ट्रम्पलाई मेजमानी गर्न खाडी देशबीच होडबाजी, यस्ताे छ रकमी विदेश नीतिको साैदाबाजी | Khabarhub Khabarhub

ट्रम्पलाई मेजमानी गर्न खाडी देशबीच होडबाजी, यस्ताे छ रकमी विदेश नीतिको साैदाबाजी



काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प खाडी क्षेत्रका तीन मुलुकको भ्रमण सकेर स्वदेश फर्केका छन् । चारदिने भ्रमणका लागि राष्ट्रपति ट्रम्प गत मंगलरबार साउदी अरब पुगेका थिए । उनी शुक्रबार यूएईबाट अमेरिका प्रस्थान गरेका हुन् । यसबीचमा उनी कतार पनि पुगेका थिए ।

खाडीका धनाढ्य मुलुकमा रहँदा ट्रम्पले दशौँ खर्ब डलर (दशौँ निल नेपाली रुपैयाँ) बराबरका सम्झौतामा पनि हस्ताक्षर गरे । अमेरिकी व्यवसायिक प्रतिनिधिमण्डलको जम्बो टोली लिएर राष्ट्रपति ट्रम्प खाडी भ्रमणमा निस्केका थिए । उनको प्रतिनिधिमण्डलमा विश्वकै धनकुबेर इलोन मस्क, न्भिडिया कम्पनीका प्रमुख कार्यकारी जेसन हुवाङ, ब्लाकस्टोन समूहका स्टेफन स्वार्जमान, सिटीग्रुपका जेन फ्रेजरलगायत थिए ।

समग्रमा व्यापारिक हिसाबले ट्रम्पको मध्यपूर्व भ्रमण सन्तोषजनक नै भएको जानकारहरु बताउँछन् । ‘पछिल्ला चार दिन निकै गजब भयो ।’ ट्रम्पले बिहीबार यूएईको दरबारमा भनेका थिए । घर फर्किने बेला शुक्रबार राष्ट्रपतीय विमान एअरफोर्स वानमा उनले भनेका थिए, ‘हाम्रो देशलाई देखाइएको सम्मान अविश्वसनीय थियो । कसैले त्यसो गरेको थिएन । कसैले त्यस्तो राम्रो गरेको थिएन ।’

उनका विपक्षीले पनि खाडी भ्रमणको प्रसंशा गरेका छन् । विपक्षी डेमोक्र्याटिक पार्टीका तर्फबाट तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा कनेक्टिकट राज्यको प्रतिनिधित्व गर्ने जेम हाइम्सले पनि ट्रम्पको प्रसंशा गरे । ट्रम्पले मध्यपूर्वसँग राम्रो व्यवहार गरेको उनको भनाइ छ । ‘डोनाल्ड ट्रम्पको प्रसंशा गर्ने मेरो बानी छैन ।’ उनले पोलिटिकोले आयोजना गरेको कार्यक्रममा भनेका थिए, ‘र, मैले भन्नुपर्छ, मेरो विचारमा राष्ट्रपतिले, पछिल्लो साता वा आसपास, मध्यपूर्वसँग राम्रो व्यवहार गर्नुभएको छ ।’

यद्यपि उनको यो भ्रमणले कतिपय विश्लेषकलाई भने आश्चर्यमा पारेको छ । खासगरी आतंककारी पृष्ठभूमिका सिरियाका नयाँ नेतासँगको प्रत्यक्ष भेटवार्ता, अमेरिकाको सबैभन्दा नजिकको साझेदार इजरायलको भ्रमण नगर्ने र रुस–युक्रेन वार्तामा सहभागी हुन टर्की नजाने ट्रम्पको निर्णयले धेरैलाई चकित बनायो । धेरैले यस भ्रमणले भू–अर्थनीतिमा ट्रम्प सफल भएको अर्थमा विश्लेषण गरेका छन् ।

भव्य स्वागत र आतिथ्य
ट्रम्पलाई भव्य स्वागत र आतिथ्य प्रदान गर्न खाडीका देशहरुबीच होडबाजी नै चल्यो । ट्रम्प गत मंगलबार साउदी राजधानी रियाद पुग्दा त्यहाँ उनलाई भव्य स्वागत गरिएको थियो । रियाद पुग्दा नपुग्दै ट्रम्प चढेको एअरफोर्स वान जहाजलाई साउदी वायुसेनाका ६ वटा अमेरिकामा निर्मित एफ १५ लडाकु विमानमा सुरक्षा प्रदान गरेका थिए ।

