काठमाडौं– नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट अहिले केपी शर्मा ओली क्याबिनेटमा ३ राज्यमन्त्री २२ जना मन्त्री छन् । ओली सरकारमा रहेका २२ मन्त्रीमध्ये नेपाली काङ्ग्रेसबाट १०, नेकपा एमालेबाट प्रधानमन्त्रीसहित ९, जनता समाजवादी पार्टीबाट २ र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना मन्त्री बनेका छन्।
पछिल्लो समय सरकारले प्रभावकारी काम गर्न नसकेको प्रश्नहरू उठिरहेका बेला मन्त्रीहरू परिवर्तनको विषयमा गठबन्धनभित्र छलफल चलेको छ । हुन त गठबन्धन भित्रकै दलका नेताहरू पनि मन्त्रीहरूको काम सन्तोषजनक नभएको कारण प्रधानमन्त्री असफल भएको बताउँदै आएका छन् । यता विपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यही साल सरकार ढल्ने दाबी गरेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीबीच छलफल र भेटवार्ता बाक्लिएको छ । नेताहरूका अनुसार दुई शीर्ष नेताले केही मन्त्रीहरू फिर्ता बोलाउने तयारीसमेत गरेका छन् । केही दिन अगाडि बसेको एमाले सचिवालय बैठक र बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पनि मन्त्री हेरफेरबारे कुराकानी भएको थियो । तर, सरकार परिवर्तन हुने कुरामा भने दुई दलका नेताहरू हल्ला भएको दाबी गर्छन् ।

एमालेबाट प्रधानमन्त्री ओली सरकारको नेतृत्वमा छन् । विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री, पृथ्वीसुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधि, विद्या भट्टराई शिक्षामन्त्री र बलराम अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री छन् । यस्तै दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति, देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात, मानवीर राई रक्षा मन्त्री र राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री छन् ।
एमालेका यी आठ मन्त्रीमध्ये कतिपय मन्त्रीको त नाम पनि नागरिकले थाहा पाएका छैनन् । परिणाममुखी काम गरेर नामले चिनिनुपर्नेमा कतिपय मन्त्रीहरु गुमनाम छन् । कतिपयचाहिँ स्टन्टका लागि बोल्ने तर परिणाम देखिने गरी काम गर्ने नसक्ने स्थितिमा छन् ।
यसै सन्दर्भमा हामीले एमालेका केही नेता र सांसदहरुलाई प्रधानमन्त्रीसहित एमालेबाट मन्त्री भएका ८ जनाको कामबारे सोधेका छौँ –
कामको रिजल्ट आएन, स्टन्टका लागि बोल्नु भएन : प्रदीप ज्ञवाली
एमाले उपमहासचिव प्रदीप ज्ञवाली कांग्रेस एमाले गठबन्धन निमार्णमा सक्रिय भूमिका खेलेका नेता हुन् । उनी पनि सरकारको कामप्रति खुसी छैनन् । ९ महिना बितिसक्दा पनि सरकारले रिजल्ट दिन नसक्दा जनतामा निराशा छाएको स्वीकार गर्छन् । केही मन्त्रीहरूले स्टन्टका लागि बोल्ने तर सीमित स्रोत र साधन भएकाले काम गर्न नसक्ने अवस्था आएको उनको भनाइ छ । उनी कम बोल्न र काम हुने कुरा मात्र गरेर देखाउन सुझाव दिन्छन् । ज्ञवालीका अनुसार अहिले सरकार परिवर्तन हुने कुरा चाहिँ हल्ला मात्र हो ।

