गभर्नर नियुक्तिमा विचरा बन्यो ओली सरकार | Khabarhub Khabarhub

गभर्नर नियुक्तिमा विचरा बन्यो ओली सरकार



काठमाडौं– हेपेर, मन नपराएर वा पूर्वाग्रहले भन्दा पनि सरकार आफ्नै कारणले ‘विचरा’ भन्ने अवस्थामा पुगेको छ । पछिल्लो १० महिनाका तथ्यांक र सर्वसाधारणबाट आएका प्रतिक्रियाले नै सरकारको क्षमताअनुसार नतिजाहरू उत्प्रेरणा दिन नसक्ने खालका देखिएका छन् । पछिल्लो समय नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा पनि सरकारको त्यस्तै ‘विचरापन’ झल्किएको छ ।

महालेखा नियन्त्रक कार्यालयको पछिल्लो तथ्यांकले सरकार आम्दानी र खर्च दुवै गर्न नसक्ने अवस्थामा छ । हुन त सरकारलाई लामो समयदेखि लागेको रोग हो । तर, कुरा यतिमा मात्रै सीमित रहेन । विचरा सरकार संवैधानिक र कानुनी अधिकारअनुसार पदाधिकारी र कर्मचारी नियुक्ति पनि समयमा गर्न नसक्ने अवस्थामा पुगेको छ ।

चर्चा, हास्यव्यंग्य, विवादास्पद अभिव्यक्ति, कटाक्ष, उखान प्रयोग जस्ता धेरै ग्राफहरूमा प्रधानमन्त्री केपी ओली नेपाली समाजमा सबैभन्दा अगाडि होलान् । उनले जुनसुकै प्रश्नको पनि जवाफ दिन सक्छन्, क्रिकेटको भाषामा भन्ने हो भने उनी अलराउन्डर हुन्, उनले नजानेको केही पनि छैन । जहाँ पुग्यो, त्यहाँ उनी निर्धक उपदेश दिइरहन्छन् ।

नेपाल राष्ट्र बैंकबाट गभर्नर महाप्रसाद अधिकारीले कार्यकाल सकेर चैत २४ गते नै घर गइसकेका छन् । उनको कार्यकाल सकिन एक महिनाअगावै नयाँ गनभर्नर नियुक्ति गर्न सक्ने नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था छ । तर, दुईतिहाइ नजिकको सरकारले यस्तो असक्षमतामा देखायो कि नियुक्ति गर्न नसकेपछि वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानालाई कायम मुकायम बनाइदियो ।

गभर्नरको कार्यकाल सकिएपछि ओली आफ्नो पार्टी र अन्यका सार्वजनिक कार्यक्रमसहित धेरै ठाउँमा डुलिरहेका छन् । शुक्रबार पनि उनी चार लेनको सडक उद्घाटन गर्न चितवन जाने कार्यक्रम तय भइसकेको छ । तर, उनले देशको अर्थतन्त्रको तत्कालीन र दीर्घकालीन महत्वसँग जोडिएको गभर्नर नियुक्तिमा आवश्यक सहजीकरण र समन्वय गर्न सकेनन् ।

हैसियतविहीन अर्थमन्त्री

नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार अर्थमन्त्रीको नेतृत्वमा बनेको सिफारिस समितिले आगामी गभर्नरका लागि सरकारलाई तीनजनाको नाम सिफारिस गर्नुपर्ने हुन्छ ।

राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाअनुसार सरकारले ढिलो गरेर चैत ११ गते नै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा पूर्व गभर्नर डा विजयनाथ भट्टराई र अर्थविद् डा. विश्व पौडेलको नेतृत्वमा सिफारिस समिति गठन गरेको थियो ।

तर, समितिको बैठक नै बस्न सकेको छैन । जसले समितिको हैसियत कानुनी भए पनि वास्तविकरुपमा निरीह रहेको पुष्टि गरेको छ ।

गभर्नर नियुक्तिबारे सार्वजनिक प्रतिक्रिया नदिएका अर्थमन्त्री पौडेलले चैत ३१ गते पाल्पा पुगेर ‘सरकारले क्या राम्रो निर्णय ग¥यो भन्ने सन्देश जाने गरी छिट्टै नियुक्ति गरिनेछ’ भनेका थिए । तर, एउटा बैठक नै राख्न नसकेका अर्थमन्त्रीले भनेको कुरा पनि अलपत्र परिसकेको छ ।

