काठमाडौं– ‘थिंक विफोर यु फलो, वाइज मनी टुमारो’ भन्ने नाराका साथ ‘ग्लोबल मनी वीक-२०२५’ आजदेखि आरम्भ भएको छ । आइतबार २१.६३ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार पनि ओरालो लागेको छ ।
बैंकहरूले अझैपनि कर्जा प्रवाह बढाउन सकेका छैनन् । नेपाल दूरसञ्चार प्राधिकरणले दुई वर्ष अगाडि बन्द भएको स्मार्ट टेलिकमको मूल्य निर्धारण प्रक्रिया अगाडि बढाएको छ ।
आजका आर्थिक समाचार :
‘ग्लोबल मनी वीक- २०२५’ आजदेखि सुरू
थिंक विफोर यु फलो, वाइज मनी टुमारो’ भन्ने नाराका साथ ‘ग्लोबल मनी वीक-२०२५’ आजदेखि आरम्भ भएको छ । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो तेह्रौँ संस्करण हो ।
उक्त अभियानको पहिलो दिन नेपाल राष्ट्र बैंकले नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र सहकारी विभागसँगको सहकार्यमा ग्लोबल मनी विकको उद्घाटन कार्यक्रम आयोजना गर्यो ।
फेरि ओरालोतर्फ शेयरबजार, १० अंकले घट्यो नेप्से
आइतबार २१.६३ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार पनि ओरालो लागेको छ । सोमबार ५ अर्ब ४० करोड ८३ लाख १४ हजार रुपैयाँको शेयर कारोबार हुँदा १०.१४ अंकले नेप्से घटेको हो ।
नेप्से परिसूचक घटेसँगै नेप्सेको पुँजीकरण पनि ०.३७ प्रतिशतले घटेको छ । आज भएको शेयर कारोबारमा १४५ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो भने ८५ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भयो । त्यस्तै, १३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
बढाउन सकेनन् बैंकहरूले कर्जा प्रवाह, वाणिज्य बैंकको सीडी रेसियो ८० प्रतिशत तल
बैंकहरू कर्जा प्रवाह बढाउन नसकेको तथ्यांकले देखाएको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार फागुन महिनामा वाणिज्य बैंकहरूको निक्षेप कर्जा अनुपात अर्थात् सीडी रेसियो नेपाल राष्ट्र बैंकले तोकेको सीमा भन्दा पनि धेरै तल ७९.२९ प्रतिशतमा सीमित रहेको देखिएको हो ।
नेपाल राष्ट्र बैंकले बैंकहरूको सीडी रेसियो ९० प्रतिशत तोकेपनि कुनैपनि वाणिज्य बैंकको अवस्था सो विन्दुमा पुग्न सकेको देखिँदैन । तथ्यांकअनुसार फागुन महिनामा सञ्चालनमा रहेकामध्ये ८ वटा वाणिज्य बैंकको सीडी रेसियो ८० प्रतिशत भन्दा तल रहेको छ भने अन्यको पनि ८६ प्रतिशत भन्दा नै तल रहेको छ ।
स्मार्ट टेलिकमको मूल्य निर्धारण समिति गठन गर्दै दूरसञ्चार प्राधिकरण
नेपाल दूरसञ्चार प्राधिकरणले दुई वर्ष अगाडि बन्द भएको स्मार्ट टेलिकमको मूल्य निर्धारण प्रक्रिया अगाडि बढाएको छ । प्राधिकरणले सोमबार सूचना प्रकाशित गर्दै स्मार्ट टेलिकमको सम्पत्तिको मूल्य निर्धारण समिति गठनको लागि आह्वान गरेको हो।
प्राधिकरणले ०७० मा आधारभूत टेलिफोन सेवाको लागि दिएको सो कम्पनीको अनुमतिपत्र स्वतः खारेज भएकोले अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १३ को प्रावधान बमोजिम मूल्य निर्धारण समिति गठनका लागि प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
‘स्काई वाक’ले लयमा फर्कँदै भेडेटारका होटलहरू

गत साउनबाट धनकुटाको पर्यटकीय नगरी भेडेटारमा सञ्चालनमा आएको स्काई वाक टावरले होटल व्यवसायलाई राहत प्रदान गरेको छ ।
कोरोना महामारी र आर्थिक मन्दीसँगै सुक्दै गएको भेडेटारका होटल व्यवसाय टावर सञ्चालनमा आएसँगै सुधारोन्मुख रहेको व्यवसायीहरूको भनाइ छ ।
भेडापालन प्रवर्द्धन गर्न गोठालो भत्ता
जुम्लाका दुई सय ३० जना भेडापालक किसानलाई गोठालो भत्ता वितरण गरिएको छ ।
यहाँका आठवटै स्थानीय तहका भेडापालक किसानलाई ५० भन्दा बढी भेडा पाल्ने किसानलाई प्रोत्साहन बापत गोठालो भत्ता प्रदान गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढ्थापाले जानकारी दिए ।
प्रतिक्रिया