‘सरकार त परिवर्तनको कुनै सम्भावना छैन । तर वास्तवमा कामको रिजल्ट आएको छैन । मेहनत त गरेको देखिन्छ । केही–केही मन्त्रीहरू विवादमा पनि आउनुभएको छ । जनताले जुन तरिकाबाट काम हुन्छ भन्ने रिजल्ट खोजेका थिए त्यो नभएको साँचो हो,’ ज्ञवाली भन्छन्, ‘मन्त्री, संरचनाको भूमिका र सहयोग असहयोगको कुराले पनि प्रभाव पारेको छ । मलाई लाग्छ प्रधानमन्त्रीज्यूले भूमिकाको कार्ड पनि हेर्नुभएका होला सबैको । अब काम नपुगेपछि त उहाँहरूको भूमिकाको विषयमा पनि एक्सनमा जानुपर्ने हुन्छ ।’
ज्ञवालीले खबरहबसँग कुरा गर्दै भने, ‘अहिलेसम्म पार्टीमा यो–यो मन्त्री फेर्ने भनेर पात्रका विषयमा छलफल भएको छैन । तर जस्तो परफर्मेन्सको अपेक्षा दुई तिहाइ बहुमत र प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेर बनाएको सरकारमा जनताले गरेका थिए, त्यो भएन । यसमा विभिन्न फ्याक्टरले पनि काम गरेको छ । १० महिना पूरा हुन लाग्यो, अब मन्त्रीहरूको कामको समीक्षा गर्ने बेला भइसक्यो ।’
मन्त्रीहरूले कामको प्राथमिकता छुटाउन नसकेको हो कि जस्तो देखिएको बताउँदै उनले भने,’ ‘स-साना काममा अल्झिएको देखिन्छ । अहिले साना काममा अल्झिने समय होइन । तत्काल परिणाम ल्याउन सकिने संरचनात्मक सुधारका कुरामा केन्द्रित हुन आग्रह गर्छु ।’
ज्ञवाली अगाडि भन्छन्, ‘हामीकहाँ विनापूर्वाधार स्टन्टका लागि बोलिहाल्ने चलन छ । हाम्रो विद्यमान कानुन त्यसका लागि पर्याप्त र ठिक छन् कि छैनन् ? आफूले बोलेको कुरा अगाडि बढाउन सक्ने बजेट छ कि छैन ? नहेरिकन घोषणा गर्न काम भएको छ र एकाध निर्णय केही विवादमा पनि आएका छन् । अदालतले नै नगर्नु भनेर रोकेको पनि छ । यी विषयमा पनि सूक्ष्म विश्लेषण गर्नुपर्छ । थोरै बोल्न र नतिजामुखी काम गर्न सुझाव दिन्छु । हतारमा बोल्ने भन्दा पनि अनुसन्धान गरेर बोल्न अनुरोध छ ।
मन्त्रीहरूले पद ओगट्नु भएन, सक्षम आउनुपर्छ : सरस्वती सुब्बा

एमाले सांसद सरस्वती सुब्बा काम गर्न नसक्ने मन्त्रीहरूले पद ओगटेर बस्न नहुने तर्क गर्छिन् । उनी सक्षम मान्छेलाई अवसर दिनुपर्ने बताउँछिन् । मन्त्रीहरूले काम नगर्दा प्रधानमन्त्रीमाथि प्रश्न उठ्नु स्वाभाविक भएको भन्दै केही काम नभएको भन्ने तर्क विपक्षीको विरोधको रूप मात्र भएको उनको विश्लेषण छ । काम भए पनि परिणाम आउन समय लाग्ने भन्दै कतिपय कुराका लागि १० महिना अपुग हुने दाबी गर्छिन् ।
