काठमाडौं– भनिन्छ, कहिलेकाहिँ इतिहास दोहोरिन्छ ! पहिलोचोटि त्रासदीका रुपमा, अनि दोस्रोचोटि ‘मजाक’ का रुपमा ।
पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीका सन्दर्भमा पनि रमाइलो प्रहसनका रुपमा इतिहास दोहोरिएको छ ।
गत फागुन ६ गते प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पोखराबाट भिडियो सन्देश दिँदै पूर्वराजा शाहले भनेका थिए, ‘अब समय आयो । राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कामय राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशबासीलाई आह्वान गर्दछौँ ।’
घुमाउरो भाषा प्रयोग गर्दै राजनीतिमा सक्रिय हुने घोषणा गरेका पूर्वराजा शाहले भिडियो सन्देशलाई कार्यान्वयन गर्ने उद्देश्यले राजावादीहरुको आन्दोलनलाई एकतावद्ध बनाउने योजना अगाडि सारे ।
तर, राजावादीहरुलाई एउटै मञ्चमा ल्याउनु ज्ञानेन्द्रका लागि चुनौतीपूर्ण थियो । राप्रपाको ब्यानरमा गोठालो बनेर नहिँड्ने दुर्गा प्रसाईँको अडानका कारण सबैलाई मान्य हुने कमाण्डरको खोजीमा पूर्वराजा लागे ।
यो पनि-
कमल थापा र राजेन्द्र लिङदेनको ‘कन्ट्रोभर्सी’
राप्रपा नेतालाई दुर्गा प्रसाईँको चुनौती– म तपाईहरुको गोठालो होइन
ज्ञानेन्द्रले पढाएको प्रजातन्त्रको पाठ – सोह्र दुना आठ !
ज्ञानेन्द्रको ‘भड्किलो’ प्रश्न, ओलीको ‘आक्रामक’ जवाफ !
ज्ञानेन्द्र र प्रचण्ड : हुन नसकेको त्यो भेट !
सबै राजावादी पार्टी र समूहको साझा मोर्चा बनाउने र उक्त मोर्चाको नेतृत्व गरिदिने प्रस्ताव पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दसमक्ष यसअघि नै पुगिसकेको थियो । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि चन्दलाई मोर्चाको नेतृत्व सम्हालिदिन आग्रह गरेको स्रोतको भनाइ छ ।
तर, चन्दले उमेर लगायतका विविध कारण देखाउँदै राजावादी मोर्चाको नेतृत्व सम्हाल्ने प्रस्ताव स्वीकार गरेनन् ।
चन्दले नेतृत्वमा बस्न नमानेपछि अर्को साझा व्यक्तिको खोजी हुन थाल्यो । र, यसै सिलसिलामा ज्ञानेन्द्रले राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष एवं पूर्वमन्त्री नवराज सुवेदीलाई मोर्चाको साझा नेता बन्न प्रस्ताव गरे ।
हाल उमेरले ८६ वर्षमा हिँडिरहेका सुवेदी रामेछापबाट ०३८ र ०४३ सालमा दुईपटक राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित सांसद हुन् । गहराज्यमन्त्री, उद्योगमन्त्री लगायत पञ्चायतकालमा विभिन्न मन्त्रालय सम्हालेका उनी ०४६ सालमा बहुदल आउनुअघि राष्ट्रिय पञ्चायतको अध्यक्ष (सभामुख) थिए । हाल उनी राजेन्द्र लिङदेन नेतृत्वको राप्रपामा मनोनित केन्द्रीय सदस्य थिए ।
यो पनि-
पूर्वराजाको मन्त्रणासँगै सुवेदीले छाडे राप्रपा

पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र जोगाउने भन्दै राजावादीहरुको साझा नेतृत्व गर्न प्रस्ताव गरेपछि ८६ वर्षीय सुवेदीमा युवा जोश देखिएको छ ।
आइतबार आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठकमा सुवेदीले मौसुफ सरकारबाट आफूलाई नेतृत्वका लागि निगाह बक्स धभएको भन्दै सबैले साथ दिन आग्रह गरे । शाहको निगाहपछि आफूले कमल थापा, दूर्गा प्रसाई लगायतसँग भेटवार्ता गरिसकेको र सबैले आफ्नो नेतृत्वमा आन्दोलनमा जान सहमति जनाएको सुवेदीले राप्रपाको बैठकमा बताए ।
सोमबार आफूले डिल्लीबजारको भोजन गृहमा भेलाको आयोजना गरेको भन्दै सुवेदीले त्यहाँ आउन राप्रा अध्यक्ष राजेन्द्र लिङदेनलाई निम्तोसमेत दिन भ्याए ।
यसवीचमा सुवेदीले दुर्गा प्रसाईलाई भेटेर ज्ञानेन्द्र शाहबाट आफूलाई नेतृत्व सम्हाल्न आग्रह भएको बताएका थिए । जवाफमा प्रसाईले ‘दाजुको नेतृत्वमा मोर्चा बनाएर आन्दोलनमा जान तयार छु’ भन्ने जवाफ दिएका थिए ।
त्यसैगरी सुवेदीले यसवीचमा कमल थापासँग पनि कुराकानी गरेका थिए । थापाले पनि ‘दाजु अघि बढ्नोस’ भनेर हौसला दिएका थिए ।
तर, सोमबार राप्रपाको बैठकमा सुवेदीको प्रस्ताव सुनेर राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन झस्किए । उनले सुवेदीलाई भने, ‘भोलिको कार्यक्रममा पार्टीको प्रतिनिधि आउनुहुन्छ ।’
राजावादी मोर्चाको नेतृत्व ज्ञानेन्द्रको निर्देशनमा नवराज सुवेदीले सम्हाल्ने बताएपछि आइतबारको राप्रपा बैठकमा केहीबेर भाँडभैलो मच्चिएको नेताहरु बताउँछन् ।
स्रोतका अनुसार राप्रपा नेता ज्ञानेन्द्र शाहीले त ८६ वर्षको पुरानो मानिसबाट आन्दोलनको नेतृत्व नहुने भन्दै सुवेदीलाई ‘दोस्रो तुल्सी गिरी’ कै संज्ञा दिएका थिए ।
बैठकमा राप्रपा नेताहरु दुई धारमा बाँडिएपछि अध्यक्ष लिङदेनले मंगलबार पुनः बस्ने गरी बैठक स्थगित गरेका थिए ।
राप्रपा नेताहरु धवलसमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, विक्रमबहादुर पाण्डे लगायतले पूर्वराजाको ईच्छा अनुसार सुवेदीकै नेतृत्वमा मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने धारणा राखेका थिए ।
अर्कोतर्फ, पशुपतिसमशेर जबरा, निरञ्जन थापा, ज्ञानेन्द्रबहादुर शाही, ध्रुवबहादुर प्रधान, सुरेन्द्रबहादुर बस्नेत, ठाकुर शर्मा, भरत गिरी, उद्धव पौडेल लगायतका नेताहरु भने पार्टीलाई अवमूल्यन गरेर बाहिरबाट व्यक्ति तोक्बन नमिल्ने अडानमा रहेको स्रोतले बतायो ।
पार्टीमा देखिएको दुई धारका कारण आगामी आन्दोलनमा कसरी जाने भन्नेबारे राप्रपाले सोमबारको बैठकमा निर्णय लिन नसकेको हो ।
तर, अर्को प्रश्न पनि सँगसँगै उठेको छ– विगतमा तीतो सम्बन्ध रहेका ज्ञानेन्द्र र नवराज सुवेदीको सहकार्य कहाँसम्म जाला ?
अब कुरा गरौं ओमेगा घडीकाण्डको !
पञ्चायतकालको शुरुआती चरणमा आफू उद्योगमन्त्री भएका बेला ज्ञानेन्द्र शाहले दबाव दिएको प्रशंग सुवेदीले आफ्नो आत्मकथा इतिहासको एक कालखण्डमा उल्लेख गरेका छन् ।
सुवेदीले पुस्तकमा यो पनि भनेका छन्, ‘श्री ५ ज्ञानेन्द्रसँग मेरो सम्बन्ध शुरुदेखि नै राम्रो भएन । पछि श्री ५ होइबक्सँदा पनि मसँग राम्रो व्यवहार हुन सकेन । यसका मुख्य दुई कारण छन्– प्रथमतः ०३८ सालमा सूर्यबहादुरजीको विरोधमा प्रधानमन्त्रीको उम्मेदवार नहुनु र दोस्रोमा ओमेगा (घडी) कारखाना ।’
आखिर के थियो ओमेगा घडी काण्ड ? सुवेदीको पुस्तकको अंश पढौं–

श्री ५ अधिराजकुमार हिमालय, बसुन्धरा र श्री ५ अधिराजकुमारी हेलेन तीनैजना व्यापारमा हुँदा उहाँहरूबाट भने बराबर दबाव आउँथ्यो । पछि अधिराजकुमार ज्ञानेन्द्र पनि थप होइबक्स्यो ।
राजा केही पनि नदे भन्ने तर उहाँहरूलाई पूर्ण सहुलियत चाहिने । यस्तो विषम परिस्थितिमा मैले काम गर्नुपर्यो ।
एक दिन साँझ श्री ५ (महेन्द्र) बाट बोलाइबक्स्यो । त्यहाँ प्रधानमन्त्री (कीर्तिनिधि विष्ट) पनि हुनुहुँदो रहेछ । कुरा चल्दै गयो । राजाबाट हुकुम भयो, ‘मेरा भाइ–छोराहरूलाई व्यापार गर्नु छ, सबै यिनलाई दिए जनताका छोराहरूले के गर्ने ? मैले एक उद्योग गर भनेर दिएकै छ । अब अरू दिनुपर्दैन । कीर्तिनिधि, नवराजलाई बढी ‘प्रेसर’ भयो, तिमीले भन्दिनू ।’
यो कुरा प्रधानमन्त्रीले भन्नुभयो कि भएन थाहा पाइनँ तर त्यसपछि मलाई दबाव आएन । तर, उहाँहरू पार्टीहरूमा भेट हुँदा पनि मसँग बोल्नुहुन्नथ्यो ।
श्री ५ ज्ञानेन्द्रसँग मेरो सम्बन्ध शुरुदेखि नै राम्रो भएन । पछि श्री ५ होइबक्सँदा पनि मसँग राम्रो व्यवहार हुन सकेन । यसका मुख्य दुई कारण छन् – प्रथमतः ०३८ सालमा सूर्यबहादुरजीको विरोधमा प्रधानमन्त्रीको उम्मेदवार नहुनु र दोस्रोमा ओमेगा (घडी) कारखाना थियो ।
ओमेगा (ओमेगा वाच) ले नेपालमा एक कारखाना खोल्न पाऊँ भनी प्रस्ताव पठायो । कुरा राम्रो थियो । अतः विश्व बैंकको वार्षिक साधारण सभाको मिटिङबाट फर्कंदा जेनेभा गई ओमेगा फ्याक्ट्री हेर्ने र कुरा पनि गर्ने भन्ने श्री ५ महेन्द्रबाट निर्देशन बक्स्यो ।
वाशिङ्टनबाट फर्कँदा म, भेषबहादुरजी र डा. पुष्करनाथ पन्त हामी तीनजनाले ओमेगा फ्याक्ट्री पनि हेर्यौं र नेपालमा फ्याक्ट्री खोल्नेबारे कुरा पनि गर्यौं ।
उनीहरूको एउटै मात्र शर्त हामी सरकार या प्राइभेट कसैसँग पनि साझेदारीमा काम गर्दैनौं भन्ने थियो । यो शर्त मन्जुर हुन्छ भने एक वर्षभित्र फ्याक्ट्री चालु गर्छौं भन्ने उनीहरूको भनाइ थियो ।
हामीहरूले ओमेगा जस्तो कम्पनी आउँछ भने किन नदिने भनी मन्जुरी दियौं ।
तर, काठमाडौं आएपछि अधिराजकुमार ज्ञानेन्द्रलाई त्यसमा आधा शेयर (अंश) चाहियो, जुन कुरा मैले ठाडै इन्कार गरेँ । यसैकारण नेपालमा ओमेगा पनि आउन सकेन । ज्ञानेन्द्र सरकार पनि मसँग रिसाइबक्स्यो ।
जे होस्, दरबारमा प्रधानमन्त्री र मेरो बीचमा सरकार (महेन्द्र) बाट बक्सेको निर्देशनले मलाई काम गर्न सजिलो भयो ।
प्रतिक्रिया