उनको स्वागतमा साउदी अरबका युवराज मोहम्मद बिन सलमान नै विमानस्थल पुगेका थिए । साउदी अधिराज्यका युवराजले कसैलाई विमानस्थल पुगेर स्वागत गर्नुलाई निकै दुर्लभ घटना र उच्च सम्मान दिइएको मानिन्छ । उनको सवारी लस्करलाई साउदी दरबारसम्म पुग्दा सेतो अरबी घोडामा सवार सैनिकले सुरक्षा प्रदान गरेका थिए । दरबारमा सुनले बनेको तरबार बोकेका सैनिकले सलामी दिएका थिए ।

कतारमा पनि उनले उच्च सम्मान पाए । उनलाई राजधानी दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न कतारी अमिर तमिम बिन हमाद अल थानी आफैँ पुगेका थिए । कतारी दरबारमा पुग्दा ट्रम्पको सवारी लस्करलाई रातो टेस्ला साइबरट्रक तथा अरबी घोडा र उँटमा सवार सुरक्षाकर्मीले सुरक्षा प्रदान गरेका थिए । ट्रम्प कतारी आतिथ्यताबाट पनि धेरै प्रभावित भए । आमिरी दरबार पुग्दा उनले भनेका थिए, ‘मैले यस्ता उँट धेरै लामो समयदेखि देखेको थिइनँ । र, साँच्चै भन्दा हामी यसप्रति कृतज्ञ छौँ ।’

संयुक्त अरब इमिरेट्स यूएईमा पनि ट्रम्पले गतिलो स्वागत पाए । राजधानी अबु धाबीस्थित विमानस्थलमा ट्रम्पलाई स्वागत गर्न यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नहयान आफैँ उपस्थित भएका थिए । अबु धाबी दरबारमा उनलाई यूएईका दुई दर्जनजति अरब कन्याहरुले कपाल हल्लाएर अल अयाला भनिने विशेष नृत्यसहित स्वागत गरेका थिए । यूएईमा ट्रम्पलाई त्यहाँका राष्ट्रपति शेख मोहम्मदले सर्वोच्च नागरिक सम्मान अर्डर अफ जायद पनि प्रदान गरेका थिए । मुसलमानविरोधी नेताको छवि बनाएका उनले यूएईमा रहँदा शेख जायद मस्जिदको पनि भ्रमण गरेका थिए ।

खर्बौँ खर्बका व्यवसायिक सम्झौता
ट्रम्पको भ्रमण स्वागत र आतिथ्यतामा मात्रै सीमित भएन । उनको भ्रमणका क्रममा मध्यपूर्वी देशमा दशौँ खर्ब डलर बराबरका व्यवसायिक सम्झौतामा पनि हस्ताक्षर भए । साउदी अरबमा उनी रहँदा लगानी, सैन्य उपकरण खरिद–बिक्री, प्रविधि, पूर्वाधारजस्ता क्षेत्रमा सम्झौतामा हस्ताक्षर भए ।

ट्रम्प साउदी अरबमा रहँदा आयोजित लगानी सम्मेलनमा कुल ६ खर्ब अमेरिकी डलर अर्थात् ८ निल, २३ खर्ब ३८ अर्ब, १८ करोड नेपाली रुपैयाँ बराबरको लगानी सम्झौतामा हस्ताक्षर भयो । यसमा साउदी अरबले अमेरिकासँग १ खर्ब ४२ अर्ब डलर अर्थात् झण्डै १ निल ९४ खर्ब, ८६ अर्ब, ७० करोड नेपाली रुपैयाँभन्दा धेरैमा खरिद गर्ने भनिएको हतियार तथा सैन्य उपकरण एवम् सेवा सम्बन्धी सम्झौता पनि समावेश छ ।

त्यसैगरी, सोही अवसरमा अमेरिकी र साउदी व्यवसायीबीच ३ खर्ब डलर अर्थात् ४ निल, ११ खर्ब, ६९ अर्ब ९ करोड नेपाली रुपैयाँ बराबरका थप १ सय ४५ वटा व्यवसायिक सम्झौतामा पनि हस्ताक्षर गरिएको छ । ट्रम्पको साउदी भ्रमणबाट अमेरिकाका गुगल, ओराकल, सेल्सफोर्स, उबर, एएमडी, डेटाभोल्टजस्ता कम्पनीलाई उल्लेख्य लाभ मिलेको छ ।