अर्थमन्त्रीको भनाइ अलपत्र पर्नुको कारण हो, प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचमा सहमति अभाव । दुई नेताबीच सहमतिबिना समितिले गभर्नरका लागि कुनै पात्र सिफारिस गर्नसक्ने अवस्था छैन ।

त्यससँगै अर्थमन्त्री पौडेलले फागुनको २७ गते नै ‘अर्थमन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड, २०७३’ दोस्रो संशोधन गरेका थिए । जसमा उमेरसम्बन्धी व्यवस्था हटाइएको थियो ।

तर, सर्वोच्च अदालतले तत्काल संशोधित मापदण्ड कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइसकेको छ । सरकारले गभर्नर सिफारिस समिति गठन गर्नुपूर्व नै अर्थमन्त्री पौडेलले नियुक्तिसम्बन्धी मापदण्ड संशोधन गरिसकेका थिए । तर, उनले सिफारिस समितिको बैठक राखेर टुंगोमा पुर्‍याउन आवश्यक समन्वय गर्न सकेनन् ।

विरोधपछि सहमतिनजिक

राष्ट्र बैंकमा समयमै गभर्नर नियुक्ति नगरिएपछि शक्तिकेन्द्र र विचौलियाको चलखेल भएको भन्दै यसबीचमा धेरै विश्लेषणहरू भए । कतिपय अर्थविद्हरूले सरकारले राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप गरेको टिप्पणी गरेका छन् ।

मंगलबार नेपाली कांग्रेसका महामन्त्री गगन थापा (जो सरकार सञ्चालनको संयन्त्रमा समेत सदस्य छन्) ले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै ‘ट्रयाक्टरको गतिमा हिँडेको’ आरोप लगाए ।

नयाँ वर्षको सुरुवातसँगै प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार ढल्ने भनिरहेको अवस्थामा सत्तारुढ नेता थापालेसमेत गम्भीर टिप्पणी गरेपछि बल्ल गभर्नर नियुक्तिले प्राथमिकता पाएको छ ।

बुधबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा गभर्नर नियुक्तिबारे सहमतिमा पुगेकाले छिट्टै नियुक्ति हुने बताए । बुधबारबाट फेरि नयाँ गभर्नरबारे नयाँ अनुमान भइरहेका छन् ।

बिहीबार कांग्रेस सभापति देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा पनि गभर्नरसहित नियुक्तिबारे छलफल भएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बताए । कांग्रेस पदाधिकारीहरूले गभर्नर नियुक्तिमा चासो देखाएकाले सभापतिले त्सयबारे प्रधानमन्त्रीसँग कुराकानी भइसकेको जवाफ दिएको स्रोतले जनाएको छ । यद्यपि, बैठकमा पात्रबारे ठोस निर्णय भएको छैन ।

गभर्नर सिफारिस समितिका एकजना सदस्य डा. विश्व पौडेल अहिले विदेश भ्रमणमा छन् । देउवा र ओलीबीच गभर्नर नियुक्तिमा सहमति भए पनि औपचारिक प्रक्रिया तत्कालै सुरु हुने सम्भावना न्यून छ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ६ : ३६ बजे

करेण्ट लागेर गुल्मीमा एक युवकको मृत्यु

गुल्मी– गुल्मीमा करेण्ट लागेर एक युवकको मृत्यु भएको छ ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

एजेन्सी– फ्रान्सले आगामी आइतबारदेखि समुद्री किनार, पार्क, सार्वजनिक बगैँचा तथा

नेत्रज्योति सङ्घद्वारा विदेशमा पनि सेवा विस्तार

काठमाडौं–  नेपाल नेत्रज्योति सङ्घले मुलुकबाहिर आँखा सेवा उपलब्ध गराउन सुरुआत

विद्यार्थी र शिक्षकको मेहनतले एसईईको नतिजामा सुधार आएको हो : प्रधानमन्त्री 

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई)को

पार्टीभित्र स्वार्थ खोज्नेहरूको हिसाब किताब गरिन्छ : ओली

काठमाडौं – प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा