पोखरामा तरबुजा खेती : चार महिनामा १५ लाख रूपैयाँ आम्दानी | Khabarhub Khabarhub

पोखरामा तरबुजा खेती : चार महिनामा १५ लाख रूपैयाँ आम्दानी


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

कस्की- पोखरा महानगरपालिका–३३ सुरौदी खोला किनाराको तिखेढुङ्गा होस वा पोखरा–१३ ढाँडबेसी र आसपासका फाँट धेरै ठाउँमा तरबुजा लटरम्म फलेको देख्न सकिन्छ ।

विगतमा तराई र भारतका स्थानबाट आएका तरबुजा मात्र खाएका पोखरेली यतिखेर आफ्नै गाउँठाउँमा फलेका स्वादिलो तरबुजाको स्वाद लिन पाउँदा दङ्ग छन् ।

सुरौदीको तिखे ढुङ्गामा अगुवा कृषकद्वय रमेश आचार्य र ज्ञानबहादुर कार्कीले संयुक्त रूपमा गरेको तरबुजा खेती होस् वा आर्वाको ढाँडबेसीमा इन्जिनियर विक्रम बरालसहित युवा रवि, अर्जुन, मनिशलगायतले संयुक्त रूपमा लगाएको तरबुजा यतिखेर रोजगारीकै खोजीमा विदेशिएका युवाका लागि पनि दरिलो पाठ बनेको छ ।

रुद्रगङ्गा कृषि बहुउद्देश्यीय कृषि फर्ममार्फत ढाँडबेसीको १५ रोपनी क्षेत्रफलमा गरिएको तरबुजा खेतीबाट लगाएको चार महिनाको अवधिमा नै १५ लाख रूपैयाँ आम्दानी गरिसकिएको बरालले जानकारी दिए ।

विगतमा तराई र भारतबाट मात्रै तरबुजा आउने र खाने गरिएकोमा यही क्षेत्रमा पनि राम्रो फल्छ भन्ने कुरा चरितार्थ पार्न सफल बनिएको उनले बताए । “हामीले लगाएको तरबुजा लटरम्म फलेको छ”, उनले भने, “हामीले तीन हजार पाँच सय किलोग्राम तरबुजा उत्पादन गरिसकेका छौँ ।”

पोखरा महानगरपालिका–३३ सुरौदी फाँटको तिखेढुुङ्गामा अगुवा कृषकद्वय ज्ञानबहादुर कार्की र रमेश आचार्यले ३५ रोपनी क्षेत्रफलमा तरबुजा लगाएका छन् । उनीहरूले लगाएको तरबुजा अबको केही दिनमा नै बजारमा आउने कृषक रमेश आचार्यले बताए ।

उनीहरूले सरस्वती, रेड भेलरेट, फनेक्स, मान्ठाना र राजा जातका खरबुजा फलाएका छन् । पोखरा–१३ पाटनवेशीका बुद्धप्रसाद बरालले तीन रोपनी क्षेत्रफलमा तरबुजा लगाएकोमा झण्डै ६०० किलोग्राम बिक्री गरिसकेका छन् । उनको लक्ष्मी बराल एग्रोफर्ममा फलेको तरबुजा बजारमा माग अत्याधिक रहेको छ ।

पोखराकै हेमजामा द अम्मट बिचमा रमेश कार्कीले तीन रोपनी क्षेत्रफलमा लगाएको तरबुजा राम्रो फलेको छ । उत्पादन हेर्दा यस क्षेत्रमा राम्रै तरबुुजा फलाउन सकिने देखिएको कार्कीले जानकारी दिए ।

विगतका वर्षमा सामान्य परीक्षणको रूपमा १०/१२ रोपनी क्षेत्रफलमा मात्रै गरिएको तरबुजा खेती यस वर्ष भने २०० रोपनी क्षेत्रमा विस्तार गरिएको पोखरा महानगरपालिका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।

तरबुजा खेतीका लागि महानगरपालिकाले बीउ तथा मलचिङमा महानगरले सहयोग गरेको उनले जानकारी दिए । महानगरपालिका–१३, २३, ३०, ३२, ३३ मा यस खेतीतर्फ आकर्षण बढिरहेको जानकारी दिँदै उनले स्थानीय रूपमा उत्पादित तरबुजाको स्वाद पनि निकै मीठो रहेको बताए । पोखरामा यस वर्ष करिब ४०० टन (लगभग दुई करोड रूपैयाँ बराबर)को तरबुजा उत्पादन भएको उनले जानकारी दिए ।

