नागरिकताका लागि दिदीभाइको अत्यासलाग्दो घनचक्कर | Khabarhub Khabarhub

नागरिकताका लागि दिदीभाइको अत्यासलाग्दो घनचक्कर

अदालतको दोस्रो आदेश पनि अलत्रप परेपछि अवहेलना मुद्दा


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपाली नागरिकताका लागि १ दशकदेखि भौँतारिइरहेका दिदीभाइले तेस्रोपटक अदालत गुहारेका छन् ।

नेपाली आमाबाट जन्मिएका दिदीभाइले अदालतको आदेश अवज्ञा गरी नागरिकताविहीन बनाइएको भन्दै अवहेलना मुद्दा हालेका हुन् । उनीहरूका बुवा हाल बेपत्ता छन् । पोखरा महानगरपालिका-३२ का २७ वर्षीया रमा थापा र उनका भाइ २५ वर्षीय रविले नागरिकताका लागि अनेक सास्ती भोगेपछि उच्च अदालत पोखरामा अवहेलना मुद्दा दायर गरेका हुन् ।

नागरिकताका लागि सरकारी कार्यालय धाउँदाधाउँदै आजित थापा दिदीभाइले यसअघि पनि उच्च अदालतमा परमादेश मुद्दा दर्ता गरेका थिए ।

उक्त मुद्दामा अदालतले २०८० असार १९ गते नागरिकता दिनू भनी इलाका प्रशासन कार्यालय लेखनाथका नाममा परमादेश जारी गरेको थियो । 

त्यही परमादेशका आधारमा पुन नागरिकता प्राप्तिका लागि प्रक्रिया गरे पनि वडा, इलाका प्रशासन र जिल्ला प्रशासन कार्यालयले झुलाउने मात्र काम गरेको भन्दै उनीहरूले अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । 

उक्त मुद्दामा २०८० माघ २३ मा ‘निवेदकहरूलाई नागरिकताको प्रमाणपत्र प्रदान गर्ने कार्य निश्चित अवधिभित्र सम्पन्न गराउनू’ दोस्रो पटक परमादेश जारी भएको थियो । फैसलाको पूर्ण पाठ आएपछि रमा र रवि आमा रुक्मिणी थापालाई लिएर जिल्ला प्रशासन कार्यालय पुगे । 

निवेदनमा भनिएको छ, ‘अदालतको आदेश प्रमाणीकरण भएपछि हामी जिल्ला प्रशासन कार्यालय जाँदा वडा कार्यालयबाट अनुसूची फारम भरी वडाको सिफारिससहित प्रचलित कानुन निर्दिष्ट लिखतप्रमाणसहित आउनुहोस् भनेर फर्काइयो । तत्पश्चात् नागरिकताको प्राप्तिको लागि हामीहरूलाई अत्यासलाग्दो प्रक्रियागत घनचक्करमा फसाइयो ।’ 

विपक्षीमा नामा नाममा दोस्रो पटक परमादेश जारी भएपछि जिल्ला प्रशासन कार्यालय कास्की, इलाका प्रशासन कार्यालय लेखनाथ पोखरा ३२ को कार्यालय, डाँडाकोनाक प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय तनहुँ र व्यास नगरपालिका वडा नम्बर ५ को कार्यालयमा सर्जमिन लगायत प्रक्रिया भएको निवेदक रमा थापाले बताइन् । 

निवेदनमा भनिएको छ, ‘सत्य र तथ्यगत अनुसन्धानात्मक प्रक्रियाले हामी आमाको नाउँबाट वंशजको आधारमा नेपालको नागरिकताको प्रमाणपत्र प्राप्त गर्न योग्य नेपाली नागरिक हौँ भन्ने पुष्टि भएको छ । तर विपक्षीहरूले बदनियतपूर्वक, स्वेच्छाचारी ढंगले जे मन लाग्यो सो काम गरी घिङन्यायी प्रवृत्ति देखाई अकारण पदीय जिम्मेवारीबाट पन्छनु सम्मानित यस अदालतको आदेशको ठाडो अवहेलना गरेको प्रष्ट छ । 

नेपालको संविधानको धारा १२६ ले मुद्दा मामिलाको रोहमा अदालतले दिएको आदेश वा निर्णयको पालना सबैले गर्नुपर्ने संवैधानिक कर्तव्य र दायित्व विपक्षीहरूले वहन नगरेको आरोप थापा दिदीभाइको छ ।