‘मन्त्रीहरू र प्रधानमन्त्रीले काम गरिरहनुभएको छ । काम गर्दा केही कुरामा त त्रुटि हुन्छ । मान्छेले काम गर्ने हो । अहिले बजारमा जुन किसिमले प्रधानमन्त्री असफल हुनुभयो मन्त्रीहरु पनि काम गर्न सकेनन् भन्ने त्यो प्रतिपक्षीको आरोप छ त्यो उहाँहरूको सत्ता मोह हो । ’ सुब्बाले खबरहबसँग भनिन् ।
उनले थपिन्, ‘सबै काम एक दिन र ९, १० महिनामा गर्न सकिँदैन । आर्थिक हिसाबले देश पनि कमजोर छ । शिक्षा मन्त्रीको कुरा गर्ने हो भने उहाँले राति पनि नसुती काम गर्नुभएको छ । अर्थमन्त्रीले पोखरामा बेलुन विस्फोट भएको १५ दिन पनि हस्पिटल नबसी हातमा ब्यान्डेज बाँधेर काम गर्नुभएको छ । उद्योग कलकारखानाको कुरा गर्दा सरकारले चलाएका उद्योग बन्द हुने, बाँकी चल्ने परिस्थिति छ । त्योचाहिँ दुखद छ । त्यसलाई कानुनी पाटो नै सुधार गरेर जानुपर्छ । बाँकी मन्त्रीहरूले पनि काम गर्नुभएको छ । सुधार गर्नुपर्ने धेरै कुरा पनि छन् ।’
मन्त्रीहरूको कामको विषयमा मन्त्रिपरिषद् बैठकमा निर्मम समीक्षा हुनुपर्ने सुब्बा बताउँछिन् ।
‘मन्त्रीहरूले काम गर्न नसकेको हो भने परिवर्तन गर्नुपर्छ । सक्षम ल्याउनुपर्छ,’ सुब्बाले अगाडि भनिन्, ‘पद ओगटेर बस्ने भन्दा पनि सक्षम आउन बाटो दिनुपर्छ । लोभ गर्ने बेला छैन ।’
मन्त्रिमण्डल हेरफेर हुन सक्छ, सरकार परिवर्तन हुँदैन : युवराज ज्ञवाली

एमाले उपाध्यक्ष युवराज ज्ञवाली काम नै नभएको भन्ने भाष्य गलत भएको तर जति काम हुनुपर्ने, सन्तोषजनक नभएको स्वीर्काछन् । कांग्रेस एमाले सरकारबाट जनताले धेरै ठूलो अपेक्षा राखेको तर काम नहुनाले असन्तुष्टि बढेको भन्दै सच्चिने बेला आएको बताउँछन् ।
‘काम तीव्र बनाएर जानुपर्छ । सोचेअनुरूप हुन नसकेको साँचो हो । अर्थतन्त्र सुधार उन्मुख छ । तर यतिमा सन्तुष्ट हुने अवस्था छैन । धेरै कानुन बनाउने प्रयत्नमा शिक्षा मन्त्री हुनुहुन्छ । शिक्षा विधेयक पारित गर्न उहाँ सक्रिय हुनुहुन्छ । शिक्षकका माग पूरा गर्नमा पनि उहाँ रातदिन नभनी लाग्नुभएको छ ।’ उपाध्यक्ष ज्ञवालीले खबरहबसँग भने ।
उनी भन्छन्, ‘उद्योग, भौतिक पूर्वाधार, भूमि संघीय मामिलालगायत मन्त्रीका विषयमा प्रश्न उठेका छन् । प्रश्न उठेपछि उहाँहरू सच्चिनुपर्छ । प्रधानमन्त्रीले उहाँहरूलाई भन्नु पनि भएको होला । सुधार गरेर जानुपर्छ ।’
मन्त्रीहरुबाट काम हुन सकेन भनेर फेरेर भए पनि प्रधानमन्त्री अघि बढ्नुपर्ने ज्ञवालीको सुझाव छ । ‘सम्भावना छैन भने मन्त्री फेरिनु पनि हुन्छ । जिम्मेवारी आएपछि त ध्यान दिएर काम गर्नुपर्छ नि,’ उनले भने, ‘अहिले सरकार परिवर्तनको त कुनै सम्भावना छैन । बरु मन्त्रिमण्डल हेरफेर हुन सक्छ । यो प्रधानमन्त्रीले बुझ्ने बेला हो । उहाँले पनि एक्सनमा जानुपर्छ । जनता त हिसाब खोजेर बसेका छन् नि ।’
यो पनि –
प्रतिक्रिया