो जन्मदर्ता बन्न सकेन, अहिले मेरो नागरिकता नहुँदा श्रीमती र छोराहरूको पहिचान बन्न नसकेको हो’, उनी भन्छन्, जन्मदर्ता नबन्दा छोराहरूले विद्यालयमा पढ्न पाएनन् र उनीहरू सानै उमेरमा कमाउन भारत जानुपर्ने अवस्था आयो ।’

नागरिकताका लागि तत्कालीन गाविस कार्यालयदेखि अहिलेको स्थानीय तहको वडा कार्यालयसम्म सिफारिसका लागि धाउँदै आए पनि बनाउन नसकेको उनी बताउँछन् । ‘नागरिकताको सिफारिसका लागि जन्मदर्ता खोज्छन्, श्रीमानको नागरिकता र आमाबुबाको नागरिकता माग्छन्’, उर्मिला सदा भन्छिन्, ‘न आफ्नो जन्मदर्ता छ, न श्रीमानको नागरिकता नै, नेपाली भएको कुनै प्रमाण नै छैन ।’

नागरिकता नहुँदा राज्यबाट मात्र नभएर समाज र समुदायबाट पनि अलग हुनुपरेको उर्मिलाको गुनासो छ । ‘नागरिकताकै अभावमा गाउँस्तरमा बन्ने कुनै पनि समूहमा सदस्यता पाउन सकिरहेकी छैन,’ उनी भन्छिन् ।

सोही ठाउँका चन्दर सदाको परिवार पनि यस्तै समस्यासँग जुध्दै छ । उनका बुबा धोथर सदाको नागरिकता नहुँदा चन्दरको सिङ्गो परिवारले नै नागरिकता पाउन सकेन । चन्दरको नागरिकता नहुँदा उनकी ३५ वर्षीया श्रीमती कदमीदेवी, जेठी छोरी १७ वर्षीया पूजा, १५ वर्षीया छोरी श्रद्धा, १० वर्षीय छोरा फुलेशरा, छ वर्षीया छोरी फुलेश्वरी सदा र चार वर्षीय छोरा आयुष सदा पनि जन्मदर्ता र नागरिकताबाट वञ्चित छन् । चन्दर सदाका बुबा धोथर सदाको नागरिकता नबन्दा अहिले पूरै परिवार पहिचानविहीन छन् ।

शम्भुनाथ नगरपालिकामा मात्र नभएर सप्तरीका विभिन्न स्थानीय तहमा यो समस्या छ । जन्मदर्ता, विवाह दर्ता र नागरिकताको ठूलो समस्या पाइएपछि व्यक्तिगत घटना दर्ताका लागि सचेतना कार्यक्रमसमेत सुरु गरिएको छ ।

चेतनाको आभावमा नागरिकता र जन्मदर्ताको महत्त्व नबुझेर पूर्वजहरूले समयमै जन्म, विवाह र मृत्युदर्ता नबनाइदिँदा अहिलेको सन्ततिले दुःख पाइरहेको शम्भुनाथ नगरपालिकाकी कार्यवाहक नगरप्रमुख अनिताकुमारी चौधरी बताउँछिन् । ‘त्यतिखेर पूर्वजहरूले नागरिकताको खासै महत्त्व बुझेन र बनाउने प्रयास पनि गरेन’, कार्यवाहक नगरप्रमुख चौधरीले भनिन्, ‘अहिले त्यहीँ भएर सन्ततिले दुःख पाइरहेका छन्, अब कानुनी जटिलता छ, हामीले चाहेर पनि नागरिकताका लागि सिफारिस गर्न सक्ने अवस्था छैन ।’

प्रमाण जुटाउन नसक्दा जन्मदर्ता र नागरिकताको सिफारिस गर्न कठिनाइ भइरहेको सुनाउँदै शम्भुनाथ नगरपालिका–३ का वडाध्यक्ष नवीनकुमार चौधरी ती परिवारको नागरिकता समस्या समाधानका लागि पहल गरिरहेको बताउँछन् ।

शम्भुनाथ नगरपालिका–३ कचन्दाहाका सतोदेवी सदा ७२ वर्षकी भइन्, तर अझै नागरिकताविहीन छन् । २५ वर्षकै उमेरमा पति धोतर सदालाई गुमाएकी सतोदेवीले नागरिकता नभएकै कारण राज्यबाट पाउने सुविधा र भत्तबाट वञ्चित छिन् । ‘छोराहरू सानै थिए, त्यत्तिबेलै पतिको मृत्यु भयो, पतिको नागरिकता थिएन’, उनले भनिन्, ‘पतिको नागरिकता नहुँदा मेरो नागरिकता पनि बन्नेन, अहिले सबै सुविधाबाट वञ्चित छु ।’

‘श्रीमानको मृत्यु भएको करिब ४५ वर्षभन्दा बढी भइसक्यो, तर म अहिलेसम्म सामाजिक सुरक्षा भत्ता पाउन सकेकी छुइन’, सतोदेवीले भनिन्, ‘सामाजिक सुरक्षा भत्ताका लागि नागरिकता खोज्छ, तर नागरिकता नै छैन ।’ श्रीमानको मृत्युपछि हरेक एकल महिलाले राज्यबाट सामाजिक सुरक्षा भत्ता पाउँछन् । तर नागरिकता नहुँदा आफू ती सुविधाबाट वञ्चित हुनुपरेको सतोदेवीको भनाइ छ ।

‘वडाध्यक्षकहाँ पुग्दाँ पतिको नागरिकता ल्याउनु, सनाखत गर्ने मान्छे बोलाउनु भन्छन्’, सतोदेवी भन्छिन्, ‘तर न पतिको नागरिकता छ, न सनाखत गर्ने भाइभतिजा नै छन् ।’ नागरिकताविहीन हुँदा राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित हुनु परेको मात्र नभएर आफ्नै देशभित्र गैरनागरिक बन्नुपर्ने बाध्यता रहेको उनको गुनासो छ ।

प्रकाशित मिति : ३ चैत्र २०८१, सोमबार  ११ : ५३ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट