सशस्त्रको जागिर छाडेर होटलमा काम गर्ने बोहोरा, जसले लिए मन्दिरभित्र सुतिरहेका कैनीको ज्यान | Khabarhub Khabarhub

सशस्त्रको जागिर छाडेर होटलमा काम गर्ने बोहोरा, जसले लिए मन्दिरभित्र सुतिरहेका कैनीको ज्यान


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


7.4k
Shares
  • change font
  • change font
  • change font

धनगढी– समाजमा अपराध कुन हदसम्म र कस्ता व्यक्तिबाट हुन्छ भन्ने अनुमान गर्न मुस्किल पर्छ । प्रहरीलाई समेत अनुमान गर्न मुस्किल हुने गरि घटना भइरहेका हुन्छन् ।

जुन व्यक्तिसँग अपराधमा संलग्न हुने कुनै आनीबानी नै मिल्दैन, आचरण नै भेटिँदैन, अनुसन्धानका लागि समेत विश्वास नगरिएकाहरू नै अपराधका घटनामा जोडिने कुरा प्रहरीलाई पनि पत्याउन मुस्किल पर्छ ।

यस्तै अपराधजन्य घटना समाजमा दिनदिनै बढिरहेका छन् । यसको एक उदाहरण हो, कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी मन्दिरभित्रै भएको एउटा हत्याको घटना । चैत २७ गते गोदावरी नगरपालिका–१ स्थित दुर्गा मन्दिरको दक्षिणतर्फ जमिनमा एउटा बेवारिसे शव भेटियो । आफ्नै कार्यालयनजिक हत्या भएको थाहा पाएर प्रहरीसमेत चकित पर्‍यो। जुन मन्दिर प्रहरी कार्यालयबाट ५ मिनेटको दूरीमा छ । 

शव भेटिएको तीन दिनपछि मात्रै  मृतकको पहिचान खुल्यो ।  शव डडेल्धुराको अमरगढी नगरपालिका–७ बस्ने पोखराका ३५ वर्षीय जगदीश कैनीको थियो ।

तर कालगतिले मृत्यु कि हत्या, वा आत्महत्या प्रहरी अन्योलमा थियो। कैनीको हत्याबारे अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कैलाली र प्रदेश प्रहरी के–९ शाखाबाट तालिम प्राप्त कुकुरसहितको टोली खटियो ।

घरपरिवारबाट टाढा रहेका कैनी केही समयदेखि अत्तरिया क्षेत्रमा डुल्दै मागेर खाने गर्थे। दुर्गा मन्दिरमा बस्दै आएका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले कैनीको टाउकोमा गरुङ्गो वस्तुले हिर्काएर हत्या गरेको निष्कर्ष निकाले पनि कसले हत्या गरेको हो भन्ने पत्ता लगाउन सकेको थिएन । घटनामा संलग्न भनिएकाबाट त्यो प्रकारको अपराध हुने अवस्था नै नदेखिए पनि प्रहरीलाई ठूलै शक्ति र सामर्थ्य परिचालन गर्नु पर्यो । 

सुरुमा अनुसन्धानका लागि प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेका उनीहरूको संलग्नता पुष्टि नभएपछि प्रहरीले प्रक्रिया पूरा गरेर छाड्ने तयारी गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाको नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको थियो । 

कैनी सडकपेटीमा बस्दै आएका व्यक्ति भएको थाहा पाएपछि अत्तरिया क्षेत्रमा माग्दै हिँड्ने व्यक्तिहरूको पहिचान गर्नमा प्रहरी केन्द्रित भयो । त्यस क्रममा सडकमै माग्दै हिँड्ने तीनजनालाई पक्राउ गर्यो । तीनमध्ये दुईजना पूर्वमाओवादी लडाकु थिए । लामा थर भएका एक पुरुषले आफैंले कैनीको हत्या गरेको बयान दिएका थिए । 

कैनीले आफ्नी श्रीमतीलाई जिस्काउने र शारीरिक रूपमा अपाङ्गता भएको भनेर आफूलाई होच्याउने गरेकाले टाउकोमा ढुंगाले हानेर हत्या गरेको बयान दिए पनि सबुत प्रमाणसँग मिलिरहेको थिएन । त्यहीबेला उनीहरूसँगै सडक पेटीमा बस्दै आएका एकजना घटना भएदेखि अत्तरिया क्षेत्रबाट गायब भएको खुल्यो।

त्यसपछि प्रहरी घटनास्थल आसपासका सीसीटीभी फुटेज संकलन गरेर विश्लेषणमा जुट्यो । सोही आधारमा प्रहरीले खोजतलास गर्दा बुधबार घटनास्थलनजिकै बसिरहेको अवस्थामा बैतडीको डिलासैनीका हेमन्त बोहरालाई पक्राउ गरिएको थियो ।