आफूहरू नेपाली आमा र पहिचान नखुलेको बाबुबाट जन्मिएको सन्तान भएको विषय अकाट्यरुपमा पुष्टि भएको अवस्थामा प्रशासनले राज्यको प्रहरी लगायत संयन्त्रको प्रयोग गरी अनुसन्धान गर्दा समेत बाबुको पहिचान खुल्न नसकेको प्रसङ्ग निवेदनमा उल्लेख छ । 

रवि थापाको जन्म दर्ता गर्न इन्कार गर्ने स्थानीय पञ्जिकाधिकारी, दुवै जनाको नागरिकताको सिफारिस दिन इन्कार गर्ने पोखरा ३२ का वडाध्यक्ष, अक्कलबहादुर कार्की, कर्तव्य पालना नगर्ने इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख श्रीनाथ पौडेल र कर्तव्यबाट पन्छिने प्रमुख जिल्ला अधिकारीलाई अदालतको अवहेलनाका हदैसम्मको कारबाहीका माग निवेदकले गरेका छन् । 
रमा र रविकी आमा रुक्मिणी थापा कास्कीको साबिक भरतपोखरी २ मा जन्मिएकी हुन् । स्थानीय रामबहादुर थापाकी छोरी रुक्मिणीले २०४६ साल वैशाख १६ गते नेपाली नागरिकता पाएकी छन् । दाजुभाइ नभएको परिवारमा रुक्मिणीसहित ४ दिदीबहिनी छन् । उनको नाममा बाबुआमाबाट आएको पुर्ख्यौली सम्पत्तिसमेत हालको पोखरा ३२ मा छ । 

दमौलीमा बसेका बेला रुक्मिणीले त्यहीँको स्कुलमा पढाउने शैवल रायसँग बिहे गरेपछि रमा र रवि जन्मेका हुन् । ‘जीविकोपार्जनका लागि बाबु र आमा दमौलीमा बस्नुभएको रहेछ । दमौलीकै शान्ति वर्ष स्कुलमा अध्ययन गर्ने क्रममा हामी नाबालक हुँदाकै अवस्थामा बाबु हामीबाट थप पहिचानबिना २०६० देखि सम्पर्कविहीन हुनुभएको थियो,’ रमा र रविले भनेका छन् । 

रमा र रवि दुवैले दमौलीको शान्ति वर्ष स्कुलबाट एसएलसी पास गरे । रमाले दमौलीकै सत्यवती माविबाट प्लस–टु र आदिकवि भानुभक्त क्याम्पसबाट स्नातक गरिन् भने स्नातकोत्तर भक्तपुरको सानोठिमी क्याम्पसबाट जीव विज्ञानमा गरेकी छन् ।

रविले भने पोखरा–३२ गोगन माविबाट प्लस–टु र पाटन बहुमुखी क्याम्पसबाट भौतिक विज्ञानमा स्नातक सकेका छन् । यतिका समयसम्म पनि नागरिकता नपाउँदा जीविका चलाउनै धौ भएको दिदी भाइको दुखेसो छ ।

‘आमाको नागरिकता छ, हामी यही देशमा जन्मिएर हुर्कियौँ, आमाको नामबाट नागरिकता पाऊँ भन्दा वडाले सिफारिस दिँदैन, सिडिओले नागरिकता दिँदैनन्, हामी कहिलेसम्म अधिकारका लागि भौँतारिने हो,’ रमाले भनिन् । 

रमा र रविको शैक्षिक प्रमाणपत्रमा बुबाको थर राय उल्लेख छ । स्कुलको रजिस्ट्रेसनमै बुबाको थर भएकाले त्यसपछिका कागजातमा त्यसै अनुसार लेखियो । आफूहरूले आमाको थरबाट नागरिकता माग गरेको नागरिकता पाएपछि शैक्षिक प्रमाणपत्रको थर पनि सच्याउने रमाको भनाइ छ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ६ : ५१ बजे

कृष्णभीरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

धादिङ – धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा मोटरसाइकल दुर्घटना हुँदा

सरकारले शिक्षकलाई तत्काल कार्यस्थल फर्काउने वातावरण बनाउनुपर्छ : पोखरेल

काठमाडौं – प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले सरकारले

बुटवलमा गोली प्रहारबाट घाइते युवतीको चितवनमा उपचार हुँदै

चितवन – रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा शनिबार गोली लागेर घाइते

प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित

सिरहा – सिरहा नगरपालिकामा गत माघ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत

सामाजिक सञ्जाल नियन्त्रण गर्ने तयारीमा सरकार, ४ वर्षदेखि फेसबुकमाथि प्रतिबन्ध लगाएको युगाण्डाबाट के सिक्ने ?

काठमाडौं– सरकारले फेसबुकलगायत सामाजिक सञ्जाललाई नेपालमा दर्ता हुन जारी गरेको