ट्रम्पको भ्रमणका क्रममा अमेरिकी कम्पनीले साउदी अरबको किङ सलमान अन्र्तर्राष्ट्रिय विमानस्थल र किदिया सिटी मनोरञ्जन क्षेत्रको निर्माणबारे पनि सम्झौता गरेका छन् । यी सम्झौताको कुल परिमाण २ अर्ब डलर अर्थात् २७ खर्ब ४४ अर्ब, ६० करोड नेपाली रुपैयाँ बराबर रहेको अमेरिकी अखबार फोर्ब्सले उल्लेख गरेको छ । त्यसैगरी, ट्रम्पकै भ्रमणका अवसरमा साउदी अरबले इलोन मस्कको स्वामित्वमा रहेको स्टारलिङ्क स्याटेलाइट इन्टरनेटलाई हवाइ उडान र पानीजहाजमा प्रयोग गर्ने सहमति पनि गरेको छ ।

साउदी युवराजको स्वामित्वमा रहेको नयाँ कम्पनी हुमेइनले अमेरिकी कम्पनी न्भिडियाका १८ हजार एआई चिप्स खरिद गर्ने सम्झौता गरेको छ । एएमडी कम्पनीले साउदी अरबमा एआई डेटा सेन्टरका लागि चिप्स र सफ्टवेयर उपलब्ध गराउनेबारे १० अर्ब अमेरिकी डलर अर्थात् १३ खर्ब ७२ अर्ब ३० करोड नेपाली रुपैयाँभन्दा धेरैको सम्झौता गरेको छ । हुमेइनले साउदी अरबमा एआई क्षेत्र निर्माणका लागि ग्लोबल एआई, सिस्को, अमेजनजस्ता अमेरिकी कम्पनीसँग पनि सम्झौता गरेको छ ।

ट्रम्प कतार पुग्दा पनि यस्तै ठूला सम्झौतामा हस्ताक्षर भएका छन् । कतारले अमेरिकामा १२ खर्ब अमेरिकी डलर अर्थात् १६ निल, ४६ खर्ब, ७६ अर्ब ३६ करोड नेपाली रुपैयाँ बराबरको ‘आर्थिक आदानप्रदान’ मा हस्ताक्षर गरेको छ । कतारमा ट्रम्पले २ खर्ब, ४३ अर्ब, ५० करोड डलर अर्थात् ३ निल ३४ खर्ब, १५ अर्ब ७५ करोड नेपाली रुपैयाँभन्दा धेरैको व्यवसायिक सम्झौतामा हस्ताक्षर गरे ।

कतारले अमेरिकी सैन्य क्षेत्रमा १० अर्ब अमेरिकी डलर अर्थात् १३ खर्ब ७२ अर्ब ३० करोड नेपाली रुपैयाँभन्दा धेरैका लगानी गर्ने सम्झौता गरेको छ । त्यसैगरी, कतारले ४२ अर्ब अमेरिकी डलर अर्थात् ५७ खर्ब, ६३ अर्ब ६७ करोड नेपाली रुपैयाँभन्दा धेरैको अमेरिकी हतियार, सैन्य उपकरण पनि खरिद गर्ने जनाइएको छ । त्यसैगरी, ड्रोन प्रतिरक्षा प्रविधिको खरिदबारे कतारले अमेरिकी रक्षा कम्पनी रेथियनसँग १ अर्ब डलर अर्थात् १ खर्ब ३७ अर्ब २३ करोड नेपाली रुपैयाँभन्दा धेरैको सम्झौता गरेको छ भने जनरल अटोमिक्स कम्पनीसँग ड्रोन खरिदसम्बन्धी २ अर्ब डलर अर्थात् २७ खर्ब ४४ अर्ब, ६० करोड नेपाली रुपैयाँ बराबरको सम्झौता पनि गरेको छ ।

त्यसैगरी, कतार एअरवेजले अमेरिकी कम्पनी बोइङसँग ९६ अर्ब डलर अर्थात् १ निल ३१ खर्ब, ७४ अर्ब, १० करोड नेपाली रुपैयाँभन्दा धेरैमा २ सय १० वटा जहाज खरिद गर्ने सम्झौता पनि गरेको छ । त्यसैगरी, कतारमा आधारित अल रबान क्यापिटल कम्पनीले अमेरिकाको क्वान्टिनम कम्युटिङ कम्पनीसँग क्वान्टम प्रविधिको विकासका लागि १ अर्ब डलर अर्थात् १ खर्ब ३७ अर्ब २३ करोड नेपाली रुपैयाँभन्दा धेरैको सम्झौता गरेको छ ।