महानगरपालिकाले पोखरामा उत्पादित सरस्वती जातको खरबुजाको ‘ब्रान्डिङ’ र बजारीकरणका लागि स्टिकर तयार गरेको कडरियाले जानकारी दिए।

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न तरबुजा मेला
स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ पोखरामा बिहीवार तरबुजा मेला २०८२ गरिएको छ । वडास्तरीय कृषि सञ्जाल पोखरा–१३ को व्यवस्थापन र पोखरा महानगरपालिकाको कृषि विकास शाखाको सहकार्यमा सञ्चालित मेलामा तरबुजा प्रदर्शनी, निःशुल्क स्वाद परीक्षण, प्राविधिक जानकारी आदान–प्रदान, सफल किसानका अनुभव साझा, परिकार प्रदर्शनी तथा बाली उपचार शिविरसमेत सञ्चालन गरिएको पोखरा महानगरपालिका–१३ का वडा अध्यक्ष किरण बरालले जानकारी दिए ।

कृषकको मेहनत र पसिनाको फललाई प्रवर्द्धन गर्ने लक्ष्यसहित कार्यक्रम तय गरिएको बताउँदै उनले कृषि उत्पादनमा प्रोत्साहन गर्दै आत्मनिर्भरता अभिबृद्धि गर्ने लक्ष्य राखिएको बताए ।

पोखरामा नै फल्यो करिब आठ किलो तौलको तरबुजा
मेलाका अवसरमा ल्याइएका तरबुजामध्ये पोखरा–३३ सुरौदीको तिखेढुङ्गमा लगाइएको तरबुजा एउटैको सात किलो ८६० ग्राम तौलको पाइएको छ । प्रदर्शनीमा कृषि फर्म तथा व्यक्तिगत रूपमा तरबुजा खेती गर्नेहरूका उत्पादनलाई तौल गरिएकोमा रमेश आचार्य र ज्ञानबहादुर कार्कीले तिखेढुङ्गामा लगाएको तरबुजा सबैभन्दा बढी तौलको प्रमाणित गरिएको हो । मेलाका अवसरमा ठूलो तौलको फलाएवापत उनीहरूलाई पाँच हजार रूपैयाँ नगदसहित पुरस्कृत गरिएको थियो ।

त्यस्तै मेलामा गरिएको तरबुजा खाने प्रतियोगितामा रवि बराल र विमला श्रेष्ठ पहिलो र दोस्रो बने । उनीहरूलाई पुरस्कारस्वरूप नौ किलोग्राम र छ किलोग्राम तरबुजा पुरस्कारस्वरूप प्रदान गरिएको थियो ।

त्यस्तै प्रदर्शनीमा उत्कृष्टता हासिल गर्ने मणिद्विप कृषि फर्म पोखरा १३ आर्वाका श्रीधरलाल बराल र रोशन बराल प्रथम बने भने पिपलडाली पशु तथा कृषक समूह पोखरा २८ का शोवितबहादुर अधिकारी दोस्रो बने। त्यस्तै सूर्यचन्द्र कृषक समूह पोखरा १३ दुुइकुलाको मुहानका विश्वराज सापकोटा तेस्रो र चण्डेश्वरी कृषि सहकारी संस्था लिमिटेड पोखरा १३ साझाका रामकाजी बरालले सान्त्वना स्थान प्राप्त गरे ।

प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने फर्मलाई क्रमशः पाँच हजार, चार हजार, तीन हजार र एक हजार रूपैयाँ नगद सहित पुरस्कृत गरिएको थियो ।

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ९ : २० बजे

बाजुरा एमालेको घोषणा : विचारमा स्वस्थ प्रतिस्पर्धा, विकासमा वृहत एकता 

धनगढी – नेकपा एमाले बाजुराले जिल्लाको परिचय बदल्ने अभियान सञ्चालनको

परराष्ट्रमन्त्री डा. राणासँग बिमस्टेकका महासचिवको भेट 

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक

ट्रम्पलाई मेजमानी गर्न खाडी देशबीच होडबाजी, यस्ताे छ रकमी विदेश नीतिको साैदाबाजी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प खाडी क्षेत्रका तीन मुलुकको भ्रमण

टुँडिखेलमा साकेला नाचको रौनक (तस्बिरहरू) 

काठमाडौं– किराँत राईहरूले काठमाडौंको टुँडिखेलमा साकेला नाचेर उँभौली मनाएका छन्

बैतडीमा खुकुरी प्रहारबाट दुई महिला घाइते

बैतडी– बैतडीमा स्थानीय युवाद्वारा गरिएको खुकुरी प्रहारबाट दुई जना महिला