त्यसपछि बयानको क्रममा उनले नै हत्या स्वीकार गरे । बोहराले हत्या गरेको स्वीकार गरेपछि प्रहरीले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको छ । 

२७ चैतमा दुर्गा मन्दिरपछाडि मृत भेटिएका डडेल्धुरा अमरगढी नगरपालिका–७ का कैनीको हत्या अभियोगमा बैतडीको डिलासैनी गाउँपालिका–३ का ३५ वर्षीय हेमन्तबहादुर बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

बिहीबार दिउँसो इलाका प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै इप्रका मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगाबहादुर थापाले कैनीको हत्यामा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार बोहरालाई गोदावरी नगरपालिका–१ को दुर्गा मन्दिर क्षेत्रबाट पक्राउ गरिएको थियो । 

बोहराले कैनीको हत्या गरेको स्वीकारेका छन् । उनी सशस्त्र प्रहरीको जागिर छाडेका व्यक्ति हुन् । केही समयदेखि अत्तरिया र धनगढीका विभिन्न होटलमा काम गर्गे । उनी सडकपेटीमै सुत्ने गरेको पाइएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी थापाकाअनुसार सीसीटीभी फुटेजमा बोहोरा २६ चैतको साँझ ७ बजेर १३ मिनेटमा मन्दिरभित्र प्रवेश गरेको देखियो ।

८ बजेर ५५ मिनेटमा मन्दिर प्रवेश गरेका कैनी बाहिर निस्किएको देखिएन । बोहरा त्यही राति ९ बजेर ८ मिनेटमा मन्दिरबाहिर आएर मदिरा लिई ९ बजेर १३ मिनेटमा पुनः मन्दिरभित्र प्रवेश गरेको सीसीटीभी फुटेजबाट भेटिएको छ । 

प्रहरीका अनुसार मदिरा पिएर सुतेका बोहरा राति २ बजे ब्यूँझिएका थिए । उनले आफ्नो छेउमा कैनी सुतिरहेको देखे । सुतेको बेला खल्तीको पैसा र झोला हराएकोले कैनीले नै चोरेको शंका गरे ।  सुतिरहेका कैनीको टाउकोमा ढुंगा प्रहार गरेर हत्या गरे । बोहराको बयानलाई उल्लेख गर्दै प्रहरीका अनुसार हत्यापछि बोहराले कैनीको शव घिसार्दै मन्दिरको दक्षिणतर्फ फालेर भागेका थिए ।

अत्तरियाबाट भागेका बोहरा धनगढीको चौलानी होटलमा पुगेर २७ चैतदेखि काम गरेका थिए । बुधबार घर जान भन्दै होटलका मालिकसँग दुई हजार रुपैयाँ मागेर विदामा निस्किएका थिए । तर, घर नगएर उनी अत्तरियाकै दुर्गा मन्दिरमा गएका थिए । त्यही क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो । 

प्रहरीका अनुसार बोहरा सशस्त्र प्रहरीका पूर्व जवान हुन् । उनले ८ वर्ष सशस्त्र प्रहरीमा सेवा गरेका थिए । डीएसपी थापाले बोहराविरुद्ध ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिए । 

कारण नै ठूलो छैन, इगो साँध्नु पर्ने मान्छे नै थिएनन्, तर पनि अपराधीको मनोविज्ञानमा भर पर्ने गरेको प्रहरीको दाबी छ । केही दिन निकै चर्चाको विषय बनेको दुर्गामन्दिर हत्या प्रकरणमा अभियुक्त क्राउपछि टुंगिने ठाउँमा पुगेको छ । प्रहरीलाई यो घटनाको गुत्थी फुकाउन भने निक्कै मिहिनेत गर्नुपरेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ७ : ५१ बजे

कृष्णभीरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

धादिङ – धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा मोटरसाइकल दुर्घटना हुँदा

सरकारले शिक्षकलाई तत्काल कार्यस्थल फर्काउने वातावरण बनाउनुपर्छ : पोखरेल

काठमाडौं – प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले सरकारले

बुटवलमा गोली प्रहारबाट घाइते युवतीको चितवनमा उपचार हुँदै

चितवन – रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा शनिबार गोली लागेर घाइते

प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित

सिरहा – सिरहा नगरपालिकामा गत माघ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत

सामाजिक सञ्जाल नियन्त्रण गर्ने तयारीमा सरकार, ४ वर्षदेखि फेसबुकमाथि प्रतिबन्ध लगाएको युगाण्डाबाट के सिक्ने ?

काठमाडौं– सरकारले फेसबुकलगायत सामाजिक सञ्जाललाई नेपालमा दर्ता हुन जारी गरेको