यूएईमा पनि ट्रम्पले दशौँ खर्ब डलर बराबरका सम्झौता गरेका छन् । ट्रम्पको भ्रमणका क्रममा यूएईले अमेरिकामा आगामी १० वर्षमा १४ खर्ब अमेरिकी डलर अर्थात् १९ निल, २१ खर्ब, २२ अर्ब ४२ करोड नेपाली रुपैयाँभन्दा धेरैको लगानी गर्ने प्रतिबद्धता जनाएको छ । त्यसबाहेक यूएईले अमेरिकासँग २ खर्ब अमेरिकी डलर अर्थात् २ निल, ७४ खर्ब, ४६ खर्ब ६ करोड नेपाली रुपैयाँ बराबरको व्यवसायिक सम्झौता पनि गरेको छ ।

यूएईको इमिरेट्स ग्लोबल एलुमिनमले ४ अर्ब अमेरिकी डलर अर्थात् ५ खर्ब, ४८ अर्ब, ९२ करोड नेपाली रुपैयाँभन्दा धेरैमा अमेरिकाको ओक्लाहोमा राज्यमा नयाँ एलुमिनम कारखाना खोल्न सम्झौता गरेको छ । त्यसैगरी, अमेरिकाका एक्जनमोबिल, ओक्सिडेन्टल पेट्रोलियम र ईओजी रिसोर्स कम्पनीले यूएईको ग्यास र तेल उत्पादन विस्तार गर्न अबु धाबी नेशनल आयल कम्पनीसँग थप ६० अर्ब डलर अर्थात् ८२ खर्ब, ३३ अर्ब ८१ करोड नेपाली रुपैयाँभन्दा धेरैको सम्झौता पनि गरेका छन् ।

यूएईको इत्तेहाद एअरलाइन्सले बोइङ र जनरल इलेक्ट्रिक एरोस्पेससँग १४ अर्ब ५० करोड डलर अर्थात् १९ खर्ब, ८९ अर्ब, ८३ करोड नेपाली रुपैयाँभन्दा धेरैको सम्झौता पनि गरेको छ । यस सम्झौताअनुसार इत्तेहादले बोइङसँग २८ वटा वाइडबडी जहाज खरिद गर्नेछ । युएईले न्भिडियासँग पनि महत्वपूर्ण सम्झौता गरेको छ । सम्झौताअनुसार यूएईले हरेक वर्ष ५ लाखभन्दा धेरै न्भिडियाको अत्याधुनिक एच १०० चिप आयात गर्न पाउनेछ ।

कूटनीतिक उपलब्धि
ट्रम्पको भ्रमणले खाडीका मुलुकसँग अमेरिकाको परम्परागत सम्बन्धमा परिमार्जन गरेको हिसाबमा विश्लेषण गरिएको छ । परम्परागत रुपमा अमेरिकी संस्थापनले खाडी क्षेत्रमा मुसलमानबहुल मुलुकसँग देखिनेगरी रुखो सम्बन्ध बनाएको थियो । खासगरी, सुन्नी मुसलमान धर्मको वहाबी विचारधाराले विश्वभर जिहाद र अतिवाद बढाएको अमेरिकी र पश्चिमा मुलुकका विद्वानहरुले बताउने गरेका थिए । साउदी अरबको वहाबी इस्लामिक विचारधाराकै प्रत्युत्पादनस्वरुप आतंककारी संगठन अल कायदाले अमेरिकामा २००१ को सेप्टेम्बर ११ आतंककारी आक्रमण गराएको पश्चिमा मुलुकका जानकारहरुको मत रहँदै आएको थियो ।

हुन पनि १८ औँ शताब्दीका इस्लामिक विद्वान मुहम्मद इब्न अब्द अल वहाब इब्न सुलेमान अल तमिमीकै इस्लामिक विचारधारामा साउदी अरबको शासकीय सिद्धान्त आधारित रहेको बताइन्छ । कट्टरपन्थी मानिने वहाबी विचारधारामा पश्चिमा मुलुकलाई ठूलो आशंका र कतिपय अवस्थामा शत्रुको रुपमा चित्रित गरिन्छ । त्यसबाहेक सन् २०१८ मा टर्कीको इस्तानबुल शहरस्थित साउदी नियोगमा अमेरिकी–साउदी पत्रकार जमाल खशोग्गीको संदिग्ध हिसाबमा विभत्स हत्या भएपछि अमेरिका र साउदी अरबबीचको सम्बन्ध निकै खराब अवस्थामा पुगेको थियो ।

