चतरा (सुनसरी) – रङ्गे माझी रामेछापदेखि कमला नदी हुँदै कोशी नदी किनारसम्म आइपुगे ।
डुङ्गा खियाउँदै, माछा मार्दै एक सय वर्षअघि उनी सहज जीविका खोज्दै यहाँ आइपुगेका थिए । उनै रङ्गे माझीका पाँचौं पुस्ता अहिले टप्पुमा इन्टरनेट चलाउँछन् ।
रङ्गे माझीका नाति बुद्धिमान माझी (५८) वि.सं. २०२३ सालमा जन्मिए । उनी जन्मँदा कोशी नदी पश्चिमतर्फ बग्थ्यो । हालको लालभित्तीमा थियो कोशीको मूल भङ्गालो ।
२०२५ सालमा कोशीमा ठूलो भेल आयो । गाईबस्तु बगायो । बाआमाले भनेका कुरा बुद्धिमान सम्झन्छन्, ‘गाउँले हो ! पानी घट्यो अब भाग्नुपर्छ ।’
२४ घण्टासम्म आएको भेलले निकै धनमाल क्षति गर्यो । मान्छे भागेर बाँच्न सके ।
२०४० सालमा कोशीले अचानक धार परिवर्तन गर्यो । जनताका भएभरका सबै खेतीयोग्य जमिन बालुवामा परिणत गर्यो ।

२०४५ सालसम्म कोशीको मूल भङ्गालो पूर्वतर्फ धकेलियो । त्यसताका पञ्चायतले डुङ्गा व्यवस्थापन गरिदियो । भारत सरकारले पनि टप्पुका जनतालाई सार्न सहयोग गर्यो ।
कोशीले नम्बरी जग्गा लगिहाल्यो । त्यसताका महेन्द्रनगरका प्रधानपञ्च भक्तबहादुर शाही थिए । उनीसहित इन्द्रबहादुर कार्की लगायतले चक्रघट्टीदेखि बाङ्गेबीचको पश्चिम लाइन देवीघाट क्षेत्रमा झोडा फाँडेर बसोबास गराए । कोशी विस्थापितलाई प्रतिपरिवार डेढ कट्ठाका दरले जग्गा बाँडियो । प्रत्येक बर्खामा नागरिकलाई पञ्चायतले गहुँ र नून दिन्थ्यो ।
‘हामीले टप्पु छोडेनौँ, जहाँ जहाँ राम्रो जग्गा निस्कियो – त्यहाँ त्यहाँ सर्दै आयौं । बस्ती पातला थिए । बस्ती बढाउन पाए हुन्थ्यो । बाक्ला घर भए हुन्थ्यो, भन्ने लाग्थ्यो’, बुद्धिमान भन्छन् ।
हात्तीको प्रकोप ! जङ्गली जनावरको त्रास ! छाडा गाईबस्तुको दुःख ! गरिखान सास्ती थियो । साविक प्रकाशपुरका प्रधानपञ्च पदम खड्का र राजनीतिकर्मी सत्यदेवी राईलगायतले टप्पुमा बस्ती बसाए । बस्ती बाक्लिन थाल्यो ।

२०६५ भदौ २ गते कोशीको पूर्वी तटबन्ध फुट्दा उदयपुर, सप्तरी र सुनसरीका केही बस्तीमा बाढी पस्यो । श्रीलङ्का टप्पु बाढीको ठूलो जोखिममा नभए पनि स्थानीय त्रासमा बस्न बाध्य भए ।
२०७९ सालको साउनमा बेलकाको डुम्रिबोटेबाट कोशी ‘ओभरफ्लो’ भएर श्रीलङ्का टप्पुमा पस्यो । १० हजार हेक्टर क्षेत्रफल जग्गा डुबानमा पर्यो । टप्पुका दुई हजार घरपरिवारका १८ हजार जनसङ्ख्या डुबानमा परे । उनीहरूलाई सशस्त्र प्रहरी, नेपाली सेना र रेडक्रसले सुरक्षित उद्धार गर्यो ।
डुम्रीबोटे लाहुरे खोजबाट पसेको कोशीको बाढीले सिसौलीघाट, धौरी, चिलिमे, एबीसी, भागलपुर र रामनगरका स्थानीय प्रभावित भए ।

कोशीको बाढी पस्दा बेलका नगरपालिकाका १, २, ३, ८ र ९ वडाको धौरी, चिलिया, भागलपुर, गरैया, तपेश्वरीलगायतका बस्ती, सप्तरीको सप्तकोसी र कन्चनरुप, सुनसरीको बराहक्षेत्र नगरपालिकाको ६ र ९ को श्रीलङ्का टप्पुमा क्षति गर्यो ।
दुई वर्षअघि कोशी ‘ओभरफ्लो’ भएकै ठाउँबाट पुनः २०८१ साल असोजमा उर्लँदो भेल टप्पुमा पस्यो । २५ मिटर बाँध कटान गरेर बाढी बस्ती पस्दा बेलका-३ का ३६ घरधुरीका १२७ जनालाई उद्धार गर्नुपर्यो । बाढीका कारण बराहक्षेत्र–६ र ९ स्थित टप्पुमा थुनिएका २५ जनालाई उद्धार गरियो ।
श्रीलङ्काटप्पु कोशी नदी उकास जमिन हो । एकपटक कोशी बगिसकेपछि त्यहाँ दोहोरिएर अवश्यै बग्छ । कोशीको बाटोमा बसेका बस्तीमा बारम्बार सङ्कट आइरहन्छ ।
‘कोशीले एकपल्ट खोलेपछि त्यही बाटो समात्नु नौलो कुरा होइन, एकपल्ट बाटो बनाइसकेपछि कोशी फेरि फर्कन्छ’, बुद्धिमान भन्छन्, ‘कोशीले आफ्नो बाटो खोज्छ नै !’

श्रीलङ्का टप्पुमा विभिन्न समयमा कोशी नदी प्रवेश गर्दा क्षति हुँदै आएको छ । कोशी ब्यारेज बनेपछि २०२२ साल, २०२४ साल, २०३८ साल, २०४२ र २०४५ सालमा कोशी बस्तीमा पस्दै आएको छ, कटान गर्दै आएको छ । २०६५ पछि पनि २०७९ र २०८१ सालमा कोशीले कटान गर्दै आएको छ र डुबानमा पार्दै आएको छ ।
रङ्गे माझीका सन्तान कोशीको त्रासबाट तर्सँदै, बौरँदै, बाँच्दै, भाग्दै, जोगिँदै कोशीमै सङ्घर्ष गर्दै आएका छन् ।
०००
बुद्धिमानका बाजे रङ्गे माझी श्रीलङ्का टप्पुको गरैयामा बिते । बा धर्मलाल माझीले छाडेर गएको पनि केही वर्ष भयो ।
०२३ सालमा गरैयामै जन्मिएका उनी ६० को हाराहारीमा छन् । छोरा विकास माझी ९३५० र विकासका सन्तानले पनि टप्पुको त्रास र सङ्घर्ष देखेको १२ वर्ष बित्यो ।
बुद्धिमानका पाँच पुस्ताले देखेको श्रीलङ्का टप्पुमा कोशीको त्रासदी उस्तै छ । जीवनशैली फेरिँदैछ ।

‘अन्न भण्डार’ टप्पु
विकास माझी टप्पुमै जन्मिए । टप्पुमै शिक्षण सेवा गरे । विदेशको मोहले उनलाई छोएन । बरु बाउबाजेकै बिँडो थामे । शिक्षण पेशा छाडेर उनी टप्पुको बालुवा दस नङ्ग्रा खियाउने अठोट गरे । बराहक्षेत्र-६ चिलिया टप्पुमा उनी अहिले ५ बिघा जग्गामा कृषिकर्म गर्छन् ।
वर्षमा तीन बालीसम्म मकै लगाउँछ्न् । यही हिउँदमा अढाइ सय क्विन्टल मकै बिक्री गरे । ८ लाख रुपैयाँ कमाइ गरे ।
‘बर्खाको त के हिसाब भो र, आधाभन्दा बढी कुहिन्छ, धान उत्पादन भए पनि आम्दानी कम हुन्छ’, विकास भन्छन् ।
श्रीलङ्का टप्पुबाट हिउँदमा एक व्यापारीले मात्र ७ करोड रुपैयाँको मकै उठाए । नवलपरासीदेखिका कम्पनीले दाना बनाउन टप्पुबाटै मकै लाने गरेका छन् । सिजनमा यस्ता २५/३० जना ठूला व्यापारी टप्पुमा पस्ने गरेका छन् ।