सोही वहाबी विचारधारा लिएर कुनै समय आतंककारी संगठन अल कायदामा आबद्ध भएका अबु मोहम्मद अल जवलानी पनि भनेर चिनिने सिरियाका नयाँ नेता अहमद अल शरासँग पनि ट्रम्पले यस भ्रमणका क्रममा भेटवार्ता गरे । अल शराको हयात तहरिर अल शाम समूहको नेतृत्वमा सिरियाली विद्रोहीले केही महिनअघि मात्रै बसर अल असदको सत्तालाई अपदस्थ गरेर आफ्नो शासन स्थापना गरेको थियो ।

सिरियाको गोलान हाइट्स क्षेत्रका आमाबाबुको कोखबाट साउदी अरबमा जन्मेका अल शरा सिरियाली गृहयुद्धको समयमा अल कायदाको सिरियाली शाखा जबहात अल नुसरा समूहका मुखिया थिए । पछि उनले आफ्नो छविलाई सुधारेर नरमपन्थी बाटोमा अघि बढेका थिए । यतिसम्म की उनले पछिल्लो समय टाइसुट समेत लगाउन थालेका थिए । गत डिसेम्बर महिनासम्म पनि अमेरिकाले उनीबारे जानकारी दिनेलाई १ करोड डलर बराबरको इनाम दिने घोषणा गरेको थियो ।

ट्रम्पले साउदी अरबमा अल शरासँग भेटवार्ता गरेका थिए । भेटवार्तापछि उनले सिरियामाथि लगाइएका सबै नाकाबन्दी र प्रतिबन्ध हटाउने घोषणा गरेका थिए । साउदी व्यवसायिक नेतृत्व उपस्थित समारोहमा ट्रम्पले यस्तो घोषणा गर्दा तालीको गडगडाहट सुनिएको थियो । सिरियामाथि लगाइएको नाकाबन्दी स्थगित गर्ने ट्रम्पको घोषणालाई अरब नेतृत्वले स्वागत गरेपनि अमेरिकी प्रशासनकै अधिकारीहरु अलमल परेका थिए । कसरी र कुन प्रक्रियाका आधारमा सिरियामाथिको नाकाबन्दी हटाउने भन्नेबारे ट्रम्पले कुनै निर्देशन नदिएको रोयटर्सले उल्लेख गरेको छ ।

मध्यपूर्व पुग्दा अमेरिकाको निकटस्थ साझेदार इजरायलको भ्रमण नगर्ने ट्रम्पको निर्णयले पनि धेरैलाई चकित बनायो । मध्यपूर्वका लागि अमेरिकाका पूर्वदूत डेनिस रोसले अरब मुलुकको भ्रमणमा रहेका ट्रम्प इजरायल नजानुलाई ‘उल्लेखनीय’ भनेका छन् । व्यवसायिक सम्झौता गर्न अरब देश गएपनि त्यसमा इजरायल सहभागी नहुनुलाई आश्चर्यका रुपमा लिइएको उनको भनाइ छ । आफ्नो पहिलो कार्यकालमा ट्रम्पले अरब क्षेत्रका कतिपय मुलुकसँग इजरायलको सम्बन्ध स्थापित गराउन सफल भएका थिए । अब्राहम अकोर्ड नाम दिइएको ट्रम्पको उक्त अभियानअन्तर्गत बहराइन, युएई, मोरक्कोजस्ता मुलुकले इजरायलसँग औपचारिक रुपमा सम्बन्ध स्थापना गरेका थिए ।

आफ्नो दोस्रो कार्यकालमा ट्रम्पले साउदी अरब र इजरायलबीच यस्तो सम्बन्ध स्थापना गराउने अपेक्षा गरिएको थियो । यद्यपि ट्रम्पले अल शरासँगको भेटवार्तापछि सिरियाले इजरायलसँग सम्बन्ध सुधार गर्ने संकेत दिए । यसअनुसार पछिल्लो समय सिरियाली र इजरायली अधिकारीबीच धेरै लामो समयपछि दुर्लभ प्रत्यक्ष वार्ता भएको समाचार सार्वजनिक भएको छ ।
गाजा क्षेत्रमा इजरायलले व्यापक आक्रमण गरिरहेको अवस्थामा यस भ्रमणका क्रममा त्यो सम्भव भएन । ट्रम्पले आफ्नो भ्रमणका क्रममा इजरायल–हमास युद्ध रोक्न वा युद्धविराम गराउन पनि खासै ठूलो प्रयास गरेको पनि देखिएन । यद्यपि शायद अरब नेताहरुलाई खुशी पार्न उनले ‘गाजाका धेरै मानिसहरु भोकै रहेको’ टिप्पणी चाहिँ गर्न भ्याए ।