बेलका-२ र टप्पु क्षेत्रबाट वार्षिक ४० करोड रुपैयाँसम्मको मकै बिक्री हुने गरेको टप्पुवासी बताउँछन् । तर बेलका नगरपालिकाको तथ्याङ्कमा हिउँदमा २५ करोड रुपैयाँको मकै बिक्री भएको तथ्याङ्क छ ।
बेलका नगरपालिकाका कृषि शाखा प्रमुख हिमाल गुरागाईका अनुसार सबै कृषक नगरपालिकामा सूचीकृत छैनन् र उनीहरूले तथ्याङ्कमासमेत छैनन् । ‘हामीले रेण्डम डेटा सङ्कलन गर्दा २५ करोड बढीको मकै बिक्री गरेको देखियो,’ कृषि प्रमुख गुरागाईले भने ।
टप्पुका मकै कृषिले एक बिघामा ६० क्विन्टल मकै फलाउँदै आएका छन् ।
‘हामीले जान्दा मरुभूमिजस्तै थियो, आम्दानी हुन्न थ्यो । बिजुली थिएन । खेतीपाती कम हुन्थ्यो । बिजुली आएपछि पानी, मोटरको सुविधा भएपछि खेती बाली राम्रो हुन थाल्यो’, विकास भन्छन् ।

बर्खा लागेपछि…
‘कोशीमा भेल बग्थ्यो, नाउँमा हिँड्थ्यौँ । रामपुर पढ्न जाँदा पौडी खेलेर जान्थ्यौं । पातलो बस्ती थ्यो । हाती र गाईबस्तुले दुःख दिन्थे’, विकास माझी एक दशक अघिका दुःख सम्झन्छन्, ‘चक्रघटी, बाङ्गे साइकल बोकेर नाउँमा जान्थ्यौँ । नाउँबाटै यात्रा हुन्थ्यो । अहिले पुल बनेपछि चतराबाट घुमेर जान्छौँ ।’
‘बर्खामा कोशीको जोखिम अझै पनि उस्तै छ । गत साउन अन्तिममा टप्पु सबै डुबानमा थ्यो । यो वर्ष बर्खा आउनै बाँकी छ, कोशीले के गर्ने हो !’ बुद्धिमान माझीको चिन्ता उस्तै छ ।

‘बर्खा लागेपछि दुई बिघाजतिमा धान खेती गर्छौं, गत बर्खामा धान फुल्न लागेपछि बाढी आएर दुई दिनसम्म डुबानमा पर्यो । कोशी तरेर चक्रघट्टी जान अप्ठेरो छ । रामपुरतिरबाट सबै बर्खामा जान सकिन्न, सेती खोला भएर वैकल्पिक बाटो प्रयोग गर्छौँ’, बुद्धिमानका छोरा विकास भन्छन् ।
चाई, मण्डल, चन्द्रवंशी र कविरथको बाक्लो बस्ती
श्रीलङ्का टप्पुमा चाई, मण्डल, चन्द्रवंशी र कविरथ जातिका तेस्रो पुस्ता बसोबास गर्दैछन् । चन्द्रवंशीका पहिलो पुस्ताका व्यक्तिहरू कोशी बाँधमा माटो काट्नेहरू हुन् ।
कोशी ब्यारेजमा पुल निर्माणका ताका श्रीलङ्का र बङ्लादेशबाट आएका कामदारहरू ब्यारेज निर्माणपछि कोशी नदी उकास जग्गामा भोगचलन गरेर बसेको बुद्धिमान माझी बताउँछन् ।
उनका अनुसार २०२८ सालदेखि चन्द्रवंशीहरूको बसोबास बढ्दै गएको हो । ‘३२ सालमा मृगकुन्ज घोषणापछि मोरङ र झापामा धेरैले सट्टाभर्ना पाए । नापी ३४ सालमा भयो । त्यतिबेला भोगचलन गरेका जग्गा नम्बरी भए,’ बुद्धिमान माझी भन्छन्, ‘चाई, मण्डल, चन्द्रवंशी र कविरथहरूले नागरिकता लिसकेका थिए ।’
टप्पुमा अधिकांश चन्द्रवंशीहरूलाई बसोबास गराउन तत्कालीन नेतृत्वले भूमिका खेल्यो । राप्रपाका तत्कालीन नेता पदम खड्का, रमेश श्रेष्ठलगायतले टप्पुमा चन्द्रवंशी र मण्डलहरूलाई स्थापित गरे ।

बिजुली आएपछि…
टप्पुवासीका तुलनात्मक सुखका दिन सुरु भएको एक दशक पनि भएको छैन ।
२०७७ सालमा श्रीलङ्का टप्पुमा बिजुली आएपछि कृषकले विद्युतीय उपकरण प्रयोग गर्न पाए । २०३६ साल र ०५२ सालमा विस्तार भएको बिजुली टप्पु आइपुग्न दशकौं लाग्यो ।
कोशीटप्पु वन्यजन्तु आरक्षबाट आउने जङ्गली हात्ती, छाडा चौपायाको दुःख बिजुली आएपछि हट्यो ।

प्रतिक्रिया