ट्रम्पको यो भ्रमणका क्रममा कतारले दिने भनिएको नयाँ विलासी जहाजको चर्चा भने भएन । यसअघि कतारले ट्रम्पलाई ४० करोड डलर ५४ अर्ब, ८९ करोड नेपाली रुपैयाँ बराबरको विलासी जम्बो जेट उपहारस्वरुप दिने र ट्रम्पले त्यसलाई राष्ट्रपतीय जहाजका रुपमा प्रयोग गर्ने जनाइएको थियो । अमेरिकामा यसको तीव्र विरोध भएको थियो । ट्रम्पले कतारी उपहार स्वीकार गर्ने निर्णयको बचाउ गर्दै आएका थिए । तर, यस भ्रमणमा कतारी र अमेरिकी दुबै पक्षले यसबारे चर्चा गरेनन् ।

मध्यपूर्वमा रहँदा ट्रम्पले इरानसँगको आणविक सम्झौतानजिक पुगिएको बताएका थिए । यद्यपि यसबारे दुई मुलुकबीच अझै धेरै असहमति र विवाद बाँकी नै रहेकाले यसबारे तत्काल टिप्पणी गरिहाल्नु हतारो हुने बताउँछन् । त्यसैगरी, मध्यपूर्वमा रहँदा ट्रम्प रुस र युक्रेनबीच टर्कीको इस्तानबुलमा हुने भनिएको वार्तामा पनि सहभागी भएनन् । उनी इस्तानबुल जाने कुनै पूर्वतयारी भने थिएन । ट्रम्पको मध्यपूर्व भ्रमणका क्रममा संयोगवश रुस र युक्रेनका प्रतिनिधि इस्तानबुलमा भेटवार्ता गरेका थिए । त्यस वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि सहभागी हुने बताइएको थियो । पछि पुटिनले उक्त वार्तामा नजाने निर्णय गरेका थिए ।

ट्रम्पको दोस्रो कार्यकालमा परम्परागत मित्रसँग अमेरिकाको दूरी बढेको छ । क्यानाडा र अस्ट्रेलियाजस्ता मुलुकमा ट्रम्पका समर्थक पराजित भएका छन् । भन्सार युद्ध र युक्रेनलाई साथ नदिने नीतिले युरोप पनि अमेरिकासँग सन्तुष्ट छैन । यस्तो अवस्थामा ट्रम्प खाडी मुलुक पुगेका थिए । त्यहाँ उनले पाएको मेहमान नवाजी र आतिथ्यताबाट ट्रम्प ज्यादै खुशी भएको हुनुपर्छ ।

जानकारहरुका अनुसार कारोबारमा आधारित विदेश नीति सञ्चालन गर्दै आएका ट्रम्प खाडी देशबाट उच्च सफलताका साथ फर्केका छन् । उनी मध्यपूर्वको भ्रमणमा जानुको प्राथमिक उद्देश्य खाडी मुलुकबाट दशौँ खर्ब डलर बराबरको व्यवसायिक सम्झौता गर्नु रहेको थियो । यसमा उनी धेरै नै सफल देखिएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ६ : १७ बजे

पुटिन र जेलेन्स्कीबीच सहमतिपछि मात्र भेटवार्ता सम्भव : क्रेमलिन

किएभ – क्रेमलिनले रूस र युक्रेनबीच युद्धविरामका लागि सहमति भएमा

आध्यात्मिक जागरण र विश्व बन्धुत्वको सन्देश फैलाउन ‘खुला सत्सङ्ग’

ललितपुर – आध्यात्मिक जागरणका लागि सन्देश फैलाउने उद्देश्यसहित आज यहाँ

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैनः अध्यक्ष केसी

कैलाली – राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको विकल्प

अमेरिकामा आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु

वासिङ्टन – अमेरिकाका दुई राज्य मिसौरी र केन्टुकीमा आएको आँधीका

कृषिमा यान्त्रिकीकरणः समय र खर्चको बचत

गलकोट – अहिले खेतबारीमा गहुँ चुट्न किसानलाई भ्याइनभ्याइ छ ।